शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११३४ - कर्तव्य ज्यान

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. ११३४     ने.का.प. २०३५

फुल बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुृर सिंह

माननीय न्यायाधीश सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३ सालको फौ.फु.नं. ९

फैसला भएको मिति : २०३५।३।२०।३ मा

पुनरावेदक : श्री ५ को सरकार

बिरुद्ध

प्रतिवादी : वाग्लुङ जिल्ला घर भई हाल काठमाडौं जिल्ला कार्यालय कारागार शाखामा थुनामा रहेका ताक्ला ठकुरी समेत

मुद्दा : कर्तव्य ज्यान

(१)   छुरी जस्तो हतियार प्रयोग गरी मारेको ज्यानसम्बन्धीको १४ नं. लागू हुने स्थिति नपरी उक्त महलको १३ (१) बमोजिम पूरा सजाय गर्नुपर्ने ।

(प्र.नं. २३)

पुनरावेदक तर्फबाट : विद्वान का.मु.सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

उल्लिखित मुद्दा :   

आदेश

            न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट ०३४।११।२५।४ मा निर्णय हुँदा सो बेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी राय बाझिएकोले सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ अनुसार निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

            २.    मुद्दाको विवरण यसप्रकार छ : मेरो लोग्ने हाङचुपनलाई याम्फी र ताक्लाले छुरी प्रहार गरी ०३२।२।२७ गते मृत्यु भएकोले निजहरू प्रति कानून बमोजिम सजाय गरिपाउँ भन्ने प्रहरीमा भएको पेवा लमेनीको बयान कागज ।

            ३.    हाङचुपनलाई ताक्लाले समाती खिंम्पाले छुरी ईंटाले हानेको मैले देखेको छु भन्ने ढालबहादुरको प्रहरीमा बयान कागज ।

            ४.    हाङचुपनले मलाई ईंटाले हान्यो मलाई रिस उठी मैले पनि हिर्काएँ निज लडे वा के भयो सोही बखत मैले भिरी राखेको छुरीले हानेको हो लागे नलागे थाहा भएन, त्यस बखत ताक्ला त्यो ठाउँमा छैन । मैले प्रहार गरेको छुरी ईंटाको चोटले निज हाङचुपनको मृत्यु भएको हो भन्नेसमेत याम्फी खम्पाले प्रहरीमा गरेको कागज ।

            ५.    ०३२।२।२६ गतेमा प्र.याम्फी र हाङचुपनको घा खत फाराम भएको र हाङचुपनको बायाँ नसंखिनी र धमनी फारिएकोले रक्तश्राव भई मरेको भन्ने लासजाँच प्रतिवेदन ।

            ६.    याम्फी र अर्का ठूलाखालको १ जनासमेत २ जना भई हाङचुपनलाई ईंटा ढुङ्गाले हिर्काएको मैले देखेको भन्नेसमेत व्यहोराको शिवलाल समेतको भनाई सर्जमिन ।

            ७.    हाङचुपनलाई ताक्लाले समाती छुरी ईंटाले प्रहार गर्न संयोग पारी दिएको र याम्फीले छुरी ईंटा प्रहार गरी सोही चोटबाट निजको मृत्यु भएको देखिनाले याम्फीउपर ज्यानसम्बन्धीका १।१३ (२) नं. र ताक्लालाई ऐ.को (१३।४) अनुसार कारवाही भई सजाय हुृन प्रतिवेदन भई आएको ।

            ८.    छुरीले हानी भागेको र मरेको भनी मैले प्रहरीमा भनेको छैनँ, मेरो चोटबाट मरे वा के भई मरेको हो सो मलाई थाहा छैन, बरामद भई आएको छुरी देखें मेरै हो । त्यसमा लागेको रगत मलाई पनि चोट परेको हुँदा के भयो थाहा छैन, मलाई देब्रे हातमा छुराको घाउ लागेकाले सो रगत नै हो वा अरूलाई छुराले हानिलागेको हो त्यसबेला जाँड खाइराखेको हुँदा यकीन गरी भन्न सकिनँ । ताक्ला भोटे मसँग नभएको र नआएको हुनाले निजले संयोग गरी दिएको र मैले छुरीले हानेको होइन भन्ने हाङचुपन र मैले जाँड खाइरहेको बखत झगडा भई हाङचुपन मरेका हुन निजलाई मार्न पर्ने सम्मको कुनै रिसइवी छैन भन्नेसमेत याम्फीको अदालतमा बयान ।

