निर्णय नं. ४७०७ - उत्प्रेषण

निर्णय नं. :– ४७०७ ने.का.प. २०५० (क) अङ्क ३
संयुक्त इजलास
मानानीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
सम्वत् २०४७ सालको रिट नं. – ९४८
आदेश मिति : २०४९।१२।१
निवेदक : जिल्ला पर्सा मेडिहारी गा.वि.स. वडा नं. ७ बस्ने शंकर हजारा दुसाध ।
विरुद्ध
विपक्षी : भूमि सुधार अधिकारी, भूमि सुधार कार्यालय पर्सा ।
: जि. पर्सा लहावर थकरी गा.वि.स. वडा नं. ५ बस्ने अनवर मियांराकी ।
विषय : उत्प्रेषण ।
(१) जि. भू.सु.का पर्साले मोही निस्काशन गर्दा २०४५ सालको कुतवाली नबुझाएको भन्ने कुरालाई नै निर्णयाधार लिइएको पाईन्छ । कुतबाली धरौट राखेको कुरा स्वयं बिपक्षी भू.सु. कार्यालय पर्साले स्वीकार गरेको छ । सो कुतबाली धरौट रहेको कानूनी मान्यता प्राप्त छ छैन भू्.सु. कार्यालय पर्साको निर्णयमा विवेचना नभएकोले न्यायिक मनको प्रयोग गरेर निर्णय गरेको देखिँदैन । सो हुँदा भु.सु. कार्यालय पर्साको निर्णय त्रुटीपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्र.नं. १६)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल ।
प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अली अकबर मिकरानी
: विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिंह
आदेश
न्या. त्रिलोक प्रताप राणा
१. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।७८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. विपक्षी मध्येका अनवर मियाँको हक भोग दर्ता तिरोको जि.पर्सा लहाबर थकरी गा.वि.स. वडा नं. ६ कि.नं. २४ को ज.वि. ०–६–१० जग्गाको म निवेदक तर्दावाला मोही हुँ । विपक्षीले मेरो उपर ०४३।४४ सालको कुतवाली मोही सम्बन्धमा पर्सा जिल्ला अदालतमा मुद्दा दिनु भएको अवस्थामा विपक्षीको दाजु भाइको बचि अंश वण्डा हुँदा उक्त कि.नं. २४ को जग्गा रुस्तमको भागमा परेको भनेकोले विपक्षीका भाईका नाउँमा मिति ०४५।११।२७ मा ०४५ सालको बाली भू.सु. कार्यालय पर्सामा धरौटीमा राखे पछि विपक्षीले मलाई झुक्याएकोले विपाक्षीकै नाउँमा बाली धरौटी राख्न निवेदन दिई धरौटी रसीदको पीठमा कार्यालयबाट जनाउ दिएको छ ।
३. पर्सा जिल्ला अदालतमा चलेको दुई मुद्दाहरूमा २०४५।६।१२ र ०४६।३।१८ मा बाली भरी पाउने ठहराई फैसला भयो । ०४६ सालको कुतबाली बिपक्षी अनबर मियाँको नाउँमा ०४६।११।२३ मा भू.सु.का. पर्सामा धरौटी राखी अद्यापि जग्गा जोत कमोद गरी आएको छु । भू.सु.का. पर्साको ०४६ सालको फैसलाले मोही निष्काशन हुने हुँदा अव आउने बाली मैले नै लगाउने छु भन्न आएको हुँदा के रहेछ भनी भू.सु.का पर्सामा गई बुझ्दा जग्गा धनीले मोही निष्काशन गरी पाउँ भन्ने ०४५।१२।३० मा उजुरी दिएको र बेरीतको म्याद तामेल गरी प्रतिवाद गर्ने मौका समेत पाइन ।
