निर्णय नं. १११६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

निर्णय नं. १११६ ने.का.प. २०३४
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र
सम्वत् २०३४ सालको सालको रिट नम्बर ८१८
आदेश भएको मिति : २०३४।११।१५।१ मा
निवेदक : झापा जिल्ला दमक गा.पं. वार्ड नं. १ बस्ने गङ्गाबहादर लिम्बु
विरुद्ध
विपक्षी : ऐ बस्ने वलराम ढुङ्गेलसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) जग्गावालासँग कुनै लिखत कबुलियत नगरी त्यसै जग्गा कमाउनेहरूले मोहियानी हकको अस्थायी प्रमाण पूर्जा पाएको नाताले मात्र मोही कायम गर्नु वा कानूनबमोजिम मोहियानी हक प्राप्त भएको सम्झन नमिल्ने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नूतनबहादुर थपलिया
विपक्षी तर्फबाट : विद्वान अ.स.अ.श्री प्रमोद विजयी र विद्वान अ.श्री ठाकुरप्रसाद खरेल
उल्लेखित मुद्दा : रि.फु.नं. ४० निवेदक लेवाकान्त भट्टराईसमेत विरुद्ध जि.भू.सु.का रुपन्देही समेत भएको उत्प्रेषण भन्ने मुद्दामा ०३३।१।११।९ को निर्णय
आदेश
न्या. वासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पूर्जी जारी गरी विपक्षी कार्यालयको मिति २०३४।३।७।३ को निर्णय बदर गरी पाउँ भनी रिट निवेदन मिति २०३४।५।३०।५ मा दर्ता भएको रहेछ ।
२. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : मैले ०२९ साल देखि जोतखन गरी बाली बुझाई भरपाई समेत लिएको छु मोही हक कायम गरी पाउँ भन्ने वादी । वादीको उजूरी बमोजिमको जग्गाधनी म भएको र वादीलाई ०३२ सालदेखि ज.वि. १–५–७ जग्गा जोत्न दिएका थिएँ । सो सालको बाली बुझी भरपाई पनि दिएको छु तर निजलाई मोही कायम गरी दिने गरी मैले कमाउन दिएको होइन दिएको भए दोहोरो जग्गाधनी र मोहीको बीच कूत कबुलियत हुनुपर्ने थियो । मेरो मोही कायम गरिदिन मञ्जूर छैन भन्ने प्रतिवादी भएको गरिदिने गरी मैले कमाउन दिएको होइन, दिएको भए दोहरो जग्गाधनी र मोहीको बीच कूत कबुलियत हुनुपर्ने थियो । मेरो मोही कायम गरी दिन मञ्जूर छैन भन्ने प्रविवादी भएकोमा प्रतिवादीले वादीलाई बाली बुझी भरपाई गरिदिएकोले प्रतिवादीले समेत ०३२ सालको बाली बुझी भरपाई दिएको हुँ भन्ने समेत बयान दिएको हुँदा प्रतिवादी नाम दर्ताको दमक गा.पं. वार्ड नं.१ को कि.नं.१११० को उत्तरतर्फबाट ज.वि. २–०–० को भू.सं. ऐन, ०२१ को दफा २५ को उपदफा २ बमोजिम वादीका नाममा मोही हक हुने ठर्हछ भन्ने समेत विपक्षी कार्यालयबाट निर्णय गरेको रहेछ ।
३. भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ को उपदफा २ मा यो दफा प्रारम्भ भएपछि कुनै जग्गावालाले आफ्नो जग्गा कुनै व्यक्तिलाई कमाउन दिएछ र सो व्यक्तिले मुख्य वार्षिक उब्जनीको एक बाली सम्म मोहीको हैसियतले कमाएछ भने निज समेत सो जग्गाको यो परिच्छेद बमोजिम हक प्राप्त मोही हुनेछ भन्ने पाइन्छ, तर विपक्षीलाई मैले मोहीको हैसियत हुने गरी कमाउन दिएको होइन, यदि मोहीको हैसियत हुने गरी कमाउन दिएको भए भू.सं. ऐन, ०२१ को दफा ३४ बमोजिम कबुलियत गराई दोहरी लिनु दिनु हुनुपर्ने थियो सो केही छैन, यसबाट पनि भू.प्र.का. शाखाको निर्णयबाट भू.सं. ऐन, ०२१ को दफा २५ को उपदफा २ र ऐ दफा ३४ को कानूनी त्रुटी हुन गएको छ ।
४. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको मिति २०३४।६।३।२ को आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्न प्रकार छन् ।
५. आफैंले मोही हकको प्रत्यक्ष प्रमाण तयार गरी दिइसकेपछि पनि झुटो र काल्पनिक हुँदा तयार गरी आफू प्रदत्त अधिकारलाई निष्कृय गर्ने प्रयास साथै कार्यालयको न्यायसंगत निर्णय माथि असर पारी एकलौटी स्वार्थ सिद्धितर्फ प्रयास गरेको स्पष्ट देखिने हुँदा रिट निवेदनपत्र खारेज गरीपाउँ भन्ने समेत भूमिप्रशासन कार्यालय झापा ।
६. हर्कजङ्ग लिम्बुलाई मोही कायम गरेको निर्णय र म बलरामलाई मोही कायम गरेको निर्णय नै अलग अलग छ र मलाई मोही कायम गरेको निर्णय उपर निवेदकको रिट निवेदनमा कुनै किसिमको मागसमेत नहुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत बलराम ढुंगेल ।
७. तारेखमा रहेका निवेदक गङ्गाबहादुर लिम्बुको वारेस पुष्कारराज सिवाकोटी र विपक्षी वलराम ढुंगेलको वारेस शिवप्रसादलाई रोहवरमा राखी निवेदकतर्फको विद्वान अधिवक्ता श्री नूतनबहादुर थपलियाको र विपक्षी भूमिप्रशासन शाखा झापातर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी तथा विपक्षी बलराम ढुंगेलतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा निवेदकमा मागबमोजिमको आदेश जारी हुने नहुने के रहेछ ? निर्णय दिनु परेको छ ।
८. यसमा मोही हक कायम गरिपाउँ भन्नेसमेत वादी मोही हक कायम गरी दिन मञ्जूर छैन भन्ने समेत प्र.भएको प्र.ले वादीलाई बाली बुझी भरपाई गरिदिएकोले वादी दावीबमोजिम प्र.का माग बमोजिम ज.बि.२–०–० भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ को उपदफा २ बमोजिम वादी हर्कजङ्गका नाममा मोही हक हुनेठर्हछ भन्नेसमेत भू.प्र.कार्यालयबाट निर्णय गरेको देखिन्छ ।
९. भूमिसम्बन्धी ऐनको दफा २५ बमोजिमको (२) मोही कायम हुनलाई दफा ३४ बमोजिमको कबुलियत हुनु अनिवार्य छ र रि.फू.नं.४० निवेदक लेवाकान्त भट्टराई समेत विपक्षी जि.भू.सु.कार्यालय रुपन्देहीसमेतको उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने केशमा भूमिसम्बन्धी ऐन, ०२१ लागू भएपछि उक्त ऐनको दफा २५ को उपदफा (२) बमोजिम मोहियानी हक प्राप्त गर्न जग्गावालासँग दफा ३४ (१) बमोजिम लिखत कबुलियत गरी वार्षिक उब्जनीको एक बालीसम्म कमाएको हुनुपर्ने कानूनी व्यवस्थाको सन्दर्भमा जग्गावाला सँगको कुनै लिखत कबुलियत नगरी त्यसै जग्गा कमाउने निवेदकहरूलाई निजहरूले मोहियानी हकको अस्थायी प्रमाण पूर्जा पाएको नाताले मात्र मोही कायम गर्न वा कानूनबमोजिम मोहियानी हक प्राप्त भएको सम्झन नमिल्ने हुनाले त्यस्तो जग्गाको मोहियानी हकको कुरालाई लिएर सर्वोच्चअदालतको असाधारण अधिकार क्षेत्र गुहार्ने पनि निजहरूलाई प्राप्त छैन भन्नु पर्ने हुन्छ भनी फुल बेञ्चबाट मिति २०३३।१।११।६ मा निर्णय भएको देखियो ।
१०. तसर्थ कबूलियतको अभावमा गरिएको निर्णयमा त्रुटी देखिएकोले उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिने ठर्हछ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई नियमबमोजिम फाइल बुझाइदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् २०३४ साल फाल्गुण १५ गते रोज १ शुभम् ।