निर्णय नं. ३८९५ - जालसाजी

निर्णय नं. ३८९५ ने.का.प. २०४६ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४४ सालको फौ.पु.नं. ४७९
फैसला भएको मिति : २०४६।४।१५।१ मा
पुनरावेदक/वादी : का.न.पं. वडा नं. २९ ठमेल बस्ने कमल केशरी प्रधानसमेत
विरुद्ध
विपक्षी/प्रतिवादी : का.जि. अ. का तत्कालिन अर्दली हरिप्रसादसमेत
मुद्दा : जालसाजी
§ जालसाजमा जालसाज गर्नेलाई फाइदा नै पुगेको हुनुपर्दछ भन्ने कानुनी बाध्यता भएको नदेखिने ।
(प्रकरण नं. १३)
§ जालसाजको क्रिया स्वयंमा आपराधिक क्रिया भएको र त्यस्तो कार्य कसैबाट गरिन्छ भने जसका विरुद्धमा सो कार्य गरियो त्यस्तो व्यक्तिलाई नोक्सान पुग्न पाएन वा भएन भन्दैमा त्यसलाई जालसाज भएन भन्न नमिल्ने ।
(प्रकरण नं. १३)
पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने
विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा एवं विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल
फैसला
न्या. गजेन्द्रकेशरी बास्तोला : श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ :–
२. विपक्षी कृष्णवदनसंगको अंश मुद्दामा श्री सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०३८।५।७ गते फैसला भए उपर हामीहरुले न्यायिक समितिमा दिएको निवेदनपत्रको निकासा भई नसक्दै फैसला बमोजिमको अंश छुट्याई पाउँ भनी विपक्ष कृष्णवदनले का.जि. अ. मा दर्खास्त दिनु भएको, पति पिता अमिरप्रसाद ०३८।३।४ गते नै परलोक भई सक्नु भएको र वृद्धावस्थाको कारण जाडो छल्न म कमलकेशरी, म बत्तिनानी र म हेमन्तप्रसाद उपचारको लागि वीरगंज गई बसेको र म द्वारिकाप्रसाद नेपाल बैंक हेटांैडामा जागिरे हुँदा हेटौंडामा रहेको अवस्थामा का.जि. अ. बाट द.स. का ४६ नं. को उल्लेख गर्दै जारी भएको दिन १५ को सूचना हिरेन्द्रप्रसाद प्रधान भन्ने कल्पित नामको अवला नाती, भदाहा र भतिजा भन्ने उल्लेख गरी अ.बं. ११० तथा २२५ नं. समेतका ऐनको प्रतिकूल पारी तामेल गर्ने अर्दली हरिप्रसाद र सोको समर्थनमा वडा सदस्यले समेत सही गरी कीर्ते कागजको ३, ४ को विरुद्ध र सोही महलको ९ र १० बमोजिम सजायँ हुने अपराध भएकोमा सो मौकामा हामीहरुलाइ जानकारी नभई ०३९।२।३० गते नक्कल सराई लिंदा यथार्थमा जानकारी हुन आएकोले जि. अ. का अर्दली समेतका नाममा नालेस गर्ने अनुमति माग गरेकोमा ०३९।३।८ गते भएका स्वीकृति मितिले २ महीना नघाई र ८ महीनाभित्र फिराद गर्न आएका छौं । हामीहरुको नामको सूचना बीच बीचै गायब पारी लेखिए अनुसार जालसाज गरे गराएमा विपक्षीहरुलाई कीर्ते कागजको ९ र १० का ऐन बमोजिम सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको कमलकेशरी प्रधान समेत जना ४ को फिराद ।
३. प्रतिवादीहरुका नाउँमा यस अदालतबाट जारी भएको ३० दिने समाव्हानमा प्र.देवमान श्रेष्ठ १, प्र.नाति महर्जन १, प्र.हिरेन्द्रप्रसाद प्रधान १, प्र.आशा महर्जन समेतका नाउँको समाव्हान मिति ०३९।७।२४।४ मा तामेल भएकोमा सो को म्याद गुजारी बसेको, प्र.कृष्णवदन प्रधान १, प्र.तुलसीभक्त पालिखा १ का नाउँको समाव्हान मिति ०३९।८।२१।२ मा तामेल भएकोमा सो को म्याद गुजारी बसेको र प्र.हरिप्रसादका नाउँको समाव्हान मिति २०४०।११।८।२ मा तामेल भएकोमा सो को म्याद गुजारी बसेका रहेछन ।
