निर्णय नं. ३८८६ - सवारी ज्यान

निर्णय नं. ३८८६ ने.का.प. २०४६ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४६ सालको फौ.पु.नं. ५६९
साधक नं. १०९
फैसला भएको मिति : २०४६।३।२५।१ मा
पुनरावेदक/प्रतिवादी : कैलाली कारागारमा थुनामा रहेका बुधराम चौधरी
विरुद्ध
वादी : जन्मेजय भट्टको जाहेरीले श्री ५ को सरकार
मुद्दा : सवारी ज्यान
§ सवारी अनुमतिपत्र बिना नै हेडलाइट नभएको ब्रेक ठीक अवस्थामा नरहेको सवारी हेलचेक्राई तथा लापरवाही पूर्वक हाँकेको कारणबाट मृत्यु हुन गएको देखिंदा सवारी नियम बर्खिलाप निजले सवारी हाँकी दुर्घटना गराएको देखिँदा दावी बमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार कसूर गरेको ठहर गरेको इन्साफ कानुनसंगत नै देखिने ।
(प्रकरण नं. २०)
§ कुनै रिसइवी रहेको मार्ने मनसायबाट नै दुर्घटना गराएको भन्ने मिसिल संलग्न प्रमाणहरुबाट पुष्टि हुन नसकेको स्थिति अवस्थालाई ध्यानमा राखी अ.बं. १८८ नं. अनुसार दावी बमोजिम सजायँ गर्दा कसूरको मात्रामा चर्को पर्ने देखी कैद वर्ष १० (दश) सजायँ गर्न भनी व्यक्त गरेको क्षेत्रीय अदालतको राय मनासिब ठहर्ने ।
(प्रकरण नं. २०)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कुलदेवराज शाही
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ ।
२. मिति २०४१।११।२८ गते साँझ धनगढी बजारबाट चौराहातर्फ गइरहेको से.अ.त. ४५ नं. को टेक्टरले मेरो भतिजा योगेश भट्टलाई कुल्ची मारेकाले कानुन बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।
३. से.अं.त. ४५ नं. को ट्राक्टर दुर्घटना हुँदा बच्चाको मृत्यु भएकोले चालक बुधराम चौधरी समेतलाई ट्राक्टर साथ दाखिल गरिएको भन्ने प्र.ह. धमनबहादुरको प्रतिवेदन ।
४. दुर्घटना स्थलमा योगेश भट्टको लाश मृत अवस्थामा रहेको भन्ने लाश प्रकृति मुचुल्का ।
५. वारदात मितिमा ट्रेक्टर चौरहातर्फ गइरहेको बच्चाले अकस्मात बाटो काट्दा अगाडिको बोनटले बच्चालाई ठक्कर लाग्न गई कुल्ची निजको मृत्यु भएको हो । बच्चालाई मार्नु पर्ने मेरो कुनै रिसइवी थिएन । मैले ड्राइभिङ्ग लाइसेन्स बनाएको छैन भन्ने समेत व्यहोराको बुधराम चौधरीले प्रहरीमा गरेको बयान ।
६. ट्रेक्टरको हेडलाइट नभएको, बे्रक काम नलाग्ने अवस्थामा रहेको भन्ने समेत मेकानिकल प्रतिवेदन ।
७. बुधराम चौधरीले हाकेको ट्राक्टर दुर्घटना हुँदा योगेश भट्टको मृत्यु भएको भन्ने सरजमीन मुचल्का ।
८. मेरी श्रीमतीका नाउँमा दर्ता रहेको से.अं.त. ४५ नं. को ट्रेक्टर चालक टिंगरु चौधरी हुन् । बुधराम होइनन् भन्ने ट्राक्टरवाला निर्मलकुमारको बयान ।
९. उक्त ट्रेक्टरको चालक म हुँ । बुधराम होइनन् निजले आफू खुशी ट्रेक्टर चलाएका हुन भन्ने टिंगारु चौधरीले गरेको बयान ।
१०. ब्रेक ठीक अवस्थामा नरहेको लाइट नभएको से.अ.त. ४५ नं. को ट्रेक्टर अनुमतिपत्र बिना नै चलाई ज्यान मारेकाले सवारी ऐन, २०२० को दफा ५१(१) अनुसार ज्यानसम्बन्धीको १३(३) नं. बमोजिमको कसूर गरेकोले सोही नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको अभियोग प्रतिवेदन ।
११. २०४१।११।२८ गते से.अ.त. ४५ नं. को ट्रक हाँकी ल्याएको, डिजल पाइप र ब्रेक समेत ठीक नभएको कारण बच्चाले बाटो काटी दिंदा बच्चालाई लाग्न गई निजको मृत्यु भएको हो । जानी जानी मृतकलाई मारेको होइन । रिसइवी पनि छैन भन्ने समेत व्यहोराको बुधराम चौधरीले अदालत समक्ष गरेको बयान ।
१२. वारदात अवस्थाबाटै जानकारी भए अनुसार बुद्धरामले सावधानी गरी दिएको भए योगेश भट्टको मृत्यु हुने थिएन । हेलचेक्र्याई र लापरवाहीको कारण दुर्घटना भएको हो भन्ने जाहेरवाला जन्मेजयको बयान ।
