निर्णय नं. ६८८१ - सवारी ज्यान

निर्णय नं. ६८८१ ने.का.प. २०५७ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल
सम्वत २०५३ सालको फौ.पु.नं. ..... ११९६
आदेश मितिः २०५६।११।१९।५
मुद्दाः सवारी ज्यान ।
पुनरावेदक/प्रतिवादीः जिल्ला महोत्तरी, सनुखरा गाउँ विकास समिति वडा नं. ९ बस्ने जोगेन्द्र राउत अमात
विरुद्ध
विपक्षी/वादीः जिल्ला धनुषा, दिगम्बर गाउँ विकास समिति वडा नं. ७ बस्ने खटर चौधरी समेतको जाहेरीले श्री ५ को सरकार
§ सडकको छेउमा रहेको ट्याक्टरलाई प्रतिवादीले हाकेको बसले ठक्कर दिएको कार्यलाई लापरवाहीयुक्त कार्य भन्नु पर्ने हुन आउँछ । किनकी चालकले बसलाई आफ्नो नियन्त्रणमा राख्नु र आवश्यक परेको अवस्थामा रोक्नु निजको दायित्व हुन आउँछ । बस दुर्घटना हुनमा यान्त्रिक गडबडी थियो वा अन्य कुनै काबू बाहिरको परिस्थिति परेको थियो भनी जिकिर लिन एवं पुष्टि गर्न समेत चालकले सकेको देखिदैँन । यसरी लापरवाहीयुक्त कार्य गरी मानिस मारेको अवस्थामा प्रतिवादीलाई मुलुकी ऐन, ज्यान सम्बन्धी महलको ६(२) नं. बमोजिम सजाय गर्ने गरेको शुरुको फैसला सो हदसम्म सदर गरी क्रिया खर्च सम्बन्धमा मृतकका हकवालाले रकम बुझी सकेको मिसिल संलग्न कागजातबाट देखिएकोले क्रिया खर्च समेत भराउने गरेको हदसम्म केही उल्टी गरेको पुनरावेदन अदालत जनकपुरको इन्साफ मनासिव देखिँदा सदर हुने ।
(प्र.नं.२१)
पुनरावेदक तर्फबाटः X
विपक्षी वादी तर्फबाटः X
अवलम्बित नजिरःX
आदेश
न्याःकेदारनाथ आचार्यः पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला उपर पुनरावेदनको रुपमा यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः
2. जिल्ला धनुषा अन्तर्गत धारापानी नजिक बालुवा लिई रोडमा निस्की रहेको ज.अ.(ख) ३०४ नं. ट्याक्टरलाई जनकपुरबाट गोदारतर्फ गईरुहेको ज.अ.ख. २११ नं. बसले उक्त ट्याक्टरलाई ठक्कर दिई ट्याक्टरमा रहेको लेवर र खलासी समेत सख्त घाइते भएको र बस घटनास्थलमै पल्टि रहेको हुँदा घाइतेलाई उपचार निमित्त अस्पतालमा भर्ना गरी जाहेर गरेको छू भन्ने समेत व्यहोराको प्र.ह.गम्भीरबहादुर थापाको जाहेरी दरखास्त ।
3. ट्याक्टरको दाहिने पछाडिको चक्काले पिचरोड छोएको १७ हात पीच सडकबाट तल २४५ नं. को पिलर सिदा खाल्टोमा बस पल्टी चक्का माथि भएको भन्ने समेत व्यहोराको घटनास्थलको प्रकृति मुचुल्का ।
4. हामीहरुको छोरा ट्याक्टरमा लेवर काम गर्न गएको थियो । सवारी दुर्घटनामा परी मरेछ कानून बमोजिम कारबाही गरी पाउँ भन्ने समेत व्यहोराको मृतक राम नारायण र सोभित पासमानका बाबु खटर चौधरी र शिवजी पासमानको एउटै जाहेरी दरखास्त ।
5. नाकबाट रगत आईरहेको दाहिन खुट्टाको नली हाडमा काटेको छाला मासु काटी हड्डी समेत देखिएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।
