निर्णय नं. ६९०५ - कुत दिलाई मोही निष्काशन
निर्णय नं. ६९०५ ने.का.प. २०५७ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
सम्वत २०५३ सालको दे.पु.नं. ..३८३४
फैसला मितिः २०५६।६।६।५
मुद्दाः कुत दिलाई मोही निष्काशन ।
पुनरावेदक/वादीः जिल्ला रौतहट, ब्रम्हपुरी गा.वि.स. वडा नं. ७ बस्ने सत्रुधन कुमार सिंह राजपुतको मु.स.गर्ने उर्मिला देवी सिंह
विरुद्ध
विपक्षी/प्रतिवादीः ऐ.पिपरीया गा.वि.स. वडा नं. २ बस्ने अनुठाप्रसाद कलवार
§ विवादको जग्गा साविकमा कि.नं. ५०१, २४८, ८४८ कायम भै जग्गा धनी बलिरामकुमार भएकोमा वादीहरु बीच २०४४।४।३२ मा अंशवण्डा हुँदा जग्गाहरु पनि छुट्याएको र छुट्याउँदा विभिन्न कित्ता कायम भएको देखियो । भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (८) मा मोही भएको जग्गा बेचबिखन, दानदातव्य वा अंशवण्डा भएकोमा सो सम्बन्धी लिखत भएको १५ दिनभित्र जग्गावालाले जुन व्यक्तिलाई सो जग्गा बेचबिखन, दानदातव्य वा अंशवण्डा गरिदिएको हो सो व्यक्तिको नामथर वतन खुलाई मोही र गाउँ विकास समिति वा नगरपालिकालाई सो कुराको सूचना दिनुपर्छ भन्ने प्रष्ट कानूनी व्यवस्था हुँदा हुदैँ वादी जग्गावालाले मोहीलाई उपरोक्त बमोजिमको सूचना दिएको भनी भन्न लेख्न नसकेको अवस्थामा मोहीले आफ्नो कर्तव्य पूरा गरेन भनी भन्नु न्यायोचित नहुने हुँदा मोही निष्काशन गर्ने गरेको शुरु भू.सू.का. रौतहटको निर्णय उल्टी गरेको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको देखिँदा सदर हुने ।
(प्र.नं.१०)
पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ताद्बय श्री रामप्रसाद भट्टराई र श्री अमर थापा
विपक्षी तर्फबाटः
अवलम्बित नजिरः
फैसला
न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत हेटौडाको मिति २०५२।९।२ को फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथय एवं ठहर यसप्रकार छः
2. यसमा मेरो नाममा दर्ता रहेको गा.वि.स. पिपरिया वडा नं. १ कि.नं. १४२९ को ०-०-१९ कि.नं. १४४२ को ०-८-१७ वडा नं. २ कि.नं. १२२९ को ०-२-१७ समेत ०-१२-१३ मा प्रतिवादीको स्व.बुबा मोही हुनुहुन्छ । २०४८ सालको बालीमा मैले पाउने कुत नबुझाई धरौटी समेत नराखेकोले मैले पाउनु पर्ने कुत धान मन १५-२१-० को रु.२४५।- ले हुने रु.१३५३।६५ विपक्षीबाट दिलाई भराई मोही निष्काशन समेत गरी पाउँ भन्ने वादी दावी ।
3. वादीको सगोलको भाइ बलराम कलवारको नाम दर्ताको गा.वि.स. पिपरिया वडा नं. १ कि.नं. २४८ को १-६-१० कि.नं. ५०१ को ज.वि. ०-३-० वडा नं. २ कि.नं. ८४८ को ज.वि. ०-०-१० समेतमा मेरो बुबा मोही भई निजको परलोक पछि मेरो नाममा मोही नामसारी भइसकेको र सालसालै जग्गाधनीलाई बुझाउने कुत बुझाउँदै आएको छु । २०४८ सालको मैले बुझाउने कुत वादीको भाइ अनतकुमार सिंह आई मेरो अंश भागमा परेको कुत मलाई दिनु भनी माग्दा बलराम कलवारको दाजुभाइमा अंश फाँट हुँदा साविक नम्बर परिवर्तन भई कि.नं. २४८ को कित्ता फोड भई कि.नं. १४४३ को ०-८-१७ कि.नं. ८४८ को फोड भई कि.नं. १२३० को ०-२-१७ र कि.नं. ५०१ को ०-१-० गरी ०-१२-१४ को कुत ५-२२-० अनतकुमार सिंहलाई बुझाई रितपूर्वकको भरपाई लिएको हुँ र वादी समेतको अंश भागको जग्गा समेत हुँदा यी वादीले दाजुभाइमा वण्डा गरी दिएको कुरा भु.सं. ऐन, २०२१ को दफा २६ को उपदफा (८) बमोजिम म मोहीलाई वण्डा गरी लिएको मितिले १५ दिनभित्र सूचना दिनुपर्नेमा सो नगरेकोले वादीले आफ्नो कर्तव्य पूरा नगरेको कारण साविकवाला बलरामकै नाउँमा धरौटी राखेको हुँ भन्ने प्रतिवादी जिकिर ।
4. भूमिसुधार सम्बन्धी ऐन, २०२१ बमोजिम मोहीले पूरा गर्नुपर्ने दायित्व स्वयं यी प्रतिवादीले पुरा गर्ने मनसाय देखाएको स्पष्टै देखिन्छ र तत्सम्बन्धमा सर्वोच्च अदालतको प्रतिपादित सिद्धान्त समेतको आधारमा विवादित कित्ता जग्गामा रहेको प्रतिवादी अनुठाप्रसादको मोहीलाई भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) बमोजिम मोही निस्काशन हुने ठहर्छ र ऐ.दफा २९(३) बमोजिम कुत भराउने सम्बन्धमा मोही निष्काशन भएकोले कुत भराउँदा चर्को सजाय पर्ने हुँदा कुत भराई रहन नपर्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु भूमिसुधार कार्यालय रौतहटको निर्णय ।
5. म पुनरावेदक प्रतिवादीले २०४७ सालको कुत मिति २०४७।११।२३ गते पनि साविक जग्गाधनीको नाममा राखिएकोमा कुत पनि यी वादीले साविक जग्गाधनीको नामबाटै उठाएको २०४९ सालको कुत पनि मैले त्यही हिसाबसँग दाखिल गरेको छु । यसरी उक्त जग्गाको कुत मैले भु.सू.का.मा धरौट राख्दा पनि कुत नबुझाएको भनी ठहराई मोही निष्काशन गरेको फैसला त्रुटिपूर्ण छ भने प्रष्ट हो र भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) अनुसार कुत नबुझाएमा मात्र मोही निष्काशन हुने व्यवस्था छ भने मैले उक्त जग्गाको कुत सम्बन्धी अड्डामा धरौट राख्दाराख्दै पनि भु.सू.का.ले सो तर्फ ध्यानै नदिई भु.सू.ऐन, २०२१ को दफा २९(१) को प्रत्यक्षतः कानुनी त्रुटी गरी फैसला गरेको हुँदा त्यस्तो भु.सू.का.को त्रुटिपूर्ण फैसला वदर वातिल गरी मेरो पुनरावेदन जिकिर उपर विचार भई मोही निष्काशन नहुने परिबन्दसँग पुनः अर्को फैसला गरी पाउँ भन्ने वादीको पुनरावेदन जिकिर ।
6. फिराद लेख र विवादित जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा समेतबाट प्रतिवादीका स्व.पिता मान्दिप साह कलवार मोही भन्ने देखिएको, साविकमा सो जग्गाहरु कि.नं. ५०१, २४८, ८४८ कायम भई बलिराम कुमारको नाममा दर्ता रहेकोमा २०४७।४।३२ मा वादीहरुका बीचमा वण्डा पत्र हुँदा अंशियार मध्येका विभिन्न दर्तावालाहरुको दर्ताबाट विभिन्न कित्तामा अंश छुट्याएको देखिएको जसअनुसार दावीको कित्ताहरु कि.नं. ५०१, २४८, ८४८ को कि.का.भई दर्तामा कित्ता नम्बर कायम हुन आएको । त्यसरी कि.का.को जनाउ मोहीलाई दिए भएको देखिन नआएको, विवादित सालको विवादित जग्गाको कुत मोहीले साविक कित्ता नम्बरबाट साविककै दर्तावालाको नाममा सम्बन्धित कार्यालयमा कुत धरौट राखेको देखिँदा शुरुको फैसलामा फरक पर्ने देखिएकोले अ.वं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई पेश गर्नु भन्ने मिति २०५०।११।१९।५ को पुनरावेदन अदालतको आदेश ।
7. मोही निष्काशन गर्ने गरेको भु.सू.का.को निर्णय उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको मिति २०५२।९।२ को फैसला ।
8. कित्ताबाट भएको जनाउ मोहीले नपाएको अवस्थामा निजले साविक कित्ताहरु उल्लेख गरी भुमि सूधार कार्यालय रौतहटमा धरौट राखेको र सो धरौट साविक दरखास्तवाला बलिराम कुमार राजपुतले बुझी लिइसकेको अवस्थामा मोही निष्काशन गर्ने गरेको मिति २०४९।१०।२२ को शुरु भूमि सूधार कार्यालय रौतहटको निर्णय नमिलेको हुँदा उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालतको इन्साफमा चित्त बुझेन । उक्त फैसला वदर गरी शुरु रौतहट भूमिसुधार कार्यालयबाट मेरो हकमा गरिएको फैसला कायम गरी पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
9. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री रामप्रसाद भट्टराई र श्री अमर थापाले मोहीले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ मोहीसँग पटक पटक कुत बारे मुद्दा परेको छ, २०४९ सालको कुत मुद्दा मुल्तवी भई मोहीको नियत राम्रो छैन, सूचना लिखित रुपमा दिनुपर्छ भन्ने कानुनमा प्रष्ट छैन, मौखिक सूचना दिएको हो भनी गर्नु भएको बहस समेत सुनी इन्साफ तर्फ विचार गर्दा यसमा पुनरावेदन अदालत हेटौडाको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
10. यसमा विवादको जग्गा साविकमा कि.नं. ५०१, २४८, ८४८ कायम भै जग्गा धनी बलिरामकुमार भएकोमा वादीहरु बीच २०४४।४।३२ मा अंशवण्डा हुँदा जग्गाहरु पनि छुट्याएको र छुट्याउँदा विभिन्न कित्ता कायम भएको देखियो । भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (८) मा मोही भएको जग्गा बेचबिखन, दानदातव्य वा अंशवण्डा भएकोमा सो सम्बन्धी लिखत भएको १५ दिनभित्र जग्गावालाले जुन व्यक्तिलाई सो जग्गा बेचबिखन, दानदातव्य वा अंशवण्डा गरिदिएको हो सो व्यक्तिको नामथर वतन खुलाई मोही र गाउँ विकास समिति वा नगरपालिकालाई सो कुराको सूचना दिनुपर्छ भन्ने प्रष्ट कानूनी व्यवस्था हुँदा हुदैँ वादी जग्गावालाले मोहीलाई उपरोक्त बमोजिमको सूचना दिएको भनी भन्न लेख्न नसकेको अवस्थामा मोहीले आफ्नो कर्तव्य पूरा गरेन भनी भन्नु न्यायोचित नहुने हुँदा मोही निष्काशन गर्ने गरेको शुरु भुमि सूधार कार्यालय रौतहटको निर्णय उल्टी गरेको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.हरिश्चन्द्रप्रसाद उपाध्याय
इति सम्वत २०५६ साल असोज ६ गते रोज ५ शुभम..................।