शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८८१ - प्रतिषेध मिश्रित उत्प्रेषण

भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक:

निर्णय नं. ३८८१     ने.का.प. २०४६                         अङ्क ७

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४५ सालको रिट नं. १९६६

आदेश भएको मिति : २०४६।५।५।२ मा

रिट निवेदक : का.नं पं. वा.नं. ११ बस्ने जहिरमिया अन्सारी

विरुद्ध

विपक्षी : जिल्ला पञ्चायत सचिवालय, झापासमेत

विषय : प्रतिषेध मिश्रित उत्प्रेषण

§  गाउँ पञ्चायत तथा नगरपञ्चायत क्षेत्र भित्र व्यापार गरिएकोमा व्यापार कर लिन सकिने हुन्छ तर गाउँ पञ्चायत, नगरपञ्चायत वा जिल्ला पञ्चायतको क्षेत्रको बाटो गरी निकासी गरिएको खसी बोकामा कर लिन सक्ने व्यवस्था कानुनले गरेको देखिँदैन, कानुन बमोजिम मात्र कर लगाउन र उठाउन सकिने हुन्छ तसर्थ निवेदकका खसी बोका राँगा आदिमा आफ्नो इलाकाको बाटो गरी निकासी गर्दा कर उठाउने गरेका प्रत्यर्थीहरुका काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ ।

(प्रकरण नं. १३)

§  कानुन बमोजिम बाहेक कर असूल नगर्नु भनी विपक्षी गाउँ पञ्चायत, नगरपञ्चायत तथा जिल्ला पञ्चायतहरुका नाउँमा प्रतिषेधको आदेश जारी हुने ।

(प्रकरण नं. १३)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्द दाश सरस

विपक्षीहरुतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामान्तसिंह बोगटी र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी

आदेश

      प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको व्यहोरा यस प्रकार छ :

      २.    म निवेदक समेतले नेपाल अधिराज्यका विभिन्न जिल्ला गाउँबाट राजमार्गको बाटो गरी खसी बोका राँगाहरु ल्याई काठमाडौं उपत्यकामा चाहिने मासुको आपूर्ति गर्दै आएकोमा विपक्षीहरुले ठाउँ ठाउँमा बाटो छेकी झापा जिल्ला पञ्चायतले निकासी पैठारी कर भनी, जि. पं. सप्तरीले चौपाया कर भनी, जि. पं. सिराहाले पशु चौपाय निकासी पैठारी चन्दा दस्तूर भनी, जि. पं. नवलपरासीले राँगा भंैसी खसी बोका निकासी कर भनी, जि. पं. उदयपुरले चौपाया निकासी कर भनी, जि. पं. मकवानपुरले कुन किसिमको दस्तूर हो सो उल्लेख नगरी, जि. पं. बाराले बाटो कर चौपाया दस्तूर भनी, दमक न.पं. ले चौपाया बिक्रिकर भनी, लाहान न.पं. ले खसी बाख्रा हाटको भनी, जनकपुरधाम न.पं.ले निकासी पैठारी व्यापार कर भनी, कलैया न.पं. ले व्यापार सवारी कर भनी, काठमाडौं न.पं. ले व्यापार कर भनी, महादेवस्थान गा.पं.ले कुन किसिमको कर दस्तूर हो सो केही उल्लेख नगरी कर चन्दा दस्तूर लिंदै आउनु भयो । यसै किसिमको विषयमा म निवेदकले यस अघि पनि विपक्षीहरु विरुद्ध यस अदालतमा रिटनिवेदन दिंदा विपक्षीहरुले कर चन्दा उठाउन नपाउने भनी मिति २०३४।११।५ तथा मिति २०४१।९।९ मा समेत परमादेशको आदेश जारी भएको छ । त्यस्तै गरी खसी बोका राँगा समेतका अत्यावश्यक वस्तुहरुमा कुनै प्रकारको कर चन्दा कुनै तहमा नलगाउने गरी श्री ५ को सरकारबाट २०४२।१०।१० मा निर्णय भई २०४२।१०।२० मा स्थानीय चन्दा कर नलिनु भनी सबै जिल्ला पञ्चायत तथा नगरपञ्चायतहरुमा परिपत्र भई गएको पनि छ । न.पं. तथा जि. पं. कुनैले पनि बाटो घाटो गरी अन्यत्र गएको खसी बोका राँगामा कुनै दस्तूर चन्दा कर लिन पाउने व्यवस्था ऐनले गरेको छैन । यस अवस्थामा विपक्षीहरुले संविधानको धारा ५८ विपरीत लगाएको चन्दा कर दस्तूरबाट नेपालको संविधानको धारा १०(१), ११(२) र (घ), (ङ) १५ समेत द्वारा प्रदत्त मौलिक हक अधिकारमा आघात पुगेकोले यो निवेदन गर्न आएको छु । उत्प्रेषणको आदेशद्वारा खसी बोका राँगामा कर असूल गर्ने विपक्षीहरुको काम कारवाही बदर गरी श्री ५ को सरकारको २०४२।१०।१० को निर्णयानुसार खसी बोका राँगामा आइन्दा कुनै किसिमको कर चन्दा दस्तूर नलिनु भनी विपक्षीहरुका नाउँमा प्रतिषेधको आदेश जारी गरिपाउँ साथै यो रिटनिवेदनको अन्तिम किनारा नलागेसम्म खसी बोका राँगामा कुनै किसिमको कर चन्दा असूल नगर्नु भनी विपक्षीहरुका नाउँमा अन्तरिम आदेश समेत जारी गरिपाउँ भन्ने समेतको रिटनिवेदन ।