४. मिति ०४७।८।४ मा भू.सु.का. पर्साको फैसलाको नक्कल सारी हेर्दा प्रतिबादीको नाउँमा म्याद ०४६।३।२९ मा टाँस भएकोमा कुनै प्रतिबाद समेत नगरी हदम्याद समेत गुजारी बसेको र ०४३ र ०४४ सालमा कुत बाली भराई दिने भनी पर्सा जि.अ. बाट फैसला भएको र ०४५ सालको कुतबाली बुझाएको भए म्याद भित्र उपस्थित भइ आफ्नो प्रमाण भरपाई पेश गर्न सक्नु पर्नेमा सो गर्न नसकेकोले अटेर गरी बस्ने र कुतबाली नबुझाउने मोहिलाई निजको हक स्थापित गरी राख्न उचित नहुने हुँदा ०४५ सालको कुत बाली पक्ष लिई बुझाएको समेत नदेखिंदा मोहिलाई भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९ (१) बमोजिम मोहियानीबाट निष्काशन हुने ठहर्छ भनी मिति ०४६।७।१६ मा भू.सु.का. पर्साले फैसला गरेको रहेछ । अ.व. ११० नं.को बिपरीत टाँस भएको इतलायनामालाई मान्यता दिई अ.वं.२०८ नं.को म्याद समेत समाप्त भएपछि मात्र मलाई जानकारी हुन आएबाट सो निर्णय बदर गराउन अन्य उपचारको बाटो समेत नभएकोले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत सम्मानित अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गराई माग्न आएको छु ।
५. बिपक्षी भूमि सुधार अधिकारीज्यूले मेरो नाउँको म्याद ०४६।३।२९ मा टाँस भएको भनी लेख्नु भएको छ । तर नक्कल सारी लिंदा नक्कलबाट ०४६।३।२६ मा टाँस भएको देखिन्छ । यसरी अ.वं). ११८ नं. को विपरीत बीच बीचमै म्याद तामेल गरिएकोलाई मान्यता दिई प्राकृतिक न्यायको सिद्धान्त बिपरीत मोही निष्काशन गरेको छ । जबकी मैले ०४५ साल ०४६ सालको वाली धरौट राखी आएको छु । भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९ (१) अनुसार मोही निष्काशन गर्न बाली नबुझाएको वा बाली धरौट नराखेको हुनु पर्दछ । तर मैले बाली बापत धरौट रु. ६२४।१८ राखेको छु । अदालतमा दिएको मुद्दाबाट मोही निष्काशन नहुने देखि भूमि सुधार कार्यालय तर्फ उजुरी दिई बीचबीचमै म्याद तामेल गराई बाली नबुझाएको भनी गरेको जि. भू.सु.का पर्साको मिति ०४६।७।१६ को फैसला नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ बमोजिम उत्प्रेषणको आदेशले बदर गरी रीतपूर्वक म्याद तामेल गरी प्रतिबादी गर्ने मौका दिनु भन्ने परमादेश लगायतको आदेश जारी गरी पाउँ भन्ने रिट निवेदकको मूख्य जिकिर ।
६. यसमा के कसो भएको हो प्रत्यर्थीहरूबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको मिति २०४७।८।२४।२ को आदेश ।
७. निवेदकले सर्व प्रथम दाबी गरेको सालको कुतबाली धरौटी रहदा रहदै मोही निष्काशन भएकोमा सो निष्काशन फैसला बदर गरी पाउँ भन्ने मुख्य जिकिर लिनु भएको रहेछ । मिसिल हेर्दा निवेदक प्रतिवादी शंकर हजाराका नाउँमा १० दिने इतलायनामा जारी भएकोमा सो इतलायनामा ०४६।३।२६ मा अ.व. ११० नं. बमोजिम नै तामेल भएको मिसिलबाट देखिन्छ । यो अवस्थामा प्रतिबादीको प्रतिउत्तर पर्न नआएपछि कार्यालयले प्रतिवादीको आफूले गर्नु पर्ने के कस्तो कर्तव्य गरेका छन सो खोजी प्रमाण लगाउन प्रमाण ऐन अन्तर्गत नमिल्ने हुँदा मिति ०४७।७।१६ मा बादी अनवर मियाँराकीका नाम दर्ताको जग्गाबाट निवेदक शंकर हजारा मोही भएकोमा मोही निष्काशन हुने ठहराई फैसला भएको हो ।
८. निज प्रतिवादीले धरौटी राखेको भन्ने कुराको संबन्धमा रिट निवेदन प्राप्त भएपछि मात्र यस अड्डालाई जानकारी भएको हुँदा प्रतिबादीले प्रतिउत्तर नगर्नु भएको कारणबाट नै मोही निष्काशन भएको हो । कानून त्रुटी नभएको हुँदा रिट निवदकको माग बमोजिम उत्प्रेषणको आदेश जारी हुन नपर्ने हुँदा खारेज गरी पाउँ भन्ने समेत भूमि सुधार कार्यालय पर्साको लिखत जबाफ ।
९. अ.वं. ११० नं. को रीत पुर्याई तामेल भएको म्यादलाई रिट निवेदकले गलत तरीकाले म्याद तामेल भएको भन्दैमा अ.व. ११० नं. को रीत बमोजिम तामेल भएको म्याद बदर हुने अवस्था छैन । अर्को कुरा मोहीले आफ्नो दाइत्व पूरा नगरेको खण्डमा त्यस्तो मोही लाई झिक्न कानूनी प्राबधान रहे भएकोले सो अनुरुप नै भूमि सुधार कार्यालय पर्साबाट फैसला भएको छ । निवेदकले अ.ब. ११० नं. बमोजिम रीतपूर्वक तामेल भएको म्यादलाई वेरीतको भन्दैमा बदर हुने अवस्था छैन । साथै बेरीतको म्याद बदर गराउन अ.वं. २०८ नं. अनुसार पुनः प्रतिउत्तर दिनु पर्ने कानूनी व्यवस्था गरिएको छ । सो म्यादमा पनि उजुरी नदिएको देखिन्छ । रीतपूर्वक तामेल भएको म्याद र जिल्ला भूमि सुधार कार्यालय, पर्साको निर्णय कानून बमोजिम नै हुँदा रिट निवेदन खारेजी गरी पाउँ भन्ने अनवर मियाँ राकीको लिखित जबाफ ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेलले कि.नं. २४ को सम्बन्धमा पर्सा जिल्ला अदालतमा मुद्दा चल्दा चल्दैको अवस्थामा अनवर मियाँले उक्त कि.न. २४ रुस्तमको भागमा पर्यो भनी मेरो पक्षलाई भनेको हुँदा ०४५।११।२७ मा रुस्तमको नाउँमा धरौट राख्यो । तर उक्त कि.नं. २४ अनबर मियाँले आफ्नै नाउँमा नामसारी गरायो । त्यस पछि ०४५।१२।३० मा बाली नबुझाएको भनी बाली निष्काशन मुद्दा चलायो । बाली नबुझाएको कारणबाट मोही निष्काशन हुन्छ भनी जि.भू.का. पर्साबाट फैसला भयो ।
११. अ.बं. ११० को बमोजिम रीत पुर्याई जि.भू.सु.का. पर्साले म्याद तामेल गराएन । म्याद तामेल गर्दा अपनाउनु पर्ने कार्यविधि पूरा भएको छैन । साथै भू.सु.का. पर्साले आफ्नो कार्यालयमा भएको श्रेस्ता सम्म हेरेन । २०४५ सालको कुतवाली नबुझाएको कारणबाट मोही निष्काशन गरेको हो । जवकी विनेदकले २०४५ सालको कुतबाली बुझाएको छ । यस्तो अवस्थामा भू.सु.का. पर्साले मिति ०४६।७।१६ मा गरेको निर्णय मिलेको छैन । उत्प्रेषण्को आदेशद्वारा बदर गरी परमादेश समेत जारी हुनु पर्दछ भनी बहस गर्नु भयो ।
