निर्णय नं. ६८६० - लिखत वदर

निर्णय नं. ६८६० ने.का.प. २०५७ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
सम्वत २०५३ सालको दे.पु.नं. ... २६४७
फैसला मितिः २०५६।६।१०।२
मुद्दाः लिखत वदर ।
पुनरावेदक/वादीः जिल्ला नुवाकोट, खानिगाउँ गा.वि.स. वडा नं. ४ बस्ने राजु लामिछाने
विरुद्ध
विपक्षी/प्रतिवादीः ऐ.बागेश्वरी गा.वि.स. वडा नं. ७ बस्ने राजेन्द्रबहादुर प्याकुरेल
§ प्रस्तुत मुद्दा वादी राजु लामिछाने र निजको बाबु प्र.दिलबहादुर लामिछाने अंशवण्डा नभएका संगोलका अंशियार भै प्र.दिलबहादुरले संगोलको सम्पत्ति बिक्री गर्दा वादी राजु लामिछानेको मंजुरी नलिएको कारण लेनदेन व्यवहारको १० नं. बमोजिम आधा बिक्री वदर गरी पाउनु पर्ने भन्ने मुख्य दावी भएको र उक्त लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले संगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुसी गर्न पाउने अरुको मंजुरी लिनु नपर्नेमा बाहेक अरुमा संगोलका अंशियारको मंजुरी लिनु पर्ने भन्ने व्यवस्था गरेको र अंशवण्डाको १९(१) मा पिता पुर्खाका पालाको अचल सम्पत्तिमा आधा भन्दा बढी व्यवहार चलाउनै परेपनि २१ वर्ष नाघेका स्वास्नी छोरा समेतको मंजुरी लिनु पर्ने भन्ने व्यवस्था भएको पाइन्छ । फिराद पत्रमा वादीले आफ्नो उमेर १७ वर्ष देखाएका र २१ वर्ष ननाघेका छोरा अर्थात यी वादीको मंजुरी लिनु पर्ने बाध्यता एकाघरका बाबुलाई नभएको साथै उल्लेखित नजिरका मुद्दाहरुको तथ्य र प्रस्तुत मुद्दाको तथ्यमा नै भिन्नता देखिएको अवस्थामा उक्त प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दामा आकृष्ट हुन सक्ने नदेखिँदा विद्बान अधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन । तसर्थ आफ्नो हकको जग्गा बिक्री गर्दा २१ वर्ष नपुगेका सगोलका छोराको मंजुरी लिइरहनु नपर्ने हुँदा शुरुको इन्साफ उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहरिएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा सदर हुने ।
(प्र.नं.११)
पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ता श्री पन्नामान तुलाधर
विपक्षी प्रतिवादी तर्फबाटः X
अवलम्बित नजिरः X
फैसला
न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
2. विपक्षी बाबु दिलबहादुर लामिछानेको म फिरादी १ छोरा र २ छोरी बहिनीहरु जायजन्म भएको छ । आमा २०४७ सालमा विपक्षी बाबु र हामीलाई छाडी अन्यत्र पोइल जानु भएको बाबुले हेर विचार नगरेकाले हामीहरु मावली घर गई बसेका थियौ । मलाई थाहा नदिई विपक्षी बाबु बसेको नुवाकोट जिल्ला, खानीगाउँ गा.वि.स. वडा नं.६ को कि.नं. ५ क्षे.फ. ०-४-०-० जग्गामा बनेको १२ हात लामो १४ हात चौडाईको ढुंगाको गाह्रो २ तले जस्ताको छानो लगाएको घर विपक्षी दिलबहादुर आसामी, विपक्षी राजेन्द्रबहादुर प्याकुरेल साहु भै मिति २०५०।५।२७।१ मा रु.१,२५,०००।– अंक राखी राजिनामा लिखत खडा गरी नुवाकोट मालपोत कार्यालयबाट रजिष्ट्रेशन गराएछन् । मेरो मंजुरी बेगर मेरो अंशको घर जग्गा समेत राजिनामा गरी लिनु दिनु गरेकाले सो राजिनामामा उल्लेखित जग्गा र घर समेत आधा राजिनामा लिखत वदर गरी पाउँ भन्ने समेत फिराद दावी ।
3. २०३९।१२।२७ गते हरिप्रसाद थपलियाबाट हालै देखिको बकसपत्र गरी लिने विष्णुबहादुर लामिछानेले आफ्नो निजी आर्जनबाट उक्त कि.नं. १८३० को ०-४-०-० जग्गामा आफ्नो नीजि आर्जनबाट घर बनाई जग्गाको र घरको रु.१,२५,०००।- घर खर्च गर्न र व्यवहार चलाउनको लागि मबाट नगद लिई मलाई पास गरी दिनु भएको हो । म राजेन्द्रले राजिनामा पास गरी लिएको हुँ । मैले बसोबास गरी भोगी आएको छु । प्रतिवादी मध्येका विष्णुबहादुर भन्ने दिलबहादुर लामिछानेले बकसपत्र पाई आफूखुस गर्न पाउने सम्पत्ति मलाई राजिनामा गरी दिएको हुँदा लिखत वदर हुने होइन । विपक्षीको झुठ्ठा फिराद दावीबाट फुर्सद पाउँ भन्ने समेत प्र.मध्येका राजेन्द्रबहादुर प्याकुरेलको प्रतिउत्तर जिकिर ।
4. प्रतिवादी मध्येका दिलबहादुर लामिछानेको नाउँमा मिति २०५०।९।१६ मा रीतपूर्वक तामेल भएको शुरु म्यादै गुजारी बसेको रहेछ ।
5. मिति २०५०।५।२७ को र.नं. १८३ को राजिनामा लिखत मध्ये वादीको जतिको घरको लिखतको आधा लिखत वदर हुने ठहर्छ भन्ने शुरु नुवाकोट जिल्ला अदालतको मिति २०५१।३।३०।५ को फैसला ।
6. शुरु नुवाकोट जिल्ला अदालतको फैसला नमिलेको हुँदा उक्त फैसला वदर गरी मेरो प्रतिउत्तर जिकिर बमोजिम गरी पाउँ भन्ने प्रतिवादीको पुनरावेदन ।
7. प्रतिवादी दिलबहादुरले विवादको जग्गा बकसपत्रबाट पाएको जिकिर लिएको देखिँदा र निजको बाबुको नाउमा वादी दावीको जग्गा भन्दा बढी २० रोपनी जग्गा कायमै रहेको भनी पुनरावेदकले जिकिर लिएको समेत देखिएकोले अंशवण्डाको १९ नं. समेतको सन्दर्भमा शुरुको निर्णय फरक पर्न सक्ने देखिएकोले अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावलीको नियम ४७ बमोजिम विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५२।६।३०।२ को आदेश ।
8. अंशवण्डाको १९(१) मा पिता पूर्खाको पालाको अचलमा आधि भन्दा बढी व्यवहार चलाउन हक छोडी दिँदा २१ वर्ष नाघेका स्वास्नी, छोरा, बुहारीको मंजुरी लिनु पर्ने प्रावधान रहेको देखिन्छ । फिराद पत्रमा वादीले आफ्नो उमेर १७ वर्ष भनी उल्लेख गरेबाट प्र.दिलबहादुरले विवादित सम्पत्ति हक छाडी दिँदा यी वादीको मंजुरी लिइ रहनु पर्ने अवस्था नदेखिँदा प्रतिवादीहरुले लिनु दिनु गरेको पारित लिखतको आधा वदर गर्ने ठहराएको शुरु नुवाकोट जिल्ला अदालतको निर्णय त्रुटिपूर्ण हुँदा वदर हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पाटनको मिति २०५२।११।१५ को फैसला ।
9. शुरुको फैसला उल्टी गरी लिखत वदर नहुने ठहराएको पुनरावेदन अदालतको इन्साफ त्रुटिपूर्ण हुँदा वदर गरी शुरु जिल्ला अदालतको इन्साफ सदर गरी पाउँ भन्ने समेत वादी राजु लामिछानेले यस अदालतमा गरेको पुनरावेदन पत्र ।
10. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्बान अधिवक्ता श्री पन्नामान तुलाधरले विवादित जग्गा पैत्रिक सम्पत्ति हो भन्ने कुरामा विवाद छैन भने सो जग्गामा बनेको घर फिरादी समेतले निर्माण गरेको संयुक्त आर्जनको सम्पत्ति हो । त्यस्तो सम्पत्ति बेचबिखन गर्दा लेनदेन व्यवहारको १० नं. तथा अंशवण्डाको १९ नं. ले समेत सगोलका अंशियारको मंजुरी लिनुपर्नेमा नलिएको र ने.का.प. २०५४, नि.नं.६३०३, अंक १, पृष्ठ १ पुनरावेदक लक्ष्मी देवी वस्तोला विपक्षी इन्द्र मोहन अधिकारी र ने.का.प. २०४८, अंक १२, पृष्ठ ८५९ वादी ललितमान तामाङ्ग समेत विरुद्ध चित्रबहादुर समेत भएको लिखत वदर मुद्दा सर्वोच्च अदालतबाट भएको प्रतिपादित सिद्धान्त समेतको विपरीत हुँदा पुनरावेदन अदालत पाटनको इन्साफ वदर भै शुरु जिल्ला अदालतको इन्साफ सदर हुनु पर्ने भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
11. यसमा शुरु जिल्ला अदालतको इन्साफ उल्टी गरी वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव बेमनासिव के रहेछ भनी निर्णय तर्फ विचार गर्दा प्र. दिलबहादुर लामिछानेले प्र.राजेन्द्रबहादुर प्याकुरेललाई बिक्री गरी दिएको जग्गा वादी राजु लामिछानेको मंजुरी बिना बेचिएको जग्गा मध्ये आधा भाग लिखत वदर गरी पाउँ भन्ने वादी र सो जग्गामा आफ्नो निजी आर्जनबाट घर बनाई घर खर्च गर्न र व्यवहार चलाउन दिलबहादुर लामिछानेले सो जग्गा बिक्री गरी मलाई दिएकोले त्यसमा वादीको मंजुरी लिई रहनु पर्ने अवस्था नहुँदा वादी दावी झुठ्ठा हो भन्ने समेत प्र.राजेन्द्रबहादुर प्याकुरेलको प्रतिउत्तर जिकिर भएको पाइन्छ । प्रस्तुत मुद्दा वादी राजु लामिछाने र निजको बाबु प्र.दिलबहादुर लामिछाने अंशवण्डा नभएका संगोलका अंशियार भै प्र.दिलबहादुरले संगोलको सम्पत्ति बिक्री गर्दा वादी राजु लामिछानेको मंजुरी नलिएको कारण लेनदेन व्यवहारको १० नं. बमोजिम आधा बिक्री वदर गरी पाउनु पर्ने भन्ने मुख्य दावी भएको र उक्त लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले संगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुसी गर्न पाउने अरुको मंजुरी लिनु नपर्नेमा बाहेक अरुमा संगोलका अंशियारको मंजुरी लिनु पर्ने भन्ने व्यवस्था गरेको र अंशवण्डाको १९(१) मा पिता पुर्खाका पालाको अचल सम्पत्तिमा आधा भन्दा बढी व्यवहार चलाउनै परेपनि २१ वर्ष नाघेका स्वास्नी छोरा समेतको मंजुरी लिनु पर्ने भन्ने व्यवस्था भएको पाइन्छ । फिराद पत्रमा वादीले आफ्नो उमेर १७ वर्ष देखाएका र २१ वर्ष ननाघेका छोरा अर्थात यी वादीको मंजुरी लिनु पर्ने बाध्यता एकाघरका बाबुलाई नभएको साथै उल्लेखित नजिरका मुद्दाहरुको तथ्य र प्रस्तुत मुद्दाको तथ्यमा नै भिन्नता देखिएको अवस्था उक्त प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दामा आकृष्ट हुन सक्ने नदेखिँदा विद्बान अधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन । तसर्थ आफ्नो हकको जग्गा बिक्री गर्दा २१ वर्ष नपुगेका सगोलका छोराको मंजुरी लिइरहनु नपर्ने हुँदा शुरुको इन्साफ उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहरिएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.कृष्णकुमार वर्मा
इति सम्वत २०५६ साल असोज १० गते रोज २ शुभम्............।