            ९.    झगडा भएको र लोग्नेको आवाज लोग्ने कराएको सुनी बाहिर आउँदा लोग्ने हाङचुपनलाई ताक्लाले घाँटी समाई राखेको र याम्फीले छुरा हानेको मैले देखेको हुँ । मेरो आमाको सम्पत्ति जग्गाजमिनसमेत याम्फीले लिएको, आमा परलोक हुँदा बत्ती देउ भनी भिनाजू याम्फीलाई भनेको रिस लिइराखेको थियो । सोही रिसइवीबाट मारेको हुनुपर्छ । अरू कारण छैन भन्नेसमेत मर्नेको श्रीमती पेमाको र याम्फीलाई ज्यानमारा भनी अरू मानिसले ईंटाले हानेको र निजलाई प्रहरीले पक्राउ गरेको देखेको हुँ । ६।७ महिना अगाडिको कुरा हुँदा राम्रो सम्झना भएन, मेरो भएको व्यहोरा सरजमिनमा लेखाएको छु भनी मदन नकर्मी समेत २ जनाको बयान भएको शिवलाल हाजिर भएकोमा वकपत्र गराउन नभ्याएको तारेखमा निज हाजिर नभएको ।

            १०.    ताक्लाको नाममा म्यादी पुर्जी ०३२।४।१५ मा तामेल भएको, प्रहरीबाट पक्राउ भई लैनचौर प्रहरीको पत्रसाथ आएको ताक्लाको बयान हुँदा ०३२।२।२६ गते म आफ्नो डेरामा छु याम्फीसँग सो दिन मेरो भेटघाट छैन, हाङचुपनको र याम्फी खम्पाहरूसँग झगडा भएको भन्ने सुनेको हुँ र हाङचुपन त्यसैबाट मरेको हुनुपर्दछ । हाङचुपनको घरमा जाँदा बहिनी पेमा र हाङचुपन झगडा गरिरहेको कुरा मलाई हाङचुपनले भनेको र मैले पत्नीबाट पेमालाई केही कुरा गरेको थिएँ, सोही रिसले हाङचुपनलाई मैले समातेको भनी पेमाले बयान गरेको हुनुपर्छ । उक्त वारदात स्थलमा म जाँदै नगएको र मैले संयोग पारिदिएको समेत होइन भन्नेसमेत ताक्लाको बयान ।

            ११.    मर्ने हाङचुपनलाई ताक्लाले समाई थिची याम्फीले छुरीले हानेको देखेको छु भनी ०३२।१०।२ को आदेशानुसार झिकाई आएका ढालबहादुर ०३२।३।१२ को बयान भएको ।