१२. प्रत्यर्थी कार्यालय तर्फबाट उपस्थित हुनु भएका विद्वान सहन्यायाधिवक्ता श्री अलि अकवर मिकरानीले जि.भू.सु.का पर्साले गरेको म्याद तामेली प्रकृया अ.वं. ११० बमोजिम नै छ रीत पुगेको छ । अ.वं.२०८ नं. बमोजिम निवेदक आएको पनि छैन । रिट क्षेत्रबाट बाली बुझेको नबुझेको सम्बन्धमा तथ्यमा हेरी निर्णय गर्न मिल्दैन । अतः जि. भू. सु. का. पर्साले मिति ०४६।७।१६ मा गरेको निर्णय मिलेको हुँदा रिट खारेज हुनु पर्दछ भनी बहस गर्नु भयो ।
१३. विपक्षी अनवर मिया तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिंहले जि.भू.सु.का. पर्साले अ.वं. ११० नं. रीत पुर्याई म्याद तामेल गराएको छ । म्याद तामेल गर्दा वार्ड अध्यक्ष समेत राखी तामेल भएको छ । म्याद तामेल गर्दा अ.वं ११० नं.को रीत पुगेको छैन भन्न मिल्दैन । प्रतिवादीले कुत बाली राखेको सम्बन्धमा फैसला विवेचना सम्म भएको छैन । कुत बाली नबुझाएको कारणबाट नै मोही निस्कासन भएको हो । जि.भू.सु.का. पर्साको फैसला मिलेकै हुँदा रिट निवेदन खारेज हुनु पर्दछ भनी बहस गर्नु भयो ।
१४. प्रस्तुत विषयमा रिट निवेदकको निवेदन माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१५. यसमा जिल्ला भूमि सुधार कार्यालय पर्साबाट ०४५ सालको कुतवाली जग्गा धनीलाई नबुझाए बापत निज मोही शंकरलाई भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) बमोजिम मोहीबाट निष्काशन गरी दिने ठहर्छ भन्ने मिति ०४६।७।१६ मा निर्णय भएको पाइन्छ । जिल्ला भूमि सुधार कार्यालय पर्सामा ०४५ सालको कुतबालीको धरौट राखेकोमा पनि सो २०४५ सालको कुतबाली नबुझाए बापत मोही निष्काशन गरेको मिलेन सो निर्णय बदरगरी पाउँ भन्ने रिट निवेदनको मूख्य जिकिर भएकोमा निज प्रतिवादीले धरौट राखेको भन्ने ब्यहोरा रिट निवेदन प्राप्त भएपछि मात्र यस अड्डालाई जानकारी भयो भन्ने विपक्षी जि.भू.सु.का. पर्साको लिखित जबाफबाट देखिन्छ ।
१६. जि.भू.सु.का. पर्साले मोही निष्काशन गर्दा २०४५ सालको कुतबाली नबुझाएको भन्ने कुरालाई नै निर्णयाधार लिएको पाइन्छ । कुतबाली धरौट राखेको कुरा स्वयं विपक्षी भू.सु. कार्यालय पर्साले स्वीकार गरेको छ । सो कुतबाली धरौट रहेको कानूनी मान्यता प्राप्त छ छैन, भू.सु.कार्यालय पर्साको निर्णयमा विवेचना नभएकोले न्यायिक मनको प्रयोग गरेर निर्णय गरेको देखिदैंन । सो हुँदा भू.सु.का. पर्साको मिति २०४६।७।१६ को निर्णय त्रुटीपूर्ण देखिंदा उत्प्रेषण्को आदेशद्वारा बदर हुन्छ । अब पुनः कानून बमोजिम निर्णय गर्नु भनी उक्त भू.सु.का. पर्साको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । सम्बन्धित कार्यालयको जानकारीको लागि यसै आदेशको १ प्रति म. न्या. का. मार्फत पठाई फाईल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. केशव प्रसाद उपाध्याय
इति सम्बत २०४९ साल चैत्र १ गते रोज शुभम ।