शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४७०२ - जग्गा हक कायम गर्दा बदर समेत

भाग: ३५ साल: २०५० महिना: जेष्ठ अंक:

निर्णय नं. ४७०२    ने.का.प. २०५० (क)        अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

सम्वत् २०४६ सालको दे.वि.नं. : ६३

फैसला मिति : २०५०।२।१९।३

विन्तीपत्रवाला

प्रतिवादी : का.जि.का.न.पं वडा नं. ७ सिफल बस्ने विद्या शम्शेर ज.व.रा

बिरुद्ध

विपक्षी/वादी : ऐ.ऐ. बस्ने राज कुमार आचार्य ।

मुद्दाः जग्गा हक कायम गर्दा बदर समेत ।

(१)   बादीले जग्गा छुट्याई लिंदा जति जग्गा आफूले लिएको हो त्यति जग्गा मात्र पछिसम्म कायम हुन्छ । नापीमा नरबढी भएको जग्गा लिनेको हुन्छ भन्न नमिल्ने ।

(प्र.नं. ८)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री गणेश राज शर्मा

            : विद्वान अधिवक्ता श्री राम प्रसाद गौडेल ।

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्की ।

फैसला

न्या. मोहन प्रसाद शर्मा

१.     रोपनी पौने तीन पूर्व गौचरण र गोरेटो बाटो पश्चिम भैरव प्रसादको घर जग्गा, उत्तर ज्ञानेन्द्र ढकालको जग्गा, दक्षिण आफ्नो बाँकी रहेको जग्गाको चार किल्ला भित्रको जग्गा विपक्षी बाट ०२३।९।१५।६ मा राजीनामा पारित गराई भोग चलन गरी आएको थिएँ । मेरो राजीनामाको जग्गा पशुपती नाथका पुजाहारीले पास नगरी दिंदा मेरो उजुर परी ०३३।९।२० मा मिलापत्र भै विपक्षीका नाउँमा बाँकी रहेको सम्पूर्ण दुई रोपनी एक आना मेरो नाउँमा नामसारी भै तिरोभरो गरी भोगी चर्ची आएको थिएँ । सो जग्गा मलाई राजीनामा गर्नु अगाबै २०२२।८।९ मा नापी नक्सा हुँदा भगवान स्थान गा.पं. वडा नं. ४ कि.न. ४८ मा नापी भै विपक्षका नाउँमा पाँच रोपनी ते¥ह आनादर्ता भएको रहेछ । विपक्षीले सो जग्गा मध्ये ज्ञानेन्द्र ढकाललाई सात आना मलाई पौने तीन रोपनी र रंजन नेपालालाई दुई रोपनी समेत गरी पाँच रोपनी तीन आना बक्रिी गरी सकेकोमा सो कि.नं. ४८ मा कुन तरिकाबाट ०३५।१०।४ मा कित्ताकाट भै कि.नं. १११ ज्ञानेन्द्र ढकालका नाउँमा, ११० मेरो नाउमा कि.नं. १०८ रंजन नेपालका नाउँमा र कित्ता नं. १०९ मा एक रोपनी पाँच आना समेत सम्पूर्ण जग्गा बिक्री गरी सकेका, निज विपक्षीका नाउँमा कित्ताकाट भएछ सो कुरा मलाई मौकामा थाहा थिएन । म घरमा नभएको अवस्था पारी मेरो कम्पाउण्डको जग्गा दक्षिणतर्फ पश्चिममा ३ आना जग्गामा तीन कोठा भएको घर र २ कोठाको ड्यामप्रुफ भएको घर जग हालेको देख्दा सो सम्बन्धमा विपक्षसंग सोधपुछ गर्दा सबै जग्गा राजीनामा गरी सकेको भए तापनि कित्ताकाट गर्दा नापीमा नरवढी भएको मलाई राजीनामा गरेको मध्ये जग्गा कि. नं. १०९ मा आफ्ना नाउँमा कित्ताकाट नामसारी दर्ता गर्न लगाई त्यस मध्येबाट उमा मल्ललाई ०४०।११।१ मा बक्सपत्र गरी कि.नं. १९९ मा कित्ताकाट गरी आफ्ना नाउँमा कि.नं. २०० जग्गा क्षेत्रफल एक रोपनी तीन आना कित्ताबाट नामसारी गराएको भन्ने थाहा पाएकोले नयाँ कि.नं. १०९ भएको दर्ता र त्यसपछि सो मा कित्ताकाट भै विपक्षका नाउँमा नामसारी भएको कि.नं. २०० को दर्ता बदर गरी सो भित्रको एक रोपनी तीन आना मेरो हक कायम गरी विपक्षले खिचोला गरेको जग्गा तीन आनामा विपक्षको खिचोला मेटाई मेरो नाउँमा दर्ता गरी बिपक्षले बनाएको घर भत्काउन लगाई जग्गा खाली गर्न लगाई दावाको जग्गा चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको राजकुमार आचार्यको मिति ०४१।४।१७ को फिराद पत्र ।