      ३.    यस्मा केकसो भएको हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस सर्वोच्च अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।

      ४.    यस्मा निवेदन जिकिर बमोजिम खसी बोका आदि ल्याउँदा बाटोमा कुनै कर नउठाउनु भनी विपक्षीहरुका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ भन्ने समेतको यस स.अ. एक न्यायाधीशको इजलासबाट भएको आदेश ।

      ५.    विपक्षी स्वयंले यस जिल्ला पञ्चायतमा आई काठमाडौंमा मासु आपुर्तिको सिलसिलामा मैले यस जिल्ला हुँदै खसी बोका राँगा काठमाडौंतर्फ लैजाँदा मलाई भैपरी आउने आवश्यक सहयोग जिल्ला पञ्चायतले दिने गर्नु पर्दछ म पनि जिल्ला पञ्चायतको विकासको खातिर आफ्नो स्वेच्छापूर्वक जिल्ला सभा कोषमा दाखिल हुने गरी जे सकेको अनुदान गर्दछु भनी आग्रह गर्नु भएकोमा निजको आग्रह स्वीकार गरी यस जि. पं. ले पनि निजले स्वेच्छापूर्वक दाखिल गर्न ल्याएको रकम जम्मा गरी हिसाब राखी कोषको लेखाजोखा गर्नुपर्ने भएबाट रकम जम्मा हुन आएको निस्सा स्वरुप विपक्षीलाई यस जिल्ला पञ्चायतबाट रसीद दिने गरिएको सम्म हो । विपक्षीबाट कर दस्तूर भनी अधिकार स्वरुप उठाएको होइन । रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेतको जिल्ला पञ्चायत सचिवालय मकवानपुरको लिखितजवाफ ।

      ६.    यस जिल्ला पञ्चायत उदयपुरले जिल्ला भित्रकै खसी बोका राँगा खरीद गरी अन्यत्र जिल्लामा लैजाँदा निकासी कर बापत केही रकम लिने गरेको थियो । अन्यत्र जिल्लाबाट खरिद गरी उदयपुर जिल्लाको बाटोबाट लैजाँदा कुनै पनि प्रकारको कर दस्तूर लिने गरेको छैन । जिल्ला पञ्चायत ऐन, २०१९ को दफा ३५ बमोजिम जि. पं. ले गरेको निर्णयानुसार जिल्ला भित्रका खसी बोका राँगा खरीद गरी अन्यत्र जिल्लामा लान लाग्दा निकासी कर बापत केही रकम लिने गरेकोमा सम्मानीत सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश बमोजिम कुनै कर दस्तूर उठाइएको छैन रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेतको जिल्ला पञ्चायत सचिवालय उदयपुरको लिखितजवाफ ।

      ७.    यस जि. पं. सचिवालयले कर दस्तूर आफैं नउठाई २०४५।४।१ देखि २०४६ आषाढ मसान्तसम्म महम्मद यासीन ठाकुरलाई ठेक्का गरिदिएको हुनाले निजलाई विपक्षी नबनाई यस जि. पं. लाई अनावश्यक विपक्षी बनाइएको छ । जि. पं. ऐन, २०१९ को दफा ५ अनुसार जि. पं. ले आफ्नो इलाकाभित्र आफूले बनाएको वा आफ्नो नियन्त्रणमा रहेको बाटो, पुल पोखरी वा घाट चलन चल्ति गर्ने व्यक्ति सवारी उपर दस्तूर लगाउन पाउने प्रावधान अन्तर्गत उक्त ठेक्का पट्टा गरी कानुन बमोजिम दस्तूर उठाउन लगाएको छ । श्री ५ को सरकारले मनाही गरेको राजमार्गको बाटो गरी आउने चौपायाहरुमा दस्तूर लगाएको छैन । रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेतको जिल्ला पञ्चायत सचिवालय बाराको लिखितजवाफ ।

