निर्णय नं. ६८६४ - उत्प्रेषणयुक्त परमादेश

निर्णय नं. ६८६४ ने.का.प. २०५७ अङ्क २
संयुक्त इजालास
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
सम्वत २०५४ सालको रिट नं. .... २३८८
आदेश मितिः २०५६।११।१३।६
मुद्दाः उत्प्रेषणयुक्त परमादेश ।
निवेदकः जिल्ला दाङ, उरहरी गा.वि.स. वडा नं. २ घर भै तु.न.पा.बाट अवकाश प्राप्त खरिदार सुरेन्द्र गिरी
विरुद्ध
विपक्षीः तुलसीपुर नगरपालिका कार्यालय दाङसमेत
§ निवेदक विपक्षी नगरपालिकाको आन्तरिक श्रोतबाट तलब भत्ता र अन्य सुविधा पाउने गरी नियुक्ति पाएको कुरामा विवाद देखिएन । यस्ता कर्मचारीहरुलाई नगरपालिका ऐन, २०४८ को दफा ७३(३) अनुसार नियुक्ति, सरुवा, वढुवा र वर्खास्ती गर्न सक्ने अधिकार प्रदान गरेको देखिन्छ । निवेदकको नियुक्ति २०५३।१२।१२ मा भएको र निजले अवकाश पाउँदा तोकिएको एक वर्षे परीक्षणकाल समेत समाप्त भएको अवस्था देखिएन । साथै नगरपालिका (कार्य व्यवस्था) नियमावली, २०४९ को नियम १०(३) मा नियुक्ति गर्ने अधिकारीले अवकाश दिन सक्ने कानूनी व्यवस्था भएको र निवेदक कर्मचारी परीक्षणकालमा रहे भएकै समयमा मिति २०५४।३।२४ को नगरपालिकाको वैठकले नगरपालिकाको मौजुदा कर्मचारी संख्या आवश्यकता भन्दा बढी भै प्रशासनिक खर्च समेत बढी देखिन गएकोले प्रशासनिक खर्चलाई कटौति गरी नगरपालिकाको श्रोतलाई बढी भन्दा बढी विकास कार्यमा लगानी गर्ने भन्ने नीतिगत निर्णय अनुसार नगरपालिकाले निवेदकलाई अवकाश दिएको देखिन्छ । नगरपालिका (कार्य व्यवस्था) नियमावली, २०४९ को नियम २३ र २४ अनुसार सफाई पेश गर्ने मौका दिनु पर्ने एवं स्पष्टीकरण लिनु पर्नेमा त्यस अनुसार नगरपालिकाबाट केही गरिएन भन्ने निवेदकको जिकिरको सम्बन्धमा हेर्दा सम्वत २०५० सालको रिट नं. ३१८० निवेदक उषा चिपालु विरुद्ध श्री महेन्द्र प्रकृति संरक्षण कोष समेत भएको उत्प्रेषण मुद्दामा यस अदालतबाट मिति २०५२।१०।९ मा परीक्षण कालमा रहेको कर्मचारीलाई सफाईको मौका दिनु पर्ने बाध्यात्मक व्यवस्थाको अभावमा त्यस्तो कर्मचारीलाई नोकरीबाट अवकास दिएको कार्यलाई अनधिकृत भन्न मिल्ने देखिएन भन्ने सिद्धान्त कायम भएको देखिन्छ । रिट निवेदक परीक्षण कालमा रहे भएको देखिँदा सफाई पेश गर्ने मौका दिई अवकास दिनुपर्ने हो भनी भन्न मिल्ने देखिएन । तसर्थ नगरपालिकाले आफ्नो अधिकार क्षेत्र अन्तर्गतको अधिकार प्रयोग गरी निवेदकलाई दिएको अवकाश कानूनसम्मत नै हुँदा निवेदकको निवेदन जिकिर पुग्न नसक्ने ।
(प्र.नं.८)
निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री शेरबहादुर के.सी.
