निर्णय नं. ६८८९ - हक कायम

निर्णय नं. ६८८९ ने.का.प. २०५७ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
सम्वत २०५३ सालको दे.पु.नं. ...३७५०
फैसला मितिः २०५६।६।२०।५
मुद्दाः हक कायम ।
पुनरावेदक/वादीः जिल्ला सुनसरी, राजगञ्ज सिनुबारी गाउँ विकास समिति वडा नं. ४ बस्ने भटन यादव
विरुद्ध
विपक्षी/प्रतिवादीः ऐ.ऐ. बस्ने मोहन यादव समेत
§ दावीको जग्गामा वादीको घरबास रहेको भन्ने सम्म देखिन्छ । विवादित जग्गा आफ्नो हक दर्ताको भएको र उक्त जग्गाको तिरोभरो समेत गरी आएको भनी वादीले दावी लिन नसकेको तथा प्रतिवादीको बाबु मंगल यादवको नाम दर्तामा रही तिरो भरो गरी निजको मृत्यु पश्चात निजका छोरा प्रतिवादीहरुले हक भोग चलन गरी आएको कुरालाई वादीले खण्डन गर्न नसकेको समेत देखिन आउँछ । यस स्थितिमा विवादित जग्गामा हक दर्ता र तिरो भरो सम्बन्धी सुस्पष्ट प्रमाणको अभावमा केवल घरवास रहेभएको भनी वादीको हक कायम गरी दर्ता समेत हुने ठहर गरेको शुरुको इन्साफलाई उल्टी गरी विवादित जग्गामा वादी दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको इन्साफ मिलेकै देखिँदा सदर हुने ।
(प्र.नं.१०)
पुनरावेदक वादी तर्फबाटः
विपक्षी प्रतिवादी तर्फबाटः
अवलम्बित नजिरः
फैसला
न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला उपर पुनरावेदनको रुपमा यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः
2. सर्भे नापीमा राजगंज सिनुवारी गुठीको जग्गा राजगंज सिनुवारी ३(क) कि.नं. ७७ मा ०–२–५ मेरो नाममा फिल्डबुक दर्ता भएको जग्गाधनी प्रमाणपूर्जा प्राप्त नभएकोले छुट दर्ता गरी पाउँ भनी मालपोत कार्यालयमा उजुरी दिई कार्यवाही हुँदा विपक्षीहरुले मेरो जग्गा हो भनी विपक्षीहरुको दावी देखिँदा २०४७।११।१९ मा हक कायम गर्न जानु भनी निर्णय भएकोले उल्लेखित जग्गामा भूमिसुधार कार्यालय सर्भे नापी टोली फिल्डबुकमा मेरो नाममा दर्ता कायम छ । विपक्षीहरुको नाममा फिल्डबुक दर्ता नहुँदा मेरो हक हुन आएकोले मेरो हक कायम गरी मेरो नाममा जग्गा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
3. विपक्षीले दावी लिएको जग्गामा यिनै वादी उपर हामीले हक कायम मुद्दा दर्ता गरी हाल कार्यवाही हुँदैछ । दावीको जग्गा विपक्षीको हक कायम हुने होइन । सो जग्गा हाम्रो पिता मंगल गोपका नाम दर्ता भई केवल नापी हुँदा विपक्षीको भनी कैफियतमा लेखाएकै कारणले मात्र विपक्षीको हक कायम हुने होइन । विपक्षीको हकै नहुँदा फिराद दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्रर पत्र ।
4. वादी दावीको जग्गा २०२५।१।१९ मा नापी हुँदा उक्त जग्गामा वादीको घरवास भएको भनी नापी भएको फिल्डबुकमा उल्लेख भएको व्यहोरालाई प्रतिवादीले अन्यथा भन्न नसकेको, वादी दावीको जग्गा आफ्ना बाबु मंगलको साविक दर्ताभित्रको हो भन्ने प्रतिवादी जिकिर प्रमाणबाट पुष्टि हुन नसकेकोले वादी दावाको कि.नं. ७७ को जग्गामा वादीको हक कायम भई सोमा वादीको दर्ता समेत कायम हुने ठहर्छ भन्ने शुरु सुनसरी जिल्ला अदालतको मिति २०५०।३।१ को फैसला ।
5. दावीको कि.नं. ७७ को जग्गा पिता मंगल यादवको रैति नं. ३६० सा.कि.नं. ३१ को ०–४–१८ मध्येको जग्गा भई हाम्रो हकको जग्गा भएको प्रष्ट हुँदा हुँदै पनि विपक्षीको दावी अनुसार भएको उक्त फैसला त्रुटिपूर्ण समेत हुँदा वदर गरी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको मिति २०५०।४।२९ गतेको पुनरावेदन अदालत समक्ष परेको पुनरावेदन पत्र ।
6. वादीको कुन रै.नं. को ७ नं. फाँटवारीको कति सि.नं. मा उल्लेखित कति जग्गामध्येको विकाउको जग्गा हो सो सम्म पनि शुरु निवेदन तथा फिरादमा खुलाउन नसकेकोमा फिल्डबुकको कैफियत व्यहोराको आधारमा दावीको जग्गा वादीको हक कायम हुने ठहर्याएको शुरु इन्साफ विचारणीय देखिएकोले छलफल निमित्त अ.वं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम झगडिया झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०५२।६।२३ गतेको आदेश ।
7. हक दर्ताको प्रमाणको अभावमा घरवास गरी बसेको आधारमा मात्रै दावीको जग्गामा वादीको हक कायम भई निजको नाममा दर्ता हुने भन्न नमिल्ने देखिँदा वादी दावीको जग्गामा वादीको हक कायम भई सोमा वादीको दर्ता समेत हुने ठहर्छ भनी शुरु सुनसरी जिल्ला अदालतले गरेको फैसला नमिलेकोले उल्टी भई वादी दावी नपुग्ने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत विराटनगरको फैसला ।
8. मैले घर बसोबास गरेको र फिल्डबुकमा दर्ता गराएको जग्गा विपक्षीको प्रमाण भित्रको नभई राजपर्ती भएकोले बसोबास गरी नापी गराएको हुँ । उक्त कुरा मौकैमा जानकारी हुँदा हुँदै आफ्नो नाममा नापी गराउन नसकी २०३३ सालको बण्डाबाट बाबुका भागमा परेको भनेको भरमा मलाई घरबासबाट विहीन हुने गरी पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला वदरभागी छ । तसर्थ पुनरावेदन अदालत विराटनगरको मिति २०५३।२।२३ गतेको फैसला वदर गरी शुरु सुनसरी जिल्ला अदालतको फैसला कायम राखी पाउँ भन्ने समेतको पुनरावेददक वादीको तर्फबाट यस अदालत समक्ष पेश हुन आएको पुनरावेदन पत्र ।
9. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन अएको प्रस्तुत मुद्दामा शुरु एवं रेकर्ड मिसिल तथा पुनरावेदकको पुनरावेदन जिकिर समेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत विराटनगरले गरेको फैसला मिलेको छ छैन र पुनरावेदकको पुनरावेदन जिकिर बमोजिम गर्नुपर्ने हो होइन भन्ने कुरामा निर्णय दिनुपर्ने देखिन्छ ।
10. यसमा राजगंज सिनुवारी ३(क) कि.नं. ७७ को जग्गामा मैले घरबाँस गरी बसी आएको छु । सर्भे नापीका समयमा फिल्डबकमा मेरो घरबाँस उल्लेख भएको आधार प्रमाणले सो जग्गा मेरो नाममा दर्ता गरी पाउँ भन्ने वादी दावी र दावीको कि.नं.७७ को जग्गा साविकमा बुबा मंगल यादवको नाममा दर्ता रहेको रै.नं. ३६० मध्येको साविक कि.नं.३१ भित्रको जग्गा हो । सो जग्गा २०३६ साल सम्मको तिरो तिरी आएको हुनाले वादी दावी झुठ्ठा हो । दावीको जग्गा हाम्रो नाममा दर्ता हुनुपर्ने भन्ने प्रतिवादीको जिकिर भएको प्रस्तुत मुद्दामा वादी दावी बमोजिम वादीको दर्ता कायम हुने ठहराई शुरु सुनसरी जिलला अदालतले फैसला गरेको र सो फैसलालाई उल्टी गरी वादी दावी नपुग्ने ठहर्छ भनी पुनरावेदन अदालत विराटनगरले फैसला गरे उपर वादी भटन यादवको तर्फबाट पुनरावेदन परी प्रस्तुत मुद्दा पेश हुन आएको देखिन्छ । दावीको जग्गामा वादीको घरबास रहेको भन्ने सम्म देखिन्छ । विवादित जग्गा आफ्नो हक दर्ताको भएको र उक्त जग्गाको तिरोभरो समेत गरी आएको भनी वादीले दावी लिन नसकेको तथा प्रतिवादीको बाबु मंगल यादवको नाम दर्तामा रही तिरो भरो गरी निजको मृत्यु पश्चात निजका छोरा प्रतिवादीहरुले हक भोग चलन गरी आएको कुरालाई वादीले खण्डन गर्न नसकेको समेत देखिन आउँछ । यस स्थितिमा विवादित जग्गामा हक दर्ता र तिरो भरो सम्बन्धी सुस्पष्ट प्रमाणको अभावमा केवल घरवास रहेभएको भनी वादीको हक कायम गरी दर्ता समेत हुने ठहर गरेको शुरुको इन्साफलाई उल्टी गरी विवादित जग्गामा वादी दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.कृष्णकुमार वर्मा
इति सम्वत २०५६ साल असोज २० गते रोज ५ शुभम……………...।