            १२.   ०३२ जेष्ठ २६ गते ताक्ला, याम्फी, खम्पा भई छुरी ईंटा प्रहार गरी सोही चोटबाट मेरो लोग्ने हाङचुपनको २७ गते मृत्यु भएको हो भन्ने पेमा लमेनीको बयान कागज भएको र हाङचुपनले र मैले लागुपदार्थ छाङ जाँड खाई रहेको अवस्थामा हाङचुपनले मलाई घर जानु भनी निज जान्न भन्दा ईंटा उठाई मेरो टाउकोमा हिर्काएको रिसले मैले पनि ईंटा छुरीले निजलाई हानेको हुँ । सोही चोटबाट मृत्यु भएको हो भनी प्रतिवादी याम्फी खम्पाले प्रहरीमा बयान गरेको र मौकामा बुझिएका सर्जमिनसमेतको भनाई र पोष्टमार्टम प्रतिवेदन समेतबाट २६ गते छुरी ईंटा प्रहार गरी गरेको घाउचोटबाट हाङचुपनको २७ गते मृत्यू भएको भन्ने देखिएको । कसको सहमती के कारणबाट उक्त घटना हुन गएको भन्नलाई प्रहरीमा फरार रहेको प्रतिवादी ताक्लालाई यस अदालतबाट वारेन्ट र म्यादी पुर्जी जारी गरी प्रहरीद्वारा हाजिर भई बयान गर्दा उक्त दिन याम्फी हाङचुपनसँग मेरो भेटघाट भएको छैन । म आफ्नो डेरामा छु । रिसइवीले सम्म मेरो सहमति पनि छ भनी पेमाले भनेको हो भनी बयान गरेको र याम्फीले उक्त वारदात हुँदा प्रतिवादी ताक्ला पनि सरिक थियो भनी नभनेकोबाट र बुझिएका निजका साक्षीहरूको भनाइसमेत बाट ताक्ला घटनास्थलमा नभएको भन्ने जनाउँछ । तापनि मौका वारदात हुँदा पुनः देखिने भनिएका ढालबहादुर र सर्जमिनका मानिस शिवलाल मदन नकर्मीसमेतको भनाईबाट प्रतिवादी ताक्ला उक्त वारदात स्थानमा मौजुदै भएको प्रष्ट देखिएको छ । त्यसतर्फ प्रतिवादी ताक्लाले कानूनी भरपर्दो अन्य कुनै सबूद प्रमाण गुजार्न नसकेको समेत कारणबाट प्रतिवादी याम्फी र ताक्लाको सहमतीबाट उक्त घटना भएको भन्ने देखिएको र प्रतिवादीहरूले हाङचुपनलाई मार्नु पर्नेसम्मको इवी कारणबाट उक्त वारदात हुन गयो भन्नेतर्फ विचार गर्दा प्रतिवादीहरूले हाङचुपनलाई मार्ने नियतले कर्तव्य गरी मारेको भन्ने पेमाले भनेको भनाई भएको सो कारण दिंदा आमाको सम्पत्ति भिनाज्यू याम्फीले खाएकोमा आमा परलोक हुँदा बत्ती देउ, खर्चमा हेरिदिनुपर्छ भनेको भन्ने र ताक्लाउपर कुनै कारण दिन खुलाउन नसकेकोबाट त्यतिकै भरमा मानिसको ज्यान लिन पर्नेसम्मको इवी अदावत भई मारेको भन्न मिल्ने स्थिति छैन । त्यसमा पनि झगडा हुनुको मुल कारण घर जाउँ भनेको नमान्दा ईंटाले हानेबाट मैले पनि छुरीले ईंटाले हानेको यी दुवैले लागू पदार्थ सेवन गरी राखेको अवस्था थियो भनी याम्फीले र झगडा भइसकेपछि लोग्ने घरमा नआए ताक्ला याम्फी जाँड खाइरहेको झगडा भएको पनि भन्ने पेमाको बयान भनाई समेत भएकोले भन्ने हाङचुपनलाई उठाई याम्फीलाई हान्नु पर्छ सोही रिसको आवेशमा लागुपदार्थ सेवन गरी रहेको एकले अर्को माथी परस्परमा झगडा गरे याम्फी खम्पाले प्रहार गरेको छुरी ईंटाकै चोट पटकबाट हाङचुपनको चोट घाउ भएको हतियारको घाउचोटहरू पनि परेको देखिएको सम्बन्धित कारणबाट छुरी ईंटा प्रहार गरी हाङचुपनलाई कर्तव्य गरी मारेको भन्न मिलेन । प्रतिवादी ताक्लासमेत भई याम्फी खम्पाले होस नपुर्‍याई हेलचेक्राई गरी प्रहार गरेको छुरी ईंटाको चोटबाट हाङचुपन मृत्यु हुन गएको देखिनाले प्रहरी प्रतिवेदन माग अनुसार ज्यान सम्बन्धिको १३ (१) बमोजिम याम्फीलाई अंश सर्वश्व सहित जन्म कैद र ऐ.को (४) नं. अनुसार ताक्लालाई जन्म कैदको सजाय हुन्छ । तापनि माथि उल्लिखित अवस्था अनुसार उक्त सजाय गर्दा चर्को हुन जाने देखिनाले अ.बं.१८८ नं. अनुसार ज्यान सम्बन्धिको ६।२ बमोजिम प्रतिवादीहरूलाई जनही १।१ वर्ष कैद गर्नु भन्ने मिति ०३३।४।२८।६ को का.जि. अ. को फैसला ।

            १३.   उक्त इन्साफमा हामीलाई १।१ वर्ष कैद गर्ने गरेको चित्त बुझेन हक इन्साफ गरिपाउँ भन्ने ताक्ला ठकुरी र याम्फीको छुट्टा छुट्टै पुनरावेदन जिकिर रहेछ ।

            १४.   का.जि. अ.ले निज प्रतिवादीहरूलाई १।१ वर्षं कैद गर्ने गरेको मिलेन । प्रहरी प्रतिवेदन अनुसार होस भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर ।