विपक्षी तर्फबाटः विद्बान अधिवक्ता श्री एकराज भण्डारी
अवलम्बित नजिरः २०५० सालको रिट नं. ३१८० निवेदक उषा चिपालु विरुद्ध श्री महेन्द्र प्रकृति संरक्षण कोष समेत भएको उत्प्रेषण मुद्दा ।
आदेश
न्या.कृष्णकुमार वर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
2. म निवेदक तुल्सीपुर नगरपालिकाको मिति २०५३।१२।८ को निर्णय अनुसार सहायक स्तर द्बितीय श्रेणी (खरिदार) पदमा स्थायी नियुक्ति पाई नगरपालिका ऐनको परिधि भित्र रही नगरपालिकामा कार्यरत रही आएकोमा विपक्षीहरुले बिना कारण मिति २०५४।४।२ मा मिति २०५४।३।२४ को निर्णयानुसार तपाईलाई मिति २०५४।३।२५ देखि नै लागु हुने गरी सहायकस्तर द्बितीय श्रेणी खरिदार पदबाट अवकाश दिइएको व्यहोरा उल्लेख गरी पत्र दिइयो । म निवेदक नगरपालिका ऐन, २०४८ र नगरपालिका (कार्य व्यवस्था) नियमावली, २०४९ को परिच्छेद २ अन्तर्गतको स्थायी कर्मचारीलाई सोही नियमावलीको नियम २१ बमोजिम नोकरीबाट अवकाश दिनु पूर्व ऐ. नियम २३,२४ अनुसार मलाई सूचना दिई सफाई पेश गर्ने मौका दिनु पर्नेमा सो प्रकृया पूरा नगरी अवकाश दिइयो । साथै ऐ. नियम २५ र २६ को प्रकृया पनि पूरा गरिएन । विपक्षीहरुले नियुक्ति वदर गर्दा कुन ऐनको कुन दफा कुन नियमावलीको कुन नियमको उल्लंघन हुन गएको हो सो उल्लेख गरिएको छैन । मलाई विधिवत नियुक्ति दिइसकेपछि सेवारत रही रहेको अवस्थामा स्थानीय निर्वाचन पछि न.पा.को वोर्डको परिवर्तन पछि अनावश्यक रुपमा पूर्वाग्रही भई सुनुवाईको मौका बिना नै अवकाश दिइएको कार्य प्राकृतिक न्याय सिद्धान्त विपरीत छ । तसर्थ विपक्षीहरुको कार्य नगरपालिका ऐन, २०४८ को दफा ७३(२)(३) र नगरपालिका (कार्य व्यवस्था) नियमावली, २०४९ को नियम २१, २३, २४ विपरीत हुनुका साथै नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १२(१)(२)ङ तथा १७ द्बारा प्रदत्त मौलिक हकमा आघात परेकोले धारा ८८(२) अन्तर्गत उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी मिति २०५४।३।२४ को तुल्सीपुर नगरपालिकाको निर्णय र २०५४।४।२ को अवकाश पत्र वदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।
3. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो । यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र लिखित जवाफ लिई उपस्थित हुनु भनी सूचना दिई लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालतको एक न्यायाधिशको इजलासको आदेश ।
4. नगरपालिका (कार्य व्यवस्था) नियमावली, २०४९ को परिच्छेद २ मा दरबन्दीको पदपूर्ति नयाँ नियुक्ति वा बढुवाद्बारा मात्र गर्न सकिने, त्यस्तो नियुक्तिको लागि उम्मेदवार छनौट गर्ने सम्बन्धमा लोकसेवा आयोगले निर्धारण गरे बमोजिमको प्रकृया अपनाई उम्मेदवार छनौट गरी सिफारिश गर्नको लागि एक पदपूर्ति तथा बढुवा समिति रहने, सो समितिले सिफारिश गरेको उम्मेदवारलाई सचिवले नियुक्ति दिनु पर्ने यसरी नियुक्ति पाएका कर्मचारीलाई एक वर्षको परीक्षणकालमा राखिने कानूनी व्यवस्था विद्यमान छ । विपक्षीको नियुक्ति परिच्छेद २ को नियम ४ बमोजिम नयाँ नियुक्त वा बढुवाबाट भएको होइन । अर्थात विपक्षीको नियुक्तिमा परिच्छेद २ को कुनै पनि प्रकृया अपनाइएको होइन । परीक्षणकालमा रहेका कमर्चारीलाई नियुक्ति दिने अधिकारीले सेवाबाट हटाउन सक्ने कानूनी व्यवस्था ऐ.