6. ट्याक्टर पीटरोडमा स्टाट बन्द गरी राखेको र त्यस ठाउँ केही मोडिएको भएको समेत कारणबाट घटना भएको हो मैले जानी जानी घटना गरेको होइन भन्ने समेत व्यहोराको चालक जोगेन्द्र राउत अमतले प्रहरीमा गरेको बयान कागज ।
7. चालकले जानी जानी दुर्घटना गरेको होइन सो बखत साँझको समय भएको ट्याक्टर पनि पीचरोडमा बन्द गरी राखेको र केही टर्निङ पनि भएको कारणबाट घटना भएको हो, बस चालकको लापरवाहि छैन भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।
8. बस चालक जोगेन्द्र राउतले अगाडि ट्याक्टर खडा भईरहेको र केही टर्निङ छ भनी जानी जानी ट्याक्टरमा ठक्कर दिएको र घटना पछि प्रहरीमा खबर नदिई भागेको समेत देखिनाले सवारी ऐन, २०२० को दफा ५१ अनुसार लापरवाही साथ सवारी चलाई घटना गरेकोले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको ६(२) नं अनुसार चालक जोगेन्द्र राउतलाई सजाय हुन र सवारी ऐन, २०२० को दफा ५४(१)(क) अनुसार कृयाखर्च र क्षतिपूर्ति समेत भराई दिन हुन मागदावी गरिएको छ । उक्त बस नियमित रुपमा चलिरहेको अवस्थामा दुर्घटना भई रोडमा अड्याइ राखेको ३०४ नं. ट्याक्टरमा ठक्कर लागि क्षतिग्रस्त समेत भएको देखिएकोले सवारी ऐन, २०२० को दफा ५३ नं. अनुसार बस मालिक सुनिल कुमार जलानबाट नोक्सानीको विगो समेत भराई दिने गरी माग दावी गरिएको छ भन्ने समेतको प्रहरी प्रतिवेदन ।
9. मिति २०४३।२।३० गते साँझको ६.४५ बजेको समयमा म, ज.अ.ख. २११ को बसमा यात्रु (पेसेन्जर) लिई गइरहेकोमा भिमान चोक देखि पूर्व टर्निङ भएको र ट्याक्टर पीच रोडमा बन्द गरी राखेको थियो बचाउने कोशिस गर्दा गर्दै पनि ट्याक्टरमा ठोकिएर बस पल्टियो । परिणामस्वरुप ट्याक्टरमा रहेका राम नारायण र सोमित पासमानको उपचार हुदाहुदैँ मरेका हुन् म ज्यान सुरक्षाको लागि भोलिपल्ट जि.प्र.का. धनुषामा उपस्थित भएको छु । जाहेरवाला र मृतकसँग केही रिसइवी भिएन । प्रहरीमा गरेको बयान झूठ्ठा हो झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको जोगेन्द्र राउत अमातले अदालतमा गरेको बयान कागज ।
10. विपक्षी प्रतिवादीलाई सवारी ऐन, २०२० को दफा ५१(१) बमोजिम सजाय हुने ठहर्छ र मुलुकी ऐन ज्यान सम्बन्धीको ६(२) अन्तर्गत सजाय गर्न नमिल्ने भएकोले त्यसतर्फको वादी दावी पुग्न सक्दैन भन्ने मिति २०४५।३।२७ को धनुषा जिल्ला अदालतको फैसला ।
11. विपक्षी जोगेन्द्र राउतले जानी जानी होस नपुर्याई ट्याक्टरमा ठक्कर दिएबाट ट्याक्टरमा रहेका दुईजनाको मृत्यु भएको, घटना घटेपछि प्रहरीमा खबर नगरी भागेबाट निजको लापरवाहीले घटना घटेको स्पष्ट छँदाछदै पनि प्रहरी प्रतिवेदन माग दावी अनुसार मुलुकी ऐन ज्यान सम्बन्धीको ६(२) अनुसार सजाय नगरी सवारी ऐन, २०२० को दफा ५१(१)क लगाई गरिएको निर्णय कानूनसंगत नभएकोले सो फैसला वदर गरी प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको दावी श्री ५ को सरकारको जनकपुर अंचल अदालत समक्ष परेको पुनरावेदन पत्र ।