            १५.   अब निर्णयतर्फ विचार गर्दा चस्मदिद गवाह मध्ये ढालबहादुरको बयान हेर्दा ताक्लाले हाङचुपनलाई समाई थिची याम्फी खम्पाले छुरी हानेको देखेको हुँ भनी लेखिदिएको मदन नकर्मीले बयान गर्दा क्षेत्रपाटी जानेबाटोमा बसिरहेको बेला ज्यानमारा आयो भनी लखेट्दै ल्याएको मैले देखेको हुँ भागी आएका याम्फी भोटेलाई जु.प.हाइस्कुलको बाटो लाग्दा त्यहीं उपस्थित भएका व्यक्तिहरूले निजलाई हानेको थियो । प्रहरीसमेत भई निजलाई पक्राउ गरी ल्यायो । निजको हातमा छुरी थियो भनी लेखिदिएको र मर्नेकी श्रीमती पेमाले बयान गर्दा ताक्ला भन्नेले मेरो लोग्ने हाङचुपनको घाँटी समाइराखेको र याम्फीले छुरा हानेको देखेको हुँ । समाउन लाग्दा मलाईसमेत हान्न लागेबाट घरमा आएको हुँ भनी किटानी वकपत्र गरेको र मर्ने हाङचुपनको तालुमा अन्दाजी २ लम्बाई १ चौडाई अन्दाजी २ इन्ची गहिराई घाउ देखिएको । बाँया तिघ्रामा ३ लामो ठाडो घाउको दाग देखिएको । निजले छुरीले हाङचुपनलाई हानेको सोही चोटबाट भोलिपल्ट अस्पतालमा हाङचुपन मरेको सिद्ध हुन आएकोले याम्फीको पुनरावेदन जिकिर मिलेको देखिएन । निजका हकमा सुरु जिल्ला अदालतले मुलुकी ऐन ज्यानसम्बन्धीको १३ (१) लगाएको मनासिव छ । अब अर्का पुनरावेदक प्रतिवादी ताक्ला ठकुरीको हकमा विचार गर्दा डोलमाया गुरुङसेनी पेमा लमेनी र ढालबहादुरले गरेको बयान कागजबाट याम्फी खम्पाले हाङचुपनलाई छुरीले हान्दाका अवस्थामा ताक्ला सोही वारदातमा उपस्थित भएको देखिनुको साथै हाङचुपनलाई भाग्न उम्कन नपाउने गरी संयोग पारी दिएको भई निजले मार्न मराउनमा मद्दतसम्म गरेको भन्नु परि सोही चोटपिरले हाङचुपन मरेको देखिन आएकोले प्रतिवादी ताक्ला ठकुरीतर्फ विद्वान वकिलको वहसबमोजिम वारदातको अवस्थामा प्रतिवादी ताक्ला अन्यत्र रहे भएको भन्न मिलेन र पुनरावेदन जिकिर प्रतितलायक भएन । तसर्थ उपरोक्त प्रमाण परिबन्दले ज्यानसम्बन्धिको दफा १७।२ बमोजिम ताक्ला ठकुरीलाई ५ वर्ष सजाय हुने ठहर्छ । का.जि. अ.बाट १८८ नं.बमोजिम राय प्रस्तुत गरेकोमा यसरी ६ इन्ची लामो छुरीले निर्मम हत्या गरेको देखिनाले सजाय कम गर्न निजको राय मिलेको देखिएन भन्नेसमेत मध्यमाञ्चल क्षेत्रीय अदालतको २०३४।२।४।३ को फैसला ।

            १६.    मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला ठीकबेठीक के रहेछ भनी त्यस कुराको निर्णय दिनुपर्ने हुन आउँछ ।