१३. मृतक ६ वर्षको बालकसंग बुद्धरामको रिसइवी केही नरहेको, निजलाई मार्ने नियत देखिन नआएको, केवल हेलचक्र्याइको कारण दुर्घटना हुन गएकोले ज्यानसम्बन्धीको ५ नं. अनुसार सवारी ऐन, २०२० को दफा ६(२) बमोजिम रु. १००।– जरीवाना र कैद वर्ष २ हुन्छ र सवारी ऐनको दफा ५४ अनुसार कृया खर्च क्षतिपूर्ति समेत अभिभावकलाई भराई दिने भन्ने समेत व्यहोराको कैलाली जिल्ला अदालतको फैसला ।
१४. प्रस्तुत वारदातमा सवारी ऐन, २०२० को दफा ५१(क) अनुसार ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सजायँ हुन प्रतिवादी उपर दावी रहेको, तर ज्यानसम्बन्धीको ५ नं. अनुसार अपराध कायम गरी भएको फैसला कानुनसंगत नहुँदा फैसला बदर गरी दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको पुनरावेदन ।
१५. बुद्धमान चौधरीले, ब्रेक, हेडलाइट र हर्न समेत नभएको ट्रेक्टर चलाई मृतकको मृत्यु भइरहेको अवस्थामा दावी बमोजिम कसूर कायम नगरेको जिल्ला अदालतको इन्साफ मिलेको देखिन आएन । निजले दावी बमोजिमको कसूर गरेको ठहर्छ, तर हदैसम्म सजायँ गर्दा चर्को पर्ने देखिँदा कैद वर्ष ५ हुने राय सहित पाउने भन्ने समेत व्यहोराको सेती अञ्चल अदालतको फैसला।
१६. अभियोग प्रतिवेदन दावी बमोजिमको अपराध कायम गरी, कैद वर्ष ५ गर्ने गरेको अञ्चल अदालतको फैसला कानुनसंगत नहुँदा बदर गरिपाउँ भन्ने समेत व्यहोराको बुद्धरामको पुनरावेदन ।
१७. हेलचेक्र्याई र लापरवारहीका साथ गलत साइडबाट हाँकेको ट्रेक्टरले योगेश भट्टको मृत्यु भएको प्रमाणित रुपमा रहेको देखिँदा दावी बमोजिमको कसूर कायम गरेको अञ्चल अदालतको इन्साफ मनासिब देखिएको कसूरको मात्रामा सजायँ गर्दा चर्को पर्ने कारण अ.बं. १८८ नं. अनुसार कैद वर्ष १० (दश) को सजायँ गर्दा मनासिब हुँदा साधक सदरका लागि पेश गर्नु भन्ने समेत व्यहोराको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१८. नियम बमोजिम पेश भई आएकोमा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री कुलदेवराज शाहीले गर्नु भएको बहस जिकिर सुनियो ।
१९. प्रस्तुत मुद्दामा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको, विषयमा निर्णय दिनु पर्ने हुन आयो ।
२०. निर्णयतर्फ हेर्दा, यस्मा मृतक योगेश भट्टको मृत्यु, पुनरावेदक प्रतिवादी बुद्धराम चौधरीले हाकेको ट्रेक्टरको चोटबाट भएकोमा विवाद देखिँदैन । आफूले हाँकेको ट्रेक्टरको ब्रेक ठिक अवस्थामा नरहेको आफूसँग सवारी अनुमतिपत्र पनि नलिएको र योगेश भट्टको मृत्यु आफैंले हाँकेको ट्रेक्टरको चोटबाट भएकोमा पुनरावेदक प्रतिवादी सहमत छन् । सवारी अनुमतिपत्र बिना नै हेडलाइट नभएको ब्रेक ठीक अवस्थामा नरहेको सवारी हेलचेक्र्याई तथा लापरवाहीपूर्वक हाँकेको कारणबाट नै योगेश भट्टको मृत्यु हुन गएको देखिन्छ । अतः सवारी नियम बर्खिलाप निज बुद्धराम चौधरीले सवारी हाँकी उक्त दुर्घटना गराएको देखिँदा पुनरावेदक प्रतिवादीले दावी बमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार कसूर गरेको ठहर गरेको इन्साफ कानुनसंगत नै देखिन्छ । तर मृतकसंग प्रतिवादीको कुनै रिसइवी रहेको" मार्ने मनसायबाट नै दुर्घटना गराएको भन्ने मिसिल संलग्न प्रमाणहरुबाट पुष्टि हुन नसकेको स्थिति अवस्थालाई ध्यानमा राखी अ.बं. १८८ नं. अनुसार दावी बमोजिम सजायँ गर्दा कसूरको मात्रामा चर्को पर्ने देखी कैद वर्ष १० (दश) सजायँ गर्ने भनी व्यक्त गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको राय मनासिब ठहर्छ पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन साधकको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४६ साल आषाढ २५ गते रोज १ शुभम् ।