निर्णय नं. ३९७४ - वाक तथा प्रकाशन स्वतन्त्रता

निर्णय नं. ३९७४ ने.का.प. २०४६ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको फौ.पु.नं. ४७८
फैसला भएको मिति : २०४६।८।१९।२ मा
पुनरावेदक/वादी : प्र.ना.उ. अनन्तराम भट्टराईको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : कालिकोट जिल्ला सिउना गा.पं. वा.नं. ५ का प्रेम कैदी
मुद्दा : वाक तथा प्रकाशन स्वतन्त्रता
§ वादीले लिएको दावीको समर्थन हुने स्वतन्त्र आधार प्रमाणको अभावमा वाक तथा प्रकाशन स्वन्त्रता ऐन, २०३७ को दफा २ को उपदफा (३)(ग) विपरीत कसूर गरेको ठहर्याई प्रतिवादीलाई जरीवाना गरेको इन्साफ बदर गर्ने गरी गरेको इन्साफ मिलेकै देखिँदा सदर हुने ।
(प्रकरण नं. १३)
पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र वस्नेत
फैसला
न्या. पृथ्वीबहादुर सिंह : म.क्षे.अ. को फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षेप व्यहोरा यस प्रकार छ ।
२. वर्ष ३ अङ्क १६ मिति २०४०।२।१४ को बाँकेको युगधारा साप्ताहिक पत्रिकाको पहिलो पानामा आइ.जि. पी. राजीनामा स्वीकृति ८ पेज हेर्नुहोस भन्ने छापी पाना नं. ८ मा एक विश्वत सुत्रले प्रहरी महानिरीक्षक डि.वी. लामाले दिएको राजीनामा स्वीकृत भएको र आउँदो २० गते भित्र रत्नशमशेर राणा प्रहरी महानिरीक्षक भइसक्ने भनेको छ । उक्त सुत्रका अनुसार एक शक्तीशाली गिरोहले भक्तपुरको राजा भुपतेन्द्र मल्लको शालिक चोर्न असफल प्रयास गरेको काण्डकै सिलसिलामा प्रहरी उपरीक्षक रुपक शर्मा पछि अब आइ.जि. पी.लामाले पनि राजीनामा दिएका छन भनिन्छ । आइ. जि. पी. लामा यस पछि बद्रीप्रसाद श्रेष्ठको ठाउँमा जापानको राजदूत बनाइने छन् भन्ने समाचार छापी श्री ५ को सरकारको नेपाल प्रहरी फोर्सको प्रमुख पदमा रहनु भएका व्यक्तिको नभएको नगरेको राजीनामा स्वीकृत भयो भनी झुठ्ठा कुरा प्रसार गरी प्रहरीलाई भड्काई देशको सुरक्षा र शान्ति लगायतमा भ्रम फैलाई समाचार प्रकाशित गरेको पत्रिका यसैसाथ दाखिल गरेको छु । नेपालबन्द, सत्याग्रह समेत व्यवस्था विरोधी विभिन्न किसिमका क्रियाकलाप चलिरहेको वर्तमान स्थितिमा सम्पूर्ण प्रहरी फोर्सलाई नै आफ्नो कर्तव्यबाट विचलित गराउने दूष्प्रयास गरी वाक तथा प्रकाशन स्वतन्त्रता ऐन, २०३७ को दफा २ अन्तर्गतको कसूर गरेको देखिन आएकोले सो पत्रिकाको सम्पादक तथा प्रकाशक प्रेम कैदी उपर सोही ऐनको दफा ४ बमोजिम हदैसम्म सजायँ गरिपाउँ भन्ने समेत प्र.ना.उ. अनन्तराम भट्टाराईको मिति २०४२।२।१५ को जाहेरी दर्खास्त ।