            १७.   हाङचुपनलाई भवितव्य गरी मारेको भनी ज्यानसम्बन्धीको ६ नं. को २ दफा लगाई जिल्ला अदालतले फैसला गरेकोमा क्षेत्रीय अदालतबाट ज्यानसम्बन्धीको १३ (१) बमोजिम सर्वश्वसहित जन्म कैद गर्ने ठहर गरेको देखिएकोले भवितव्य र कर्तव्यको लक्षण के हुने हो भनी विचार गर्नुपरेको छ । ज्यानसम्बन्धीको ६ (२) नं. मा त्यसैबाट केही हुन गई ज्यान मरेकोमा भवितव्य हुने भनी लेखिएको र मर्नेसम्मको कुरा गर्दा भनी ज्यानसम्बन्धीको १३ (१¬) नं. मा लेखिएकोबाट यी दुई ऐनको अन्तरमा केके रहेछ भन्ने पनि विचार गर्नु पर्‍यो । मार्ने मनसाय थियो थिएन भनी छुट्याउन त्यसैबाट केही हुन गई मरेको भन्ने लेखिएकोले भवितव्यमा मर्नुपर्ने कुरा गर्दा वा रक्षा शिक्षा गर्नेले कुटपिट गरेकोमा वा सावधान भई काम गर्दा गर्दै पनि अपराध हुन गएकोलाई भवितव्यको कक्षामा राखिएकोले गर्नुपर्ने काम गरेको हुनुपर्ने वा सावधान हुँदा हुँदै पनि अकस्मात साधन विग्रेकोबाट मरेकोलाई भवितव्य मान्नु पर्ने रहेछ । यद्यपि हाङचुपनलाई छुरी हिर्काउँदा याम्फीको निजलाई मार्ने मनसाय थियो भन्ने कुरा देखिँदैन छुरा प्रहार गर्दा याम्फीको त्यसो गर्ने कुनै काम थिएन र सावधान हुँदाहुँदै छुरा अर्कोतिर लाग्न जाँदा हाङचुपनलाई लागेको भन्ने देखिँदैन । एउटा परिणाम हुने काम गर्दा त्यसबाट अर्को थोक हुन गई मरेकोमा भवितव्य हुने कुरो यस मुद्दामा पाइदैन । ज्यानसम्बन्धीको ७ नं. ले सजाय नहुने भनी लेखिएको कुरामध्ये याम्फीले आफ्नो बचाउ गर्दा हाङचुपनलाई छुरी हान्नु परेको भन्ने कुरा कसैको बयानमा पनि नपरेको हुँदाले सजाय नलाग्ने घटना भएको रहेछ भनी विचार गर्नु परेन । सजाय लाग्नेमा गैह्र मर्ने कुरा भन्ने ज्यानसम्बन्धिको १३ (१) नं. मा परेको बोलीले त्यस्तो घटनामा भएको काम र त्यस्तो गर्ने कुरा प्रकट हुन्छ । छुरी जस्तो घातक हतियार चलाई घाउ पारेकोमा त्यसको परिणाममा मृत्यु हुन्छ भनी त्यो काम गर्ने याम्फीले थाहा पाएकै हुनुपर्छ । निजलाई कुनै मानसिक रोग भएको तथा मस्तिष्कमा कुनै विगार भएको भनी देखाएको छैन । याम्फीले मेरो हातैमा घाउ भएको थियो भनी बयान गरे पनि घाउ जाँचबाट सो कुरा नदेखिएको हुँदा याम्फीले आफु बच्न निमित्त झुठ्ठा बयान गरेको देखिएकै छ । त्यो कामको यस्तो परिणाम गराउँछु भन्ने मनसाय यम्फीको थियो भन्ने पहिलेको रिसइवी अखच नपरेकोबाट र कसैले नभनेकोबाट मनसाय देखिँदैन । अपराध गर्नु अगाडि रहने मनसाय र अपराध भएपछि हुने परिणामको ज्ञानमध्ये मनसायरहित भए पनि याम्फीलाई परिणामको बोध भएकै देखिन्छ । जहाँ मनसाय थिएन भने हाङचुपनले ढुड्डा हानेको झोंकले आफ्नो कम्मरमा रहेको छुरी झिकी प्रहार गरेको हुनाले ज्यानसम्बन्धीको १४ नं. लागू हुने हो कि भन्ने शङ्का गरुँ भने पनि हतियार र विषबाहेक अरूथोकको प्रयोग गरेकोमा ज्यानसम्बन्धीको १३ (१) नं. को पूरा सजाय नभई १० वर्ष मात्र कैदको सजाय हुने हो । जब यो ऐनले हतियार र विषबाहेक भनी व्यक्त गरेको छ भने त्यसबाट मर्ने परिणाम हुन्छ र परिणाम जान्ने भएकोमा त्यस्तो सजाय घटाउन मनासिव पर्दैन भन्ने ऐनको अध्ययनबाट बोध हुन्छ । मदिरा पिएको भनी सजाय परिवर्तन गर्ने ऐन पाइँदैन । आफ्नो नाता पर्ने मानिसलाई मनसाय बिना कसरी मर्‍यो होला त्यसभित्र कुनै रहस्य छिपेको छ, जसबाट पुरा सजाय गर्ने चर्को हुनजान्छ र अ.बं.१८८ नं. को ऐनको सुविधा याम्फीलाई दिनु उचित पर्छ कि भनी विचार गर्दा, माथि लेखिएबमोजिम रिसको झोकले हतियार चलाएको लाई व्यर्थमा त्यस्तो हतियार चलाउन नहुने कुरा ज्यानसम्बन्धीको १४ नं. ऐनले प्रतिपादित गरेकै छ । बुद्धि पुर्‍याइएर कुनै इवी साधन निमित्त यो खुन गरेको होइन तापनी रिसको झोकमा हतियार चलाई खुन गरेकोलाई ऐनबाट सजाय कम गर्ने अवस्था देखिँदैन । अ.बं.१८८ नं. ऐनको प्रयोग मनासिव पर्दैन । याम्फीलाई ज्यानसम्बन्धीको १३ को १ दफा ऐनबमोजिम सर्वश्वसहित जन्मकैद हुन्छ । सो वारदातमा ताक्लाले याम्फीको घाँटी समातेको भनी याम्फीका जहानले बयान गरेका याम्फीले पनि सो कुरा नभनेको अरू देख्ने गवाह कोही नभएको र मर्नेको निधारमा मात्र एउटा घाउ भएको देखिएकोले त्यस्तो घाउ पार्न अर्को मानिसको सहाय लिएको नदेखिने हुनाले यो वारदातमा ताक्ला सरिक भएको देखिँदैन । निजलाई थुनाबाट छाडिदिनु पर्ने देखिन्छ भन्ने मा.न्या. श्री हेरम्बराजज्यूको राय र यसमा मर्ने हाङचुपन र मार्ने भनेका याम्फी खम्पा दुवैलाई अस्पतालमा भर्ना गरेको र अस्पतालको रिपोर्टबाट दुवैलाई मर्नेसम्मको चोट लागेको र दुवैको स्वासबाट मादक पदार्थको गन्ध आएको भन्ने उल्लेख भएको देखियो । मार्ने र मारिनेको बीच कुनै किसिमको अघिदेखिको रिसइवी परेको कुरा मिसिलाबाट देखिएन । वारदात भएको अवस्था र परिस्थिति र याम्फी खम्पाले अदालतमा गरेको बयानबाट समेत परस्परमा विवाद उठी झगडा परी रिस थाम्न नसकी दुवैले परस्पर चोट प्रहार गरेको देखिन्छ । वारदातको अरू सबै व्यहोरा ज्यानसम्बन्धीको १४ नं. अन्र्तगतको देखिए तापनी याम्फी खम्पाले छुरा प्रहार गरेको कारणले मात्र सो दफा अन्तर्गतको सजाय गर्न नमिली ज्यानसम्बन्धीको १३ (१) बमोजिम सजाय तोकी अवस्थाअनुसार उक्त सजाय गर्दा चर्को हुन जाने देखिनाले अ.बं.१८८ नं. अनुसार सजाय घटिनु पर्ने गरी सुरु का.जि. अ.ले निर्णय गरेको समेत देखियो । तसर्थ ज्यान मार्नाको मनसाय नभएको र आफुलाई समेत मर्णान्त सम्मको चोट प्रहार गरेकोमा तत्काल उठेको रिसबाट अन्धो भई आफूसँग भएको छुरी प्रहार गर्दा हाङचुपन मर्न गएकोमा ज्यानसम्बन्धीको १३ (१) बमोजिम सजाय गर्दा ज्यादै नै चर्को हुने देखिन्छ । यस्तै अवस्थाको निमित्त अ.बं.१८८ नम्बरले ऐनले अदालतलाई सजाय घटाउने अख्तियार प्रदान गरेको हो । तसर्थ सो ऐनबमोजिम याम्फी खम्पालाई १० वर्ष मात्र कैद लाग्ने गरी सजाय घटाइएको छ । ताक्ला ठकुरीको हकमा निजले मर्ने हाङचुपनलाई समातेको भए निजले याम्फी खम्पालाई चोट प्रहार गर्नसक्ने अवस्था हुने नदेखिएबाट समेत निजलाई सफाई दिने ठहराएको माननीय न्यायाधीश श्री हेरम्बराजज्यूको रायसँग मेरो सहमती छ । याम्फी खम्पाको हकमा सजाय घटाउने कुरामा माननीय न्यायाधीश श्री हेरम्बराजसँग मेरो राय नमिलेकोले भन्ने मा. न्या. श्री ईश्वरीराज मिश्रको राय भई मिति २०३४।११।२५।४ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसला ।

            १८. पुनरावेदक श्री ५ को सरकारतर्फबाट उपस्थित हुनु भएका सरकारी का.मु.अधिवक्ता श्री भैरव लम्सालले अभियुक्त याम्फी खम्पाले मादक पदार्थ सेवन गरेको भए पनि सो सेवन गरेको कारणबाट निजको सामान्य होस नभएको भन्न पाइँदैन, मृतक मरेपछि पनि छुरी लिएर अभियुक्त भागेको हुँदा मार्ने मनसायले नै छुरी प्रहार गरी हत्या गरेको देखिन्छ । अभियुक्तलाई घाउ चोट लागेको भन्ने देखिँदैन । छुरीसमेत लिई लुकी भाग्दा अभियुक्तलाई चोट लागेको हुनसक्छ । जोखिमी हतियारले हानेकोमा ज्यानसम्बन्धीको १४ नं.लागू नहुने र ७ नं. पनि लागू हुने स्थिति नभएको हुँदा ज्यानसम्बन्धीको १३ (१) नं. बमोजिम नै पुरा सजाय हुनुपर्छ भन्नु भयो ।

            १९.    पुनरावेदक प्रतिवादी याम्फी खम्पाकातर्फबाट उपस्थित हुनु भएका वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले मृतक र अभियुक्त याम्फी दुवै नै मादक पदार्थ सेवन गरी झगडा गरेको अवस्थामा संयोगवस मृतकको हत्या भएको दयनीय वस्तुस्थिति विचार गर्दा १ वर्ष मात्र सजाए गर्ने काठमाडौं जिल्ला अदालतको राय कायम हुनुपर्छ भन्नु भयो ।

            २०.   सोही पक्षबाट उपस्थित हुनु भएका अर्का वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले मृतकको हत्या संयोगवस भएको हुनाले सजाय घटाइनु पर्छ भन्नु भयो ।

