निर्णय नं. ६८९५ - अंश दर्ता

निर्णय नं. ६८९५ ने.का.प. २०५७ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
सम्वत २०५३ सालको दे.पु.नं. ...२८२७
फैसला मितिः २०५६।५।३।५
मुद्दाः अंश दर्ता ।
पुनरावेदक/वादीः जिल्ला धनुषा, वलहा कठात गा.वि.स. वडा नं.४ घर भै हाल सिरहा बसपिट्टा गा.वि.स. वडा नं. ७ बस्ने कुशेश्वर साह समेत ।
विरुद्ध
विपक्षी/प्रतिवादीः ऐ.ऐ. बस्ने नथुनी साह हलुवाई समेत
§ पुनरावेदक वादीका पति तथा पिता प्रतिवादी नथुनी साहले प्रतिवादी मध्येका मुण्डा साहलाई मिति २०२१।१।१० मा जग्गा बिक्री गर्ने गरी घरसारमा राजिनामाको लिखत गरी दिएको देखिन्छ । सो लिखतलाई पुनरावेदक वादीले जालसाजी हो भनी जिकिर लिएतापनि विशेषज्ञले सद्दे हो भनी दिएको राय समेत देखिन्छ । उक्त लिखत जालसाजी ठहर नभई अन्तिम भईरहेको अवस्था समेतबाट वादीहरुका पति तथा पिता प्रतिवादी नथुनी साहबाट सम्म अंश पाउने भनी फैसला गर्नुपर्नेमा नथुनी साह बाहेकका अन्य सबै प्रतिवादीबाट अंश पाउने गरी गरेको फैसला सो हदसम्म नमिलेको भनी शुरु जिल्ला अदालतको फैसला उल्टी हुने ठहर गरी गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मुनासिव नै हुँदा सदर हुने ।
(प्र.नं.१२)
पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ता श्री श्रीहरि अर्याल
विपक्षी प्रतिवादी तर्फबाटः
अवलम्बित नजिरः
फैसला
न्या.कृष्णकुमार वर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः
2. मूल पुर्खा वनवाली साहका २ छोरामा जेठा स्व. खटर साह, कान्छा स्व.जनक साह हुन् । खटर साहको १ छोरा स्व. मुण्डा साह, मुण्डा साहको १ छोरा वेचन साह र जनक साहको छोरा नथुनी साह हुन् । यसरी नथुनी साहको पत्नी दुःखनी फिरादी र फिरादी मध्येका २ छोरा विशेश्वर र कुसेश्वर हुन् । नथुनीको हक खाने हामी फिरादी हौं । यसरी विपक्षी नथुनी तथा अन्य विपक्षीहरुको बहकावमा परी बराबर दुःख तकलिफ दिई कुटपिट झैझगडा गरी दुःख दिन थाल्नु भएकोले बाध्य भई २०४३।११।२३ गतेका दिन मानो छुट्टिई म फिरादी समेत सिरहा बजारमा चामल च्यूराको खरिद बिक्री गरी आएका छौं । हाल आर्थिक स्थिति कमजोरीले गर्दा हाम्रो अंश छुट्टाई दिनु भनी २०४५।१।५ मा भन्दा अंश दिन मञ्जुर नगरेकोले विपक्षीहरुका नाउँमा नालेस गर्न आएको छु । मेरो सवुत प्रमाण बुझी फिराद परेको अघिल्लो मितिलाई मानो छुट्टिएको मिति कायम गरी विपक्षीहरुबाट तायदाती फाँटवारी लिई सम्पूर्ण सम्पत्तिबाट २ भाग छुट्याई सो २ भागको १ भाग लगाई सो १ भागको ४ भागको बण्डा छुट्याई त्यस मध्येबाट ३ भाग हामीलाई वण्डा छुट्याई हाम्रो नाउँमा दर्ता समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
3. वादीहरु वा वादीका लोग्ने हामीसँग बसेको छैन । वादीको ससुरा बाजे तथा प्रतिवादी बनाइएका प्र.नथुनी साहको पिता जनक साहकै पालामा हाम्रो अंशबण्डा भइसकेको हुँदा दावी अनुसार अंश दिनुपर्ने होइन भन्ने समेत व्यहोराको प्र.मुण्डा साह र वेचन साहको प्रतिउत्रर पत्र ।
4. फिरादीले देखाएको वंशावलीमा कुनै विवाद छैन । निजहरुले अंश माग गर्दा मैले दिन्न भनी भनेको छैन । सगोलको सम्पत्तिबाट अंश पाउने वादी दावी सत्य हो भन्ने समेत व्यहोराको प्रतिवादी नथुनी साहको प्रतिउत्रर पत्र ।
5. मेरो लोग्ने नथुनी साहको नाउँमा जग्गा जमिन केही छैन । नभएको जग्गा कहाँबट कसरी ल्याई बेचे मेरो लोग्ने नथुनीले मुण्डा साहलाई जग्गा विक्री गरेको छैन । यसमा लागेको ल्याप्चे सहीछाप नथुनी साहको होइन । यो लिखत जालसाजी हो भन्ने समेत व्यहोराको वादी दुःखनी देवीले गरेको बयान ।
6. वादीले गरेको बयान झुठ्ठा हो । २०३५ साल पहिले नै नथुनी साह कठाल गाउँ छाडी सिरहाको बसविट्टा गाउँमा गएका हुन् । २०२० सालमा नथुनी साहले मुण्डा साहलाई जग्गा विक्री गरी घरसारमा लिखत गरी निज नथुनीले ल्याप्चे सहीछाप गरी दिएका हुन् । हामीले जालसाजीबाट लिखत तयार गरेको छैन भन्ने समेत व्यहोराको प्र.वा.स. बेचन साहले गरेको बयान ।
7. विशेषज्ञको राय प्रतिवेदन अनुसार वादीको लिखत जालसाजी ठहर्दैन । दावी अनुसार प्रतिवादीबाट वादीले अंश पाउने ठहर्छ भन्ने शुरु ध.जि.अ.को मिति २०५०।२।१८ को फैसला ।
8. विपक्षीहरु हाम्रो अंशियार नभएका र निजका पति तथा बाबु नथुनीका पति पिता जनक साहकै पालामा हाम्रो जन्म हुनुभन्दा अगावै भिन्न भई बेगल बसेको व्यक्तिले कहाँ के कति सम्पत्ति अंश वापत लिए पाएका थिए, सो खुलस्त गर्न हामीले नसकेको भन्ने गलत एवं आत्मनिष्ट कारण देखाई सगोल ठहर गर्नु अन्यायपूर्ण हुँदा ध.जि.अ.को फैसला वदर गरी पाउँ भन्ने पुनरावेदन पत्र ।
9. यसमा बाबु नथुनीलाई प्रतिवादी बनाई नथुनीको श्रीमती दुःखनी र निजको २ छोरा वादी भई प्रस्तुत मुद्दा चलेको र नथुनी अन्यत्र बसेको भन्ने कुरा मिति २०२१।१।१० को घरायसी राजिनामाबाट देखिएको उक्त राजिनामा सद्दे ठहरी विशेषज्ञबाट जाँच भई आएको स्थिति र अवस्थामा मिति २०२१।१।१० मा विक्री गरेको जग्गालाई पनि बण्डा लाग्ने ठहर गरेको शुरुको फैसला फरक पर्ने देखिँदा अ.वं. २०२ नं. र पु.वे.अ.नियमावली, २०४८ बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने मिति २०५२।२।७ मा भएको आदेश ।
10. वादीको पति तथा पिता नथुनी साहले पुनरावेदक मध्येका मुण्डा साहलाई मिति २०२१।१।१० मा जग्गा विक्री गरी घरसारको लिखत गरी दिएकोले यी वादीहरुलाई अंश दिन मन्जुर गर्ने प्र.नथुनी नै अंशमा दावी नगरेको अवस्थामा नथुनी आफैले उक्त मिति २०२१।१।१० मा आफ्नो एकलौटी हक देखाई मुण्डा साहलाई राजिनामा लिखत गरी दिएकोमा जालसाजी नठहरे उपर चुनौती नभई अन्तिम रहेको देखियो । प्रतिवादी नथुनीले वादीहरुलाई अंश दिन मन्जुर नै गरेको हुँदा नथुनीको पत्नी छोराहरुले प्रतिवादी नथुनीबाट सम्म अंश पाउने भनी फैसला गर्नुपर्नेमा नथुनी साह बाहेक सबै प्रतिवादीबाट अंश पाउने गरी गरेको फैसला सो हदसम्म नमिलेको हुँदा शुरु धनुषा जिल्ला अदालतको मिति २०५०।२।१८ को फैसला केही उल्टी हुने ठहर्छ । प्रतिवादी नथुनी साहबाट यी वादीहरुले अंश पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०५२।८।२८ को फैसला ।
11. घरसारको लिखतको आधारबाट हाम्रो पति तथा पिता प्र.नथुनीको बीचमा बण्डा भएको कुरा प्रमाणित गर्दैन । किनकि प्रतिवादी मध्येका पिता तथा पति नथुनी र प्र. मुण्डा साहको बीचमा कहिले बण्डा भयो । सो भन्न सकेको छैन भने पुनरावेदन अदालतले पनि प्र.नथुनी र प्र.मुण्डा साह बीचमा बण्डा भएको भन्न सकेको छैन । साथै अंशबण्डाको ३० नं. समेतको विपरित हुने गरी गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन जिकिर ।
12. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट विद्बान अधिवक्ता श्री श्रीहरि अर्यालले वादी प्रतिवादीहरु अंशियार हुन भन्ने कुरामा कुनै विवाद छैन । मेरो पक्षले अंश पाइ सकेको छ भन्ने प्रमाण प्रतिवादी पक्षले दिन नसकेको अवस्थामा वादी दावी नपुग्ने गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको छैन । वादी दावी बमोजिम होस भनी गर्नुभएको बहस जिकिर सुनी मिसिल संलग्न प्रमाण कागज अध्ययन गरी पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो ? निर्णय दिनुपर्ने देखिन आयो । यसमा निर्णयतर्फ विचार गर्दा पुनरावेदक वादीका पति तथा पिता प्रतिवादी नथुनी साहले प्रतिवादी मध्येका मुण्डा साहलाई मिति २०२१।१।१० मा जग्गा बिक्री गर्ने गरी घरसारमा राजिनामाको लिखत गरी दिएको देखिन्छ । सो लिखतलाई पुनरावेदक वादीले जालसाजी हो भनी जिकिर लिएतापनि विशेषज्ञले सद्दे हो भनी दिएको राय समेत देखिन्छ । उक्त लिखत जालसाजी ठहर नभई अन्तिम भईरहेको अवस्था समेतबाट वादीहरुका पति तथा पिता प्रतिवादी नथुनी साहबाट सम्म अंश पाउने भनी फैसला गर्नुपर्नेमा नथुनी साह बाहेकका अन्य सबै प्रतिवादीबाट अंश पाउने गरी गरेको फैसला सो हदसम्म नमिलेको भनी शुरु जिल्ला अदालतको फैसला उल्टी हुने ठहर गरी गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मुनासिव नै हुँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.भैरवप्रसाद लम्साल
इति सम्वत २०५६ साल भाद्र ३ गते रोज ५ शुभम................।