निर्णय नं. ६८६५ - कर्तव्य ज्यान

निर्णय नं. ६८६५ ने.का.प. २०५७ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री टोपबहादुर सिंह
सम्वत २०५५ सालको फौ पु.नं. ... १९७९
सम्वत २०५५ सालको साधक नं. ... २३३
फैसला मितिः २०५६।१२।२१।२
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादीः जिल्ला चितवन, पिठुवा गा.वि.स. वडा नं. ३ घर भै हाल कारागार शाखा भरतपुर चितवनमा थुनामा रहेका तिलक प्रसाद भट्टराई
विरुद्ध
विपक्षी/वादीः केदार प्रसाद दाहालको जाहेरीले नेपाल सरकार
§ तत्कालै उठेको रिस सहन नसकी आवेशमा आई घटना घटेको हुँदा ज्यान सम्बन्धीको १३(३) को सजाय गरेको मिलेन भन्ने जिकिरका सम्बन्धमा मिसिल संलग्न प्रमाण कागजात अध्ययन गर्दा यी प्रतिवादी तिलकप्रसाद भट्टराईले आफ्नो जेठी श्रीमती कमला भट्टराईलाई २०५३।१।२ गतेका दिन कुटपीट गरी घाँटीमा डोरीले कसी पछि आँगनमा रहेको मकैको खोयामा पल्टाई मट्टितेल खन्याई आगो लगाई दिई कर्तव्य गरी मारेकोमा अधिकार प्राप्त अधिकारी समक्ष साविती रही बयान गरेको देखिन्छ । मृतकको शरीर अत्यधिक रुपमा जल्न गई मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट र लास जाँच प्रकृति मुचुल्का समेतबाट देखिन्छ । घटना देख्ने यी प्रतिवादीको ७ वर्षको छोरी सृजना भट्टराईले अधिकार प्राप्त अधिकारी र अदालत समेतमा बयान गर्दा बुबा आमा बीच झगडा परी बुबाले आमालाई कपालमा समाते र खाटबाट भूईमा लडाई भान्सा कोठाबाट मट्टितेल ल्याई खन्याई आमालाई भित्रबाट घिसारेर बाहिर आँगनमा रहेको मकैको (खोया) ढोरमा पल्टाई आमाको मुख थुनी घाँटीमा डोरीले बाँधी आगो लगाई मारेको भन्ने बकपत्र गरेको देखिन्छ । प्रतिवादी मध्येका चन्द्र कुमारी भट्टराईको अधिकार प्राप्त अधिकारी समक्षको बयान समेतबाट यी प्रतिवादीले मृतकलाई खोयामा पल्टाई आगो लगाई कर्तव्य गरी मारेको भन्ने देखिन्छ । त्यसैगरी बुझिएका व्यक्तिहरु ध्रुवप्रसाद खनाल, चोमनाथ खनाल, टिकाराम ढकाल तथा जाहेरवाला समेतले अदालतमा गरेको बकपत्र समेतबाट मृतक कमला भट्टराईको मृत्यु यी पुनरावेदकको कर्तव्यबाट भएको पुष्टि भएको देखिन्छ । ज्यान सम्बन्धीको १४ नं. मा ज्यान मार्नाको मनसाय रहेनछ ज्यान लिनु पर्ने सम्मको इवि पनि रहेनछ, लुकि चोरीकन हानेको पनि रहेनछ उसै मौका उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुंगा, लात, मुक्का इत्यादि हान्दा सोही पीरले ऐनका म्याद भित्र ज्यान मरेमा १० वर्ष कैद गर्नुपर्छ भन्ने व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दाको मृतक कमला भट्टराईको मृत्युको घटित घटना सो १४ नं. मा उल्ल्खित अवस्थासँग मिल्ने देखिएन । मट्टितेल शरिरमा खन्याई आगो लागेको अवस्थामा ज्यान जान सक्ने भन्ने कुरा प्रतिवादीलाई थाहा भएन भन्न पनि सकिदैन । तसर्थ प्रतिवादी तिलकप्रसाद भट्टराईलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरु चितवन जिल्ला अदालतबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेकै देखिँदा सदर हुने ।
(प्र.नं.१९)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री लिलामणी पौडेल
विपक्षी वादी तर्फबाटः X
अवलम्बित नजिरःX
फैसला
न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ख) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
2. पश्चिम चेतनाथ खनालको घर, पूर्व लोकबहादुर बस्नेत र ईश्वरी खनालको घर, दक्षिण मिलन चोक जाने कच्ची बाटो, उत्तर मृतककै घर यति चार किल्ला भित्र आफ्नै घर आगनमा रहेको मृतक लास र नरीवलको जट्टाको २ टुक्रा भएको रसी रहेको मृतक कमला भट्टाराईको टाउको पूर्व पश्चिम खुट्टा भै पूर्वतर्फ फर्किएको शरीरमा रहेको कपडा जलेको शरीरको विभिन्न अंगको भागमा फोका फुटी सेतो टाटा देखिएको हात खुट्टाको पंजा बाहेक शरीरको भाग जलेको अनुहार समेत जली नचिनिने अवस्थामा रहेको भन्ने समेत मृतकको लास प्रकृति तथा घटनास्थल मुचुल्का ।
3. बहिनी कमलाको आज भन्दा ७ वर्ष अघि तिलकप्रसाद भट्टराईसँग विवाह भै एक छोरी सृजनाको जन्म भएको, बहिनी कमलालाई ज्वाई समेतले हेला गरेकोले माइतमा नै बस्दै आएकी थिइन् । बीचमा तिलक प्रसादले अर्का विवाह समेत गरी बहिनीलाई पिट्ने कुट्ने गरेको कुरा कमला भन्दै आएकी थिइन । मिति २०५३।१।२ गतेका दिन बिहान १०:३० बजेको समयमा घरको आँगनमा रहेको मकैको खोया माथि पल्टाई मट्टितेल समेत खनाई कर्तव्य गरी मारेका कुरा थाहा हुन आएको हुँदा अन्यायी तिलकप्रसाद भट्टराई र आमा चन्द्रकुमारी भट्टराई समेतलाई मु.ऐन ज्यान सम्बन्धी महल अन्तर्गत कारवाही गरी पाउँ भन्ने मृतकका दाजु केदार दाहालको मिति २०५३।१।४ को जाहेरी ।
4. कमला भट्टराईसँग ७/८ वर्ष अगाडी विवाह भएको थियो । निजबाट एक छोरी समेतको जन्म भएको छ । निजसँग बराबर झै झगडा हुने गर्दथियो । बराबर माइतामा बस्ने भएकोले २०४८ सालमा मैया भन्ने केटीसँग दोश्रो विवाह गरेको हुँ । कान्छी श्रीमती माइतीमा रहेकीले घरमा जेठी श्रीमती कमला म आमा चन्द्र कुमारी र छोरी समेत बस्दै आएकोमा श्रीमती मुख मुखै लाग्ने, भनेको नमान्ने, बाहिरीइ केटाहरुसँग हिड्ने गरेको मलाई मन परेको थिएन । २०५३।१।२ गतेको दिन श्रीमती कमला र म भान्सा कोठामा थियौ । छोरी पल्लो कोठामा थिइन । आमा कता थिइन थाहा भएन । एक्कासी श्रीमतीले नाना थरीका कुराकानी निकाली झगडा गर्न लागेकोले मलाई रिस उठी नरीवलको रसी झिकी निजलाई कपाल समाती तानी घाँटीमा रस्सीले सुर्किनी गाठो बनाई घाँटीमा कसी सकेपछि झुण्डाउन खोज्दा सकिन । श्रीमती भुईमा लडिन । त्यतिबेला सम्म निजको मृत्यु भै सकेको थियो । हातमा समाई बाहिर घिसार्दै बाहिर आँगनमा ल्याई मकैको खोया माथि पल्टाई घरबाट मट्टितेल लगि शरीरमा खन्याई कर्तव्य गरी मारेको हुँ । मैले मात्र गरेको हुँ । आमाको संलग्नता छैन । छोरीले देखिन देखिनन् थाहा भएन भन्ने समेत व्यहोराको प्रतिवादी तिलक प्रसाद भट्टराईको मिति २०५३।१।९ गते अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।