            २१.   यसमा निर्णयतर्फ विचार गर्दा अभियुक्त याम्फी खम्पालाई ज्यानसम्बन्धीको १३ (१) नं. अन्तर्गत सजाय हुने अपराध गरेकोमा निजलाई अ.बं.१८८ नं. बमोजिम सजाय घटाउन मिल्ने हो होइन ? भन्ने नै मुख्य विचार गर्नुपर्ने विषय भएको छ ।

            २२.   यसमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट निर्णय हुँदा माननीय न्यायाधीश श्री हेरम्बराजले प्रस्तुत मुद्दामा ज्यानसम्बन्धी महलको ६ (२), नं. ७ नं. लागू नहुने भएको र मृतक हाङचुपनले ढुड्डा हानेको झोंकले आफ्नो कम्मरमा रहेको छुरी झिकी प्रहार गरेको हुनाले ज्यानसम्बन्धीको १४ नं. लागू हुने हो कि भन्ने शङ्का गर्न पनि हतियार र विष बाहेक अरू थोकको प्रयोग गरेकोमा ज्यानसम्बन्धीको १३ (१) नं. को पूरा सजाय नभई १० वर्ष मात्र कैदको सजाय हुने हो । जब यो ऐनले हतियार र विष बाहेक भनी व्यक्त गरेको छ भने त्यसबाट परिणाम हुन्छ र परिणाम जान्ने भएकोमा त्यस्तो सजाय घटाउन मनासिव पर्दैन भन्ने ऐनको अध्ययनबाट बोध हुन्छ । मदिरा पिएको भनी सजाय परिवर्तन गर्ने ऐन पाइँदैन । आफ्नो नाता पर्ने मानिसलाई मनसाय बिना कसरी मार्‍यो होला, त्यसभित्र कुनै रहस्य छिपेकोछ । रिसको झोकले हतियार चलाएकोलाई व्यर्थमा त्यस्तो हतियार प्रयोग गर्छ भन्न हुँदैन, एक्कासी उठेको रिसमा पनि हतियार चलाउन नहुने कुरा ज्यानसम्बन्धीको १४ नं. ले प्रतिपादन गरेकै छ । बुद्धि पुर्‍याएर कुनै इवी साधन निमित्त यो खुन गरेको होइन तापनि रिसको झोकमा हतियार चलाई खुन गरेकोलाई ऐनबाट सजाय कम गर्ने अवस्था देखिँदैन । अ.बं.१८८ नं. ऐनको प्रयोग गर्न मनासिव पर्दैन । याम्फीलाई ज्यानसम्बन्धी १३ (१) बमोजिम सर्वश्व सहित जन्म कैद हुन्छ भन्ने राय व्यक्त गर्नु भएकोमा मर्ने हाङचुपन र मार्ने भनेका याम्फी खम्पा दुवैलाई अस्पतालमा भर्ना गरेको र अस्पतालको रिपोर्टबाट दुवैलाई मर्ने सम्मको चोट लागेको र दुवैको श्वासबाट मादक पदार्थको गन्ध आएको भन्ने उल्लेख भएको देखियो । मार्ने र मारिनेका बीच कुनै किसिमको अघि देखिको रिसइवी परेको कुरा मिसिलबाट देखिएन, वारदात भएको अवस्था र परिस्थिति र याम्फी खम्पाले अदालतमा गरेको बयानबाट समेत झगडा परी रिस थाम्न नसकी दुवैले परस्पर चोट प्रहार गरेको देखिन्छ । वारदातको अरू सबै व्यहोरा ज्यानसम्बन्धीको १४ नं. अन्तर्गतको देखिए तापनि याम्फी खम्पाले छुरा प्रहार गरेको कारणले मात्र सो दफा अन्तर्गतको सजाय गर्न मिली ज्यानसम्बन्धीको १३ (१) बमोजिम सजाय तोकी अवस्थाअनुसार उक्त सजाय गर्दा चर्को हुन जाने देखिनाले अ.बं.१८८ नं. अनुसार सजाय घटिनु पर्ने गरी सुरु का.जि. अ. ले निर्णय गरेको समेत देखियो । तसर्थ ज्यान मार्नाको मनसाय नभएको र आफुलाई समेत मर्णान्तसम्मको चोट प्रहार गरेकोमा तत्काल उठेको रिसबाट अन्धो भई आफुसँग भएको छुरी प्रहार गर्दा हाङचुपन मर्न गएकोमा ज्यानसम्बन्धीको १३ (१) बमोजिम सजाय गर्दा ज्यादै नै चर्को हुने देखिन्छ । यस्तै अवस्थाको निमित्त अ.बं.१८८ नम्बरको ऐनले अदालतलाई सजाय घटाउने अख्तियार प्रदान गरेको हो । तसर्थ सो ऐनबमोजिम याम्फी खम्पालाई दशबर्ष मात्र कैद लाग्ने गरी सजाय घटाइएको छ भन्ने माननीय न्यायाधीश ईश्वरीराजको राय भएबाट अभियुक्त याम्फी खम्पालाई अ.बं.१८८ नं. बमोजिम सजाय घटाउने वा नघटाउने भन्ने विषयमा नै मुख्य मत विभाजन भएको देखियो ।

