निर्णय नं. ११०८ - ज्यान

निर्णय नं. ११०८ ने.का.प. २०३४
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री सरदार इश्वरीराज मिश्र
सम्वत् २०३४ सालको फौज्दारी विवध नम्बर ७७
आदेश भएको मिति : २०३४।१०।७।६ मा
निवेदक : तेह्रथुम जिल्ला मोराहाङ्ग गा.पं.वार्ड नं.६ घर भई हाल धनकुटा कारागार थुनामा बस्ने डम्बरबहादुर चाम्लागाईसमेत
विरुद्ध
विपक्षी : संभुवासभा जिल्ला मादी रैकर गा.पं.वार्ड नं.१ बस्ने पञ्च सदस्य शुदर्सन घिमिरेको जाहेरीले श्री ५ को सरकार
मुद्दा : ज्यान
(१) विरोधाभास र प्रकृतिसँग नमिल्दो बयानलाई सह अभियुक्तको अदालतमा गरेको बयानको भरलेमात्र ज्यान जस्तो कसुरमा अपराधी ठहर्याउन नमिल्ने ।
(प्रकरण नं. १३)
निवेदक तर्फबाट : विद्वान वैतनीक अधिवक्ता श्री नुतनबहादुर थपलिया र विद्वान अधिवक्ता श्री प्रभूनारायण चौधरी
विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
उल्लेखित मुद्दा :
फैसला
न्या. वासुदेव शर्मा : प्रतिवादी धर्मानन्द तामाङ समेतले श्री ५ महाराजाधिराज सरकारका जुनाफामा सवारी सिविर धनकुटामा झुटो अभियोगबाट अलग गराई पाउँ भन्ने विषयको द.नं.१३९ समेतमा चढाएको विन्तिपत्रमा बक्समै आएका हुकुम प्रमाङ्गी बमोजिम इन्साफ जाँच निमित्त लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछन् :
२. यस मादी रैकर गा.पं. वार्ड नं. ८ ठूला बैराङ्ग सिरानमा सहरे भन्ने जङ्गलमा त्यस ठाउँमा मानिसबाट मौखिक मानिस झुण्डी मरेको हाड हड्डी दाम्ला समेत छ भनी भनेको हुँदा हामी सो ठाउँमा गई हेर्दा सडी गई हाड हड्डी दाम्ला रुख समेत फेला परेकोले त्यस कार्यालयबाट कानूनी कारवाही गर्ने अवगत गराउँछौं भनी ०३१।४।२३ मा मादी रैकर गा.पं. कार्यालय संखुवासभा जिल्लाबाट चैनपुर थानालाई लेखेको पत्र र सो पत्र सुनाई प्रहरीबाट कागज गराउँदा पत्रमा उल्लेख भएका स्थानमा एक जना मानिस केही दिन अगाडि नै झुण्डी मरी मासु सडी गली गइसकेको हामीले देखेको पनि हौं सो घटनास्थलदेखि वरपर आसपासको मानिस हराएको भन्ने नबुझिएकोले अन्यत्र कुनै ठाउँको मानिस आत्महत्या गरी मरेको जस्तो लाग्छ भन्ने समेत पत्र लिई जाने भनी पं. स. सुदर्शन घिमिरेले प्रहरी थानामा ०३१।४।२४ मा गरिदिएको कागज रहेछ ।
३. २०३१।३।७ का दिन म घरमा वसी राखेको बखत बेलुका पख अं. ६ बजेको समयमा एक जना नाउँ थाहा नभएको राई या लिम्बु जस्तो मानिस धरान धनकुटातर्फ कताबाट हो आई डम्बरबहादुरको दोकानमा गई बसी जाँड रक्सी खाई कुखुरा पकाई दे भनेछ, डम्बरबहादुरको श्रीमती नौलीले मलाई बोलाई कुखुरा समाई काटी देऊ भनेबाट गई कुखुरा समाई काटिदिएको छु सो पछि लिम्बु लाहुरे तला माथि