शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११४५ - हकसफा

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. ११४५     ने.का.प. २०३५

फुल बेञ्च

सम्मानीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३५ सालको दे.फु.नं. २९

फैसला भएको मिति : २०३५।४।१३।६ मा

निवेदक : का.जि. बटुटोल १०।४०७ को घरमा बस्ने चित्रकुमारी मुडवरी

विरुद्ध

विपक्षी : ल.पु.जि. न.पं. वडा नं. ३ पाटनढोका बस्ने पदमकुमारी

मुद्दा : हकसफा

(१)   निखन्ने अधिकारको दावी गर्ने व्यक्ति खरिद गर्ने व्यक्ति भन्दा नजिकको हकवाला हुनुपर्ने । निखन्ने हकको सृष्टि नै नजिकको हकवालाको रुपमा हुने भएकोले समान हकवालाहरू मध्ये एउटाले खरिद गरेको सम्पत्ति अर्को हकवालाले निखन्ने प्रश्नै नउठ्ने ।

(प्र.नं. १३)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली

उल्लिखित मुद्दा :   

फैसला

            न्या. विश्वनाथ उपाध्याय : सर्वोच्च अदालत डिभिजन बेञ्चबाट प्रस्तुत मुद्दामा लेनदेनको महलको ११ नं. को विषयमा सो सार्वजनिक महत्वको कानूनी प्रश्न उपस्थित भएकोले त्यसको निराकरणको लागि सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ को देहाय खण्ड (घ) बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

            २.    तथ्य यसप्रकार छ : सु. शिवलाल मुडभरीको २ श्रीमती मध्ये जेठी चित्रकुमारी कान्छी म पदमकुमारी भएको जठी पट्टि गोविन्दप्रसाद हरिप्रसाद २ र म तर्फ राममणि १ छोरा जायजन्म भएको हामीहरूको बीच ०१६।११।१७ मा अंशवण्डा पास भएको छ । बण्डापत्र अनुसार पतिले अंश ज्यूनी दिनु भएको शेषपछि वाँडी खाने जनिएको सम्पत्ति अतिरिक्त, बटुको २ जनाले ४ तले घर त्यसैमा जोडिएको १ नाले बाँके ४ तले पक्की घर १ र चोकसमेत जेठी पत्नी चित्रकुमारीलाई ०३१।२।२७ मा रु.५,०००। मा बिक्री गरी रजिष्ट्रेशन पास गरी दिनु भएकोले ०३१।४।२ मा का.मु.प्र.का.बाट नक्कल सारी थाहा पाएकोले थैली रु.५,०००। धरौटी राखी लेनदेन व्यवहारको १४ नं. को म्याद भित्र दरखास्त दिन आएको छु । निखनाई पाउँ भन्ने पदमकुमारीको दरखास्त ।

            ३.    सो घर राजीनामा फार्छे गरी लिएको नभई छोडपत्रबाट मैले पाएको हुँदा निखन्न दिनु नपर्ने, बिक्री नै ठहर्ने भए पनि लेनदेन व्यवहारको ११ नं. ले म विवाहिता जेठी पत्नी भई अर्को नजिक हकवाला नहुनाले निखन्न दिनु नपर्ने भन्नेसमेत चित्रकुमारी मुडभरीको वारेस किर्तिनाथ उपाध्यायको कागज ।

            ४.    लेनदेन व्यवहारको ११ नं. मा बिक्री गरेमा मात्र निखन्न पाइने व्यस्था भएको तर छोडपत्र भएकोमा निखन्न दिने व्यवस्था भएको नहुनाले निखन्न पाउने ठहर्देन भन्नेसमेत भूमिप्रशासन कार्यालय काठमाडौंको फैसला ।

            ५.    कानूनको व्याख्या गरी इन्साफ गर्ने अधिकार भूमिप्रशासनलाई नभएकोले सो फैसलामा चित्त बुझेन भन्नेसमेत पदमकुमारी मुडभरीको पुनरावेदन ।