      २३.   याम्फीले बुद्धि पुर्‍याएर कुनै इवी साधन निमित्त यो खुन गरेको होइन भन्नेमा सहमत हुँदै हाङचुपनले ढुड्डा हानेको झोकले आफ्नो कम्मरमा रहेको छुरी झिकी प्रहार गरेको हुनाले ज्यानसम्बन्धीको १४ नं. लागू गर्नालाई पनि प्रस्तुत मुद्दामा उक्त १४ नं. ले बाहेक गरेको हतियार र छुरी प्रहार गरी हाङचुपनलाई मारेको हुनाले उक्त १४ नं. लाग्न नसक्ने स्थिति पैदा भएको विषयमा माननीय न्यायाधीश श्री हेरम्बराजले विवेचना गर्नु भएको देखिन्छ । ज्यान मार्नाको मनसाय नभएको र आफुलाई समेत मरणान्तसम्मको चोट प्रहार गरेकोमा तत्काल उठेको रिसबाट अन्धो भई आफुसँग भएको छुरी प्रहार गर्दा हाङचुपन मर्न गएको भनी माननीय न्यायाधीश श्री ईश्वरीराजले आफ्नो रायमा उल्लेख गर्नु भएको छ । यसप्रकार वारदात भएको अवस्था र परिस्थितिको सम्बन्धमा दुवै माननीय न्यायाधीशहरूको विभिन्न दष्टिकोण भएको र सो अवस्था र परिस्थितिमा सजाय घटाउनु पर्ने हो, होइन भन्नेमा मात्र विवाद उठेको छ । मार्ने र मारिएका दुवैको श्वासबाट मादक पदार्थको गन्ध आएको भन्ने भनी अस्पतालको रिपोर्टमा उल्लेख भएको र परस्परमा विवाद उठी झगडा परी रिस थाम्न नसकी याम्फी खम्पाले छुरा प्रहार गर्दा हाङचुपन मारिएको वारदात र परिस्थिति विचार गर्दा विषय परिस्थितिमा हाङचुपन मारिएको देखिन्छ । यसै स्थितिमा छुरी जस्तो हतियार प्रयोग गरी मारेको ज्यानसम्बन्धीको १४ नं. लागू हुने स्थिति नपरी उक्त महलको १३ (१) बमोजिम पूरा सजाय गर्नु पर्दा चर्को हुने र अ.बं.१८८ नं. बमोजिम अपराध गरेको अवस्था विचार गरी चर्को हुने भएको सजाय घटाउन सकिने भएकोले याम्फी खम्पालाई १० वर्ष कैद लाग्ने गरी सजाय घटाउने माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्रको राय मनासिव ठहर्छ । तपसीलमा देखिएको कुरामा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनू ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम ठहरिएकोले देहायको प्रतिवादीको देहायबमोजिम गर्नु प्रतिवादी याम्फी खम्पाकै, मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३४।२।४ को फैसलाले सर्वश्व सहित जन्मकैद गर्ने गरेकोमा अब सो लगत कट्टा गरी दिने, माथि लेखिएबमोजिम लाग्ने ठहरेको कैद वर्ष १० दश निज थुनामा रहेकोले कानूनबमोजिम असुल गर्नु भनी का.जि. अ. मा लगत दिने..................१

प्रतिवादी ताक्ला ठकुरीकै, मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३४।२।४ को फैसलाले ज्यानसम्बन्धीको १७ (२) नं. बमोजिम कैद वर्ष ५ सजाय गर्ने गरेकोमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको मिति ०३४।११।२५।४ को फैसलाले रिहाई पाउने ठहराएको देखिएकोले सो पाँच वर्ष कैद गर्ने गरेको क्षेत्रीय अदालतको लगत काटी थुनाबाट छाडिदिनू भनी का.जि. अ. मा लगत दिने.................२

थुनामा रहेको याम्फी खम्पा र ताक्ला ठकुरीलाई यो फैसला भएको सूचना दिनु यो फैसला भएको जानकारी निमित्त महान्यायाधीवक्ताको कार्यालयमा फैसलाको प्रतिलिपि पठाइदिनू................३

 

हाम्रो सहमति छ ।

 

न्या. धनेन्द्रबहादुर सिंह

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३५ साल आषाढ २० गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु