शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८९४ - लिखत बदर

भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक:

निर्णय नं. ३८९४     ने.का.प. २०४६                         अङ्क ७

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४५ सालको दे.पु.नं. ६९७

फैसला भएको मिति : २०४६।४।१२।५ मा

पुनरावेदक/प्रतिवादी : जिल्ला रुपन्देही मानपकडी गा.पं. वार्ड नं. ८ बस्ने लालबहादुर टण्डन क्षेत्री

विरुद्ध

विपक्षी/वादी : जि. रुपन्देही मानपकडी गा.पं. वार्ड नं. ७ बस्ने चनरजित चाईसमेत

मुद्दा : लिखत बदर

§  उखडामा पाएको जग्गालाई निजी सीपबाट आर्जन भएको भन्न नमिल्ने ।

(प्रकरण नं. १७)

§  अंशियारको हक समाप्त हुने गरी सगोलको सम्पत्तिमा आफू खुसी गर्न पाउँदछ भन्न कानुनसंगत भएन ।

(प्रकरण नं. १७)

§  सगोलमा छँदै उखडामा पाएको र यस्तो जग्गालाई निजी परिश्रमबाट आर्जन गरेको भनी आफू खुस गर्न पाउने सम्पत्ति मान्न नमिल्ने ।

(प्रकरण नं. १७)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी/वादीहरु तर्फबाट : विद्वान अधिवक्ता श्री भूमि खरेल

फैसला

      न्या. गजेन्द्रकेशरी बास्तोला : श्री पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं निर्णय निम्नानुसार छ।

      २.    विपक्षी रामदेवले हाम्रो हक लाग्ने जग्गा हाम्रो मन्जूरी बेगर विपक्षी लालबहादुरलाई ०४१।२।४।५ मा रु. ३०,०००।जिल्ला रुपन्देही गा.पं. मानपकडी वडा नं. ४(क) कि.नं. ५६, ६१, १९९ समेतको जग्गा बिगहा ११०१५ राजीनामा गरी दिएको २०४१।२।१५ मा मालपोत कार्यालयबाट नक्कल लिंदा थाहा पाएकोले फिराद गर्न आएका छौं । हाम्रो हक जति लिखत बदर गरिपाउँ भन्ने समेत व्यहोराको वादी सुभावती चाइनी चनर जित चाइको फिराद दावी ।

      ३.    वादीले अ.बं. ८६ नं. को आधारमा नालेश गरेको पाइन्छ । लिखत बदर निम्ति यस मुद्दामा अ.बं. ८६ नं. प्रयोग हुँदैन । लिखत बदर हुनुपर्ने कुनै आवश्यक कारण छैन । प्रतिवादी रामदेव चाइको छोराको उमेर १६ वर्ष भन्दा बढी नभएको २१ वर्ष भन्दा मुनीका छोराको र श्रीमतीको मन्जूरी लिनु पर्ने आवश्यक नहुँदा वादी दावी बमोजिमको लिखत बदर हुनुपर्ने होइन झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको ०४१।५।२९ को लालबहादुर टण्डन क्षेत्रीको प्रतिउत्तर जिकिर ।

      ४.    प्रतिवादी रामदेव चाईको नाउँमा ०४१।४।३।४ मा तामेल भएको तामेली म्याद गुजारी बसेको रहेछ ।

      ५.    वादी प्रतिवादीको साक्षी बुझिएको रहेछ ।

      ६.    वादी प्रतिवादी बीच चलेको अंश मुद्दामा अंश पाउने ठहरी फैसला भएकोले वादी दावी बमोजिम लिखत बदर हुने ठहर्छ भन्ने शुरु रुपन्देही जिल्ला अदालतको मिति २०४३।३।१७ को फैसला ।

      ७.    उक्त फैसला उपर चित्त बुझेन भनी लालबहादुर टण्डन क्षेत्रीको लु.अं.अ.मा परेको पुनरावेदनपत्र ।