३. जनमानसमा चलेको टिकाटिप्पणीको आधारमा आई.जी.पी.डि.वी. लामाको राजीनामा स्वीकृत भएको भनी छापेको हुँ । तर सो राजीनामा स्वीकृत भएको भनी ठोकुवा गरी छापेको छैन । राजा भुपतिन्द्र मल्लको शालिक चोर्न असफल प्रयास गरेको काण्ड एक डेढ महिना अगाडि नेपाल भूमि, डेली डायरी लगायत थुप्रै पत्रिकाहरुले भक्तपुरमा एक शक्तिशाली गिरोहले राजा भुपतिन्द्र मल्लको शालिक डोजर लगाएर उखेलेर चोरी गर्न खोज्दा स्थानीय जनता र प्रहरीले बचाएको समाचार ती पत्रपत्रिका हेरेमा स्पष्ट हुने छ र सहयोगी समाचार पत्रिकाहरुको टिप्पणी र जनमानसमा पर्न गएको प्रभावलाई मैले लेखेको हुँ । रुपकराज शर्माले राजीनामा दिए नदिएको मलाई थाहा छैन । यस्तो समाचारबाट जनता र प्रहरी फोर्समा कुनै प्रकारको भ्रम फैलाउने मनसाय छैन । आइ.जी.पी. को राजीनामा दिनु पर्ने कारण खुलाउन सक्दिन । त्यस काण्ड बारे मैले जे जति कुरा जनमानसमा सुनें त्यही कुरा छापेको हुँ । सो समाचारमा गैरकानुनी मनसाय राखेको छैन भन्ने समेत व्यहोराको प्रेम कैदीले प्रहरीमा गरेको बयान कागज ।
४. आइ.जि. पी. डि.वि. लामाको राजीनामा स्वीकृत भनी भ्रामक समाचार प्रकाशित गरी प्रहरी फोर्समा भ्रम र अन्यौलको वातावरण सृजना गरी सम्पादक तथा प्रकाशक प्रेम कैदीले झुठ्ठा समाचार प्रकाशित गरेको हो भन्ने समेत शिवबहादुर समेतका व्यक्ति र आइ.जि. पि. लामाले राजीनामा दिएका छन् भनिन्छ भन्ने समेत व्यहोराको खबर छापिएको कुराले प्रहरी फोर्स भड्काउने नियतले गरेको भन्ने कुरा देखिँदैन । केवल जनमानसमा चर्चा चलेको कुरालाई मात्र निज प्रेम कैदीले आफ्नो पत्रिकामा अभिव्यक्त गरेको होलान् । यस्तो समाचारले प्रहरी फोर्स जस्तो संस्थाको अनास्था हुने वा भड्काउने सम्भावनाको प्रश्नै उठ्न सक्दैन भन्ने समेत व्यहोराको राजेन्द्रप्रकाश मैनाली समेत व्यक्तिहरुको लेखाई भएको सरजमीन मुचुल्का ।
५. प्रहरी फोर्सलाई नै आफ्नो कर्तव्य पालनबाट विचलित गराई व्यवस्था विरोधी तत्वहरुलाई व्यवस्था र सरकार विरोधी कृयाकलापमा सघाउ पुर्याउने उद्देश्यले उपरोक्त उल्लेखित समाचार छापी प्रकाशित गरी प्रहरी कर्मचारीलाई भड्काई देशको सुरक्षा र शान्ति व्यवस्था लगायत नेपाल प्रहरी फोर्समा भ्रम फैलिन भड्कन गई कर्तव्यबाट समेत विचलित गराउने गरी अभियुक्त प्रेम कैदीले प्रतिवेदन जाहेरीमा लेखिए बमोजिम वाक तथा प्रकाशन स्वतन्त्रता ऐन, २०३७ को दफा २ को (३)(ग) अन्तर्गत कसूर अपराध गरेको सिद्ध हुन आएको छ । अतः निज अभियुक्त प्रेम कैदीलाई ऐ. ऐनको दफा ४(२) अनुसार कारवाही गरी सजायँ गरिपाउँ भन्ने समेत माग दावी गरिएको प्रहरी प्रतिवेदन ।