२.    कि.नं. ४८ को जग्गा नापीका बखत ५१३० कायम भई सो मध्ये ज्ञानेन्द्र प्रसाद ढकाललाई ०० नेपाल उपाध्यायनीलाई २० र विपक्षलाई २० समेत जम्मा ४० मात्र राजीनामा गरी दिएको हो र बाँकी १० मेरो नाउँमा नै कायम छ विपक्षले मिलापत्र गर्दा समेत २० जग्गा मात्र स्वीकार गरेका छन् । सो जग्गा विपक्षको नाउँमा अध्यावधि कायम छ । साविक दर्ताका ४० भएकोमा नापीका बखत १० जग्गा बढी कायम हुन आई अमाल कचहरीमा दर्ता तिरो तिरी भोग गर्दै आएको हो । सो जग्गा साविक कि.नं. ४८ कित्ताकाट भै पशुपति अमालकोट कचहरीका नाउँमा कि.नं. १०९ मा दर्ता हुन आएकोमा म दर्तावाला मोहीलाई पशुपती अमालकोटबाट ०३९।१।१४ मा मोही दर्ता प्रमाण पूर्जा पाई सो कि.नं. १०९ को जग्गा मध्ये ०० मैले उमा मल्ललाई वक्सपत्र गरी दिएको हुँ कि.नं. १०९ कित्ता काट भै मेरो नाउँमा दर्ता हुन आएको कि.नं. २०० को क्षेत्रफल १० जग्गा वडा समितिबाट सिफारिस लिई आएको हो । उपरोक्त प्रमाणहरूबाट फिराद पत्र अ.वं. १८० नं. अन्तरर्गत खारेज गरी झुठ्ठा फिराद गर्ने फिरादीलाई नै दण्ड सजाय गरी पाउँ भन्ने समेत व्यहोराको विद्या समसेर ज.व.रा.को मिति ०४१।६।२४।४ गतेको प्रतिउत्तर पत्र ।

३.    कि.नं. १०९ कोदर्ता र त्यसपछि कित्ताकाट भई कि.नं. २०० को दर्ता भित्रको जग्गामा बनेको घर भत्काई जग्गा खाली गरी चलन चलाई पाउँ भन्ने बादी दावी पुग्न नसक्ने झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ.को मिति ०४२।१।५ गतेको फैसला ।

४.    यसमा वादी राजकुमार आचार्यले प्रतिवादी विद्या सम्सेरबाट ४० मध्ये २१२० जग्गा ०२३।९।१५ मा राजीनामा गरी लिएको भए पनि ४० मध्ये नामसारी गराई लिने वाहेकको २० जग्गा मात्र वादीका नाउँमा नामसारी गर्ने गरी बादी राजकुमार आचार्य प्रतिवादी पदमनाथका बीच नामसारी दाखिल खारेज मुद्दामा ०३३।९।२० मा मिलापत्र भएकोबाट प्रतिबादीको सम्पूर्णहक नै समाप्त भै सकेको देखिन आउँछ । सर्भे नापीबाट ५१३० हुन आएको जग्गा उपरोक्त जग्गाकै हो भनी प्रतिउत्तरमा स्वीकार गरी रहेको अवस्थामा नरबढीको आधारमा दावी गर्न पाउने देखिदैन । त्यसमा पनि आफ्नो जग्गामा कम्पाउण्ड समेत लगाई भोग गरी रहेको कुरा का.न.पा.बाट पास भएको नक्साबाट देखिन आएबाट बादी दाबी नपुग्ने ठहराएको शुरुको फैसला गल्ती भै उल्टी हुने ठहर्छ । सो जग्गा भित्र तयार गरेको घर भत्काउन लगाई खाली गरी चलन समेत पाउने ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को फैसला ।

५.    उक्त म.क्षे.अ.को फैसलामा इन्साफ जाँच गरी हेरी दिनु भन्ने श्री सर्वोच्च अदालतका नाममा हुकुम प्रमांगी वक्स पाउँ भन्ने परेको विन्तिपत्रमा यो र यसै साथ रहेको अ. ८५० नं. को विन्तिपत्र समेत जाहेर हुँदा यसमा व्यहोरा साँचो भए मध्यमाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको विन्तिपत्रमा लेखिएको जग्गा हक कायम खिचोला र दर्ता समेत भन्ने मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानून बमोजिम निर्णय गर्नु प्रमांगीको जनाउँ बिन्तिपत्रवालालाई दिनु भन्ने श्री ५ महाराजधिारजबाट हुकुम बक्स भै यस अदालतमा दर्ता भएको रहेछ ।