            ६.    उल्लिखित छोडपत्रबमोजिमको घर पदमकुमारीले निखन्न पाउने ठहर्छ भन्नेसमेत जिल्ला कार्यालय काठमाडौंको फैसला ।

            ७.    कानूनको त्रुटि गरी फैसला गरेकोले पुनरावेदन गर्न अनुमति पाउँ भनी चित्रकुमारीको निवेदनमा पुनरावेदनको अनुमति दिएको छ भन्नेसमेत म.क्षेत्रीय अदालतको आदेश।

            ८.    इन्साफ जि. का.काठमाडौंको मनासिव ठहर्छ भन्ने म.क्षे.अ.डिभिजन बेञ्चको फैसला।

            ९.    रजिष्ट्रेशनको १ नं. लेनदेन व्यवहारको ११ नं. कानूनको त्रुटि गरी फैसला गरेको हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्नेसमेत चित्रकुमारीको निवेदन परेकोमा न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (५) को देहाय खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।

            १०.    घर खरिद गरी दिने प्र.चित्रकुमारी र निखनाई पाउँ भन्ने वादी पदमकुमाारी समान स्तरका हकदार भएको समान स्तरको हकदारले खरिद गरेकोमा समान स्तरका हकदारले निखन्न नपाउने कुराको लेनदेन व्यवहारको ११ नं. मा किटान साथ व्यवस्था भएको देखिन आएन, नजिकवालाले किनेकोमा...टाढाको अर्को हकवालाले किन्न पाउँदैंन भनी उल्लेख भएबाट बेच्नेको नजिक हकवालाले निखन्न पाउने व्यवस्था गरेको देखिन्न । बेच्नेको समान स्तरका हकदार मध्येकाले खरिद गरेकोमा निखन्न नपाउने व्यवस्था प्रकट रुपमा गरेको देखिन्न र लेनदेन व्यवहारका ११ नं. मा निखन्न पाउनेको हकको मूलतया सृष्टि गरेको हुनाले पनि समान स्तरकाले खरिद गरेकोमा समान स्तरकाले निखन्न पाउँछ पाउँदैन भन्ने एउटा कानूनी प्रश्न उपस्थित भएको छ । उक्त ऐनले नजिक हकदारले किनेकोमा टाढाकोले नकिन्न नपाउने भन्ने प्रतिबन्ध लगाएको छ । एउटा पत्नी नजिकको हकवाला हो भने अर्को पत्नी पनि समानरुपले नजिकको हकवाला हो । अतः उक्त कानूनले लगाएको प्रतिबन्ध भित्र यो मुद्दा पर्न आएको देखिँदैन तर एउटा नजिकको हकवाला पत्नीले किनेकोमा निखनी लिनलाई सो भन्दा नजिकको अर्को हकवाला हुनु पर्‍यो तर दुई पत्नी मध्ये अर्को पत्नी नजिकको हकवाला पनि भएन र टाढाको हकवाला पनि भएन । यस्तो अवस्थामा समान स्तरका वादी लेनदेन व्यवहारको ११ नं. अनुसार निखनी लिन पाउने नपाउने भन्ने प्रश्नको निराकरणबाट यसप्रकारका अरू मुद्दाहरूमा पनि एउटा नजिर स्थापित भई सुनिश्चित मार्ग प्रर्दशन हुुने भएकोले यो सार्वजनीक महत्वको विषय हुन आएको छ र प्रस्तुत मुद्दामा समान स्तरका हकदारले खरिद गरिलिएको घर समान स्तरका हकदारले निखन्न पाउने नपाउने भन्ने विषयमा कानूनी अडवड पर्न गई जटिल कानूनी प्रश्न उपस्थित हुन आएको देखिनाले सो कानूनी प्रश्नको फुल बेञ्चबाट निराकरण हुन उपयुक्त देखिँदा स.अ.नियमावली, २०२१ (संसोधन) सहितको नियम ३३ को देहाय खण्ड (घ) बमोजिम फुल बेञ्चमा पेशगर्नु भन्ने मिति ०३४।१२।८।३ को डिभिजन बेञ्चको आदेश ।