नियमावलीको नियम १० मा प्रष्ट छ । विपक्षीको नियुक्ति मिति २०५३।१२।१२ मा एक वर्षको परीक्षणकालमा रहने गरी भएको छ । विपक्षीलाई परीक्षणकालमा रहेको अवधि भित्र अर्थात मिति २०५४।३।२४ को निर्णय बमोजिम सेवाबाट अवकाश दिइएको छ । यस्तो अवस्थामा यी विपक्षीलाई अवकाश दिँदा सफाईको मौका दिनु नपर्ने र ऐ.नियमावलीको नियम २१, २३,२४ र २६ बमोजिमको प्रकृया अपनाई रहनु पर्दैन । नगरपालिकाबाट विपक्षीलाई मिति २०५४।३।२४ को निर्णय बमोजिम दिइएको अवकाश कानून बमोजिम छ । विपक्षी निवेदकलाई तुल्सीपुर नगरपालिकाले आफ्नो आन्तरिक श्रोतबाट तलब भत्ता र अन्य सुविधा पाउने गरी नियुक्ति गरेको र त्यसरी आफ्नो कोषबाट व्यहोर्ने गरी भर्ना गर्ने कर्मचारीलाई नियुक्ति सरुवा बढुवा बर्खास्ती गर्ने अधिकार समेत नगरपालिका ऐन, २०४८ को दफा ७३(३) ले नगरपालिकालाई प्रदान गरेकोले समेत विपक्षीलाई सेवाबाट हटाउने गरेको नगरपालिकाको निर्णय कानूनसम्मत हुँदा वदर हुनु पर्ने होइन । विपक्षीको निवेदन नै गैर कानूनी हुँदा खारेज गरी पाउँ भन्ने समेतको तुल्सीपुर नगरपालिका दाङ तुल्सीपुर समेतको एकै मिलानको लिखित जवाफ ।
5. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट विद्बान अधिवक्ता श्री शेरबहादुर के.सी.ले. रिट निवेदक नगरपालिका ऐन, २०४८ र नगरपालिका (कार्य व्यवस्था) नियमावली, २०४९ को परिच्छेद (२) अनुसार स्थायी नियुक्ति पाएका कर्मचारीलाई नियम २१ बमोजिम अवकाश दिँदा नियम २३ अनुसार सफाई पेश गर्ने मौका दिनु पर्नेमा दिइएन साथै नगरपालिका बोर्डको अवकाश दिने निर्णय पूर्वाग्रही हुँदा निवेदन माग बमोजिमको आदेश जारी हुनुपर्छ भनी बहस गर्नुभयो । त्यस्तै विपक्षी नगरपालिका समेतको तर्फका विद्बान अधिवक्ता श्री एकराज भण्डारीले नगरपालिका ऐन, २०४८ को दफा ७३(३) र नगरपालिका (कार्य व्यवस्था) नियमावली, २०४९ को नियम ४,५,६, ७ मा गरिएको नियुक्तिको प्रकृया पूरा गरिएको छैन । नगरपालिका वोर्डले गरेको प्रशासनिक खर्चमा नियन्त्रण गर्ने निर्णय एवं सिफारिशका आधारमा निवेदकलाई अवकाश दिइएको हो । साथै निवेदकले मिति २०५४।३।२४ को निर्णय अवकाश वदर गरी पाउँ भन्ने निवेदन जिकिर लिएको तर पुनः पदमा बहाल गरी पाउँ भन्ने निवेदन जिकिर लिएको तर पुनः पदमा बहाल गरी पाउँ भनी जिकिर नलिएको देखिँदा रिट खारेज हुनुपर्छ भन्ने समेतको बहस गर्नुभयो । साथै मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा निवेदन माग बमोजिमको आदेश जारी हुने हो वा होइन ? अर्थात निवेदन जिकिर पुग्ने हो वा होइन भन्ने विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।
6. यसमा निर्णयतर्फ विचार गर्दा नगरपालिका (कार्य व्यवस्था) नियमावली, २०४९ को नियम २१ मा अवकाश दिन सक्ने व्यवस्था भए अनुसार अवकाश दिनु पूर्व नियम २३, २४ बमोजिम सफाई पेश गर्ने मौका दिनु पर्नेमा त्यस्तो मौका दिइएन । नियम २५,२६ मा उल्लेख भएको प्रकृया समेत नअपनाइएमा प्राकृतिक न्यायको सिद्धान्त विपरीतको अवकाश गैर कानूनी हुँदा वदर गरी पाउँ भन्ने मूल निवेदन जिकिर रहेछ । नियमावलीको परिच्छेद २ बमोजिमको प्रकृया अपनाई नियुक्ति भै परीक्षणकाल पूरा गरी स्थायी नियुक्ति भएको कर्मचारीको हकमा उक्त नियम २१ बमोजिम बर्खास्त गर्दा नियम २३,२४,२५ र २६ को प्रकृया अपनाउनु पर्ने हो तर निवेदकको नियुक्ति परिच्छेद २ को कुनै पनि प्रकृया अपनाई भएको होइन । साथै विपक्षीको नियुक्ति २०५३।१२।१२ मा एक वर्षको परीक्षणकालमा रहने गरी भएकोमा मिति २०५४।३।२४ को निर्णय बमोजिम विपक्षीलाई अवकाश दिँदा सफाईको मौका दिनु पर्ने अवस्था हुदैन र निवेदकको अवकाश कानून सम्मत नै छ भन्ने लिखित जवाफ देखिन्छ ।