६. अभियोग पत्रमा उल्लेखित समाचार मैले आफ्नु सम्पादकत्वमा चलाइएको युगधारा पत्रिकामा प्रकाशित गरेको उक्त समाचार जनसमक्ष चलेको चर्चाहरुको संकलन हो । यो समाचार प्रकाशनबाट म उपर लगाइएको ऐनको उल्लंघन भएको छैन । जनताले प्रहरी महानिरीक्षकले राजीनामा दिए भन्नु वा स्वीकृत भयो भन्नु प्रचलित कानुनद्वारा निषेधित भएको कुरा होइन । रुपक शर्माले राजीनामा दिए भनी जनताले चर्चा गर्नुबाट कुनै कानुनी वा सामाजिक मर्यादामा आघात पर्दैन, भुपतिन्द्रको शालिक चोर्ने प्रयास गरेको कुराको पनि कुनै निश्चित आधार छैन तर जनमानसमा यसको पनि व्यापक प्रचार छ । रुपक शर्माले मूर्ति चोरी गर्ने शक्तिशाली गिरोहलाई निरुत्साहित गर्न खोजेको हुनाले रुपक शर्माले राजीनामा दिनु परेको र आइ.जी.पी. लामाले पनि त्यसै कारण र सिलसिलामा राजीनामा दिएको भनी जनमानसमा परेको आफ्नो मातहतको अफिसरको राजीनामाको कारणले गर्दा आइ.जि. पी.ले पनि राजीनामा दिनु परेको हो भनी जनमानसमा परेको परिचर्चा मैले प्रकाशमा ल्याएको हो भन्ने समेत व्यहोराको प्र.प्रेम कैदीले बागमती विशेष अदालतमा गरेको बयान ।
७. शान्ति सुरक्षा कायम गर्नु पर्ने प्रहरी कर्तव्यबाट विचलित भएमा देशको शान्ति व्यवस्थामा ठुलो असर पर्ने हुँदा त्यस्तो अपराधीलाई गम्भीर अपराधको संज्ञा दिन पर्ने हुन आउँछ । तथ्य प्रमाणको आधारमा प्रतिवादी प्रेम कैदीले वाक तथा प्रकाशन स्वतन्त्रता ऐन, २०३७ को दफा २ को देहाय ३(ग) विपरीत गरी प्रहरीलाई कर्तव्यबाट विचलित हुने गरी भड्काउने कुराको समाचार प्रकाशन गरी उक्त ऐनको विपरीत कसूर गरेको देखिएकोले निज प्र.प्रेम कैदीलाई सोही ऐनको दफा ४(२) अनुसार रु. ६,०००।– (छ हजार) जरीवाना हुने ठहर्छ भन्ने समेत बागमती विशेष अदालतको मिति २०४२।२।२१ को फैसला ।
८. बा.वि.अ. को फैसलामा चित्त नबुझी प्रत्यर्थी प्रतिवादीको म.क्षे.अ.मा पुनरावेदन परेकोमा अ.बं. २०२ नं. बमोजिम झ.झी. गरिएको छ भन्ने समेत म.क्षे.अ. संयुक्त इजलासको मिति २०४४।२।१४ को आदेश ।
९. युगधारा साप्ताहिक वर्ष ३ अङ्क १६ मा आइ.जि. पी. राजीनामा भन्ने तत्कालिन आइ.जी.पी.डि.वि. लामाले राजीनामा दिनु भएको तथा त्यस ठाउँमा रत्न शमशेर राणा आइ.