निर्णय नं. ११२१ - उत्प्रेषण, परमादेशको आदेश जारी गरिपाउँ
निर्णय नं. ११२१ ने.का.प. २०३५
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री स.इश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३३ सालको रि.फु.नं. २५
आदेश भएको मिति : २०३५।१।१२।३ मा
निवेदक : जि. तेह्रथुम आठराई चाँगे गा.पं. वडा नं. ८ बस्ने कर्णबहादुर लिम्बु
विरुद्ध
विपक्षी : जि. भू.सु. कार्यालय तेह्रथुमका शाखाअधिकृत श्री रेवतीरमण नेपालसमेत
विषय : उत्प्रेषण, परमादेशको आदेश जारी गरिपाउँ
(१) धेरै बिलम्व गरी पर्न आएको–रीट निवेदनबाट यस अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग गर्न उचित नदेखिने ।
(प्र.नं. १०)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रेती
उल्लिखित मुद्दा :
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०३२।८।२१ मा भएको निर्णय दोहराई पाउँ भन्ने निवेदकहरूको परेको निवेदनमा भएको न्यायिक समितिको सिफारिस पर्चामा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहराई दिनू भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भइआएको हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यसप्रकार छ : बडारे भन्ने किपट खेत मकै बाली लगाउन बाँझो जोतिराखेको गाउँका विपक्षीहरूले ३० साल फागुण २३ र २४ गते मकै छरी मेरो मोहियानी हक भएको जग्गामा खिचोला गरे भन्ने विपक्षी मनिराज लिम्बुको निवेदन र २९।११।१० गते मैले मेरो जग्गा उकास गरेको छु र दरपीठमा मोहियानी हकसमेत छाडिदिएँ र बालकुमारीले थैली बुझिलिई ०२९ सालदेखि नै म दाता आफैंले कमाई गरी भोगी खाएको छु, यो बडारे किपट खेतबाहेक ७५ रोपनीभन्दा कमी मणिराजको छैन भन्नेसमेत वा. समेत लाखबहादुरको प्रतिवादी बयान भएको । मोहियानी मुद्दामा वादी निवेदकले नै पहिले कमाई गरेको र निजले कुनै कुराबाट साहू श्रीमती भई कमाई आएको जग्गाको छोडपत्र गरेको भए कार्यालयको स्वीकृति लिनुपर्ने सो नलिइएबाट पनि निवेदक नै मोही ठहरिनाले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ बमोजिमका कायम ठहर्छ भन्नेसमेत विपक्षी जिल्ला भूमिसुधार कार्यालय तेह्रथुमले ०३१।४।३२।६ मा निर्णय गरेको रहेछ ।
३. उक्त निर्णय बदर गरिपाउँ भनी निवेदक कर्णबहादुर लिम्बु, लाखबहादुर लिम्बुले दिएको रिट निवेदनपत्रमा–म कर्णबहादुरको नाममा दर्ता रहेको आफैले खनजोत गरी आएको बडारे भन्ने किपट खेत विपक्षी मणिराज लिम्बुकी श्रीमती बालकुमारी लिम्बुलाई भोगबन्धकी दिएको थिएँ । सो रुपैयाँ बालकुमारीलाई बुझाई दरपीठ गरी लिएर लिखतको लगत पनि कट्टा गराएँ । निखनी लिएपछि आफ्नो जग्गामा बाली लगाई खाएको सो जग्गाको मकैबाली म समेतले लुटी लगें भन्ने विपक्षी मणिराजले जिल्ला अदालतमा फिराद दिएकोमा प्रमाणित गर्न नसकी विपक्षीले नै तारेख छाडी डिसमिस भयो । त्यो अन्तिम छ, उल्लिखित मैले बालकुमारीलाई बन्धकी दिएको जग्गा मेरो आफ्नै जोत भोगमा रहेकोले बन्धकी दिँदा सोही कुरा लिखतमा उल्लेख गरेको पनि छ, जोताहा अस्थायी निस्सा पनि मैले लिएको छु, विपक्षी मणिराजले मेरो जग्गा कहिल्यै पनि कमाउनुभएको छैन, पहिलेदेखि कमाएको भन्न र प्रमाण पेश गर्न विपक्षीले सकेको छैन । पहिलेदेखि कमाएको भन्ने प्रमाणको अभावमा दफा २५ अन्तर्गत मोही ठहर्छ भनी गरेको फैसला त्रुटिपूर्ण छ । दफा २५ बमोजिम विपक्षी मोही कायम ठहर्छ भनी फैसलामा लेखेको छ । दफा २५ मा दुई अवस्था छन्, भूमिसुधार लागू हुनुभन्दा पहिलेदेखि कमाई आएकोमा २५(१) अन्तर्गत मोही कायम हुनसक्ने अवस्था पर्दछ । सो गर्न अनुसूची १ भरी अस्थायी निस्सा पाउनु पर्दछ, विपक्षी सो स्थितिमा नपरेको, भूमिसुधार लागू भइसकेपछि कमाउन लिएको भए कबुलियत हुनुपर्ने, सो छ भन्न सकेको छैन, मैले कबुलियत गरी कमाउन दिएको पनि छैन । दफा २५(२) अन्तर्गत मोही कायम हुन सक्ने अवस्थै परेन । कानूनबमोजिम मोही कायम हुन नसक्ने व्यक्तिलाई दफा २५ को उपदफा १ वा २ कुन अन्तर्गत हो, नखुलाई खुलाउन नसकी मोही कायम गरेको कानूनी त्रुटि छ । आफ्नो एकाघरको श्रीमतीले बन्धकी लिएको अवस्थामा खनजोत गरेकै भए पनि त्यसबाट मोही हक प्राप्त हुनसक्ने कुरा हैन । मैले भोगबन्धकी दिएको अवस्था विपक्षी मणिराजले मोही भनी लेखिएकै भए पनि निखनी लिइसकेपछि एकापरिवारको व्यक्ति लोग्नेले मोहियानीमा दावी गर्न पाउने होइन । बिना प्रमाण मणिराजले पहिलेदेखि कमाई गरेको भनी ठहर गरेको सरासर कानूनी त्रुटिपूर्ण छ । उत्प्रेषणको आदेश जारी गरी भूमिसुधार कार्यालयको उक्त मिति ०३१।४।२२ को निर्णय बदर गरी मेरो हक प्रचलन गराई पाउँ भन्नेसमेत मुख्य निवेदन जिकिर लिएको रहेछ ।
४. भूमि व्यवस्थामा वार्षिक उब्जनीमध्ये मुख्य एक १ बाली कमाउने व्यक्ति नै यो परिच्छेदबमोजिम मोही स्वतः हुनेछ भन्ने प्रष्ट कुरा उल्लेख भएको छ भने जग्गा मणिराजले २३ सालदेखि नै कमाएको देखिन्छ । कबुलियत सम्बन्धमा भने निज मणिराजकी एकाघरकी श्रीमती बालकुमारीले नै जग्गाधनीको हैसियतमा जग्गा कमाई राखेकोले निजलाई कबुलियत गराइरहनु आवश्यक छैन, दफा २५ बमोजिम मोहियानी कायम गरिएको निर्णय कानूनी मर्यादाबाट उचित हुँदाहुँदै पनि कानूनी त्रुटिपूर्ण छ भन्नु आफ्नो मतलव सिद्ध गरी मोहियानी हक हस्तक्षेप गर्नु मात्र देखिन्छ, रिट निवेदन खारेज हुनुपर्ने भन्नेसमेत विपक्षी जिल्ला भूमिसुधार कार्यालय तेह्रथुमको लिखितजवाफ रहेछ ।
५. दफा २५(३) मा तोकिएको क्षेत्रका जग्गावालाबाट भोगबन्धकी लिई जग्गा कमाउने साहूको हकमा सो जग्गा निखने पनि हदबन्दी भित्र रही त्यस्ता मोहियानी जति साहू साथै रहने व्यवस्था भएको, श्री ५ को सरकार भूमिसुधार मन्त्रालयको सूचनाले क्षेत्र तोकिएअनुसार तेह्रथुम जिल्लासमेत तोकिएको क्षेत्रभित्र पर्ने, दफा २५ अनुसार भनी हामीहरूलाई नै मोहियानी हक कायम गरिदिने गरी भू.सु.कार्यालयबाट गरेको निर्णय कानूनसंगत छ भन्नेसमेत मणिराज लिम्बु १ बालकुमारी लिम्बु १ समेतको लिखितजवाफ रहेछ ।
६. विपक्षी कार्यालयबाट ०३१।४।३२।६ मा दफा २५ बमोजिम मोही कायम ठहर्छ भन्नेसमेत निर्णय भएकोमा सो निर्णय बदर गराई माग्न ०३१।१२।१।६ मा रिट निवेदन पर्न आएको देखिन्छ, यसरी ७ महिनाभन्दा बढी समय व्यतित गरी रिट निवेदन दिन आउनाको मनासिव माफिकको कारण निवेदकले आफ्नो निवेदनमा उल्लेख गर्न नसक्नुका अतिरिक्त भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(३) मा मोहियानी लागेको जग्गा बाहेक तोकिएको क्षेत्रको अरू कुनै जग्गा जग्गावालाबाट भोगबन्धकी लिई साहूले आफै कमाएको रहेछ भने दफा ८ को अधिनमा रही त्यस्तो जग्गामा साहूले मोहियानी हक प्राप्त गर्ने छ भन्नेसमेत व्यवस्था भएको देखिँदा रिट निवेदकले मोहियानी हक प्राप्त गर्न नसक्ने देखिएकाले निवेदकको हक प्रचलन गर्न मिल्ने देखिँदैन, रिट निवेदनपत्र खारेज हुने ठहर्छ भन्नेसमेत ०३२।८।२१।१ मा डिभिजन बेञ्चबाट निर्णय भएकाले रहेछ ।
७. प्रस्तुत मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकूमप्रमांगी साथ सम्लग्न न्यायिक समितिको सिफारिस पर्चामा ७५ रोपनीभन्दा बढी जग्गा मणिराजको भएको भन्ने रिट निवेदकको जिकिर भएकोमा निज मणिराजको हदबन्दी भन्दा बढी जग्गा भए नभएतर्फ निर्णय नगरी यो दावीको खेतको वादीलाई मोहियानी कायम गर्न मिल्ने आधार देखिँदैन, दरपीठको व्यहोरामा रुपैयाँ बुझी लिए मोहियानी छाडी दिएँ भन्ने उल्लेख छ । दरपीठ व्यहोराबाट समेत मणिराज मोही भई कमाएको देखिएन, साहू बालकुमारीको पनि मणिराज हुनाले एकै परिवार हुँदा हक हुने हो कि भन्नेतर्फ पनी वादी मणिराज भोगबन्धकी लिने साहू नहुँदा निजको मोहियानी हक हुने देखिएन, भूमिसुधार कार्यालय तेह्रथुमले गरेको त्रुटिपूर्ण फैसला बदर गरी रिट निवेदनपत्र खारेज गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला मिलेको देखिएन भन्नेसमेत उल्लेख भएको रहेछ ।
८. निवेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गानाले निवेदकले विपक्षी बालकुमारीलाई जोतपोत बन्धकी दिएको थैली बुझाई निखन्दा जोतसमेत फिर्ता दिएँ भन्ने जनाई दरपीठ गरेको छ, बन्धकी निखनी लिइसकेपछि बाली लुटपिट गरे भन्ने विपक्षी मणिराजले फिराद गरेकोमा जिल्ला अदालतबाट डिसमिस भएको छ, मणिराजले अघिदेखि कमाएको भन्ने विपक्षी भूमिसुधार कार्यालयको निर्णयमा उल्लेख छ, मणिराजले १ नं. लगत भरेको र २ नं. अनुसूची प्रकाशित छैन भने अघिदेखि कमाएको भन्न मिल्दैन, मणिराज भोगबन्धकी साहू नभई बालकुमारी साहू भएकोले भोगवाला साहू मणिराजले जोतेको भनी भन्न नमिल्नेमा समेत मोही कायम गरेको विपक्षी भूमिसुधार कार्यालयको निर्णय त्रुटिपूर्ण छ, बदर हुनुपर्छ भन्नेसमेत र विपक्षी भूमिसुधार कार्यालयतर्फबाट खटी आउनु भएका वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्माले बन्धकीवाला साहूले मोहियानी हक तोकिएको क्षेत्रमा प्राप्त गर्ने कानूनी व्यवस्था भएअनुसार विवादको जग्गा तोकिएको क्षेत्रभित्रकै भएको र मोहीको परिभाषामा आफूले वा आफ्नो परिवारको श्रमले कमाएको भन्ने र परिवार भन्नाले एकाघरको लोग्ने पनि भएकाले भोगबन्धकीवाला साहू बालकुमारीको पति विपक्षी मणिराजलाई मोही कायम गरेको निर्णय कानूनअनुरुप छ । रिट निवेदन खारेज हुनुपर्छ भन्नेसमेत र विपक्षी मणिराजतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रेतीले श्रीमतीले बन्धकी लिएको जग्गाको एकाघरको लोग्ने पनि भोगबन्धकीवाला साहु नै हुने हुनाले भोगबन्धकी लिने विपक्षी बालकुमारीको लोग्ने मणिराजलाई मोहीकायम गरेको कानूनबमोजिम छ भन्नेसमेत वहस प्रस्तुत गर्नुभएको छ ।
९. यसमा निर्णयतर्फ विचार गर्दा बालकुमारीबाट रुपैयाँ खाई लिखत गरिदिएको ०२३ सालको बालीदेखि मैले कमाई आएको बडारे भन्ने किपट खेतमा खिचोला गरेकोले खिचोला मेटाई मेरै हक कायम गरिपाउँ भन्ने विपक्षी मणिराजले विपक्षी भू.सु.का.मा दिएको उजुरीमा मणिराजले नै पहिले कमाई गरेकोले निज मोही ठहरिनाले भू.सं. ऐन, ०२१ को दफा २५ बमोजिम मोही कायम ठहर्छ भन्ने ०३१।४।३२।६ मा विपक्षी भू.सु.का. तेह्रथुमबाट निर्णय भएको देखिन्छ ।
१०. उक्त निर्णयले निवेदकलाई आघात परेको भए समयमै सो निर्णय बदर गराई माग्न निवेदक चल्नु पर्ने थियो, तर समयमै आफ्नो हकको खोजी नगरी विपक्षी मणिराजलाई मोही कायम गरी भूमिसुधार कार्यालयबाट निर्णय भई मुख्य वार्षिक उब्जनीको एक बाली लगाउने समय व्यतित गई विपक्षी मणिराजको हक स्थापित हुनजाने स्थितिमा भूमिसुधार कार्यालयबाट निर्णय भएको मिति ०३१।४।३२।६ बाट ७ महिना पछि ०३१।१२।१।६ मा मात्र प्रस्तुत रिट निवेदन अनुचित विलम्ब गरी निवेदकले अदालतमा दर्ता गरेको देखियो । सो विलम्ब हुनुको मनासिव कारणसमेत देखिएन यसरी धेरै विलम्ब गरी पर्न आएको यो रिट निवेदनबाट यस अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग गर्न उचित देखिएन तसर्थ अनुचित विलम्बको कारणबाट प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । विलम्बको आधारमा रिट निवेदन खारेज गर्ने गरेको डिभिजन बेञ्चको निर्णय मनासिव छ । मिसिल नियमबमोजिम बुझाइदिनू ।
सहमति छ ।
न्या. ईश्वरीराज मिश्र,
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३५ साल बैशाख १२ गते रोज ३ शुभम् ।