            ११.    निवेदक तर्फबाट उपस्थित हुनुभएका अधिवक्ता ठाकुरप्रसाद खरेलले लेनदेनको ११ नं. को अन्तिम वाक्यांशमा उल्लेख भएबमोजिम नजिकको हकवाला निवेदकले किनेकोमा यस नं. बमोजिम विपक्षीले निखन्न पाउने देखिँदैन भन्नु भयो ।

            १२.   विपक्षी तर्फबाट उपस्थित हुनु भएका वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवालीले लेनदेनको महलको ११ नं. मुलतः निखनी लिने सम्बन्धमा भएको व्यवस्था हो । उक्त नं. को अन्तिम वाक्यांशमा गरिएको अपवाद स्वरुपको व्यवस्थाले पनि नजिकको हकवालालाई उक्त नं. बमोजिम निखनी लिनबाट रोकेको देखिन्न भन्नु भयो ।

            १३.   यसमा निर्णयतर्फ विचार गर्दा समानस्तरका हकदारले खरिद गरेको अवस्थामा मुलुकी ऐन लेनदेन महलको ११ नं. बमोजिम समानस्तरका अर्का हकदारले निखन्न पाउने हो होइन भन्ने नै मुख्य निर्णय गर्नुपर्ने विषय देखियो । प्रस्तुत मुद्दामा बेच्नेको एउटी पत्नी चित्रकुमारीले किनेको र अर्की पत्नी विपक्षी वादी पदमकुमारीले निखन्न पाउँ भनी दावी गरेको देखिन्छ । यस सम्बन्धमा मुलुकी ऐन लेनदेन व्यवहारको तत्काल प्रचलित ११ नं. को कानूनी व्यवस्था हेर्दा कसैले आफ्नो हक पुग्ने चल अचल गैह्र बिक्री गरेकोमा निजको कुनै हकवालाले सो सम्पत्ति निखनी लिन चाहेमा सो बेचे किनेको लिखत रजिष्ट्रेशन भएको मितिले पैंैतिस दिन भित्र सो हकवालाले निखनी लिन पाउँछ । सो म्याद नाघेपछि किने बेचेको पक्का हुन्छ । एकाघर सगोलमा मुख्यले थाहा पाएकोमा सगोलमा भएका सबै हकदारले थाहा पाएको ठहर्छ । हकवालाले निखनी लिन पाउने अवस्थामा धेरै हकवालाले निखन्न चाहेमा सबैभन्दा नजिकको हकवालाले र त्यस्तो नजिकको वरावरको हकवालामा पनि धेरैले निखन्न चाहेमा सो मध्ये सन्धीसर्पन पर्ने हकवालाले र त्यस्तो सन्धीसर्पन पर्ने हकवाला नभए नजिकको वरावरको हकवालामा सबैले दामासाहीले निखन्न पाउँछन । नजिकको हकवालाले किनेकोमा भने यस नम्बरबमोजिम टाढाको अर्को हकवालाले निखन्न पाउँदैन भन्ने लेखिएको पाइन्छ । पारिवारिक वा पुख्र्यौली सम्पत्ति यथासंभव परिवार भित्रै रहोस भन्ने साधारणतः प्रत्येक मानिसको इच्छा हुन्छ । त्यसैले परिवारको कुनै सदस्य वा एउटै पुर्खाको कुनै सन्तानले त्यस्तो कुनै सम्पत्ति अरूलाई बिक्री गरिहाल्यो भने पनि परिवारको कुनै सदस्य वा उसै पुर्खाको अर्को सन्तानले सो सम्पत्ति खरिद गर्ने व्यक्तिलाई उसले तिरेको बिक्रीमोल बुझाएर सम्पत्ति फिर्ता लिन पाओस भन्ने उद्देश्यले कानूनले निखन्ने अधिकारको व्यवस्था गरेको हुुन्छ । मुलुकी ऐन लेनदेन व्यवहारको साविक ११ नं. ले पनि यसै उद्देश्यको परिपूर्तिको लागि उपर्युक्त व्यवस्था गरेको हो । एकै परिवारको सदस्य वा एकै पुर्खाका सन्तानहरूमा पनि सबैभन्दा नजिकको हकवालाले निखन्ने अधिकारमा प्राथमिकता पाउने कुरा स्वाभाविक नै हो । त्यसैले नजिकको हकवालाले किनेकोमा टाढाको हकवालाले निखन्न नपाउने व्यवस्था उक्त ११ नं.मा प्रष्टरुपमा गरिएको पाइन्छ । निखन्ने अधिकारको दावी गर्ने व्यक्ति खरिद गर्ने व्यक्ति भन्दा नजिकको हकवाला हुुुनुपर्ने उक्त ११ नं. को मनसाय प्रष्ट छ । निखन्ने हकको सृष्टि नै नजिकको हकवालाको रुपमा हुने भएकोले समान हकवालाहरू मध्ये एउटाले खरिद गरेको सम्पत्ति अर्को हकवालाले निखन्ने प्रश्नै उठ्दैन । त्यो कुरा न त निखन्ने अधिकारमा निहित उपर्युक्त सिद्वान्तसँग मेल खान्छ न त्यस सम्बन्धमा कानूनले नै कुनै व्यवस्था गरेको छ । प्रस्तुत विवादमा निखन्न माग्ने विपक्षी वादी र खरिद गर्ने पुनरावेदक प्रतिवादी दुवै बेच्नेको पत्नीहरू भएकोले निजहरूलाई लेनदेन व्यवहारको ११ नं. को प्रयोजनको लागि नजिक वा टाढाको हकवाला भनी छुट्याउन सकिने स्थिति छैन । विवादग्रस्त सम्पत्ति खरीद गरी लिने चित्रकुमारी वादी भन्दा टाढाको हकवाला नभई समानस्तरको नजिकको हकवाला देखिएकोले माथि उल्लेख भएअनुसार उक्त ११ नं. बमोजिम वादीले निखन्न पाउने देखिँदैन । तसर्थ वादीले निखन्न पाउने ठहर्‍याएको जिल्ला कार्यालय काठमाडौंको निर्णय सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको नदेखिएकोले बदर हुने ठहर्छ । निखन्न नपाउने ठहर्‍याएको हदसम्म भूमिप्रशासन कार्यालय काठमाडौंको निर्णय मिलेको छ । तपसीलमा लेखिएकोमा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनू ।