जि. पी. हुने सम्भावना रहेको भन्ने समेतको समाचारबाट प्रहरी कर्मचारीलाई भड्काई देशको शान्ति सुरक्षा व्यवस्था लगायत नेपाल प्रहरी फोर्समा भ्रम फैलिई भड्कन गई कर्तव्यबाट विचलित गराउने कार्य भएको भन्ने प्रहरी प्रतिवेदन दावी भएको तर के कुन आधारबाट कर्तव्य विचलित गराउन खोजेको हो दावीमा नखुलेको सरजमीनबाट पनि सो पुष्ट्याई हुन नसकेको साथै उक्त प्रकाशनमा सत्यता नरहेको भन्नेतर्फ दावी लिएको ऐन भित्र सो अनुसारको बन्देज रहेको भन्ने प्रष्ट्याई हुने सबूद प्रमाणबाट समर्थित हुनसकेको पनि देखिएन । वादीले लिएको दावी प्रमाणित हुने स्वतन्त्र आधार प्रमाण समेतको अभावमा वाक तथा प्रकाशन स्वतन्त्रता ऐन, २०३७ को दफा २ को उपदफा ३(ग) विपरीत कसूर गरेको ठहर्याई रु. ६,०००।– जरीवाना गरेको बागमती विशेष अदालतको इन्साफ मिलेको नदेखिँदा बदर भई उल्टी हुन्छ भन्ने समेत म.क्षे.अ. संयुक्त इजलासको मिति २०४४।३।२८ को फैसला ।
१०. म.क्षे.अ. ले प्रकाशित सामाग्रीको गलत व्याख्या गरी बुझ्नु पर्ने प्रमाण नबुझी गरेको फैसला त्रुटिपूर्ण छ भनी वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
११. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागज प्रमाण हेरी पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेतले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१२. अब यसमा म.क्षे.अ.ले गरेको निर्णय मनासिब बेमनासिब के रहेछ सो को निर्णय दिन परेको छ ।
१३. निर्णयतर्फ विचार गर्दा यसमा मिति २०४२।२।१४ गते प्रकाशित युगधारा साप्ताहिक वर्ष ३, अङ्क १६ मा आइ.जी.पी. राजीनामा भन्ने तत्कालिन आइ.जि. पी.डि.वी. लामाले राजीनामा दिनु भएको तथा त्यस ठाउँमा रत्नशम्शेर राणा आइ.जी.पी. हुने सम्भावना रहेको भन्ने समेतको समाचारबाट प्रहरी कर्मचारीलाई भड्काई देशको शान्ति सुरक्षा व्यवस्था लगायत नेपाल प्रहरी फोर्समा भ्रम फैलिई भड्कन गई कर्तव्यबाट विचलित गराउने कार्य भएको भन्ने प्रहरी प्रतिवेदन दावी भएकोमा त्यस प्रकारको भ्रम फैलाउने मेरो मनसाय नरहेको जनमानसको चर्चासम्म प्रकाशित गरेको भनी अधिकारप्राप्त अधिकारी समक्ष र जनमानसको चर्चासम्म हो, ऐनको उल्लंघन भएको छैन भनी अदालतमा समेत प्रतिवादीले बयान गरेको देखिन्छ । उक्त समाचारले कसरी र कुन कुन आधारमा कर्तव्यबाट विचलित गराउन खोजेको हो प्रहरी प्रतिवेदनमा खुलाउन सकेको पाइदैन । साथै त्यतिकै भरमा प्रहरी फोर्स भड्किने स्थिति नरहेको भनी सरजमीनका व्यक्ति राजेन्द्र मैनालीले भनेकोबाट सो दावी पुष्ट्याई हुन नसकेको यस स्थितिमा वादीले लिएको दावीको समर्थन हुन स्वतन्त्र आधार प्रमाणको अभावमा वाक तथा प्रकाशन स्वतन्त्रता ऐन, २०३७ को दफा २ को उपदफा (३)(ग) विपरीत कसूर गरेको ठहर्याई प्रतिवादीलाई रु. ६,०००।– जरीवाना गरेको बागमती विशेष अदालतको इन्साफ बदर गर्ने गरी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल मार्ग १९ गते रोज २ शुभम् ।