7. यसमा निवेदकलाई नियुक्ति दिँदा मिति २०५३।१२।८ गतेको निर्णय अनुसार आन्तरिक श्रोतबाट नगरपालिकाले तोके बमोजिम तलब भत्ता तथा सुविधा पाउने गरी खरिदार पदमा मिति २०५३।१२।१० देखि एक वर्षको परीक्षणकाल रहने गरी स्थायी नियुक्ति दिइएको भन्ने निवेदकको नियुक्ति पत्रको व्यहोराबाट देखिन्छ । साथै नगरपालिकाको मिति २०५४।३।२४ को वैठकले नगरपालिकाको प्रशासनिक खर्च कम गर्नको लागि गरेको विभिन्न निर्णय मध्ये कर्मचारी कटौती गर्ने विषयमा पनि निर्णय भएको देखिन्छ । सोही निर्णयका आधारमा यि निवेदकलाई मिति २०५४।३।२५ देखि लागु हुने गरी अवकाश दिएको देखिन्छ ।
8. निवेदक विपक्षी नगरपालिकाको आन्तरिक श्रोतबाट तलब भत्ता र अन्य सुविधा पाउने गरी नियुक्ति पाएको कुरामा विवाद देखिएन । यस्ता कर्मचारीहरुलाई नगरपालिका ऐन, २०४८ को दफा ७३(३) अनुसार नियुक्ति, सरुवा, वढुवा र वर्खास्ती गर्न सक्ने अधिकार प्रदान गरेको देखिन्छ । निवेदकको नियुक्ति २०५३।१२।१२ मा भएको र निजले अवकाश पाउँदा तोकिएको एक वर्षे परीक्षणकाल समेत समाप्त भएको अवस्था देखिएन । साथै नगरपालिका (कार्य व्यवस्था) नियमावली, २०४९ को नियम १०(३) मा नियुक्ति गर्ने अधिकारीले अवकाश दिन सक्ने कानूनी व्यवस्था भएको र निवेदक कर्मचारी परीक्षणकालमा रहे भएकै समयमा मिति २०५४।३।२४ को नगरपालिकाको वैठकले नगरपालिकाको मौजुदा कर्मचारी संख्या आवश्यकता भन्दा बढी भै प्रशासनिक खर्च समेत बढी देखिन गएकोले प्रशासनिक खर्चलाई कटौति गरी नगरपालिकाको श्रोतलाई बढी भन्दा बढी विकास कार्यमा लगानी गर्ने भन्ने नीतिगत निर्णय अनुसार नगरपालिकाले निवेदकलाई अवकाश दिएको देखिन्छ । नगरपालिका (कार्य व्यवस्था) नियमावली, २०४९ को नियम २३ र २४ अनुसार सफाई पेश गर्ने मौका दिनु पर्ने एवं स्पष्टीकरण लिनु पर्नेमा त्यस अनुसार नगरपालिकाबाट केही गरिएन भन्ने निवेदकको जिकिरको सम्वन्धमा हेर्दा सम्वत २०५० सालको रिट नं. ३१८० निवेदक उषा चिपालु विरुद्ध श्री महेन्द्र प्रकृति संरक्षण कोष समेत भएको उत्प्रेषण मुद्दामा यस अदालतबाट मिति २०५२।१०।९ मा परीक्षणकालमा रहेको कर्मचारीलाई सफाइको मौका दिनु पर्ने बाध्यात्मक व्यवस्थाको अभावमा त्यस्तो कर्मचारीलाई नोकरीबाट अवकास दिएको कार्यलाई अनधिकृत भन्न मिल्ने देखिएन भन्ने सिद्धान्त कायम भएको देखिन्छ । रिट निवेदक परीक्षणकालमा रहे भएको देखिँदा सफाई पेश गर्ने मौका दिई अवकाश दिनुपर्ने हो भनी भन्न मिल्ने देखिएन । तसर्थ नगरपालिकाले आफ्नो अधिकार क्षेत्र अन्तर्गतको अधिकार प्रयोग गरी निवेदकलाई दिएको अवकाश कानूनसम्मत नै हुँदा निवेदकको निवेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.केदार प्रसाद गिरी
इति सम्वत २०५६ साल फाल्गुण १३ गते रोज ६ शुभम्...................।