      ८.    बोका खसी राँगो बिक्री कारोवार गर्ने व्यक्तिबाट लिन नपाउने गरी श्री ५ को सरकाबाट नगरपञ्चायतलाई कुनै परिपत्र प्राप्त भएको छैन । प्राप्त पत्रमा व्यापारिक उद्देश्यले न.पं. क्षेत्रभित्र संकलन भई बिक्री हुने खाद्य पदार्थमा न.पं. ले नियमानुसार कर लिन पाउनेछ तर यो कर हरीयो, साग सब्जी, तावा, फुल फल हाँस कुखुरा दुध दही, माछा औषधी आदि नगरपञ्चायत क्षेत्रभित्र ल्याउँदा कर लिन नपाउने भनी निर्देशन भएको छ । न.पं. ले आफ्नो क्षेत्र भित्र बिक्री गर्ने व्यापारीसँग मात्र कर लिने गरेको छ । रिटनिवेदन खारेज होस् भन्ने समेतको जनकपुर नगरपञ्चायतको लिखितजवाफ ।

      ९.    न.पं.ले कानुन बमोजिम उठाउन पाउने कर उठाउनको लागि प्रत्येक साल ठेक्कामा दिने गरेको त्यस्तो ठेकदारले कानुन विपरीत कर दस्तूर लिन न.पं. ले कुनै अधिकार प्रदान गरेको छैन । लिएको भए न.पं. मा उजूर गरी कानुनी उपचार लिनु पर्नेमा रिटनिवेदन दिन आएकोले खारेज गरिपाउँ भन्ने समेतको भरतपुर नगरपञ्चायतको लिखितजवाफ ।

      १०.   नगरपञ्चायतले राजमार्ग भई जाने आउने वस्तुमा कुनै कर नलगाएको र न.पं. ऐन बमोजिम आफ्नो नम्बरी जग्गामा सञ्चालन गरेको खसी बाख्रा हाटमा खरीद बिक्री हुने खसी बोकामा सेवा शुल्क लिई आएको हो । विपक्षीको रिटनिवेदन निराधार हुँदा खारेज गरिपाउँ भन्ने समेतको लाहान नगरपञ्चायतको लिखितजवाफ ।

      ११.   नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शिवानन्द दाश सरसले निवेदकले काठमाडौंमा मासु आपूर्ति गर्न विभिन्न जिल्लाहरुको बाटो गरी ल्याउनु पर्ने राँगा खसी बोका आदिमा ठाउँ ठाउँमा विपक्षीहरुले कर लिन नमिल्ने भनी श्री ५ को सरकारबाट निर्णय भैसकेको अवस्थामा विपक्षीहरुले उठाएको दस्तूर कानुन विपरीत छ भन्ने समेत र विपक्षीहरुको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले जि. पं. तथा न.पं. ऐन बमोजिम आफ्नो क्षेत्रभित्र बिक्री गर्ने खसी बोका, बाख्रा समेतमा कानुन बमोजिम दस्तूर लगाएको कार्यलाई अन्यथा भन्न मिल्दैन भन्ने समेतको बहस गर्नु भयो ।

      १२.   प्रस्तुत रिटनिवेदनमा निवेदकका माग बमोजिमको आदेश जारी हुने हो वा होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

      १३.   यस्मा निर्णयतर्फ हेर्दा निवेदकले विभिन्न जिल्लाहरुबाट खसी बोका राँगा खरीद गरी ल्याउँदा बाटोमा पर्ने विपक्षी जिल्ला पञ्चायत तथा नगरपञ्चायतले गैरकानुनी रुपमा कर दस्तूर असूल उपर गरेकोले सो कारवाही बदर गरी अब त्यसरी कर दस्तूर असूल उपर नगर्नु भनी प्रतिषेधको आदेश जारी गरिपाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर रहेको पाइन्छ । रिट निवेदकसंग बाटो कर, चौपाया दस्तूर तथा चौपाया निकासी पैठारी चन्दा दस्तूर भन्ने समेतका शीषर्कमा निवेदकले ल्याएका खसी बोका राँगा आदिमा कर दस्तूर उठाएको कुरा रिटनिवेदन साथ पेश गरिएका रसिदहरुको फोटो कपीहरुबाट देखिन्छ । गाउँ पञ्चायत तथा नगरपञ्चायत क्षेत्रभित्र व्यापार गरिएकोमा व्यापार कर लिन सकिने हुन्छ तर गाउँ पञ्चायत, नगरपञ्चायत वा जिल्ला पञ्चायतको क्षेत्रको बाटो गरी निकासी गरिएको खसी बोकामा कर लिन सक्ने व्यवस्था कानुनले गरेको देखिँदैन । कानुन बमोजिम मात्र कर लगाउन र उठाउन सकिने हुन्छ तसर्थ निवेदकका खसी बोका राँगा आदिमा आफ्नो इलाकाको बाटो गरी निकासी गर्दा कर उठाउने गरेका प्रत्यर्थीहरुका काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । कानुन बमोजिम बाहेक कर असूल नगर्नु भनी विपक्षी गाउँ पञ्चायत, नगरपञ्चायत तथा जिल्ला पञ्चायतहरुका नाउँमा प्रतिषेधको आदेश जारी हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल भाद्र ५ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु