निर्णय नं. ६८९० - लिखत दर्ता वदर दर्ता

निर्णय नं. ६८९० ने.का.प. २०५७ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
सम्वत २०५२ सालको दे.पु.नं. ...२६३४
फैसला मितिः २०५७।२।११।४
मुद्दाः लिखत दर्ता वदर दर्ता ।
पुनरावेदक/वादीः जिल्ला महोत्तरी, श्रीपुर गाउँ विकास समिति वडा नं.४ बस्ने रामवृक्ष राय मरी निजको मु.स. गर्ने छोरा ऐ.ऐ. बस्ने राजविलास राय यादव समेत
विरुद्ध
विपक्षी/प्रतिवादीः जिल्ला सर्लाही, साविक खजुरिया गाउँ पंचायत हाल हरिपुर्वा गाउँ विकास समिति वडा नं. ६ बस्ने ठगाराय यादव
§ यसमा आसोदेवीले विवाद जग्गा वादी प्रतिवादी बीच चलेको अंश मुद्दामा मिति २०४१।८।१ मा भएको मिलापत्रबाट अंश वापत पाएको भन्ने देखियो । अंश वापत पाएको जग्गा अंश पाउने विधवा आसोदेवीले अचलमा आधिसम्म आफूखुश गर्न पाउने सो भन्दा बढी आफूखुश गर्न नपाउने बन्देज स्त्री अंशधनको २ नं. ले गरेको देखिन्छ । अंश वापत पाएको जग्गा कानून तथा मिलापत्र कै शर्तले दिन नपाउने दिएको भए स्त्री अंशधनको ८ नं. को हदम्याद भए गरेको मितिले २ वर्षभित्र नालेश दिनुपर्ने अवस्था देखिन्छ । प्रस्तुत मुद्दामा मिति २०४२।१०।१७ गतेमा आसोदेवीले प्रतिवादीलाई बकसपत्र गरी दिई हक छाडी दिएको देखिएको र प्रस्तुत फिराद २०४७ सालमा २ वर्ष म्याद नघाई परेको देखियो । वादीले पक्रेको लेनदेन व्यवहारको ४० नं. को व्यवस्था हेर्दा यस्तो व्यवहार गरेको सदर हुदैन भनेकोमा हदम्याद लाग्दैन भन्ने हुँदा कानूनले नै यस्तो व्यवहार गरेको सदर हुदैँन भनी गरेको अवस्थामा आकर्षित हुने देखिन्छ । मिलापत्रमा गरेको शर्त बन्देजलाई त्यस रुपमा लिन सकिने अवस्था भएन । त्यस्तै अंशवण्डाको महलको ३५ नं. मा पनि अंश नभै गोश्वारा राखिएको सम्पत्ति सम्बन्धमा जहिलेसुकै नालेश लाग्ने अवस्था देखिन्छ, तर प्रस्तुत मुद्दा अंश नभई गोश्वारा रहेको भन्ने अवस्था देखिदैन । तसर्थ कानूनको हदम्याद भित्र नपरेको फिराद नै खारेज गर्नुपर्नेमा शुरु महोत्तरी जिल्ला अदालतले इन्साफ गरी वादी दावी पुग्ने ठहर्याई गरेको फैसलालाई उल्टी गरी वादी दावी नपुग्ने भनी इन्साफ गरेको पुनरावेदन अदालत जनकपुरको फैसला गल्ती भई फिराद पत्र खारेज हुने ।
(प्र.नं.११)
पुनरावेदक वादीका तर्फबाटः विद्बान अधिवक्ता श्री महादेव यादव
विपक्षी प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री अग्नी खरेल
अवलम्बित नजिरः
फैसला
न्या.कृष्णजंग रायमाझीः पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला उपर पुनरावेदनको रुपमा यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः
2. स्व.कोदै रायको चार ओटी श्रीमतीमध्ये स्व.आसोदेवी कान्छी श्रीमती हुन् । निज कान्छी आमा आसौदेवी र हामी फिरादी छोराहरु तथा नाती रामप्रसाद स्व.लक्ष्मी रायको छोरा र देवनारायण राय समेतका बीच चलेको अंश मुद्दामा कान्छी आमा आसौदेवीलाई स्व.लक्ष्मी राय नाममा दर्ता रहेको जि.म.भोइलटिमकिया वडा नं. ६ कि.नं. १ को ०–५–५.१।२ तथा स्व.कोदै रायको नाममा दर्ता रहेको श्रीपुर गा.पं. वडा नं. ७ कि.नं.९५ को १–४–१० आफूखुस गर्न पाउने र स्व.कोदै रायको नाममा दर्ता रहेको जि.म.श्रीपुर गा.पं. वडा नं. ६ कि.नं. २१३ को ०–१५–१५ जग्गा निज असौदेवीले आफ्नो नाममा दर्ता गराई जिन्दगीभर आयस्ता उब्जा खाने बेचबिखन गर्न नपाउने र निजको शेषपछिको हामीले आ–आफ्नो नाममा दर्ता गराई लिने भनी मिति २०४१।८।१ गतेका दिन श्री जनकपुर अंचल अदालतमा मिलापत्र भएकोमा मिति २०४५।४।१ गतेका दिन निज आसौदेवी आफ्नो कालगतिले परलोक भएकोमा निजको क्रियाखर्च हामीले नै आ–आफ्नो घरबाट गरी विपक्षी ठगारायले क्रिया खर्च समेत दिएनन् । उक्त ०–१५–१५ जग्गाको दर्ता फुटाई आ–आफ्नो नाममा दर्ता गराउने विचार गरिरहेकोमा ठगारायले उक्त ०–१५–१५ जग्गामध्ये दक्षिणतर्फबाट ०–७–१७.१।२ मिति २०४२।४।२९ गते राजिनामा गराई लिएको र पुन बाँकी ०–७–१७.१।२ जग्गा मिति २०४२।१०।१७ गतेका दिन हालै देखिको बकसपत्र गराई लिएको भनी देखाएकोले राजिनामातर्फ छुट्टै नालेस गरेका छौं । उपरोक्त ०–७–१७.१।२ जग्गा कि.का. भई कि.नं. ३५२ कायम हुन आएको हो त्यसको बकसपत्र रजिष्ट्रेशनको दर्ता वदर गरी ४ खण्डको ३ खण्ड हामीलाई १, १ खण्डमा पर्ने ०–१–१९–६ का दरले पृथक पृथक दर्ता समेत गराई पाउँ भन्ने वादीको फिरादपत्र ।
3. वादीले चलाउनु भएको दे.नं. १२११ को ले.द.व.द. मुद्दामा वादी दावी नपुग्ने भन्ने समेत व्यहोराको प्रतिवाद गरी सकेकोले सोही दे.नं. १२११ को मुद्दाको अभिन्न अंग प्रस्तुत मुद्दा भएकाले सोही मिसिल प्रमाण लगाई दावीबाट फुर्सद पाउँ भन्ने प्रतिउत्रर पत्र ।
4. वादी दावी बमोजिम लिखत दर्ता वदर भई दर्ता समेत ठहर्छ भन्ने २०४८।१२।२३।१ गतेको महोत्तरी जिल्ला अदालतको फैसला ।
5. महोत्तरी जिल्ला अदालतको मिति २०४८।१२।१३।१ गतेका फैसला त्रुटिपूर्ण हुँदा वदर गरी दावीबाट मुक्त गरी पाउँ भन्ने पुनरावेदन अदालत समक्ष परेको पुनरावेदकको पुनरावेदन पत्र ।
6. मिति २०४२।१०।१७ गते भएको हालैदेखिको बकसपत्र कुन ऐन अनुरुप वदर गराउन खोजेको हो सो स्पष्ट नभएको र दानवकसको महलको ५ नं. को हदम्याद समेत समाप्त भइसकेको अवस्थामा सोतर्फ समेत ध्यान नदिई शुरु जिल्ला अदालतले गरेको निर्णय उल्टी हुने देखिँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने मिति २०४९।१२।१२ गते पुनरावेदन अदालतको आदेश ।
7. विवादको कि.नं. २१३ को विगाहा ०–१५–१५ जग्गा आसौदेवीले अंश वापत पाएको देखिएको र निजको नाममा दाखिल दर्ता समेत भइसकेको अवस्थामा प्रतिवादी ठगा रायलाई कित्ताकाट गरी विगाहा ०–७–१७.१।२ जग्गा बकसपत्रको रजिष्ट्रेशन पारित गरी दिएको लिखतलाई वादीहरुले आफ्नो हक र वदर गर्न पाउने कानुनी आधार समेत नदेखाई लिखत र दर्ता वदर गरी पाउँ भनी लिएको वादी दावी पुग्न नसक्ने ठहर्छ शुरुको इन्साफ उल्टी हुन्छ भन्ने समेतको पुनरावेदन अदालत जनकपुरको फैसला ।
8. अंश मुद्दाको मिलापत्रबाट आसौदेवीको अंशमा जम्मा ३ कित्ता जग्गा रहेको र सोमध्ये २ कित्ता आफूखुस गर्न पाउने र १ कित्ता जिउनीभर खाने भनी उल्लेख छ र उक्त मिलापत्र हालसम्म कसैले वदर नगरी अकाट्य रहेको छ । जीउताभर उपभोगसम्म गर्न दिइएको सम्पत्ति विक्री वा दान बकस दिँदा हामी अंशियारको अंश हक हनन् हुन गएको छ । तसर्थ शुरुको फैसलालाई वदर गर्ने गरी गरेको पुनरावेदन अदालत जनकपुरको फैसला वदर गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीहरुको तर्फबाट यस अदालत समक्ष प्रस्तुत गरिएको पुनरावेदन पत्र ।
9. यसमा मिति २०४१।८।१ मा अंचल अदालतमा मिलापत्र हुँदा विवादित जग्गा हक हस्तान्तरण गर्न नपाइने शर्तमा दुवैथरी मन्जुर भएको विपरित बकसपत्र गरिएको मिति २०४२।१०।१७ बाट भएको हक हस्तान्तरणलाई शर्त विपरित भएको सम्झनु पर्ने हुँदा मिति २०४२।१०।८ गतेको बकसपत्र वदर नहुने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको इन्साफ फरक पर्ने देखिँदा अ.व. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतबाट भएको आदेश ।
10. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीहरुको तर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्री महादेव यादवले कि.नं. २१३ को ०–१५–१५ को जग्गामा मात्र हक हस्तान्तरण गर्न नपाइने शर्तमा मिलापत्र भएको हो । आफ्नो अंश हकको अन्य २ कित्ता जग्गा आफूखुशी गर्न पाउने भन्ने उल्लेख भएको छ । अदालतबाट भएको मिलापत्रले कानुनी हैसियत प्राप्त गर्ने हुँदा कानुन बमोजिम नै शर्त तोकिएको मान्नुपर्छ । आसौदेवी मरेको दुई वर्षभित्रै नालेश परेकोले हदम्याद नाघेको छैन । तसर्थ पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी हुनुपर्छ भनी एवं प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री अग्नि खरेलले कानुनले रोक नलगाएको अवस्थामा आफ्नो हकमा रहेको सम्पत्ति हक हस्तान्तरण गर्न मिल्दछ, मिलापत्रले छेक्न सक्दैन । मिलापत्रले दाताको आर्थिक स्वतन्त्रतामा बन्देज ल्याउन सक्दैन । २०४२ सालमा भएको कारोवारको विषयमा २०४७।१।१४ मा थाहा पाई नालेश गरेको हदम्यादको कारणले समेत खारेज हुनुपर्ने हो, लेनदेन व्यवहारको ४० नं. बमोजिमको हदम्याद प्रस्तुत मुद्दामा लाग्न सक्दैन । तसर्थ पुनरावेदन अदालत जनकपुरको फैसला सदर हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनी शुरु र रेकर्ड मिसिल एवं वादीहरुको पुनरावेदन जिकिर समेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत जनकपुरको इन्साफ मिलेको छ छैन र वादीहरुको पुनरावेदन जिकिर बमोजिम गर्नुपर्ने हो, होइन भन्ने कुरामा निर्णय दिनुपर्ने देखिन्छ ।
11. यसमा आसोदेवीले विवाद जग्गा वादी प्रतिवादी बीच चलेको अंश मुद्दामा मिति २०४१।८।१ मा भएको मिलापत्रबाट अंश वापत पाएको भन्ने देखियो । अंश वापत पाएको जग्गा अंश पाउने विधवा आसोदेवीले अचलमा आधिसम्म आफूखुश गर्न पाउने सो भन्दा बढी आफूखुश गर्न नपाउने बन्देज स्त्री अंशधनको २ नं. ले गरेको देखिन्छ । अंश वापत पाएको जग्गा कानून तथा मिलापत्र कै शर्तले दिन नपाउने दिएको भए स्त्री अंशधनको ८ नं. को हदम्याद भए गरेको मितिले २ वर्षभित्र नालेश दिनुपर्ने अवस्था देखिन्छ । प्रस्तुत मुद्दामा मिति २०४२।१०।१७ गतेमा आसोदेवीले प्रतिवादीलाई बकसपत्र गरी दिई हक छाडी दिएको देखिएको र प्रस्तुत फिराद २०४७ सालमा २ वर्ष म्याद नघाई परेको देखियो । वादीले पक्रेको लेनदेन व्यवहारको ४० नं. को व्यवस्था हेर्दा यस्तो व्यवहार गरेको सदर हुदैन भनेकोमा हदम्याद लाग्दैन भन्ने हुँदा कानूनले नै यस्तो व्यवहार गरेको सदर हुदैँन भनी गरेको अवस्थामा आकर्षित हुने देखिन्छ । मिलापत्रमा गरेको शर्त बन्देजलाई त्यस रुपमा लिन सकिने अवस्था भएन । त्यस्तै अंशवण्डाको महलको ३५ नं. मा पनि अंश नभै गोश्वारा राखिएको सम्पत्ति सम्बन्धमा जहिलेसुकै नालेश लाग्ने अवस्था देखिन्छ, तर प्रस्तुत मुद्दा अंश नभई गोश्वारा रहेको भन्ने अवस्था देखिदैन । तसर्थ कानूनको हदम्याद भित्र नपरेको फिराद नै खारेज गर्नुपर्नेमा शुरु महोत्तरी जिल्ला अदालतले इन्साफ गरी वादी दावी पुग्ने ठहर्याई गरेको फैसलालाई उल्टी गरी वादी दावी नपुग्ने भनी इन्साफ गरेको पुनरावेदन अदालत जनकपुरको फैसला गल्ती भई फिराद पत्र खारेज हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिश्चन्द्रप्रसाद उपाध्याय
इति सम्वत २०५७ साल जेष्ठ ११ गते रोज ४ शुभम..................।