तास खेलेको ठाउँतर्फ गई तास खेल्न थालेको थियो, म आफ्नो दोकानतर्फ गएं, रात अं. ८ बजेको समयमा धर्मध्वज तामाङ र सो लाहुरे तास खेलेको ठाउँमा बाजाबाज गरी कराएका आवाज आएकोले गई निजको दोकान घरको दैला छेउको प्वालबाट हेर्दा निज लाहुेरलाई सुपारे भन्ने डम्बरबहादुरले घाँटीमा समाई निचोरी रहेको र सदस्य कान्छा भनेका धर्मध्वजले दाउराको कचेतले लिम्बुलाई हिर्काएको देखेको थिएँ अरू काइँला सेर्पा श्री बहादुर गुरुङ समेत सोही ठाउँ थिए, उनीहरूले पनि समाउने गरेका र सोही चोटबाट निज लाहुरे मरेपछि निजका साथको रु.१६००।डम्बरबहादुरको श्रीमती नौलीलाई राख्न दिई सो मृतक लाउरेको लास डोकामा बोकी लगेकोसम्म देखें, लेखिएका मानिसको सहमतले डम्बरबहादुर धर्मध्वजकै चोटबाट मरेको हो लाग्छ, मैले कसैलाई भने मलाई पनि यसै गरी मार्छन् होला भनी डरका मारे कसैसँग सो कुरा गरेको थिइन, जाहेर गर्नुपर्छ भन्ने कुरा पनि मलाई थाहा थिएन भन्ने समेत प्रहरीमा र पहिलो पटक धर्मध्वजले बागसिङ्गले हिर्काएको देखें त्यसपछि सुपारीले बागसिङ्ग हिर्काए पछि सो मानिस ढल्यो, धर्मध्वजले बोकी तेह्हाङको जङ्गलतर्फ लगे,साथमा श्रीबहादुर धर्मध्वज सुपारीसँगै जङ्गलतिर गए उक्तवारदातमा मेरो केही सहमती नभएकोले जो ठर्हछ भन्नेसमेत प्रहरी मिलान कर्णबहादुरले अदालतमा गरेको बयान रहेछ ।
४. ०३१।३।७ गतेका दिन धर्मध्वज तामाङ सेर्पा काइँलो श्रीबहादुर गुरुङ म समेत भेला भई मेरो दोकानमा तलामाथि तास खेली रहेका बखत बेलुका मेवा खोलातर्फ बस्ने लिम्बू जस्तो मानिस धरानतर्फबाट पेन्सिन थापी आएको भन्यो, मेरो श्रीमतीसँग बास बस्न देउ भनी जाँड रक्सी किनी खाई हामीसँग माथि तास खेल्न शुरु गरे, धर्मध्वज र लिम्बूको तासको कुरामा बाजाबाज भयो, धर्मध्वजले निजको घोक्रामा समायो, मैले बक्सीङ्ग कन्चटमा हिर्काएं, श्रीबहादुर काइँलाले समेतले हिर्काएपछि बेहोस भयो, भूइँमा ओराली म अब मरो होला भनी निजकै सेता खास्टोमा पोकापारी मेरो डोकामा हाली काइँला सेर्पाले बोकी दाउरे डाँडा जङ्गलतर्फ लगी बाटामुनी विसाई हेर्दा धुकधुकी रहेछ घोप्टो पारी काइँला सेर्पाले लातले हिर्काएपछि मर्यो । निजको गन्जीमा भएको ६ वटा नम्बरी नोट र एउटा नेरु नम्बरी रहेछ ९ वटा धर्मध्वजले राखे, रेडियो काइँला सेर्पाले बाँकी एउटा नम्बरी नेरु.मलाई दिए, दाउरे जङ्गलतर्फ लगी अंगेरीको रुखको छेउमा पात पतिङ्गरले छोपी आई मेरो दोकानमा सुते, निजलाई धनका लालचले मारेको नभई खेल्दा झगडा उठी सोही इवीबाट मारेको हुँ भन्ने समेत प्रहरीमा र ०३१।३।७ गतेमा सम्बु पञ्चायतमा बहिनी विरामी छन् भनी खवर आएकोले आषाढ ५ गते त्यसतर्फ गई ९ गते घरमा आएको छु, कर्णबहादुर मसँग रिसाएकोले पोलेको हो प्रहरीले कुटपिट गर्छन भनेको सुनेको हुनाले त्यस्तो कागज भएको हो वारदात देखाएको समयमा मानिस मारेको छैन, मैले मर्ने मानिसको पैसा लिएको पनि छैन, ज्यान मारेको कसूर गरेको कुनै कुरा होइन भन्ने समेत इन्कार भई सुपारी भन्ने डम्बरबहादुरले अदालतमा गरेको बयान ।