5. बुहारी कमलासँग मेरो र छोराको बीचमा बराबर झगडा भईरहन्थ्यो । २०५३।१।२ गतेका दिन बिहान अं. १० बजेको समयमा खाना खाई सकेपछि म पल्लो कोठामा गई मकै छोडाई बसे भान्सा कोठामा छोरा, बुहारी सुत्ने हुँदा सोही कोठामा बसेका थिए । के कुरामा झगडा भएको थियो मलाई थाहा भएन । झगडा भएको सुनेकी थिए । पछि बाहिर आई हेर्दा आगनमा रहेको खोया माथि बुहारीलाई पल्टाई मट्टितेल खन्याई बुहारी जलिरहेको अवस्थामा देखेको हुँ, के गरेको भन्दा मलाई बोल्न दिएन । सासु बुहारीको त्यति बोलचाल थिएन भन्ने समेत व्यहोरो चन्द्रकुमारी भट्टराईको मिति २०५३।१।१० को बयान कागज ।
6. आमा बाबु दिन प्रतिदिन झगडा गर्नुहुन्थ्यो । २०५३।१।२ गतेका दिन बिहान १०:३० बजेको समयमा म भान्सा कोठा बसी भात खादै थिए । त्यसबेला बुबाले आमालाई कुटपिट गरी भूईमा लडेको देखी डरले सबै बाहिर निस्के त्यसपछि बुबाले आमालाई बाहिर ल्याई मट्टितेल खन्याई आगो लगाई दिनु भएको हो । हजुरआमा पल्लो कोठामा बस्नु भएको थियो भन्ने समेत व्यहोराको प्रतिवादी तिलकप्रसाद भट्टराईको नाबालक छोरी वर्ष ७ की सृजना भट्टराईको अधिकार प्राप्त अधिकारी समक्ष २०५३।१।१२ गते गरेको कागज ।
7. मिति २०५३।१।२ गतेका दिन कमला भट्टराईलाई प्रतिवादी तिलक प्रसाद भट्टराई र चन्द्रकुमारी भट्टराई समेत मिलि कर्तव्य गरी मारेका हुन भन्ने चोमनाथ भट्टराईको भनाई र सोही मिलानको अन्य बुझिएका ध्रुवप्रसाद खनाल समेतको भनाई रहेको २०५३।१।२० को घटनास्थल वरपरका व्यक्तिको मुचुल्का ।
8. तिलकप्रसाद भट्टराईको कान्छी श्रीमती हुन । सौतालाई देखेकी थिइन । वारदात हुँदाको अवस्था माइतमा थिए । श्रीमान र सासु समेतले के कुरामा झगडा भै मारे मलाई थाहा भएन भन्ने प्र.तिलकप्रसाद भट्टराईको कान्छी श्रीमती मैया भट्टराईको २०५३।१।२० को कागज ।
9. प्रतिवादी चन्द्रकुमारी वारदात हुँदाको अवस्था आफ्नै घरमा रहेकी र भान्सा कोठामा छोरा बुहारीको झगडा भएको सुनेपछि झगडा साम्य पार्नुको सट्टा चुप लागि बसेको समेत कारणबाट तिलकप्रसादले श्रीमतीलाई कर्तव्य गरी मार्नमा थप मद्दत पुग्न गएको वस्तु स्थिति मुचुल्काका व्यक्ति चोमनाथ खनाल,ध्रुव प्रसाद खनाल, बेनीबहादुर कुँवर, टिकाराम ढकाल, मेनुका लामिछाने, ऋषिराम कडेल, राधिका अधिकारी समेतका व्यक्तिले यिनै दुवै प्रतिवादीको मिलेमतोबाट कमला भट्टराईको मृत्यु भएको भन्ने कुरा किटानी रुपमा लेखी दिएको तथा वारदात हुँदा यी प्रतिवादी चन्द्रकुमारी घटनास्थल नजिकै रहेकी समेतको तथ्यबाट निजलाई मार्ने कार्यमा चन्द्र कुमारी समेतको मत सल्लाह थिएन भन्ने सकिने अवस्था आएन । चन्द्रकुमारी भट्टराईले संयोग पारी दिएको कारणबाट तिलकप्रसाद भट्टराईले आफ्नो श्रीमतीलाई कुटपिट गरी नरीवलको रसीले घाँटीमा कसी मट्टितेल समेत खन्याई कर्तव्य गरी मारेको तथ्ययुक्त आधारबाट पुष्टि हुन आएको हुँदा अभियुक्त तिलकप्रसाद भट्टराई र चन्द्रकुमारी भट्टराईको उक्त कार्य मुलुकी ऐन ज्यान सम्बन्धीको १ र १३ नं. मा उल्लेखित कसूर अपराध हुँदा सो कसूर अपराधको अभियोगमा तिलकप्रसाद भट्टराईलाई ऐ.ऐनको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने र चन्द्रकुमारी भट्टराईलाई ऐ.ऐनको १३(४) नं. बमोजिम सजाय हुन माग दावी लिएको छ । साथै पक्राउ परेका अभियुक्त र सक्कल मिसिल यस साथ सम्मानित अदालतमा प्रस्तुत गरिएको व्यहोरा सादर अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको अभियोग पत्र माग दावी ।
10. निज कमला भट्टराई मेरो श्रीमती हुन । म गाउँतिर गएको थिए । घरमा आई ढोकाबाट भित्र हेर्दा श्रीमतीको पुरै शरीरमा आगो बलेको देखेको हुँ । घरमा अरु मानिस थिएनन मैले गुहार गुहार लौन आगो लागेछ भने, गाउलेहरु आएर हल्लाखल्ला गरे यिनीहरुले मारेको हो छोड्न हुदैन मौका अहिले पाइयो भनी आमा चन्द्रकुमारीलाई र म तिलकप्रसाद भट्टरालाई प्रहरीको जिम्मा लगाई प्रहरी कार्यालयमा ल्याएको हो । मैले आगो लगाई मारेको होइ । मेरो र श्रीमतीको बीच मनमुटाव थिए किन त्यस्तो उजूरी दिए थाहा छैन । मारेको हो भने जस्तो गाउलेले दिएको बयान हो त्यस्तै गर्नुपर्छ भनी प्रहरी केरकार शाखामा खुट्टामा बाँधी उधोमुन्टो पारी झुण्ड्याई पिटे । डर धम्की त्रास देखाई मैले बयान दिएको हो । सृजना भट्टराईलाई गाउलेले चक्लेट मिठाई दिई झुठ्ठा कागज गर्न लगाएको हो । कृषिबाट ऋण झिकी बाडैको थियौ । सो पैसाको निहुँमा झगडा परेको थियो । ध्रुवसँग पनि पैसा सम्बन्धी रिसइवी थियो । अरुले किन लेखाए बेनीबहादुरको भनाईमा लागेर लेखाए होलान । कान्छी श्रीमती माइतमा थिइन । निजको भनाई ठिकै हो । श्रीमतीको घटनास्थलको फोटो देखेँ निज को हो मैले शरीरमा आगो लागिरहेको मानिस छटपटाएको देखेको हो मलाई प्रहरीले पक्रेर ल्याएको हुँदा जाहेर गर्न पाइन । मेरो गल्ती छैन । गल्ती नहुँदा दावी बमोजिम मलाई सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी तिलकप्रसाद भट्टराईले शुरु अदालतमा गरेको बयान ।
11. म घरमा थिइन । पल्तिर गाउमै गएकी र घरमा आउँदा मेरो छोराको जेठी बुहारी आँगनमा जलेर लडेको देखे मेरो होस भएन । म त्यही पछारिए र पछि मलाई पक्रेर ल्याए के भयो निज मृतक कस्तो अवस्थामा थिइन थाहा भएन । निजको बिहिनी कमलासँग कहिले झगडा पनि भएन । कुटपिट पनि गरेनौ मट्टितेल खनाई आगो लगाएकी होइन । त्यस्तो पाप कुरा लेखाएका रहेछन् । हामीले त्यस्तो पाप गरेका हौइनौ । म दुःखमा परेकी र होस नभएकिले थाहा भएन खान लाउन दिएका थियौ किन मरिन याद भएन बुहारीसँग मेरो बोलचाल राम्रो थियो । म घरमा थिइन के भयो थाहा भएन । प्रहरीले के लेखे सही गर भनेकाले लगलग कामी डराई सही गरेकी हुँ । खोइ किन हो होस थिएन । कान्छी बुहारी मैया भट्टराई माइतमा नै थिइन । मैले मारेको होइन फोटो कसको हो लाश प्रतिवेदनमा भएको कुरा थाहा भएन मैले जे भने त्यो नढाँटी भनेकी छु । त्यसैले मलाई सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी चन्द्रकुमारी भट्टराईले शुरु अदालतमा गरेको बयान ।
12. प्रस्तुत मुद्दाका जाहेरवाला केदारप्रसाद दाहाल, मौकामा बुझिएका व्यक्ति बेनीबहादुर कुँवर, ऋषिराम कट्टेल, टिकाराम ढकाल, चोमनाथ खनाल, सर्जमिनका मानिस ध्रुवप्रसाद खनाल, मृतककी छोरी वर्ष ७ की सृजना भट्टराई समेतले शुरु अदालतमा उपस्थित भई बकेको बकपत्र ।