४. फिराद दावी बमोजिम सो म्याद तामेल जालसाजपूर्ण छ, छैन भन्ने तर्फ हेर्दा सो म्याद अदालतको फैसला बमोजिम प्र.कृष्णवदनले पाउने अंश छेट्याउने सम्बन्धमा जारी भएको देखिन्छ । प्र.कृष्ण प्रधानले अंश पाउने गरी अदालतबाट अन्तिम फैसला भइसकेकोले सो म्याद तामेलीबाट वादीको अंश हकमा केही असर पर्ने देखिँदैन र वादीले आफ्नो कुनै हकमा असर परेको वा नोक्सान भएको भनी दावी पनि लिन सकेको देखिँदैन । यस्तो अवस्थामा कीर्ते कागजको ३ नं. बाट परिभाषित जालसाजभित्र प्रस्तुत मुद्दाको कार्य परेको देखिँदैन । तसर्थः जालसाज भन्ने दावी पुग्न सक्तैन, फिराद दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ. को ०४१।२।४ को फैसला ।
५. उक्त बा.अं.अ. को फैसलामा चित्त बुझेन, वा.अं.अ. को फैसला कानुन र न्याय विपरीत भएकोले सो फैसला बदर गरी हाम्रो दावी बमोजिम गरिपाउँ भनी कमलकेशरी प्रधान समेत जना ४ ले गरेको पुनरावेदन ।
६. जालसाजको दावी पुग्न नसक्ने ठहर्याएको बा.अं.अ. को फैसला नमिली फरक पर्ने देखिँदा अं.व. २०२ नं. तथा क्षे.अ. नियमावली, २०३६ बमोजिम विपक्षीहरु झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको श्री म.क्षे.अ. को ०४३।५।२९ को आदेश ।
७. यस्मा प्रतिवादीहरुका विवादपूर्ण कार्यबाट अंश छुट्याउँदा वादीलाई यो यस्तो नोक्सान पर्न गएको भनी फिरादमा उल्लेख गर्न सकेको पाइदैन । वादीहरु स्वयंले हिरेन्द्रप्रसाद प्रधान काल्पनिक व्यक्ति भनी प्रतिवादी बनाएको प्रतिउत्तर नपरेको अवस्थामा म्याद सूचनामा लेखिए अनुसार हिरेन्द्रप्रसाद नाता सम्बन्धको भन्ने मिसिलबाट प्रमाणित हुन नआएको अवस्थामा श्री सर्वोच्च अदालतबाट भएको फैसला बमोजिम अंश छुट्याई दिने कार्यबाट वादीले आफूलाई नोक्सान पर्न गएको भन्न नसकेको समेत हुँदा कीर्ते कागजको ३ नं. बमोजिम जालसाजी भन्न नमिल्ने हुँदा जालसाजी भन्ने वादी दावी नपुग्ने गरेको अञ्चलको फैसला मनासिब ठहर्दछ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०४३।११।५।३ मा भएको फैसला ।
८. निवेदकका नाममा जारी भएको म्याद विपक्षीहरुले काल्पनिक मानिस खडा गरी तामेल गर्नाले मेरो अदालतमा गई मुद्दाको पुर्पक्ष गर्ने अधिकारको अपहरण भएको, यसरी काल्पनिक मानिसले म्याद बुझ्ने कार्यलाई कानुनी नै मानिने हो र त्यसलाई फैसलाद्वारा वैध बनाइने हो भने त्यसबाट समाजलाई प्रतिकूल असर पर्न सक्ने भएकोले मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा कीर्ते कागजको ३ नं. १० नं. अ.बं. १८४(क), १८५, १८९ र प्रमाण ऐनको दफा ३.५४ को व्याख्या सम्बन्धी त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादी पक्षको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