५. ०३१।३।७ गते रात डम्बरबहादुरको दोकानमा डम्बरबहादुर श्रीबहादुर परदेशी र नचिनेका मानिस तास खेल्दै थिए काइँला सेर्पा सुतेको थियो, सोही तासको निहुँबाट मर्नेलाई डम्बरबहादुरले समायो र मर्नेलाई बक्सीङ्गले हान्यो मैले मुडकीले हान्न थाले त्यस्तै किसिमसँग कुट्दै थिएँ मैले कुट्न छाडी १० मिनेट पछि सो मानिस मर्यो निजको जिउबाट भा.रु.२००। नम्बरी र चौध सय रु.को नम्बरी र खुजुरा समेत, १६००। मध्ये डम्बरबहादुरले रु.२०० मलाई तेरो हारेको रुपैयाँ भनी दिए अरू के कति लिए थाहा छैन, मेरो चोटबाट मरेको होइन भन्ने समेत प्रहरीमा र ०३०।३।७ गते म घर गाउँमा नभई आषाढ ३ गते देखिनै बहिनीको घर सिन्धुवामा गएको हुँ प्रहरीमा सावित बयान दिनु कुटपिट गर्दैन भनेकोले मात्र त्यस्तो कागज गरेको हो । सावितीले किन पोल गरे निजै जानुन मङ्गलबारेमा मानिस मरी हड्डी खुड्डी छन् भन्ने सुनेको हुँ अरू मलाई थाह छैन भन्ने समेत अदालतमा धर्मध्वजले गरेको बयान ।
६. ०३१।३।७ का दिन डम्बरबहादुरका दोकानमा भ्यान्ते समेत हामी तास खेल्दा परदेशीसँग तासको इविबाट डम्बरबहादुरको झगडा पर्दा डम्बरबहादुरले मर्नेले घाँटीमा अठ्याई मार्नु पर्छ भन्ने धर्मानन्दले चिरुवा दाउराले टाउकोमा र मैले मुक्कीले भूँडीमा हानी घँुडामा समातेको चोट परेबाट मरेपछि निज मर्नेलाई दाउरे वनमा लगी झुण्डे जस्तो पार्नु पर्छ भनी डम्बरबहादुरले पोका पारी डोकामा हाली लगी झुण्डाई आई रुपैयाँ लिएका हौं भने परदेशीलाई डम्बरबहादुर धर्मानन्द भ्यान्ते समेतको संयुक्त चोट पिरबाट मरेको हो भन्ने समेत प्रहरीमा र ०३० साल पौषमा आसाम गई ०३१ साल श्रावण १७ गते मात्र घर आएको हुँ । धर्मानन्द समेतसँग मर्ने परदेशीको झगडा भएको बाहिर कोठामा हो, म बाहिरपट्टि आएर हेर्दा परदेशीलाई डम्बरबहादुरले घाँटीमा समाती धर्मानन्द दाउरा कचेट समातेको थियो कुटाकुट गर्दैमा निस्किएर भागेँ भन्ने समेत अदालतमा श्रीबहादुर गुरुङले गरेको बयान रहेछ ।
७. ०३१।३।७ का दिन डम्बरबहादुरको दोकान गई तास खेलेको छैन ज्यान मारेको कुरा देखिन भन्ने समेत अमृतबहादुर चतुरबहादुरको छुट्टा छुट्टै कागज ।
८. ०३१।३।७ का बेलुका परदेशीलाई वासबस्न दिएको र भात कुखुरा खान दिएको निज माथि तलमा लोग्ने र चतुरे काइँला सेर्पा श्रीबहादुर कृष्णबहादुर भ्यान्ते समेत तास खेल्न लागे ठाउँमा गई खेलेका थिए रातको अं. १ बजे खल्याङ्ग बल्याङ्गग हुँदा के गरेको भनी कराउँदा तँलाई के चासो भनी लोग्नेले हप्काए म सुते २।४ दिन पछि भारु नम्बरी दिए हल्ला नगर भन्ने निज मर्नेलाई कर्तव्य गरी लिएको रहेछ भन्ने लाग्यो मैले कसूर गरेको छैन भन्ने समेत प्रहरीमा र ०३१।३।७ का रात परदेशीलाई वास बस्न दिएको र मेरो लोग्नेले अपराध गरेको होइन लोग्नेको बहिनी मेरो नन्द विरामी भएको खवर आएन अर्को घर सुम्दुमा गएको छैन भन्ने समेत अदालतमा धनमायाले गरेको बयान रहेछ ।
९. डम्बरबहादुर, श्रीबहादुर २ जनालाई ज्यान सम्बन्धीको, १४ नं.बमोजिम र धर्मानन्दलाई ज्यान सम्बन्धीको १७ (२) बमोजिम र कर्णबहादुरको हकमा ज्यान सम्बन्धीको २५ नं.बमोजिम जरीवाना हुने र धनमायाको हकमा ज्यान सम्बन्धीको १७ नं.को दफा ३ बमोजिम सजाय हुने अभियोगमा मुद्दा चलाउन प्रस्तुत गरेको छ भन्ने समेत मिति ०३१।५।२७।५ को प्रहरी प्रतिवेदन रहेछ ।
१०. ०३१।३।७ गते प्रतिवादीहरूले बास बस्न आएको परदेशी तास खेलिरहेको ठाउँमा गई तास खेल्दा तत्काल वादविवाद भई उठेको रीसको वेग थाम्न नसकी वारदात गरी मारेको रहेछ भन्ने देखिएकोबाट प्र.डम्बरबहादुर श्री बहादुर, धर्मानन्द समेतले ज्यान सम्बन्धिको १४ नं.र कर्णबहादुर नौली भन्ने धनमायाले ज्यान सम्बन्धिको १७ नं.को देहाय ३ अनुसार कसूर गरेको ठहर्छ भन्नेसमेत तेह्रथुम जिल्लाअदालतको मिति ०३१।१०।२९को फैसलामा ।
११. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्र. डम्बर बहादुर धनमाया श्री बहादुर धर्मानन्द तामाङ समेतको पुनरावेदन परेकोमा “इन्साफ शुरु तेह्रथुम जिल्ला अदालतको मनासिव ठहर्याई पूर्वाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३२।२।२५।१ मा फैसला भएको रहेछ” । उक्त इन्साफमा चित्त बुझेन सरजमिन समेत एकोहोरा गराएको दोषयुक्त षडयन्त्रबाट झुटो कुराको मुद्दा हुँदा झुटो परेवीबाट अलग गराई पाउँ भन्न समेत व्यहोराको श्री ५ महाराजाधिराज सरकारका हजूरमा प्रतिवादी डम्बरबहादुर समेतले चढाएको निवेदन पत्रमा “द. नं.१३९ नं. को यो विन्तीपत्र र यसै साथ रहेको द.नं.१३३ द.नं.२०१ को विन्तिपत्रको व्यहोरा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए पूर्वाञ्चल क्षेत्रीय अदलतबाट ०३२।२।२५।१ मा छिनिएको ज्यान मुद्दाको मिसिल झिकी सर्वोच्च अदालतबाट इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु” निवेदकहरूलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभाग सवारी सिविर धनकुटाबाट ०३३।११।११।३ मा यस अदालतका नाउँमा हुकुम बक्स भएको व्यहोरा लेखी उपरोक्त निवेदनहरू समेत प्राप्त भई यस अदालतको फौ. विविधको लगतमा दर्ता भई डिभिजन बेञ्च समक्ष पेश हुँदा छलफल निमित्त सरकारी अधिवक्तालाई अ.बं. २०२ नं. बमोजिम झिकाई पेश गर्नु भन्ने समेत ०३४।८।२।५ को आदेश रहेछ ।
१२. उक्त बक्स भई आएका हुकुम प्रमांगी सहितका निवेदन र तत्सम्बन्धी मिसिल समेत हेरी निवेदन थुनुवातर्फबाट खटिनु भएका उपस्थित विद्वान अधिवक्ता श्री नूतन थपलिया र निवेदक धर्मानन्दतर्फका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीको र विपक्षी श्री ५ को सरकारतर्फबाट खटिनु भएका विद्वान का.मु. सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहस समेत सुनी बुझ्दा प्रस्तुत मुद्दामा शुरुको सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव या बेमुनासिव के हो त्यस कुराको निर्णय दिनु परेको छ ।
१३. यसमा जङ्गलमा मानिस झुण्डी मरेको भन्ने मादी रैकर गा.पं. कार्यालय संखुवासभा जिल्लाबाट चैनपुर थानालाई पत्र लेखी सो आधारबाट कार्यवाही चलाई लास प्रकृति मुचुल्कामा झुण्डी मरेको मानिस नदेखिएको वरिपरी हाडहरू छरिरहेको मात्र देखिएको भन्ने व्यहोरा उल्लेख भएको सो हाड मानिसको हो वा होइन र मानिसकै हाड भए पनि मर्ने मानिसको हाड हो होइन आधिकारीक तवरबाट पुष्टि हुन सकेको नदेखिएको र यो यस ठाउँको यो मानिस मरेको भन्ने कुरा पनि यकिन भएको नदेखिएकाले वारदात भएकै कुरामा पनि सन्देहजनक देखिन आउँछ । त्यसको अतिरीक्त सरजमिनका अधिकाशं व्यक्तिले अभियुक्त धर्मानन्द, डम्बरबहादुर, श्रीबहादुरहरू उपर शंका समेत नदेखाएको यस्तो स्थितिमा केवल प्रहरीमा निज धर्मानन्दसमेतले विरोधाभाष र प्रकृतिसँग नमिल्दो बयानलाई सह–अभियुक्तहरूको अदालतमा गरेको बयानको भरले मात्र ज्यान जस्तो कसूरमा अपराधी ठहर्याउन नमिल्ने देखिँदा अभियुक्त निवेदक धर्मानन्द तामाङ, डम्बरबहादुर चाम्लागाई र श्रीबहादुर गुरुङसमेतले शंकाको सुविधा पाउने हुँदा निजहरूलाई शुरु तेह्रथुम जिल्ला अदालतले ज्यान सम्बन्धीको १४ नं.अनुसार सजाय गर्ने गरेको फैसलालाई मनासिव ठहर्याई पूर्वाञ्चल क्षेत्रीय अदालतबाट मिति २०३२।२।२५।१ मा भएको इन्साफ मिलेको देखिएन, तसर्थ उपरोक्त कारणहरूबाट निज प्रतिवादी धर्मानन्द तामाङसमेतले सफाई पाउने ठर्हछ । तपसीलबमोजिम गरी नियमबमोजिम मिसिल बुझाइदिनु ।
तपसील
देहायका प्रतिवादीहरू कै माथि इन्साफ खण्डमा लेखिएबमोजिम सफाई पाउने ठहरेकाले निजहरूलाई यस मुद्दा बाहेक अन्य मुद्दामा थुनुवा राख्न नपर्ने भए यस मुद्दाको थुनुवाबाट तुरुन्त छाडी दिनु भनी निजहरू थुनामा रहेको धनकुटा कारागारलाई छिटो साधनद्वारा सूचना पठाउनु...........................१
प्रतिवादी सुपारे भन्ने डम्बर बहादुर चम्लागाई क्षेत्री १ प्रतिवादी श्री बहादुर गुरुङ १ प्र. श्री धर्मानन्द तामाङ १
देहायका प्रतिवादीहरू कै माथि इन्साफ खण्डमा लेखिएबमोजिम निजहरूले सफाई पाउने ठहरेकोले शुरु तेह्रथुम जिल्ला अदालतका मिति ०३१।१०।२९ को र पूर्वाञ्चल क्षेत्रीय अदालतका ०३२।२।२५।१ को फैसला बमोजिमको कैद सजाय गर्न नपर्ने हुँदा उक्त फैसला बमोजिमको सजायको लगत कट्टा गरी दिनु भनी शुरु तेह्रथुम जिल्ला अदालतमा पत्र लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु......................२
प्रतिवादीको नाम थर समेत |
शुरुका फैसलाले गर्ने गरेको कैद सजाय |
पूर्वाञ्चलले क्षेत्रीय अदालतले गर्ने गरेको थप सजाय कैद |
सुपारे भन्ने डम्बरबहादुर चम्लागाई क्षेत्री के धर्मध्वज भनेको धर्मानन्द तामाङ श्रीबहादुर गुरुङ के नौली भनेको धनमाया गुरुङके |
१०। दश वर्ष
१०। दश वर्ष
१०। दश बर्ष २। दुई वर्ष |
१। एक वर्ष
१। एक वर्ष
१। एक बर्ष ।२।१२ दुईमैना बाह्र दिन |
सं.स.जि.मादी रैकर गा.पं वार्ड नं.८, ठूलो
मोराहाङ बस्ने कर्णबहादुर गुरुङ के २। दुई वर्ष –
प्रतिवादीका साक्षी देहायका मानिसके सुरु तेह्रथुम जिल्ला अदालतका ०३१।१०।२९ का फैसलाले झुटो वके वापत अं.ब.१६९ नं अनुसार रु.१५० का दरले गर्ने गरेको जरिवाना नलाग्ने हुँदा सो असूल भए फिर्ता र नभए व्यहोरा जनाई लगत कट्टा गर्नु भनी ऐ.ऐ..................३
सं.स.जि.मोरहाङ गा.पं.वडा नं.८ जातै बस्ने धोजवीर तामाङ के एक सय पचास रुपैयाँ १५०। ऐ ऐ सन्दु गा.पं. वार्ड नं.३ बस्ने चन्द्रबहादुर कार्की के.रु.ऐ १५०। ऐ ऐ बस्ने ठूले लिम्बू के.रु.ऐ १५०। ऐ ऐ बस्ने दुर्ण बहादुर ऐ के ऐ ऐ १५०। ऐ मोराहाङ्ग गा.पं. वार्ड नं.३ बस्ने ऋषिराये गौतम के ऐ ऐ १५०। ऐ शम्भु गा.पं. वार्ड नं.२ बस्ने चन्द्रबहादुर लिम्बु के ऐ ऐ १५०। ऐ ऐ बस्ने बमबहादुर सुवाल क्षेत्री के ऐ १५०। ऐ ऐ मोराहङ गा.पं. वार्ड नं.७ बस्ने सूर्यप्रसाद के ऐ १५०। ऐ ऐ बस्ने पुन्यप्रसाद “ ” १५०। जि.स.सम्दु गा.पं. वडा नं.३ बस्ने बजाहाङ लिम्बु के रु १५०। ऐ मोराहाङ गा.पं. वडा नं.८ बस्ने तारानिधि भट्टराई के ऐ ऐ १५०। ऐ सम्दु गा.पं. वडा नं.२ बस्ने कर्णबहादुर भनेको कर्णवीर कार्की क्षेत्री के ऐ १५०।
प्रस्तुत मुद्दाका प्रतिवादीहरूलाई यो फैसला भएको जनाउ समेत दिनु....................४
सुरु तथा पूर्वाञ्चल क्षेत्रीय अदालतमा पठाई रिकर्ड मिसिल समेत पूर्वाञ्चल क्षेत्रीय अदालतमा पठाई रिकर्ड मिसिल नियमबमोजिम गरी बुझाइदिनु....................५
उक्त रायमा म सहमति छु ।
न्या. इश्वरीराज मिश्र
इति सम्वत् २०३४ साल माघ ७ गते रोज ६ शुभम् ।