13. प्र.मध्येकी चन्द्रकुमारी आरोपित कसूरमा संलग्नता रहेको ठहराउन मिल्ने आधार प्रमाण मिसिल संलग्न कागजबाट देखिन नआएकोले निज प्रतिवादी चन्द्रकुमारीले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । प्र.तिलकप्रसादले अभियोग मागदावी बमोजिम आफ्नी जेठी श्रीमती कमला भट्टराईलाई कर्तव्य गरी मारेको भन्ने स्पष्ट रुपमा देखिन आएको हुनाले निजलाई अभियोग पत्र मागदावी अनुसार मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु चितवन जिल्ला अदालतबाट भएको फैसला ।
14. शुरु चितवन जिल्ला अदालतबाट भएको फैसला कुनै तथ्य वास्तविकता कानून कानूनी सिद्धान्त एवं नजिर समेतमा भर नगरेको हुँदा उक्त फैसला वदर गरी झुठ्ठा अभियोग दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन जिकिर ।
15. पुनरावेदक प्रतिवादीले आफ्नो जेठी पत्नी कमलालाई कुटपिट गरी आगो लगाई मारेको भन्ने निजको अधिकार प्राप्त अधिकारी समक्ष भएको साविती बयान मिसिल संलग्न निजकी छोरीको प्रत्यक्ष प्रमाण सरहको कथनबाट समर्थित हुन आएकोले निजालई ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्मकैद गर्ने ठहराएको समेत चितवन जिल्ला अदालतको फैसला मनासिव हुँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौडाको मिति २०५४।८।३० को फैसला ।
16. मुद्दाको प्रकृति अवस्था साविती बयान, सर्जमिन मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का, शव परीक्षण रिपोर्ट र सृजना भट्टराईको बयानबाट समेत उक्त घटना मनसायबाट नभै तत्कालै उठेको रिट सहन नसकी आवेशमा आएको कारणबाट घटना घटेको देखिने अवस्था भएकाले १३(३) को मागदावी बमोजिम सजाय हुने ठहर्याएको शुरु चितवन जिल्ला अदालत र पुनरावेदन अदलातको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी पाउँ भन्ने पुनरावेदन पत्र ।
17. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्बान अधिवक्ता श्री लिलामणि पौडेलले घटना प्रत्यक्ष देख्ने सुन्ने व्यक्ति कोही नभएकाले नाबालक छोरीलाई ललाई फकाई कागज गराएको छ । कागज गराउँदा म प्रति रिसइवी राख्ने ध्रुवप्रसाद खनालाई रोहवरमा राखेको मुलुकी ऐन अ.वं.२४ नं. को विपरीत छ । मिसिल संलग्न घटनास्थल प्रकृति मुचुल्का, सृजना भट्टराई समेतको बयानबाट घटना आवेशमा आई घटेको देखिँदा ज्यान सम्बन्धीको १४ नं. अनुसार सजाय हुनु पर्नेमा ऐजनको १३(३) को सजाय हुने ठहराएको शुरु जिल्लाको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौडाको फैसला वदर गरी पाउँ भनी गर्नुभएको बहस समेत सुनी मिसिल संलग्न प्रमाण कागजात अध्ययन गरी निर्णय तर्फ विचार गर्दा पुनरावेदकलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने ठहराएको पुनरावेदन अदालत हेटौडाको फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
18. यसमा प्रतिवादी तिलकप्रसाद भट्टराईको पुनरावेदन अदालत हेटौडाको फैसला उपर पुनरावेदन परेको देखिँदा पुनरावेदनको रोहबाट निजको हकमा विचार हुने नै हुँदा साधकको लगत कट्टा गरी दिनु । पुनरावेदनको रोहबाट पुनरावेदक प्रतिवादीको हकमा विचार गर्दा प्रतिवादी तिलक भट्टराई समेतले २०५३।१।२ गते आफ्नी जेठी श्रीमती कमला भट्टराईलाई कर्तव्य गरी मारेकोले ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको अभियोग पत्र दावी भै ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने ठहराएको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौडाको फैसलामा प्रतिवादीको चित्त नबुझी यो पुनरावेदन परेको देखियो ।
19. तत्कालै उठेको रिस सहन नसकी आवेशमा आई घटना घटेको हुँदा ज्यान सम्बन्धीको १३(३) को सजाय गरेको मिलेन भन्ने जिकिरका सम्बन्धमा मिसिल संलग्न प्रमाण कागजात अध्ययन गर्दा यी प्रतिवादी तिलकप्रसाद भट्टराईले आफ्नो जेठी श्रीमती कमला भट्टराईलाई २०५३।१।२ गतेका दिन कुटपीट गरी घाँटीमा डोरीले कसी पछि आँगनमा रहेको मकैको खोयामा पल्टाई मट्टितेल खन्याई आगो लगाई दिई कर्तव्य गरी मारेकोमा अधिकार प्राप्त अधिकारी समक्ष साविती रही बयान गरेको देखिन्छ । मृतकको शरीर अत्यधिक रुपमा जल्न गई मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट र लास जाँच प्रकृति मुचुल्का समेतबाट देखिन्छ । घटना देख्ने यी प्रतिवादीको ७ वर्षको छोरी सृजना भट्टराईले अधिकार प्राप्त अधिकारी र अदालत समेतमा बयान गर्दा बुबा आमा बीच झगडा परी बुबाले आमालाई कपालमा समाते र खाटबाट भूईमा लडाई भान्सा कोठाबाट मट्टितेल ल्याई खन्याई आमालाई भित्रबाट घिसारेर बाहिर आगनमा रहेको मकैको (खोया) ढोरमा पल्टाई आमाको मुख थुनी घाँटीमा डोरीले बाँधी आगो लगाई मारेको भन्ने बकपत्र गरेको देखिन्छ । प्रतिवादी मध्येका चन्द्र कुमारी भट्टराईको अधिकार प्राप्त अधिकारी समक्षको बयान समेतबाट यी प्रतिवादीले मृतकलाई खोयामा पल्टाई आगो लगाई कर्तव्य गरी मारेको भन्ने देखिन्छ । त्यसैगरी बुझिएका व्यक्तिहरु ध्रुवप्रसाद खनाल, चोमनाथ खनाल, टिकाराम ढकाल तथा जाहेरवाला समेतले अदालतमा गरेको बकपत्र समेतबाट मृतक कमला भट्टराईको मृत्यु यी पुनरावेदकको कर्तव्यबाट भएको पुष्टि भएको देखिन्छ । ज्यान सम्बन्धीको १४ नं. मा ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनु पर्ने सम्मको इवि पनि रहेनछ, लुकि चोरीकन हानेको पनि रहेनछ, उसै मौका उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुंगा, लात, मुक्का इत्यादि हान्दा सोही पीरले ऐनका म्याद भित्र ज्यान मरेमा १० वर्ष कैद गर्नुपर्छ भन्ने व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दाको मृतक कमला भट्टराईको मृत्युको घटित घटना सो १४ नं. मा उल्ल्खित अवस्थासँग मिल्ने देखिएन । मट्टितेल शरिरमा खन्याई आगो लागेको अवस्थामा ज्यान जान सक्ने भन्ने कुरा प्रतिवादीलाई थाहा भएन भन्न पनि सकिदैन । तसर्थ प्रतिवादी तिलकप्रसाद भट्टराईलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरु चितवन जिल्ला अदालतबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.टोपबहादुर सिंह
इति सम्वत २०५६ साल चैत्र २१ गते रोज शुभम्..................।