९. यस्मा का.जि. अ. बाट जारी भएको १५ दिने सूचना हिरेन्द्रप्रसाद भन्ने कल्पित व्यक्ति खडा गरी म्याद तामेल गर्ने अर्दली हरिप्रसाद र वडा सदस्यले समेत सही गरी झुठ्ठा व्यहोरा पारी कीर्ते कागजको ३।४ नं. को अपराध गरेकोले सजायँ गरिपाउँ भन्ने दावी भई कीर्ते कागजको ३ नं. हेरिएमा “अर्काको हक मेट्ने हदम्याद तारिख जाने वा कुनै तरहसंग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलबले होस् नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अंक व्यहोरा फरक पारी सहिछाप गरी दिने लिने जालसाज गर्ने ठहर्दछ” भनी उल्लेख भएको छ सो हिरेन्द्रप्रसाद भन्ने कल्पित व्यक्ति खडा भई एकजनाको नाउँको म्याद अर्काले मेरो नाता पर्ने भनी बुझिलिएबाट अदालतबाट जारी भएको हदम्याद गुज्रेको देखियो । यस्तोमा कीर्ते कागजको ३ नं. बमोजिम जालसाजी भन्न नमिल्ने भनी वादी दावी पुग्न नसक्ने ठहर्याई वा.अं.अ. ले गरेको फैसला मनासिब ठहर्याएको को म.क्षे.अ.को फैसलामा कीर्ते कागजको ३ नं. को व्याख्या सम्बन्धी त्रुटि देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति ०४४।५।१९।६ को आदेश ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा अधिवक्ता श्री बालकृष्ण न्यौपानेले क्षेत्रीय अदालत समेतबाट नोक्सान परेन भन्ने आधारमा जालसाज भएन भनिएको छ । जालसाज पुष्टि हुन नोक्सान परेको देखिन पर्ने वा अदालतका आदेश बमोजिम भएको काम जालसाज हुँदैन भन्न मिल्ने होइन । जालसाज भएको कुरा स्वीकारी नोक्सान नपरेको भन्ने आधारमा जालसाज भएको भन्न मिलेन भनेर भन्दा नोक्सानी बिनाको जालसाजीलाई मान्यता दिए जस्तो हुन जान्छ । जाजसाजी जुन अवस्थामा पनि जालसाज भएकोले क्षेत्रीय अदालतको त्रुटिपुर्ण फैसला बदर गरिपाउँ भन्ने समेत एवं विपक्षी प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता द्वय श्री शम्भु थापा एवं श्री पिताम्बर सिलवालले जालसाज गरी तामेल गराइएको भनेको म्याद अंशबण्डाको फैसला कार्यान्वयनको सम्बन्धमा अदालतबाट जारी भएको म्याद हो । सो फैसला कार्यान्वयनको कार्य सम्पन्न भैसकेको छ र भएको बण्डा मुचुल्का मान्यता प्राप्त रही आएको देखिन्छ । म्याद जालसाज भने पनि सोही जालसाजबाट तामेल भएको म्याद बमोजिम भएको अंशबण्डालाई विपक्षीले कानुनी बमोजिम बदर गारउने चेष्टासम्म नगरी स्वीकारेको स्थितिमा र जालसाज गरेको आरोप लागेको पक्षलाई सो जालसाजको क्रियाबाट कुनै फाइदा पनि नभएको र सो जालसाजबाट म्याद पनि नगएको स्थितिमा जालसाजको कुनै औचित्य हुने नहुँदा क्षेत्रीय अदालतको फैसला सदर हुनुपर्दछ भनी गर्नु भएको बहस समेत सुनियो ।
११. यस्मा जालसाज नठहर्याई गरिएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने हुन आयो ।
१२. यस्मा हाम्रा नाममा तामेल गरिएको म्याद विपक्षीहरुले बीच बीचमै गायव गरी जालसाज गरेकोले ऐन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत फिराद दावी रहेकोमा प्रतिवादी पक्षबाट प्रतिउत्तर नै नफिराएको देखिन्छ ।
१३. श्री सर्वोच्च अदालतबाट भएको फैसला बमोजिमको बण्डा छुट्याई पाउँ भनी कृष्णबदन प्रधानले काठमाडौं जिल्ला अदालतमा दर्खास्त चढाएपछि विपक्षीहरुका नाउँमा काठमाडौं जिल्ला अदालतबाट जारी भएको १५ दिने म्याद ०३८।१२।५।५ मा तामेल भएको र सो म्याद अमिर प्रधानको हकमा निजको नाति भई हेमन्त प्रधानको हकमा एकाघरको छोरा भई, वन्तीनानी प्रधानको हकमा एकाघरको भदै भई, द्वारीकाप्रसाद प्रधानको हकमा एकाघरको भतिजा भई तथा कमलकेशरी प्रधानको हकमा नाति भई एउटै व्यक्ति हिरेन्द्रप्रसाद प्रधानले बुझी लिएको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरु कसैको पनि प्रतिउत्तर नपरेको र म्याद बुझिलिने हिरेन्द्रप्रसाद भन्ने व्यक्ति को हो भन्ने कुरा यकीन भएको पनि मिसिलबाट देखिँदैन । मुलुकी ऐन कीर्ते कागजको महलको ३ नं. मा “लेखिए देखि बाहेक अर्काको हक मेट्ने हदम्याद तारिख जाने वा कुनै तहरसंग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलवले होस नगरे नभएको झुठ्ठा कुरा भए गरेको हो भनी वा मिति वा अंक वा व्यहोरा फरक पारी सहिछाप गरी गराई कागज बनाए वा बनाउन लगाएमा समेत जालसाजी गरेको ठहर्छ” भन्ने व्यवस्था भएको पाइन्छ । क्षेत्रीय अदालतबाट फैसला गर्दा आफूलाई नोक्सान पर्न गएको भनी वादीले भन्न नसकेको हुँदा जालसाजी भन्न नमिल्ने भन्ने फैसला गरिएको देखिन्छ । कीर्ते कागजको ३ नं. को व्यवस्थालाई हेर्दा “.....हदम्याद तारिख जाने वा ......” भन्ने उल्लेख भएकोबाट जालसाजमा सो काम भई जालसाज गर्नेलाई फाइदा नै पुगेको हुनुपर्दछ भन्ने कानुनी बाध्यता भएको देखिन आएन । प्रस्तुत मुद्दामा जस्तो कार्यसम्म भएको भए पनि त्यस्तो जालसाजको कार्य अपराध नै ठहर्ने देखियो । ०३९।४।१७ मा बण्डा छुट्याइएको भनिएको कुरा प्रस्तुत मुद्दाको फिरादसंग सम्बन्धित भएको नदेखिएको हुँदा यस फैसलाबाट सो ०३९।४।१७ मा गरिएको बण्डा छुट्याइने कार्यलाई असर पर्ने देखिएन । जालसाजको क्रिया स्वयंमा आपराधिक क्रिया भएको र त्यस्तो कार्य कसैबाट गरिन्छ भने जसका विरुद्धमा सो कार्य गरियो त्यस्तो व्यक्तिलाई नोक्सान पुग्न पाएन वा भएन भन्दैमा त्यसलाई जालसाज भएन भन्न मिलेन । जालसाजमा नोक्सान नै हुनुपर्ने कानुनी बाध्यता नभएको र त्यस्तो भनिनु व्यवहारिक समेत नहुँदा वादी दावी बमोजिम प्रतिवादीहरुले जालसाज नै गरेको देखिएकोले निजहरुले कीर्ते कागजको ३ नं. बमोजिम जालसाज गरेको ठहदर्छ । वादी दावी नपुग्ने गरी गरेको अञ्चल अदालतको फैसला सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।११।५।३ को फैसला उल्टी हुन्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादीहरुले कीर्ते कागजको ३ नं. बमोजिम जालसाज गरेको ठहरेकोले सोही महलको १० नं. बमोजिम देहायका प्रतिवादीहरुलाई जनही रु. २००।– जरिवाना हुने भई बेरुजु हुँदा लगत कसी असूल गर्नु भनी का.जि. अ.त मा लगत दिनु .........१
देहाय
प्र. हरिप्रधान रु. २००।– प्र. कृष्णबदन प्रधान रु. २००।– प्र.तुल्सीभक्त पालिखा रु. २००।– प्र. हिरेन्द्रप्रसाद प्रधान रु. २००।– प्र. नाती महर्जन रु. २००।– प्र. आशा महर्जन रु. २००।– प्र. देवमान श्रेष्ठ रु. २००।–
वादी कमलकेशरी प्रधान १, वनीनानी प्रधान १, हेमन्तप्रसाद प्रधान १, द्वारिकाप्रसाद प्रधान १ समेत के बागमती अञ्चल अदालतको मिति ०४१।२।४।५ को फैसलाले गरेको जरिवाना एवं मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।११।५।३ को फैसलाले गरेको थप जरिवाना समेत असूल उपर भैसकेको भए फिर्ता पाउँ भनी ऐनका म्याद भित्र दर्खास्त दिन आए कानुनको रीत पुर्याई फिर्ता खर्च लेखी दिनु भनी एवं असूल उपर भई नसकेको भए व्यहोरा जनाई लगत कट्टा गर्नु भनी का.जि. अ.त. मा लगत दिनु .........२
मिसिल नियमानुसार गरी बुझाई दिनु ........३
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४६ साल श्रावण १५ गते रोज १ शुभम ।