      ८.    प्र.रामदेवले राजीनामा गरेको जग्गा प्र.रामदेवको नाममा उखडाबाट दर्ता हुन आएको भए पनि सो को उखडा फाराम वादीले पहिले नै भरेको र यस्तो खेती गर्ने जमीनमा वादीहरुको पनि श्रम तथा सीप लाग्न जानेमा विवाद नभएकोले राजीनामा गरेको जग्गालाई प्र.रामदेवको मात्र एकलौटी गर्न पाउने निजी आर्जनको सम्पत्ति भन्न मनासिब देखिँदैन । अतः वादी दावीको राजीनामा मध्ये तीन खण्डको दुई खण्डको जग्गामा वादीको हक लाग्ने हुँदा सो हदसम्म राजीनामा बदर गर्ने गरेको शुरु अदालतले गरेको फैसला मिलेको हुँदा पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भनी लुम्विनी अञ्चल अदालतबाट मिति ०४४।३।२३।३ मा भएको फैसला ।

      ९.    उक्त फैसलामा चित्त बुझेन शुरुको सदर गरी भएको लुम्बिनी अञ्चल अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको लालबहादुर टण्डन क्षेत्रीको परेको निवेदनपत्र ।

      १०.   यस्मा रामदेवले बिक्री गरेको जग्गा पैत्रिक सम्पत्ति भएको भन्ने सबूदले पुष्टि नगरेको र राजीनामा गर्दाको अवस्थामा चनरजित २१ वर्ष पुगेको भन्ने पनि देखिन नआएकोले अंश बण्डाको १९ नं. को त्रुटि गरी लुम्बिनी अञ्चल अदालतबाट फैसला भएको देखिँदा पुनरावेदनको अनुमति दिएको छ । कानुन बमोजिम गर्नु भन्ने आदेश ।

      ११.   प्र.रामदेवले प्र.लालबहादुरलाई राजीनामा बिक्री गरी दिएको जग्गा प्र.रामदेवले उखडा फाराम भरी निजको नाममा भएको देखिए पनि त्यस्तो उखडा जग्गा निजी आर्जन हुने नभई सगोलको सम्पत्ति नै हुने हुँदा त्यस्तो सगोलको सम्पत्ति बिक्री गर्दा एकासगोलको अंशियारहरुको मन्जूरी लिनु पर्ने मु.ऐ. लेनदेन व्यवहारको १० नं. ले बाध्य गराएकोमा विवादित लिखतमा यिनी वादीहरुको सहिछाप समेत भएको नदेखिएकोले शुरुले वादी दावी बमोजिम ३ खण्डको २ खण्ड लिखत बदर हुने ठहर्‍याएको इन्साफ सदर गरेको लुम्बिनी अञ्चल अदालतको फैसला मनासिब ठहर्दछ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।३।८।४ को फैसला ।

      १२.   रामदेवले २०४१।२।४।५ राजीनामा गरी बिक्री गरेको सम्पत्ति निजको आफ्नो पालाको आर्जनको हो । अंशबण्डाको १९(२) र लेनदेन व्यवहारको १० नं. को व्यवस्थाले निजले कसैको मन्जूरी नलिई आफूखुस गर्न पाउने हो । निजले मलाई बिक्री गरेको घरखर्च चलाउनलाई गरेको र आफूले गर्न पाउने हदसम्म नै गरेको एवं चनरजित २१ वर्ष पनि नपुगेको अवस्थामा निजको मन्जूरी लिनु पर्ने होइन । सुभावती चाइनको फिराद थाहा पाएको ३५ दिन भित्र परेको छैन । सो विचारै नगरी गरिएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्र.लालबहादुरको यस अदालतमा पर्न आएको निवेदनपत्र ।

      १३.   यस्मा निवेदकले २०४१।२।४ रामदेव राउतबाट रजिष्ट्रेशन पास गरिलिएको जग्गा निज रामदेवको उखडाबाट प्राप्त निजी आर्जनको समेत देखिन आयो । यसरी उखडाबाट प्राप्त तथा निजी आर्जनको सम्पत्तिमा मु.ऐ. अंशबण्डाको १९(२) तथा लेनदेन व्यवहारको १० नं. ले आफू खुस गर्न पाउनेमा त्यस्तो सम्पत्तिलाई सगोलको सम्पत्ति मानी बिक्री गर्दा सगोलको अंशियारहरुको मन्जूरी लिनु पर्ने भनी ३ खण्डको २ खण्ड लिखत बदर हुने ठहर गरेको प.क्षे.अ. को फैसलामा उक्त अंशबण्डाको १९(२) तथा लेनदेन व्यवहारको १० नं. को कानुनी व्याख्या सम्बन्धी त्रुटि देखिन आउनुको साथै ने.का.प. ०४० नि.नं. १७१६ मा प्रतिपादित सिद्धान्त समेतको त्रुटि देखिन आएकोले न्या. प्र.सु. ऐन, ०३१ को दफा १३(५)(ख)(ग) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति ०४५।५।१०।६ को आदेश ।

      १४.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विपक्षी वादीहरु तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री भुमि खरेलले गर्नु भएको बहस समेत सुनियो ।

      १५.   प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ निर्णय दिनुपर्ने हुन आयो ।

      १६.   यस्मा हाम्रो समेत हक लाग्ने जि. रुपन्देही गा.पं. मानपकडी वडा नं. ४ (क) कि.नं. ५६, ६१, १९९ समेतको जग्गा विपक्षी रामदेवले विपक्षी लालबहादुरलाई राजीनामा गरिदिएको थाहा पाएकोले हाम्रो हक जति बदर गरिपाउँ भन्ने समेत फिराद दावी एवं २१ वर्ष भन्दा मुनीको छोराको र श्रीमतीको मन्जूरी लिइरहनु पर्ने कानुनी व्यवस्था नरहेको, म्याद नाघी आएको फिराद हुँदा झुठ्ठा दावाबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तर जिकिर रहेकोमा क्षेत्रीय अदालतबाट वादी दावी बमोजिम वादीको हक जतिमा लिखत बदर हुने ठहर्‍याई फैसला भएको देखिन्छ ।

      १७.   यस्मा प्र.रामदेवले प्र.लालबहादुरलाई बिक्री गरेको जग्गा सगोलमा रहेको अवस्थामा आर्जन गरेको तथा सो आर्जन हुँदा छोरा र स्वास्नीको पनि परिश्रम परेको अवस्था देखिन्छ । उखडामा पाएको जग्गालाई निजी सीपबाट आर्जन भएको भन्न मिलेन । स्वास्नी छोराको अंश हक लाग्न सक्ने स्थितिमा रामदेव चाइले मात्र एकलौटी बिक्री गरेको सदर हुनसक्ने भएन । अंशियारको हक समाप्त हुने गरी सगोलको सम्पत्तिमा आफू खुशी गर्न पाउँदछ भन्न कानुनसंगत भएन । रामदेवले बिक्री गरेको जग्गा सगोलमा छँदै उखडामा पाएको र यस्तो जग्गालाई निजी परिश्रमबाट आर्जन गरेको भनी आफू खुस गर्न पाउने सम्पत्ति मान्न नमिल्ने हुँदा वादी दावी बमोजिम ३ खण्डको २ खण्ड लिखत बदर हुने ठहर्‍याएको जिल्ला र अञ्चलको सदर गरेको मिति २०४५।३।८।४ को पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्दछ । कोर्टफि राखी प्रस्तुत पुनरावेदन दायर भएको देखिँदा पुनरावेदकलाई केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रचण्डराज अनिल

 

 

इति सम्वत् २०४६ साल श्रावण १२ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु