निर्णय नं. ६८९२ - कर्तव्य ज्यान

निर्णय नं. ६८९२ ने.का.प. २०५७ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
सम्वत २०५४ सालको फौ.पु.नं. .. १६३२
फैसला मितिः २०५७।१।१२।२
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादीः जिल्ला पाल्पा, सिलुवा गा.वि.स. वडा नं. ४ घर भै हाल केन्द्रिय कारागार कार्यालय काठमाडौंमा थुनामा रहेका उमालाल वि.क.
विरुद्ध
विपक्षी/वादीः मनबहादुर वि.क.को जाहेरीले श्री ५ को सरकार
§ प्रतिवादी र मृतक बीचमा तत्काल विवाद उठी सोही मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी चोट छोडेको कारण मृत्यु भएको अर्थात आवेश प्रेरित हत्या भन्ने नभई उमालाल र भिमबहादुर बीच कृष्णबहादुरलाई मार्ने वार्ता चली उमालालले श्रीमतीसँगको अनुचित सम्बन्धको पूर्व रिसइवी रहेको कारण मार्नुपर्छ भन्ने अपराधिक मनसायबाट प्रेरित भै रातिको समयमा मस्त निन्द्रामा सुतिरहेको बाबुलाई आग्लोले विभिन्न ठाउँमा चोट छोडी मारी झुण्याएको देखिन आउछ । यसरी पूर्व नियोजित षडयन्त्रबाट बाबुलाई मारी झुण्ड्याएको प्रतिवादीको अपराधको प्रकृति यि प्रतिवादी र मृतकका बीचको नाता सम्बन्ध तथा घटना चक्र समेतबाट अ.वं.को १८८ नं. प्रयोग गर्नुपर्ने अथवा ज्यान सम्बन्धी महलको १४ नं. को अपराध हो भन्न सक्ने अवस्था नहुँदा निजलाई ज्यान सम्बन्धी महलको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैद गर्ने गरेको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत बुटवलको इन्साफ मिलेकै देखिँदा सदर हुने ।
(प्र.नं.२७)
पुनरावेदक प्रतिवादी तर्फबाटः
विपक्षी वादी तर्फबाटः
अवलम्बित नजिरः
फैसला
न्या.अरविन्दनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पुनरावेदन अदालत बुटवलको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
2. मेरो भाइ उमालाल र बुहारी सिता कुण्डमा मेला हेरी ससुराली घर गल्धा गा.वि.स. वडा नं. ९ बस्ने भिमबहादुर विश्वकर्माको घरमा गएको र छोराबुहारीलाई खोज्दै बाबा कृष्णबहादुर पनि भोलिपल्ट २०५१।५।१३ मा ससुराली घर पुगेपछि ज्वाई ससुरा एकातिर बुबा एकातिर भै झै-झगडा भएको रहेछ । त्यसपछि बुबा कहाँ जानु भयो के भयो केही थाहा नभई गायव हुनु भएको रहेछ र २०५१।५।१५ मा केशरबहादुर सुनारी मगरले बल्लाबारी भनिएको चिलाउनेको रुखको हाँगामा झुण्डिएको देखेर मलाई खबर गरेकोले थाहा पाएँ । भाइको ससुरा र भाइ सित मेरो बुबाको झगडा भएको र भाइले बुबाको खोज खबर केही नगरेकाले साथै लासको सम्पूर्ण भार क्यामुनाको बुटामा परेकाले समेत मेरो भाइ उमालाल र निजको ससुरा समेत भई बाबु कृष्णबहादुरलाई मारेको प्रष्ट देखिँदा निजहरुलाई पक्राउ गरी कारवाही गरी पाउँ भन्ने समेत जाहेरी दरखास्त ।
3. चिलाउनेको रुपमा मृतक कृष्णबहादुरको लास रहेको तल क्यामुनाको हाँगा घोडा चढेजस्तै गरी रहेको चिलाउनेको हाँगोमा पौने इन्चको रसिले पासो लगाई रहेको डोरीको लम्बाई ३ फिट रहेको । टाउकोमा औंसा किराहरु परेको, आँखा बन्द रहेको, दायाँ आँखा माथि एक इन्च लम्बाई चौडाइको निल डाम, मुख आकृतिमा पुरा निलडाम देखिने चिउँडोमा आधा इन्च चौडाई एक इन्च लम्बाई १।२ इन्च गहिराइको घाउ देखिने । पासोको डोरीको गाँठो पछाडि साइडतर्फ रहेको घाँटी गर्दन वरिपरि अं. ३ चौडा निलडाम लासले लगाएको कपडा रगतले नभिजेको भन्ने समेत लास प्रकृति मुचुल्का ।
4. म भागी माइतमा गई बसेको अवस्थामा मेरो ससुरो कृष्णबहादुर मेरो माइतीमा गएपछि त्यसरात त्यहीँ बसी भोलिपल्ट खानपिन गरिसकेपछि ससुराले घर जाउँ भनेको र उमालालले पनि जाउ भनेकाले म घरमा आएँ उमालाल पनि घरमा आएपछि तत्काल ससुराली गएका हुन् । पर्सिपल्ट आएका हुन् । मलाई केही भनेनन् मादक पदार्थ सेवन गरी उमालाल र भीमबहादुरले कुटपिट गरी मारे भन्ने सुनेकी हुँ । उनीहरुले नै मारेको हुनुपर्छ भन्ने लक्ष्मी कुमारी वि.क.ले गरेको कागज ।
5. २०५१।५।१३ मा ओमबहादुर आफ्नो घरमा आई पुनः ससुराली घरमा भएका कृष्णबहादुर चाहिं भीमबहादुरको घरमा नै बसेको कारणले गर्दा भीमबहादुर कामी र ओमबहादुर कामीले कृष्णबहादुरलाई कर्तव्य गरी मारी कृतिम घटना बनाएकोमा पूर्ण विश्वास लाग्छ भन्ने बलबहादुर वि.क.ले प्रहरीमा गरेको कागज ।
6. मिति २०५१।५।१३ गते छोरी लक्ष्मीको ससुरा सम्धी मेरो घरमा आउँदा ज्वाई उमालाल छोरी लक्ष्मी पनि मेरो घरमा थिए । खाना खाई ज्वाई जान लाग्दा सम्धी ज्वाई र छोरीबीच झगडा भयो । सम्धीले म घर जान्न भन्दै हुनुहुन्थ्यो । ज्वाई हिडेको केही छिन पछि सम्धी पनि हिड्नु भयो । सम्धी हिडेपछि छोरी पनि हिडी । २०५१।५।१५ गते दिलबहादुर चिदाले सम्धी मरेको खबर गरेपछि घटनास्थलमा गएको हुँ निज मृतकलाई को कसले मारेका हुन् मलाई थाहा भएन । म उपर समेत किन किटानी जाहेरी दिए उनै जानुन भन्ने समेत भीमबहादुर वि.क.ले प्रहरीमा गरेको बयान ।
7. मिति २०५१।५।१२ मा छिटो कुण्डाको मेला हेरी सो दिन साँझ ससुराली घरमा गएको हुँ, भोलिपल्ट मेरो बुबा पनि त्यहाँ पुग्नु भयो । मेरो श्रीमती लक्ष्मी कुमारी वि.क.लाई तँ घरबाट भागी किन आएकी होस् भनी विहानको खानपिन गरी म आफ्नो घरमा आएको हुँ । मेरो श्रीमती पनि त्यसै दिन आएकी हुन् । मैले बुबा कता गए भनी खोजतलास गरिन । २०५१।५।१५ गते गल्धा गा.वि.स. वडा नं. ८ मा मेरो बुबा कृष्णबहादुर झुण्डिएर मरेको भनी दिलबहादुर चिदीले खबर गरेकाले तत्काल उक्त स्थानमा गएको हुँ । मेरो बुबा कृष्णबहादुर वि.क. र म समेत भई एक बोतल रक्सी खाएको हो एकापसमा भनाभन झगडा भएको हो । मैले कृष्णबहादुरलाई कुटपिट गरेको होइन, को कसले कुटपिट गरे मलाई थाहा छैन किन जाहेरी दिए मलाई थाहा छैन भन्ने समेत उमालाल वि.क.ले प्रहरीमा गरेको बयान ।
8. छोरा बुहारीलाई घरमा जाउँ भन्दा झगडा भएको कारणले भिमबहादुर र उमालाल वि.क.ले मृतकलाई कुटपिट गरी मारी जंगलमा लगी झुण्डाएको भन्ने दिलबहादुर चिदीको कागज ।
9. रगत लागी ताकेको जस्तो देखिने आग्लो भीमबहादुरको घरबाट बरामद भएको भन्ने बरामदी मुचुल्का।
10. भीमबहादुर कामीको घरमा भुइतलामा आधा भाग हालै लिपेको आधा भागमा धुलो मैलो भएको भान्सा कोठाको गारोमा जमिनबाट १ मिटर १ फिट चौडाई आगो माटोले हालै टालेको त्यस्तै अर्को ठाउँमा भित्तामा १.१।२ मिटर माथि १.१।२ फिट लम्बाई १ फिट चौडाई आलो भई टाले टालेको ढोकामा लगाउने आग्लो खुर्केको दक्षिण तर्फको सिटी हालै खुर्केको भन्ने समेत घटनास्थल प्रकृति मुचुल्का ।
11. भिमबहादुर वि.क. र उमालाल वि.क. समेत भई मृतकलाई कर्तव्य गरी मारेमा विश्वास लाग्छ भन्ने सर्जमिन मुचुल्का ।
12. पहिला उमालालले र त्यसपछि भिमबहादुरले आग्लोले कृष्णबहादुरलाई हानेका हुन् भन्ने समेत सुमित्रा वि.क.को कागज ।
13. मृतकले मेरी छोरीलाई समाउन खोजेको पुरानो रिस निकाली झगडा भई एक बक्सिङ बाया कन्चट र एक बक्सिङ छातीमा ओमलालले मृतकलाई हानेका हुन् । हामीले आफ्नो बुबालाई नहान भनेका हौं । विवाद समाप्त भएपछि ज्वाई ससुरा माथि तलामा सुते म छोराछोरी तल तलामा सुत्यौं । राती १२ बजेको हुँदो हो । मृतक कृष्णबहादुरले खुट्टा फटफटाउँदै गरेको आवाज आयो सलाई कोरी बत्ति बाल्दा मृतक कृष्णबहादुर रहेछन् । नजिकमा उमालाल उभिएका थिए । म डराइ भीमबहादुरलाई बोलाए । पछि भीमबहादुर र उमालालले तातो पानी तपाई मरे मरेन भनी रहेका रहेछन् । मरेको थाहा पाई सेतो प्लाष्टिकको थैलोमा हालेका र फाल्न लगेका हुन् भन्ने समेत भिमबहादुरकी श्रीमती मिरा देवीको कागज ।
14. झैझगडाको कारणबाट भीमबहादुर र ओमलालले मृतकलाई मारेको हुनुपर्छ भन्ने रामबहादुर वि.क.को कागज । सोही मिलानले तुलकान्तको कागज ।
15. राती १२ बजेको समयमा उमालालले मलाई उठाई कृष्णबहादुर वि.क.ले लक्ष्मी समेतलाई पनि जबर्जस्ती करणी गर्न खोज्दो रहेछ । मार्नु पर्दछ कि भनी सोध्नु भयो । मैले मेरो घरमा त्यस्तो नगर्नोस भन्दा म मारी हाल्छु भनी आँटीबाट झरी आग्लोले हाने । त्यसपछि म पनि झरें मैले पनि एकपटक हाने । तत्काल निजको मृत्यु भयो । उमालाल र म भई सेतो प्लाष्टिकको खाली बोरामा हाली टुनी भञ्ज्याङ ठाटी माथि लगी झुण्डयाएका हौं भन्ने समेत भिमबहादुरको ततिम्वा बयान ।
16. रक्सी र गाभाको तरकारी खाई म र ससुरा भई आँटिमा सुत्यौं । हाम्रो बुबाले पहिले पनि मेरो श्रीमतीलाई अनुचित कार्य गर्ने गरेका र अहिले पनि तपाईको छोरीलाई पनि अनुचित कार्य गर्न खोज्दा रहेछन् । त्यसकारण मेरो बुबालाई मार्नुपर्छ भनी ससुरासित सल्लाह गरी तल भुइतलामा सुतेको बुबालाई मैले माथिबाट झारी दैलोको आग्लोले ३।४ चोट हानेपछि ससुरा आउनु भएको र मैले हान्नुहोस भनेबाट ससुराले पनि आग्लोले एक चोट हानेका हुन् पानी तताई शरीरमा पानी हाल्दा लागेको रगत सबै गयो । त्यसपछि ससुराको सल्लाह अनुसार टुनी भन्ज्याङ ठाटी माथि लगी झुण्ड्याएका हौं भन्ने समेत उमालाल वि.क.को ततिम्वा बयान ।
17. मल राख्ने प्लाष्टिकको बोरा बरामद भएको बरामदी मुचुल्का ।
18. प्रतिवादीहरुले गरेको साविती बयान सुमित्रा वि.क. मिरा देवी कमेनी लास प्रकृति मुचुल्का समेतबाट भिमबहादुरको छोरी एवं उमालालकी श्रीमती लक्ष्मीलाई अनुचित सम्बन्ध गर्न खोजेको कारणबाट उमालाल वि.क. र भीमबहादुर वि.क.ले कर्तव्य गरी कृष्णबहादुरलाई मारेको पुष्टि हुन आएकोले ज्यान सम्बन्धीको महलको १३ नं. को देहाय ३ अनुसार सजाय गर्नुपर्ने भन्ने समेत अभियोग पत्र ।
19. मिति २०५१।५।१२ गते विहान कोही आएको होइन । साँझ उमालाल आई खाना खाई घरमा जान्छु भनी हिडेका हुन् । त्यसको ३० मिनेट पछि छोरा र ज्वाई मेरो घरमा आए सो भोलिपल्ट विहान सम्धी कृष्णबहादुर वि.क. आई छोरा ज्वाई कहाँ छन् भनी सोधे मैले सुत्नु भएको छ भनेपछि सम्धी त्यही बसे । ज्वाई समेतले खाना खाएपछि ज्वाई र सम्धी झगडा गर्न थाले । छोरी खाना खाँदै थिई । ज्वाई र सम्धी एक्लाएक्लै भई घरतर्फ लागेका हुन् । मैले कृष्णबहादुरको मृत्यु कसरी भयो खुलाउन सक्दिन भन्ने समेत भिमबहादुरले अदालतमा गरेको बयान ।
20. तपाई नभएको बेलामा तपाईको बुबा मसँग सुत्न आउँछन् भनी मेरा श्रीमतीले भनेपछि मेरो बुबासित मलाई रिस उठिरहेको थियो । २०५१ साल भाद्र १३ गते मेरी श्रीमती मेरो घरमा गएपछि उनी आइन । म साँझ ७।८ बजे म घरबाट ससुराली घरमा आएँ । त्यसपछि ससुरा र मेरो कृष्णबहादुरलाई मार्ने सल्लाह भयो । राति १२ बजेको समयतिर हामी ससुरा ज्वाईको सल्लाह अनुसार म पहिला झरें र मेरो बाबु भुइतलामा सुतेको अवस्थामा आग्लोले ३, ४ पटक मेरो बाबुलाई हाने त्यसपछि ससुरा र मैले सल्लाह गरी रगत पखाली ससुरा र म भई ढल्लावारी ढाटी माथि जंगलमा लगी क्यामुनाको बुट्टामा अड्याई ससुराली घरबाट लगेको वनकसी खरको रसीले चिलाउनेको बुट्टामा झुण्ड्याई ससुराको घरमा गयौं । मेरो बाबु कृष्णबहादुरलाई कर्तव्य गरी मार्नेमा म र मेरो ससुरा भीमबहादुर हो । अरु मतियार छैनन् भन्ने समेत उमालाल वि.क.ले अदालतमा गरेको बयान ।
21. प्र.उमालालले कर्तव्य गरी मारेमा सर्जमिन समेतले भनेको हुँदा विश्वास लाग्छ भन्ने समेत मनबहादुरको बकपत्र ।
22. यिनै दुवै जनाले मारेका हुन् भनी मीरा वि.क.ले भनेकाले थाहा पाएको हुँ भन्ने समेत दुर्गाबहादुर सोमैको बकपत्र र सर्जमिनका मानिस समेतले भनेका हुँदा मैले पनि उमालाल र भिमबहादुरले मारेका हुन् भनेको हुँ भनी दलबहादुर खनालले गरेको बकपत्र । छोरीलाई समाएको रिसको कारण भीमबहादुरले मारेका हुन् भन्ने समेत मिरादेवीले गरेको बकपत्र ।
23. प्रतिवादीहरुमध्ये उमालाल वि.क. अधिकार प्राप्त अधिकारी तथा अदालतमा समेत साविती भएकोमा सो साविती बयानलाई अन्य स्वतन्त्र प्रमाणबाट खण्डन हुन नसकेको पुष्टि भइरहेको बुझिएका व्यक्तिहरु लक्ष्मी वि.क., मिरा देवी कमिनी, दुर्गाबहादुर सोमे, दलबहादुर खनाल र जाहेरवाला समेतले गरेको बकपत्रबाट पनि अभियुक्तको साविती बयानलाई कुनै न कुनै किसिमबाट पुष्टि हुन गई सोको अवस्थामा प्रतिवादी उमालाल वि.क.ले ज्यान सम्बन्धीको महलको १ नं. तथा १३(३) बमोजिम ज्यान मार्ने मनसायले सुतिरहेको बाबुलाई आग्लोले हानी मारेको यस परिस्थितिमा उक्त १३(३) नं. आकृष्ट हुन आउने देखिँदा र पहिला चोट भीमबहादुरले हानेको भन्ने हुँदा प्रतिवादी उमालाल वि.क.लाई जन्म कैद हुने र अर्का प्रतिवादी भीमबहादुर वि.क.को अदालतबाट फैसला नहुँदै मृत्यु भएको अवस्था देखिँदा केही बोल्नु नपर्ने भन्ने समेत व्यहोराको मिति २०५२।३।२६ को पाल्पा जिल्ला अदालतको फैसला ।
24. सर्वश्वसहित जन्मकैद गरेको शुरुको फैसला वदर गरी ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम कैद वर्ष १० मात्र कायम गरी पाउँ भन्ने प्रतिवादी उमालाल वि.क.को पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदन पत्र ।
25. मिसिल संलग्न लास जाँच प्रकृतिले र जाहेरवाला समेतको बकपत्रबाट कृष्णबहादुर वि.क. कर्तव्यबाट मरेको देखिएकोमा प्रतिवादी उमालाल वि.क.को अदालतमा भएको बयानबाट ससुरासँग मार्ने सल्लाह भई मारेकोमा साविती भएको देखिँदा समेत पुनरावेदन जिकिर बमोजिम ज्यान सम्बन्धी १४ नं. को कसुर गरेको मान्न मिलेन अतः पाल्पा जिल्ला अदालतले ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्ने गरेको इन्साफ मनासिव देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत पुनरावेदन अदालत बुटवलको मिति २०५३।९।२९ को फैसला ।
26. मलाई सर्वश्वसहित जन्मकैद गर्ने गरेको शुरुको इन्साफ मनासिव ठहराएको पुनरावेदन अदालत बुटवलको इन्साफ उल्टी गरी ज्यान सम्बन्धी महलको १४ नं. को कसुर कायम गरी पाउँ भन्ने समेत उमालाल वि.क.ले यस अदालतमा गरेको पुनरावेदन पत्र ।
27. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी पुनरावेदक प्रतिवादी उमालाल वि.क.लाई ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको पाल्पा जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत बुटवलको इन्साफ मनासिव बेमनासिव के रहेछ भनी इन्साफतर्फ विचार गर्दा पुनरावेदक प्रतिवादी उमालाल वि.क.ले मेरी श्रीमतीसँग अनुचित सम्बन्ध राख्ने गरेको कारण रिस थाम्न नसकी बाबु कृष्णबहादुरलाई मारेकोमा मलाई अ.वं. १८८ नं. समेत प्रयोग गरी ज्यान सम्बन्धी महलको १४ नं. बमोजिमको सजाय कायम गरी पाउँ भन्ने समेत पुनरावेदन जिकिर लिएको पाइयो । राती १०।११ बजेको समयमा घरको छिडीमा सुतिरहेको बाबुलाई ससुराको सल्लाह समेतबाट ४।५ पटक आग्लोले बाबुलाई हानी झुण्डी मरेको भन्ने बहाना बनाउनलाई रुखमा लगि झुण्ड्याएको भन्ने समेत प्र.उमालाल वि.क.ले अदालत समेतमा सावित भै बयान गरेको देखिन्छ । प्रतिवादी र मृतक बीचमा तत्काल विवाद उठी सोही मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी चोट छोडेको कारण मृत्यु भएको अर्थात आवेश प्रेरित हत्या भन्ने नभई उमालाल र भिमबहादुर बीच कृष्णबहादुरलाई मार्ने वार्ता चली उमालालले श्रीमतीसँगको अनुचित सम्बन्धको पूर्व रिसइवी रहेको कारण मार्नुपर्छ भन्ने अपराधिक मनसायबाट प्रेरित भै रातिको समयमा मस्त निन्द्रामा सुतिरहेको बाबुलाई आग्लोले विभिन्न ठाउँमा चोट छोडी मारी झुण्याएको देखिन आउछ । यसरी पूर्व नियोजित षडयन्त्रबाट बाबुलाई मारी झुण्ड्याएको प्रतिवादीको अपराधको प्रकृति यि प्रतिवादी र मृतकका बीचको नाता सम्बन्ध तथा घटना चक्र समेतबाट अ.वं.को १८८ नं. प्रयोग गर्नुपर्ने अथवा ज्यान सम्बन्धी महलको १४ नं. को अपराध हो भन्न सक्ने अवस्था नहुँदा निजलाई ज्यान सम्बन्धी महलको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैद गर्ने गरेको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत बुटवलको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.गोपालप्रसाद खत्री
इति सम्वत २०५७ साल वैशाख १२ गते रोज २ शुभम...............।