 

तपसील

प्रतिवादी पुनरावेदक चित्रकुमारीकै माथी इन्साफ खण्डमा लेखिएबमोजिम ठहरिएकोले देहायको कलममा देहायबमोजिम गर्ने जिल्ला अदालत काठमाडौंको ०३२।९।१८ को फैसलाले रु.१८।७५ पदमकुमारीलाई भराई दिने कोष तथा तपसील कार्यालयमा लगत दिने गरेकोमा हाल सोबमोजिम गर्नु परेन व्यहोरा जनाई लगत काटिदिन भनीकोष तथा तहसिल कार्यालयमा लेखी पठाउनु काठमाडौं जिल्ला अदालत तहसिल फाँटमा लगत दिनु..........१

मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन दर्ता गर्दा राखेको कोर्टफी रु.३३। समेत रु.५१।७५ एकाउन्न रुपैंया पचहत्तर पैसा वादीबाट भरी पाउने हुदाँ भराई पाउँ भनी वादी वादीको जायजात देखाई कोर्टफी ऐन, २०१७ को दफा (११) को म्याद ३ वर्ष भित्र दरखास्त दिए कानूनको रीत पुर्‍याई भराई दिनु भनी काठमाडौं जिल्ला अदालत तहसिल फाँटमा लगत दिनु.....................२

 

हामीहरूको सहमती छ ।

 

प्र.न्या. नयनबहादुर

न्या. इश्वरीराज मिश्र

 

 

इति सम्वत् २०३५ साल श्रावण १३ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु