निर्णय नं. ६९१९ - अंश

निर्णय नं. ६९१९ ने.का.प. २०५७ अङ्क ६/७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री टोपबहादुर सिंह
सम्वत २०५३ सालको दे.पु.नं. ...३६७१
फैसला मितिः २०५६।११।३०।२
मुद्दाः अंश ।
पुनरावेदक/प्रतिवादीः जिल्ला कपिलवस्तु, वरकलपुर गा.वि.स. वडा नं. २ इमिलियाटोल बस्ने वर्ष २९ को भण्डु लोनिया समेत
विरुद्ध
विपक्षी/वादीः जिल्ला कपिलवस्तु, वरकलपुर गा.वि.स. वडा नं. २ बस्ने सन्तराम लोनिया समेत
§ प्रतिवादीले मुख्यतः पैतृक सम्पत्ति नभएको र आफूले मोहियानी वापत प्राप्त गरेको जग्गामा वण्डा लाग्ने होइन भन्ने जिकिर लिएको पाइन्छ । यी वादी प्रतिवादी दाजु भाई नाताका भई अंशियार भएको कुरामा विवाद नदेखिएको र आपसमा अंश वण्डा भएको प्रमाण पेश नभएको स्थितिमा वादीहरुले अंशपाउने नै देखिन्छ । तर निजी आर्जनको सम्पत्तिमा वण्डा लाग्ने होइन भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा यी प्रतिवादी ललित लोनियाले खतिरा मुसलमान्नीको जग्गा मोहीको हैसियतले जोतेको र जग्गा धनीले सो जग्गा अरुलाई राजिनामा गरी दिएपछि मुद्दा परी मिलापत्रबाट प्रतिवादी ललित लोनियाले जग्गा प्राप्त गरेको भन्ने मिसिलबाट देखिन्छ । यसरी आफ्नै प्रयासमा मोहीमा जग्गा कमाई सो वापत नै जग्गामा हक हुन आई जग्गा धनी प्रमाणपूर्जा प्राप्त गरेको अवस्थामा त्यस्तो जग्गानिजी श्रम सीपबाट नै प्राप्त गरेको मान्नु पर्ने हुँदा वण्डा लाग्ने स्थिति देखिएन । अतः मोही हक वापत प्राप्त जग्गामा समेत वण्डा लाग्ने ठहराई भएको पुनरावेदन अदालत बुटवलको मिति २०५३।४।२८ को फैसला केही उल्टी हुने ।
(प्र.नं.१४)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री लभकुमार मैनाली
विपक्षी वादी तर्फबाटः
अवलम्बित नजिरः
फैसला
न्या.टोपबहादुर सिंहः पुनरावेदन अदालत बुटवलबाट भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अन्तर्गत यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छः
2. बाजे शिवदत्तको छोरा पञ्चय, पञ्चयका ४ छोरामा जेठो दुलारे, माहिलो ललिता, साइला म प्यारे, कान्छो म सन्तराम हौं । बाजे बज्यै, बाबु पंचम र आमा समेतको परलोक भइसकेको छ । हामी अंशियारहरु सगोलमै छौं । बाबुका पालाको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्ति समेत सगोलमै छ । वण्डा भएको छैन । केही जग्गा भारत सिद्धार्थनगरमा छ । यसरी सगोलमा बसेकै अवस्थामा घरमा परिवार धेरै भई मनमुटाव भएकोले घरको दामकाम गर्ने मुख्य व्यक्ति दाजु ललित लोनिया भएकोले निजसँग अंश माग्दा अंश दिन्न भनी जवाफ दिनु भएकोले विपक्षीहरुबाट फिराद परेको अघिल्लो दिनसम्मको सम्पत्तिको तायदाती फाँटवारी लिई ४ भागको १।१ भाग अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको मिति २०४८।११।८ को प्यारे लोनिया समेत ३ जनाको फिराद दावी ।
3. बाबुका पालाको पैत्रिक सम्पत्ति केही थिएन । मलाई दाजुभाइहरुले म सानै हुँदा घरबाट निकाला गरिदिएपछि म खडागन्जमा बसी वरकुलपुर बस्ने छुदैनी थारु, सिपाही थारु, ठागे थारु समेतको फाँटमा जग्गा जोती कमाई ७ नं. फाँटवारी भरी ज.वि. १–१३–१४ जग्गा मेरो निजी आर्जनको भएको र सो बाहेक खतिरा मुसलमान्नीको फाँटमा मोहीमा ज.वि. ३–२–७ कमाई आएकोमा खतिराले यो जग्गा अरुलाई राजिनामा गरी दिएपछि जग्गाधनी तेजप्रसाद, कमलप्रसाद, ईश्वरीप्रसाद, शेरबहादुर, काशिराम समेतबाट २०३७।५।५ मा मिलापत्र भई जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त गरेको छु । यसरी मैले परिवारबाट अलग भएको अवस्थादेखि आफ्नै सिप कमाईले आर्जन गरेको सम्पत्ति हुँदा वण्डा लाग्नुपर्ने सगोलको सम्पत्ति छैन । दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको २०४९।२।२५ को ललिता लोनिया समेत ५ जनाको प्रतिउत्तर जिकिर ।
4. आदेशानुसार बुझिएका वादीका साक्षी खदेरु तेली, बुधराम थारु र प्रतिवादीका साक्षी बाजे अहिर, मदु अहिरले गरेको वकपत्र शुरु मिसिल सामेल रहेको ।
5. वादी प्रतिवादीहरु अंशियार भएको कुरामा विवाद नदेखिएको र वण्डा पत्र भएको प्रमाण प्रतिवादी तर्फबाट पेश हुन नसकेको हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वण्डा गर्नुपर्ने श्रीसम्पत्तिको तायदाती फाँटवारी दुवै पक्षबाट लिई नपुग कोर्ट फि समेत दाखिल गराई पेश गर्नु भन्ने शुरु कपिलवस्तु जिल्ला अदालतको २०५१।११।२२ को आदेशानुसार वादी प्रतिवादीहरुबाट तायदाती फाँटवारी दाखिल भएको ।
6. मिसिल संलग्न कागजातबाट वादी प्रतिवादीहरु एकासगोलका अंशियार भएको देखिँदा प्रतिवादीले आफ्नो सिप श्रमबाट निजी आर्जन गरेको कि.नं. २६, ३२, ३९, ९०, ९१, ३७ का जग्गा बाहेकमा वादी प्रतिवादीबाट तायदातीमा देखाएका सम्पत्तिमा वादीले ४ भागको १।१ भाग प्रतिवादीबाट अंश पाउने ठहर्छ भन्ने कपिलवस्तु जिल्ला अदालतको २०५२।१।२४ को फैसला ।
7. कि.नं. २६, ३२, ३६, ९०, ९१, ३७ को ज.वि. ३–७–१७ मा समेत हामी फिरादीहरुको अंश हक लाग्नेमा सोमा अंश हक नलाग्ने भनी गरेको शुरु फैसला सो हदसम्म बदर गरी वादी दावी बमोजिम इन्साफ पाउँ भन्ने समेतको वादी सन्तराम लोनिया, प्यारे लोनियाको पुनरावेदन अदालतमा परेको पुनरावेदन ।
8. कुनै पैत्रिक सम्पत्ति नभएको बाबु दाजु भाइ समेतसँग छुट्टी भिन्न भइसकेको अवस्थामा अंश पाउने ठहर्याई भएको हदसम्मको शुरुको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी इन्साफ पाउँ भन्ने समेतको प्रतिवादीहरु ललिता लोनिया समेतको पुनरावेदन अदालतमा परेको पुनरावेदन ।
9. यसमा केही सम्पत्ति वण्डा गर्ने र केही वण्डा नलाग्ने भनी शुरुले फैसला गरेकोमा के कति कारणले वण्डा गर्नु नपर्ने हो सो कुरा फैसलामा नखुलेकोले शुरुको फैसला फरक पर्न सक्ने देखिँदा पुनरावेदन नगर्ने पक्ष विपक्षी समेतलाई अ.वं. २०२ नं. बमोजिम झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत बुटवलको २०५३।१।२५ को आदेश ।
10. यसमा वादीलाई अंशियार दाजुभाई हुन भनी प्रतिवादीले स्वीकार गरेको देखियो । स्पष्ट सबुद प्रमाणको अभावमा प्रतिवादीले पहिल्यै अंशवण्डा भइसकेको भनी लिएको जिकिर अनुसार रितपूर्वक अंशवण्डा भएको मान्न नमिल्ने हुँदा अंशवण्डा नभएको वण्डा हुनुपर्ने भनी ठहराएको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सो हदसम्मको शुरु फैसला मनासिव ठहर्छ । मानो छुट्टिएको मिति फिराद परेको अघिल्लो दिनलाई मानेपछि सो भन्दा अघिको मितिमा अंशियार मध्ये जोसुकैको नाउँमा रहेको जग्गा सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म सगोलकै सम्पत्ति मान्नु पर्ने भएको र प्रतिवादीले निजी श्रम सिप आर्जनको भनी जिकिर लिए तापनि सोको स्पष्ट ठोस सबुद केही देखाउन नसकेको हुँदा शुरु कपिलवस्तु जिल्ला अदालतबाट केही सम्पत्तिमा वण्डा नलाग्ने भनी ठहर गरेको हदसम्म उक्त फैसला नमिली केही उल्टी भई सो सम्पत्ति समेतमा पुनरावेदक प्रतिवादीहरुको अंश भाग लाग्ने ठहर्छ भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०५३।४।२८।२ को फैसला ।
11. पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । पैतृक सम्पत्ति केही नभएको र दाजु भाइहरुले मलाई घरबाट निकाला गरी दिए पछि मैले ठागे थारु समेतको फाँटमा जग्गा जोती कमाई आएको जग्गा विगाहा १–१३–१४ को ७ नं. फाँटवारी समेत भरी निजी आर्जन गरेको र पछि खतिरा मुसलमान्नीको फाँटमा मोहीमा जग्गा कमाई २०२७।२।२० मा अनुसूची १ को मोही लगत फाराम भरी जग्गाधनीलाई कुत बुझाउँदै आएकोमा खतिरा मुसलमान्नीले काशीराम समेतलाई राजिनामा गरी दिएबाट निजहरुसँग मेरो मुद्दा परी २०३७।५।५ मा बाली दिलाई मोही निष्काशन गरी पाउँ भन्ने मुद्दा मिलापत्र भई मेरो हक हुन आएको प्रष्ट छ । यसरी ७ नं. फाँटवारी समेत भरी जोती कमाई प्राप्त गरेको जग्गा एवं मोहियानी वापत प्राप्त जग्गा निजी भएको स्पष्ट हुँदाहुँदै सगोलको भनी वण्डा लगाउनु कानुनी त्रुटिपूर्ण छ । पैतृक सम्पत्ति नै केही नभएको र मलाई सानै उमेरमा दाजुभाइले घरबाट निकाला गरेको अवस्थामा अंशवण्डाको लिखतको आवश्यकता नै नपर्नेमा अंशवण्डाको सबुद नभएको भन्दै मेरो निजी आर्जनमा समेत वण्डा लगाउन मिल्ने होइन । अंशवण्डाको ३० नं. बमोजिम पनि अलग अलग बसी दर्ता नामसारी गरी आफ्नो आफ्नो भाग शान्ति भोगचलन गरी आएपछि वण्डा नभएको अर्थ गर्न मिल्दैन । यसरी मेरो निजी सम्पत्तिमा समेत वण्डा लाग्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला अंशवण्डाको १८ र ३० नं. को गम्भीर कानुनी त्रुटि छ । साथै प्रमाण ऐन, २०३१ को दफा ५४ अनुरुप प्रमाणको मूल्यांकन समेतको बेवास्ता गर्दै भएको पुनरावेदन अदालत बुटवलको फैसला उल्टी गरी सही न्याय इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको यस अदालतमा परेको पुनरावेदन ।
12. यसमा मोही जग्गा कमाएको नाताबाट मिलापत्र भई सोही आधारमा मिति २०३७।५।५ मा प्रतिवादी ललित लोनियाले जग्गा प्राप्त गरेको र वादीहरुले २०४० सालमा नेपाली नागरिकता प्राप्त गर्नु अघि निजहरुले सो जग्गा कमाउने अवस्था नभएकोले प्रतिवादीले आफ्नो निजी प्रयासबाट प्राप्त गरेको मान्नु पर्ने भई सो जग्गामा वण्डा गर्ने गरेको पुनरावेदन अदालत बुटवलको फैसला फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालतको २०५६।६।३ को आदेश ।
13. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लभकुमार मैनालीले पैतृक सम्पत्ति केही नभएको र सानै उमेरमा दाजुभाइले घरबाट निकाला गरेपछि आफ्नै प्रयासमा मेरो पक्षले मोहीमा कमाई प्राप्त गरेको जग्गा निजी आर्जनको हुने स्पष्ट हुँदाहुँदै त्यस्तो सम्पत्तिलाई समेत अंश वापत वण्डा लगाउने गरी पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छैन । मोही भई जग्गा कमाई मुद्दा परेर मोहीकै हैसियतबाट मिलापत्र समेत भई प्राप्त गरेको जग्गा वण्डा लाग्ने अवस्था नहुँदा पुनरावेदन अदालतको फैसला उल्टी भई निजी सम्पत्तिमा वण्डा नलाग्ने गरेको शुरु फैसला सदर हुनुपर्दछ भनी गर्नु भएको बहस जिकिर समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ छैन र पुनरावेदन जिकिर बमोजिम हुने हो होइन भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।
14. यसमा प्रतिवादी ललित लोनियाले मोहीमा जोतेको जग्गा सम्बन्धमा मुद्दा परी मिलापत्रबाट प्राप्त भएको निजी आर्जनको जग्गा बाहेकका वादी प्रतिवादीको तायदाती फाँटवारीमा उल्लेखित सम्पत्तिबाट वादीले ४ भागको १।१ भाग अंश पाउने ठहराई शुरु जिल्ला अदालतबाट फैसला भएकोमा अंश वण्डा लाग्ने ठहर गरे उपर प्रतिवादीको र निजी आर्जनको जग्गा वण्डा नलाग्ने ठहर गरे उपर वादीको पुनरावेदन पर्दा शुरु फैसला केही उल्टी गरी सम्पूर्ण सम्पत्तिबाट वण्डा लाग्ने ठहराई पुनरावेदन अदालत बुटवलबाट फैसला भएको र निजी आर्जनको सम्पत्तिमा समेत वण्डा लाग्ने गरी भएको पुनरावेदन अदालतको फैसला उपर प्रतिवादीको पुनरावेदन परेको देखिन्छ । प्रतिवादीले मुख्यतः पैतृक सम्पत्ति नभएको र आफूले मोहियानी वापत प्राप्त गरेको जग्गामा वण्डा लाग्ने होइन भन्ने जिकिर लिएको पाइन्छ । यी वादी प्रतिवादी दाजु भाई नाताका भई अंशियार भएको कुरामा विवाद नदेखिएको र आपसमा अंश वण्डा भएको प्रमाण पेश नभएको स्थितिमा वादीहरुले अंशपाउने नै देखिन्छ । तर निजी आर्जनको सम्पत्तिमा वण्डा लाग्ने होइन भन्ने पुनरावेदन जिकिरतर्फ हेर्दा यी प्रतिवादी ललित लोनियाले खतिरा मुसलमान्नीको जग्गा मोहीको हैसियतले जोतेको र जग्गा धनीले सो जग्गा अरुलाई राजिनामा गरी दिएपछि मुद्दा परी मिलापत्रबाट प्रतिवादी ललित लोनियाले जग्गा प्राप्त गरेको भन्ने मिसिलबाट देखिन्छ । यसरी आफ्नै प्रयासमा मोहीमा जग्गा कमाई सो वापत नै जग्गामा हक हुन आई जग्गा धनी प्रमाणपूर्जा प्राप्त गरेको अवस्थामा त्यस्तो जग्गानिजी श्रम सीपबाट नै प्राप्त गरेको मान्नु पर्ने हुँदा वण्डा लाग्ने स्थिति देखिएन । अतः मोही हक वापत प्राप्त जग्गामा समेत वण्डा लाग्ने ठहराई भएको पुनरावेदन अदालत बुटवलको मिति २०५३।४।२८ को फैसला केही उल्टी हुन्छ । प्रतिवादीले मोही हक छाडे वापत प्राप्त गरेको जग्गा स्वआर्जनको मानी सो सम्पत्तिमा वण्डा नलाग्ने ठहर गरेको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला मुनासिव ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम पुनरावेदन अदालत बुटवलको फैसला केही उल्टी भई निजी आर्जनको कि.नं. २६, ३२, ३६, ३७, ९०, ९१ को ज.वि. ३–७–१७ को जग्गा बाहेक अरु बादी प्रतिवादीबाट पेश भएको सम्पत्तिमा ४ भागको १।१ भाग प्रतिवादीबाट वादीले अंश पाउने ठहराएको शुरु फैसला सदर हुने ठहरेकोले शुरु कपिलवस्तु जिल्ला अदालतको मिति २०५२।१।२४ को फैसलाको तपसिल खण्डमा उल्लेख भए बमोजिम गर्नु भनी शुरुमा लेखी पठाउनु...१
प्रतिवादीले पुनरावेदन अदालत बुटवलमार्फत यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फि धरौट रु.१८६१।८४ प्रतिवादीलाई नै कानुन बमोजिम फिर्ता दिनु भनी लेखी पठाउनु..................२
दायरीमा लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु..................३
उक्त रायमा सहमत छु ।
न्या.केदारनाथ उपाध्याय
इति सम्वत २०५६ साल फाल्गुन ३० गते रोज २ शुभम्.................।