12. यसमा शुरुको निर्णय विचारणीय भएकोले अ.वं. २०२ नं. बमोजिम छलफलको निमित्त विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेतका मिति २०४५।१२।१७ को जनकपुर अंचल अदालतको आदेश ।
13. प्रहरी प्रतिवेदनमा ज्यान सम्बन्धीको ६(२) नं. बमोजिमको सजायको माग दावी गरेकोमा इन्साफ नगरी मागै नगरेको सवारी ऐन बमोजिम कसूर गरेको ठहर्याई सजाय गरेको वादी दावी भन्दा बाहिर कानून प्रतिकूल देखिन आएकोले शुरुको निर्णय वदर गरी दिएको छ वादी दावी बमोजिमको कुरामा कानून बमोजिम इन्साफ गर्नु भनी मिसिल शुरु धनुषा जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत जनकपुर अंचल अदालतको फैसला ।
14. प्रतिवादीबाट दावी बमोजिमको कृयाखर्च एवं क्षतिपूर्ति दिलाउने गरी ज्यान सम्बन्धीको ६(२) नं. बमोजिम उल्लेखित कसूरमा सजाय हुने ठहर्छ । सवारी ऐन, २०२० को दफा ५३ नं. को दावी कानूनतः भएको नहुँदा प्रहरी प्रतिवेदनमा उल्लेख हुदैमा यस मुद्दाबाट आउन नमिल्ने हुँदा कानून बमोजिम गर्नु भन्ने धनुषा जिल्ला अदालतको २०४७।७।१९ गतेको फैसला ।
15. धनुषा जिल्ला अदालतबाट भएको मिति २०४७।७।१९ गतेको फैसला अन्यायपूर्ण भएकोले उक्त फैसला वदर गरी अभियोगबाट उन्मुक्ति प्रदान गरी पाउँ भन्ने चालक जोगेन्द्र राउत अमातको पुनरावेदन पत्र ।
16. यसमा मिति २०४३।३।२२ मा मृतकहरुका बाबु खटर चौधरी तथा शिवजी पासमान समेतले कृयाखर्च बुझे भनी बकसपत्र गर्दा शिवजी पासमान र मैले कृयाखर्च बुझेको हो भनी बकपत्र गरेको अवस्थामा कृया खर्च समेत भराई दिने ठहर्याएको शुरुको निर्णय फरक पर्ने देखिँदा छलफलको निमित्त अ.वं. २०२ नं. बमोजिम पुनरावेदन सरकारी वकील कार्यालय जनकपुरलाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने २०५१।३।२२ गतेको पुनरावेदन अदालत जनकपुरको आदेश ।
17. वादी दावी बमोजिम शुरु धनुषा जिल्ला अदालतले प्रतिवादीलाई सजाय गरेको अन्यथा हुन सक्ने देखिदैन । प्रहरी अनुसन्धान क्रममा कृयाखर्च सम्बन्धमा मृतक हकवालाले रकम बुझी सकेको मिसिल संलग्न कागजातबाट देखिएको अवस्थामा पनि अदालतबाट कृयाखर्च समेत भराई दिने निर्णय गरेकोसम्म मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरबाट मिति २०५२।१।१२ मा भएको फैसला ।
18. वादी श्री ५ को सरकारको कुनै पनि साक्षीले मैले लापरवाही गरेकोले घटना घटेको हो भन्न सकेको छैन कुनै पनि लापरवाही वा गल्लीले घटना घटेको छैन । घटना सम्बन्धी तथ्य स्वीकार गर्दैमा अपराधमा सावित भएको भन्न मिल्ने पनि होइन । मुलकी ऐन र सवारी ऐन दुवै ऐन बमोजिम सजाय गरिनु पनि त्रुटिपूर्ण छ । तसर्थ शुरु धनुषा जल्ला अदालत र पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला वदर गरी अभियोगबाट उन्मुक्ति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको तर्फबाट यस अदालत समक्ष प्रस्तुत गरिएको पुनरावेदन पत्र ।
19. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको वारेसले तारेख गुजारी बसेको भएतापनि निर्णय गर्नुपर्ने भएकोले शुरु र रेकर्ड मिसिल एवं प्रतिवादीको पुनरावेदन जिकिर समेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत जनकपुरको इन्साफ मिलेको छ छैन र प्रतिवादो पुनरावेदन जिकिर बमोजिम गर्नुपर्ने हो होइन भन्ने कुरामा निर्णय दिनुपर्ने देखिन्छ ।
20. यसमा प्रतिवादी जोगेन्द्र राउत अमातले चलाएको बसले ट्याक्टरलाई ठक्कर दिई ट्याक्टरमा रहेका सोभित पसवान र रामनारायण चौधरीको मृत्यु भई प्रस्तुत मुद्दाको शुरुवात भएकोमा निज दफा ५४(१)(क) एवं मुलुकी ऐन ज्यान सम्बन्धीको महलको ६(२) नं. अनुसारको सजायको माग दावी लिई प्रहरी प्रतिवेदन प्रस्तुत भएको र शुरु धनुषा जिल्ला अदालतले सवारी ऐन, २०२० को दफा ५१(१) बमोजिमको सजाय हुने ठहर्याएकोमा जनकपुर अंचल अदालते उक्त फैसला वदर गरी पुनः शुरु जिल्ला अदालतबाट पुनः कृयाखर्च एवं क्षतिपूर्त दिलाउने गरी मुलुकी ऐन ज्यान सम्बन्धीको ६(२) नं. बमोजिम सजाय हुने ठहर गरेको र पुनरावेदन अदालत जनकपुरबाट शुरुले मुलुकी ऐन ज्यान सम्बन्धीको ६(२) नं. बमोजिम सजाय गरेको इन्साफ मनासिव ठहर्याई कृयाखर्च समेत भराई दिने गरेको निर्णयसम्म उल्टी गरे उपर प्रतिवादीको तर्फबाट यस अदालत समक्ष पुनरावेदन परी प्रस्तुत मुद्दा पेश हुन आएको देखिन्छ ।
21. प्रतिवादी जोगेन्द्र राउत अमातले आफूले चलाएको बसको ठक्करबाट ट्याक्टरमा रहेका सोभित पासवान र रामनारायण चौधरीको मृत्यु भएको कुरालाई स्वीकार गरेको र उक्त कुरालाई घटनास्थल प्रकृति मुचुल्का एवं लासजाँच प्रकृति मुचुल्का समेतबाट पुष्टि भएको देखिन्छ । सडकको छेउमा रहेको ट्याक्टरलाई प्रतिवादीले हाकेको बसले ठक्कर दिएको कार्यलाई लापरवाहीयुक्त कार्य भन्नु पर्ने हुन आउँछ । किनकी चालकले बसलाई आफ्नो नियन्त्रणमा राख्नु र आवश्यक परेको अवस्थामा रोक्नु निजको दायित्व हुन आउछ । बस दुर्घटना हुनमा यान्त्रिक गडबडी थियो वा अन्य कुनै काबू बाहिरको परिस्थिति परेको थियो भनी जिकिर लिन एवं पुष्टि गर्न समेत चालकले सकेको देखिदैँन । यसरी लापरवाहीयुक्त कार्य गरी मानिस मारेको अवस्थामा प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको ६(२) नं. बमोजिम सजाय गर्ने गरेको शुरुको फैसला सो हदसम्म सदर गरी क्रिया खर्च सम्बन्धमा मृतकका हकवालाले रकम बुझी सकेको मिसिल संलग्न कागजातबाट देखिएकोले क्रिया खर्च समेत भराउने गरेको हदसम्म केही उल्टी गरेको पुनरावेदन अदालत जनकपुरको इन्साफ मनासिव देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.दिलिपकुमार पौडेल
इति सम्वत २०५६ साल फाल्गुण १९ गते रोज ५ शुभम्...............................।