६.    यसमा विन्तिपत्रको प्रकरण ५ मा हदम्यादको प्रश्न उठाएको हुँदा म.क्षे.अ.को इन्साफ फरक पर्ने देखिंदा छलफलको लागि अ.वं. २०२ नं. तथा सर्वोच्च अदालत नियमावली बमोजिम विपक्षीहरूलाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालतबाट ०४८।५।३१ मा भएको आदेश ।

७.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको विन्तिपत्रवालाका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री राम प्रसाद गौडेलले वादीलाई जग्गा राजीनामा गरी दिंदा ४ किल्लामा दक्षिणतर्फ आफ्नै जग्गा भनी उल्लेख गरेको । ०३३ सालमा भएको मिलापत्रबाट वादीको २० मात्र कायम भएको छ । नापीबाट कायम भएको क्षेत्रफलले मान्यता पाउनु पर्छ नापी पछि मात्र राजीनामा गरी दिएको हो । अर्को कुरा विबादित जग्गाको जग्गा धनी पशुपती अमालकोट भएकोमा निजलाई विपक्षी बनाएको छैन । पशुपती अमालकोटलाई असर पर्ने गरी निर्णय गर्न मिल्ने होइन । साथै जग्गा बाँकी राखेको अवस्थामा नरबढी जग्गादाताको नै हुन्छ । अतः म.क्षे.अ. को इन्साफ उल्टी हुनु पर्ने हो भन्ने र विपक्षी बादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्कीले मेरो पक्षले विपक्षीबाट ४० जग्गा मध्येबाट २१२० जग्गा खरिद  गरी लिएको र बाँकी जग्गा विपक्षीले ज्ञानेन्द्र ढकाल र रन्जन नेपाललाई सर्भे नापी पछि राजीनामा गरी दिएको साथै सर्भे नापी पछि कायम भएको ५१३० जग्गा सोही ४० मध्येकै जग्गा हो भन्ने कुरा विपक्षीले प्रतिउत्तर पत्रमा स्वीकार गरेको देखिन्छ । यसबाट विपक्षीको जग्गा बाकी नभएको प्रष्ट हुन्छ । जग्गा नरबढी भए पनि लिनेले नै पाउने र नरघटी भएमा लिनेले नै सहनु पर्ने हुँदा म. क्षे. अ.को इन्साफ सदर हुनु पर्छ भनी गर्नु भएको बसह समेत सुनियो ।

८.    यसमा निर्णयतर्फ बिचार गर्दा ०२२ सालमा नापी हुँदा यो जग्गा ४० बाट ५० कायम भएको पाइन्छ । वादी राजकुमार आचार्यले प्रतिवादी विद्या शम्सेरबाट ०२३।९।१५ मा पारित गरी लिंदा दक्षिणमा दाताकै बाँकी जग्गा भन्ने किल्ला हाली लिएको देखिन आउँछ । वादीले जग्गा छुट्याई लिंदा जति जग्गा आफूले लिएको हो त्यहि जग्गा मात्र पछिसम्म कायम हुन्छ । नापीमा नरबढी भएको जग्गा लिनेको हुन्छ भन्न मिल्दैन । बाँकी मध्ये भन्ने लवज परेको अवस्थामा दाताको नै हक हुने कुरा स्वसिद्ध छ । बाँकी मध्ये जस्ता लवज राजीनामामा नपरेकोभए मात्र लिनेकोतर्फ बिचार गर्न सकिने हुन्थ्यो वादीले जग्गा लिंदा दक्षिणमा दाताको जग्गा बाँकी रहनु र यी नै दाताले रन्जन नेपाललाई राजीनामा दिंदा उत्तर तर्फ दाताकै भएबाट बाँकी रहेको सो जग्गा दाताकै भएको पुष्ठी हुन्छ । नक्सा ट्रेसबाट पनि सोही कुरा पुष्टी भई रहेको छ । त्यस्तै प्रमाणमा आएको वादी राजकुमार आचार्य प्रतिवादी पदम नाथ शास्त्री भट्ट भएको नामसारी दाखिल खारेज मुद्दामा भएको मिलापत्र र वादी राजकुमार आचार्य र प्रतिवादी उमा मल्ल भएको लिखत वदर मुद्दामा भएको मिलापत्रबाट पनि वादीको हक २१२० बाट टुटी २० जग्गामा मात्र कायम भै रहेको देखिंदा काठमाडौं जिल्ला अदालतको फैसला उल्टाई मध्यमाञ्चल क्षेत्रीय अदालतले मिति ०४४।१।१६ मा गरेको फैसला नमिलेबाट उल्टी भै काठमाडौं जिल्ला अदालतको मिति २०४२।१।५ को वादी दावी नपुग्ने गरी भएको फैसला मनासिव हुने ठहर्छ । फायल नियम बमोजिम बुझाई दिनु ।

उक्त रायमा समहत छु ।

न्या. उदयराज उपाध्याय

इति सम्बत् २०५० साल जेष्ठ १९ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु