निर्णय नं. ६८९६ - लिखत वदर दर्ता वदर

निर्णय नं. ६८९६ ने.का.प. २०५७ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल
सम्वत २०५२ सालको दे.पु.नं. ... २८४७
फैसला मितिः २०५६।९।१२।२
मुद्दाः लिखत वदर दर्ता वदर ।
पुनरावेदक/प्रतिवादीः जिल्ला मकवानपुर, सरीखेल पलासे गा.वि.स. वडा नं. ७ बस्ने सिंगराम गोले
विरुद्ध
विपक्षी/वादीः जिल्ला मकवानपुर, सरीखेल पलासे घर भै हाल हे.न.पा. वडा नं. ६ बस्ने अशोक कुमार लामा समेत
§ हामी आठ अंशियार भएकोमा हामीहरुको समेत हक लाग्ने पैतृक सम्पत्तिको अचल जग्गा हाम्रो हकको मन्जुरी वेगर र.नं. २१५७ बाट मिति २०४३।११।१२ मा राजिनामा पारित गरेको मकवानपुर जिल्ला ज्यामिरे गा.वि.स. वडा नं. ९ कि.नं. २१९ को ज.वि.०/९/६ मध्ये पूर्व तर्फबाट आधा र ऐ.ऐ. कि.नं. २२२ को ०/११/१७ मध्ये आधा पश्चिम तर्फबाट ०/५/१८.१/२ समेत आठ अंशियार भएकोमा हामी फिरादीहरु ४ जनाको हकमा लिखत वदर दर्ता वदर गरी पाउँ भन्ने फिराद दावी भएको प्रस्तुत मुद्दामा लिखत वदर हुने ठहर्याएको शुरु मकवानपुर जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालतको इन्साफमा चित्त नबुझी प्रतिवादीको प्रस्तुत पुनरावेदन परेको देखिन्छ । उमेर नपुगेका फिरादीको हकमा फिराद खारेज गर्नुपर्नेमा शुरु सदर गरेको पुनरावेदन अदालतको फैसलामा अंशवण्डाको १९(१) को व्याख्यामा त्रुटी हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी पाउँ भन्ने मुख्य पुनरावेदन जिकिर रहेको छ । प्रस्तुत मुद्दाको फिराद मिति २०४४।११।९ मा दर्ता हुँदा वादी मध्येका चन्द्रकुमार लामा, अशोक कुमार लामा र राजु कुमार लामाको उमेर क्रमशः १७, ७ र ५ वर्षको लेखिएको देखिन्छ । वादीले वदर गरी पाउँ भनी दावी लिएको लिखत मिति २०४३।११।१२ मा रजिष्ट्रेशन पारित भएको देखिन्छ । अंश वण्डाको १९(१) नं. ले २१ वर्ष नाघेकोमा मात्र मन्जुरी लिनुपर्ने व्यवस्था गरेको छ, तर वादी दावीको लिखत पारित हुँदाको अवस्थामा वादी मध्येका चन्द्रकुमार लामा, अशोक कुमार लामा र राजु कुमार लामा २१ वर्ष नाघेको भन्ने देखिदैँन । ने.का.प. २०४०, अंक ८, पृष्ठ ४२८, नि.नं. १७१६ भिमकला उपाध्याय विरुद्ध खिमलाल आचार्य समेत भएको लिखत वदर मुद्दामा वादी दावीको लिखत पारित हुँदाका अवस्थामा वादीको उमेर २१ वर्ष नाघेको भन्ने नदेखिएकोमा निजको मन्जुरी लिनुपर्ने अवस्था नदेखिने भनी सिद्धान्त प्रतिपादन भएको समेत देखिँदा फिरादी मध्येका मधुमायाको हकमा सम्म आठ भागको १ भाग लिखत वदर गर्नुपर्नेमा उमेर नपुगेका वादीहरुको हकमा समेत लिखत वदर गर्ने गरेको सम्म शुरु सदर गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेको देखिएन । तसर्थ अंशवण्डाको १९(१) र उल्लेखित नजिर समेतको आधारमा उमेर नपुगेको वादीहरुको हकमा लिखत वदर हुन नसक्नेमा उमेर नपुगेका वादीहरु चन्द्रकुमार लामा, अशोक कुमार लामा र राजु कुमार लामा समेत ३ जनाको हकमा समेत लिखत वदर गर्ने गरेको शुरुको सदर गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेको नदेखिँदा सो हदसम्म त्रुटीपूर्ण देखिँदा वदर भई केही उल्टी हुने ।
(प्र.नं.१४)
पुनरावेदक प्रतिवादी तर्फबाटः
विपक्षी वादी तर्फबाटः
अवलम्बित नजिरः ने.का.प. २०४०, अंक ८, पृष्ठ ४२८, नि.नं.१७१६
फैसला
न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम यस अदालतमा दायर भै मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदन दायरीमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः
2. हामी आठ अंशियार छौ, अंशवण्डा भएको छैन, हाम्रो समेत हक लाग्ने पैतृक सम्पत्तिको अचल जग्गा हाम्रो हकको मन्जुरी वेगर र.नं.२१५७ बाट राजिनामा पारीत गरेकाले प्रतिवादीहरुलाई कानून बमोजिम गरी जि.म.ज्यामीरे गा.वि.स. वडा नं. ९ कि.नं. २१९ को ज.वि. ०-९-६ मध्ये पूर्वतर्फबाट आधा ज.वि. ०-४-१३ र कि.नं. २२२ को ०-११-१७ मध्ये आधा पश्चिम तर्फबाट ज.वि. ०-५-१८.१/२ समेतको लिखत वदर दर्ता वदर गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
3. विपक्षीहरुका फिराद दावी झुठ्ठा हो, निजहरुका पिता पतिले मलाई फार्छे राजिनामाको लिखत गरी दिएका हुन, वदर हुनुपर्ने होइन । वीरबहादुरले मलाई दिएको उक्त जग्गा वीरबहादुरको स्वआर्जनको हो, त्यसकारण झुठ्ठा फिराद दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको सिंगराम गोलेको प्रतिउत्तर पत्र ।
4. प्रतिवादी वीरबहादुरले अदालतबाट जारी भएको समाव्हान म्याद गुजारी बसेको, अंश मुद्दामा अंग पुगेपछि किनारा गर्ने गरी मुल्तवीमा राख्ने भन्ने २०४५।१।१९ को मुल्तवी आदेश ।
5. अंश मुद्दा अन्तिम किनारा भएकाले मुलतवीबाट जगाई किनारा गर्नु भन्ने २०४७।४।१९ को मकवानपुर जिल्ला अदालतको आदेश ।
6. प्रतिवादीका साक्षीहरुले मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
7. मिति २०४३।११।१२ मा पारित लिखतको कि.नं. २१९ को ज.वि. ०-९-६ मध्ये पूर्वतर्फबाट आधा ज.वि. ०-४-१३ र कि.नं. २२२ को ०-११-१७ मध्ये पश्चिमतर्फबाट आधा ज.वि. ०-५-१८.१/२ समेत जम्मा ज.वि. ०-१०-११.१/२ लिखत वदर हुने ठहर्छ भन्ने शुरु मकवानपुर जिल्ला अदालतको फैसला ।
8. शुरु फैसलामा चित्त बुझेन भन्ने व्यहोराको पुनरावेदन जिकिर रहेछ ।
9. अशोककुमार, चन्द्रकुमार र राजकुमार लामाको उमेर अंशवण्डाको १९(१) मा अंकित उमेर भन्दा कम उमेरको देखिँदा निजहरुको हकमा समेत वदर हुने ठहर्याएको इन्साफ फरक पर्ने देखिँदा झगडिया झिकाउने भन्ने पुनरावेदन अदालत हेटौडाबाट आदेश भएको रहेछ ।
10. प्रमाण ऐन, २०३१ को दफा ६(क) मा एकाघर सगोलका अंशियार मध्ये जोसुकैको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने कानूनी व्यवस्था देखिन्छ । यस्तो अवस्थामा लेनदेन व्यवहारको १० नं. बमोजिम लिखतमा यी वादीहरु साक्षी पनि नबसेका र मन्जुरीको लिखत पनि भए गरेको नदेखिँदा प्रत्यर्थी वादीहरुको अंश हक लाग्ने जति जग्गा वदर नगरी दिएको अवस्थामा निजहरु अंश हकबाट बन्चित भई निरअंशी हुने अवस्था समेत देखिँदा झगडिया झिकाउने आदेशसँग सहमत हुन सकिएन । अतः प्रतिवादीहरुले लिनु दिनु गरेको र.नं. २१५७ मिति २०४३।११।१२ मा पारित राजिनामा लिखतको जिल्ला मकवानपुर ज्यामिरे गा.वि.स. वडा नं. ९ कि.नं. २१९ को ज.वि.०-९-६ मध्ये पूर्वतर्फबाट आधा ज.वि. ०-४-१३ र कि.नं. २२२ को ज.वि. ०-११-१७ मध्ये पश्चिमतर्फबाट ज.वि. ०-५-१८.१/२ समेत जम्मा ज.वि. ०-१०-११.१/२ वदर हुने ठहर्याएको शुरु इन्साफ मनासिव ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने पुनरावेदन अदालत हेटौडाको मिति २०५०।३।२७ को फैसला ।
11. फिराद गर्दा विपक्षी मध्येका अशोककुमारको ७ वर्षको, राजकुमारको ५ वर्षको र चन्द्र कुमारको १७ वर्षको उमेर भएको हुँदा उमेर नपुगेका फिरादीको हकमा अ.वं. १८० नं. बमोजिम फिराद खारेज गर्नुपर्नेमा शुरु सदर गरेको पुनरावेदन अदालतको फैसलामा अ.वं. ८२ नं. र १८० नं. तथा अंशवण्डाको १९(१) को व्याख्यामा गम्भीर कानूनी त्रुटी रहेको हुँदा शुरु सदर गरेको पुनरावेदन अदालत हेटौडाको निर्णय उल्टी गरी मेरो जिकिर कायम हुने गरी मुद्दा दोहोर्याई हेरी निर्णय गरी पाउँ भन्ने निवेदन ।
12. यसमा फिराद पर्दाको अवस्थामा चन्द्र कुमार लामा, अशोक कुमार लामा र राजु कुमार क्रमशः १७, ७ र ५ वर्षका देखिएका, दावीको सम्पत्ति घर खर्च भन्ने वापत जनाई बिक्री गरेको, अंशवण्डाको १९(१) ले २१ वर्ष नाघेकाको मात्र मन्जुरी लिनु पर्ने देखिएकोले २१ वर्ष नपुगेको हकमा समेत लिखत वदर हुने ठहर्याएको शुरु मकवानपुर जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौडाको फैसलामा अंश वण्डाको १९(१) नं. र ने.का.प. २०४०, अंक ८ पृष्ठ ४२८ मा प्रतिपादित सिद्धान्त समेतको विपरीत देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क)(ख) को त्रुटि देखिँदा दोहोर्याउने निस्सा दिएको छ भन्ने यस अदालतको मिति २०५२।३।३० को आदेश ।
13. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहित मिसिल संलग्न प्रमाण कागजातहरु अध्ययन गरी हेर्दा यसमा शुरु मकवानपुर जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालतको इन्साफ मिलेको छ, छैन भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
14. निर्णयतर्फ विचार गर्दा, हामी आठ अंशियार भएकोमा हामीहरुको समेत हक लाग्ने पैतृक सम्पत्तिको अचल जग्गा हाम्रो हकको मन्जुरी वेगर र.नं. २१५७ बाट मिति २०४३।११।१२ मा राजिनामा पारित गरेको मकवानपुर जिल्ला ज्यामिरे गा.वि.स. वडा नं. ९ कि.नं. २१९ को ज.वि.०/९/६ मध्ये पूर्व तर्फबाट आधा र ऐ.ऐ. कि.नं. २२२ को ०/११/१७ मध्ये आधा पश्चिम तर्फबाट ०/५/१८.१/२ समेत आठ अंशियार भएकोमा हामी फिरादीहरु ४ जनाको हकमा लिखत वदर दर्ता वदर गरी पाउँ भन्ने फिराद दावी भएको प्रस्तुत मुद्दामा लिखत वदर हुने ठहर्याएको शुरु मकवानपुर जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालतको इन्साफमा चित्त नबुझी प्रतिवादीको प्रस्तुत पुनरावेदन परेको देखिन्छ । उमेर नपुगेका फिरादीको हकमा फिराद खारेज गर्नुपर्नेमा शुरु सदर गरेको पुनरावेदन अदालतको फैसलामा अंशवण्डाको १९(१) को व्याख्यामा त्रुटी हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी पाउँ भन्ने मुख्य पुनरावेदन जिकिर रहेको छ । प्रस्तुत मुद्दाको फिराद मिति २०४४।११।९ मा दर्ता हुँदा वादी मध्येका चन्द्रकुमार लामा, अशोक कुमार लामा र राजु कुमार लामाको उमेर क्रमशः १७, ७ र ५ वर्षको लेखिएको देखिन्छ । वादीले वदर गरी पाउँ भनी दावी लिएको लिखत मिति २०४३।११।१२ मा रजिष्ट्रेशन पारित भएको देखिन्छ । अंश वण्डाको १९(१) नं. ले २१ वर्ष नाघेकोमा मात्र मन्जुरी लिनुपर्ने व्यवस्था गरेको छ, तर वादी दावीको लिखत पारित हुँदाको अवस्थामा वादी मध्येका चन्द्रकुमार लामा, अशोक कुमार लामा र राजु कुमार लामा २१ वर्ष नाघेको भन्ने देखिदैँन । ने.का.प. २०४०, अंक ८, पृष्ठ ४२८, नि.नं. १७१६ भिमकला उपाध्याय विरुद्ध खिमलाल आचार्य समेत भएको लिखत वदर मुद्दामा वादी दावीको लिखत पारित हुँदाका अवस्थामा वादीको उमेर २१ वर्ष नाघेको भन्ने नदेखिएकोमा निजको मन्जुरी लिनुपर्ने अवस्था नदेखिने भनी सिद्धान्त प्रतिपादन भएको समेत देखिँदा फिरादी मध्येका मधुमायाको हकमा सम्म आठ भागको १ भाग लिखत वदर गर्नुपर्नेमा उमेर नपुगेका वादीहरुको हकमा समेत लिखत वदर गर्ने गरेको सम्म शुरु सदर गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेको देखिएन । तसर्थ अंशवण्डाको १९(१) र उल्लेखित नजिर समेतको आधारमा उमेर नपुगेको वादीहरुको हकमा लिखत वदर हुन नसक्नेमा उमेर नपुगेका वादीहरु चन्द्रकुमार लामा, अशोक कुमार लामा र राजु कुमार लामा समेत ३ जनाको हकमा समेत लिखत वदर गर्ने गरेको शुरुको सदर गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेको नदेखिँदा सो हदसम्म त्रुटीपूर्ण देखिँदा वदर भई केही उल्टी हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत हेटौडाको इन्साफ मधुमाया लामाको हक सम्म आठ भागको एक भाग सदर गर्नुपर्नेमा उमेर नपुगेका वादीहरु ३ जना समेतको हकमा लिखत वदर हुने ठहराएको फैसला सो हदसम्म केही उल्टी हुने ठहरेकोले पुनरावेदक प्रतिवादीले पुनरावेदन अदालत हेटौडामा पुनरावेदन गर्दा शुरु जिल्ला अदालतबाट वादीलाई भराउने गरेको कोर्टफि रु.२०।– धरौट राखेको देखिँदा उक्त धरौटराखेको रकम मध्ये रु.५।- कोर्टफि वापत कटाई बाँकी रु.१५।– फिर्ता पाउँ भनी ऐनका म्याद भित्र पुनरावेदक प्रतिवादीको दरखास्त पर्न आएमा कानूनको रीत पुर्याई फिर्ता दिनु भनी शुरुलाई लगत दिनु..............१
नियमानुसार गरी मिसिल बुझाई दिनु ...................१
उक्त रायमा म सहमत छु ।
न्या. दिलिप कुमार पौडेल
इति सम्वत २०५६ साल पौष १२ रोज २ शुभम् .......................।