निर्णय नं. ३९८७ - ठगी

निर्णय नं. ३९८७ ने.का.प. २०४६ अङ्क ११
पूर्ण इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको फौ.पु.इ.नं. २४
फैसला भएको मिति : २०४६।११।२३।३ मा
स.अ.डि.बे.को फैसला मिति : २०४२।१२।८
निवेदक/प्रतिवादी : सिंधुली जिल्ला सिद्धेश्वर गा.पं. वडा नं. ७ बस्ने टेकबहादुर खड्का
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ.बस्ने बमबहादुर खड्का
मुद्दा : ठगी
§ फैसलाको राय खण्ड र तपसील खण्डको व्यहोरा बाझिएमा राय खण्डमा उल्लेखित कुरा नै कायम हुने ।
(प्रकरण नं. १४)
§ बिक्री गरेको क्षेत्रफल र कैफियत महल बाझिएमा बिक्री गरिएको क्षेत्रफल महलमा लेखिएको कुरालाई नै मान्यता दिनु पर्ने ।
(प्रकरण नं. १४)
§ प्रतिवादीले बढी जग्गा देखाई धेरै जग्गाको मोल लिई थोरै जग्गा मात्र पास गरी दिई ठगी गरेको भन्न नमिल्ने ।
(प्रकरण नं. १४)
निवेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
प्रत्यर्थी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पवनकुमार ओझा
फैसला
न्या. पृथ्वीबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा यस सर्वोच्च अदालत संयुक्त इजलासबाट २०४२।१२।८ मा भएको फैसला दोहोर्याई हेरी दिनु भनी हुकुम प्रमांगी बक्स पाउँ भनी प्रतिवादी टेकबहादुर खड्काले न्यायिक समिति मार्फत चढाउनु भएको बिन्तिपत्र र न्यायिक समितिद्वारा चढाई पठाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्याई दिनु हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदवारबाट मिति २०४३।१२।२२ मा लेखी आए अनुसार यस सर्वोच्च अदालत पूर्ण इजलास लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. विपक्षीले गरी दिनु भएको राजीनामा रजिष्ट्रेशनको कैफियत खण्डमा जग्गा विगाहा ०–९–७ सर्भेमा नापी दर्ता मेरै नाउँमा भएको छ भनी ७,०००।– मोल लिनु भई मलाई झुक्याई गफलतमा पारी आफूलाई फाइदा मलाई नोक्सान हुने गरी ०–५–१७ लाई दामासाहीले पर्न सक्ने मोल रु. ४,३७९।७३ नभएको जग्गा छ भनी झुक्याई ठगी गर्ने विपक्षी टेकबहादुरबाट उक्त ठगी गरेको ४,३७९।७३ मलाई दिलाई भराई ठगीका ४ नं. ले हुनसक्ने सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको बमबहादुर खड्काको फिरादपत्र ।
३. वादी दावी अनुसार धेरै जग्गा देखाई रुपैयाँ लिई थोरै जग्गा वादीलाई दिएको होइन राजीनामा पारित गरी दिनु भइसकेपछि कि.नं. २०८ को कित्तालाई फोरी २ कित्ता पारी कि.नं. २०८ मा ०–३–१ र कि.नं. २०७ मा ०–४–१३ पारी श्रीमती मोहनमायाको नाउँमा दर्ता गराएको होइन । घटी जग्गा रहेछ भनी ठगीमा दावी गर्न लेनदेन व्यवहारको २३ नं. ले नपाउने हुँदा फिराद खारेज गरी पाउँ भन्ने समेत टेकबहादुरको प्रतिउत्तरपत्र ।
४. राजीनामा कैफियतमा कि.नं. समेत खोली साहु आसामी भई पास गरी लिनु दिनु गरी सकेपछि लेनदेन व्यवहार बमोजिम नै हुने हुँदा कि.नं. २०८ को जग्गामा जग्गा घटी भएको हुँदा प्रतिवादीले नभएको बढी जग्गा देखाई ठगी गरेका फिराद दावी मनासिब नदेखिँदा प्रतिवादीले ठगी गरेको ठहर्दैन भन्ने समेत व्यहोराको सिन्धुली जिल्ला अदालतको मिति २०३८।१२।३० को फैसला ।
५. सिन्धुली जि. अ. को फैसलामा चित्त नबुझेको हुँदा वादी दावी बमोजिम गरी पाउँ भन्ने समेत वादी बमबहादुरको जनकपुर अञ्चल अदालतमा परेको पुनरावेदन ।
६. राजीनामाले पक्रेको ४ किल्ला भित्र कि.नं. २०७, २०८ दुवै कित्ता परेको कुरा मिसिलबाट देखिन आएबाट प्र. टेकबहादुरले सो किल्ला भित्रको जग्गा कि.नं. २०८ भित्रको भनी बिक्री गरेको र कि.नं २०८ को ०–९–७ जग्गा भनी उल्लेख गरी रजिष्ट्रेशन समेत पारित गरेबाट प्रष्ट हुन आएको लालपूर्जा प्राप्त भई नसकेको अवस्थामा लालपूर्जा बमोजिम जग्गाको क्षेत्रफल भिडाउन पाए भन्ने पू.क्षे.अ.को जिकिर बेमनासिब भन्ने स्थिति नभएको र ठगीको १ नं. बमोजिम अपराध प्र. टेकबहादुरले गरेको प्रमाणबाट पुष्टी हुन आएबाट वादी दावी बमोजिम ठगी गरेको ठहर्छ भन्ने समेत जनकपुर अञ्चल अदालतको फैसला ।
७. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने प्र.टेकबहादुरको म.क्षे.अ.मा निवेदन पर्दा पुनरावेदनको अनुमति दिएको छ भन्ने म.क्षे.अ.को सिंगलबेञ्चको आदेश ।
८. ४ किल्ला २०७ र २०८ को राखी कैफियतमा ०–९–७ सम्पूर्ण भनी उल्लेख गरी रजिष्ट्रेशन पास गरी सकेपछि वास्तवमा ०–३–० मात्र राजीनामा गरेको हुँ भन्ने प्र.टेकबहादुरले भनेको भनाई तर्कसंगत नहुँदा ठगी गरेको ठहर्याएमा जनकपुर अञ्चल अदालतको फैसला मनासिब ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
९. उक्त म.क्षे.अ.को फैसलामा समेत चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीले यस अदालतमा दिएको निवेदनमा राजीनामा ज.वि. १–३–१८ मध्ये ०–३–० तीन कठ्ठा मात्र भन्ने उल्लेख भएको हुनाले ठगीको १ नं. को परिभाषा बमोजिम झुक्याएको भन्ने देखिँदैन । लेनदेन व्यवहारको २३ नं. मा चल अचल गैर राजीनामा दृष्टि भोग बन्धक लिई भोग गरेपछि थोरै वा धेरै घटीया रहेछ भनी बिग्रेनासिएमा समेत थैलीमा टण्टा गर्न हुँदैन भनेर लेखिएकै पाइन्छ । उपर्युक्त कारणबाट म.क्षे.अ.को फैसलामा ठगीको १ नं. को त्रुटि देखिएको हुँदा पुनरावेदनको अनुमति दिएको छ भन्ने यस अदालत डिभिजनबेञ्चको आदेश ।
१०. यसमा यिनै पक्ष विपक्ष बीच भएको मिसिल संलग्न राजीनामा हेर्दा १–३–१८ मध्ये ०–३–० जग्गा ७,०००।– मा राजीनामा गरिदिएको भन्ने उल्लेख भएको साथै सोही राजीनामाको कैफियत महलमा सिद्धेश्वर गा.पं. वडा नं. ७ कि.नं. २०८ को ०–९–७ सम्पूर्ण जग्गा भन्ने उल्लेख भएको पाइन्छ । स्वास्नीको नामको जग्गा समेतको चौहदी राखी आफ्नो हक नभएको जग्गा समेत प्र.ले राजीनामा पारित गरेको समेत मिसिल संलग्न कागजातबाट प्रष्ट रुपमा देखिन आएको छ । यसरी राजीनामाको क्षेत्रफल महलमा ०–३–० र कैफियत महलमा ०–९–७ जग्गा भनी उल्लेख गरेकोबाट प्रतिवादीको बदनियत भएको प्रष्ट देखिएको हुँदा ठगीको १ नं. मा उल्लेख भए बमोजिम ठगी गरेको ठहर्याएको जनकपुर अञ्चल अदालतको फैसला सदर गर्ने गरेको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेतको यस सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४२।१२।८।६ को फैसला ।
११. उक्त फैसलामा चित्त बुझेन पूर्ण इजलासबाट दोहोर्याई हेरी दिनु भनी हुकुम प्रमांगी बक्स पाउँ भनी श्री ५ महाराजाधिराजका जुनाफमा प्रतिवादी टेकबहादुर खड्काले न्यायिक समिति मार्फत विन्तिपत्र चढाउनु भएकोमा यसमा राजीनामा लिखतको हकभोग छाडिएको अचल सम्पत्तिको विवरणमा जग्गाको चार किल्ला र क्षेत्रफल भन्ने खण्डमा १–३–१८ मध्ये ०–३–० मात्र भन्ने उल्लेख भएको र उक्त जग्गा सर्भेमा २०८ कि.नं. जनिई सो कित्तामा ०–३–१० जग्गा रहेको देखिँदा देखिँदै वादी दावी बमोजिम प्रतिवादीले ठगी गरेको ठहर्याएको स.अ.संयुक्त इजलासको मिति २०४२।१२।८ को निर्णयमा ठगीको महलको १ नं. र लेनदेन व्यवहारको २३ नं. समेतको त्रुटि भएको देखिन्छ भन्ने समेतको न्यायिक समितिको पर्चा रहेछ ।
१२. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी टेकबहादुर खड्काको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शम्भु थापाले बढी जग्गा देखाई घटी जग्गा लिनु दिनु गरेको होइन । राजीनामा पास हुँदा हक हस्तान्तरण गरेको जग्गाको क्षेत्रफलको महलमा ०–३–० जग्गा भनी स्पष्ट देखाई लिनु दिनु भएको छ तसर्थ ठगी गरेको भन्न मिल्दैन भन्ने समेतको बहस गर्नुभयो । प्रत्यर्थी वादी बमबहादुर खड्काको तर्फबाट बहस गर्न उपस्थित विद्वान अधिवक्ता श्री पवनकुमार ओझाले राजीनामाको कैफियत महलमा कि.नं. २०८ को सम्पूर्ण ०–९–७ जग्गा भनी उल्लेख गरेको छ । मेरो पक्षलाई राजीनामा दिनु अघि यो समस्त जग्गा भनी कि.नं. २०८ सम्पूर्ण देखाई घुमाएको र सो पूरै जग्गाको मूल्य समेत लिइसकेपछि केवल ०–३–० जग्गा मात्र दिएको हुँ भनी ठगी गरेको हुँदा निजलाई सजायँ समेत गरी बढी रकम फिर्ता हुनुपर्दछ भन्ने समेतको बहस गर्नुभयो ।
१३. प्रस्तुत मुद्दामा यस सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४२।१२।८ को इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१४. यसमा निर्णयतर्फ हेर्दा टेकबहादुर खड्का दिने र बमबहादुर खड्का लिने भई गरेको मिति २०३७।१।१९ को राजीनामा लिखत हेर्दा हक छाडिएको अचल सम्पत्तिको विवरण अन्तर्गत क्षेत्रफल महलमा १–३–१८ मध्ये ०–३–० मात्र भनी उल्लेख गरिएको पाइन्छ । सोही राजीनामाको कैफियत महलमा हालै सर्भे नापीमा सिद्धेश्वर आदर्श गा.पं. वडा नं. ७(ग) कि.नं २०८ को सम्पूर्ण जग्गा विगहा ०–९–७ सम्पूर्ण भनी जनाएको देखिन्छ । वास्तविक रुपमा विक्री गरेको जग्गाको क्षेत्रफल महलमा ज.वि. ०–३–० भनी उल्लेख गरिएको र कैफियत महलमा कि.नं. २०८ को सम्पूर्ण ज.वि. ०–९–७ भनी उल्लेख गरेको अवस्थामा कुनलाई मान्यता दिने भन्ने सन्दर्भमा हक छाडी दिएको क्षेत्रफल महलमा उल्लेखित विवरणलाई नै मान्यता दिनुपर्ने हुन्छ । फैसलाको राय खण्ड र तपसील खण्डको व्यहोरा बाझिएमा राय खण्डमा उल्लेखित कुरा नै कायम हुन्छ । त्यस्तै बिक्री गरेको क्षेत्रफल र कैफियत महल बाझिएमा बिक्री गरेको क्षेत्रफल महलमा लेखिएको कुरालाई नै मान्यता दिनुपर्ने हुन्छ । तसर्थ प्रस्तुत विवादको सन्दर्भमा कैफियत महलमा अन्यथा लेखिए पनि क्षेत्रफल महलमा ज.वि. ०–३–० मात्र भन्ने उल्लेख भएको हुँदा सोही जग्गा मात्रै हक छाडी दिएको मान्नु पर्ने हुन आयो । प्रतिवादीले राजीनामा गरी दिइसकेपछि कि.नं. २०८ बाट कित्ताकाट गरी कि.नं. २०७ मोहनमायालाई विक्री गरी दिएको भन्ने सम्बन्धमा यस अदालतको आदेश बमोजिम झिकाइएको फिल्डबुक उतारमा कि.नं २८७ को जग्गा नो गडौल रै.नं. १४८१ को ज.वि. १–७–० मध्येबाट र कि.नं. २०८ को जग्गा मौ. गडौली रै.नं. १४५५ को ज.वि. १–३–१८ मध्ये भनी उल्लेख गरिएको पाइन्छ । यसबाट राजीनामा गरिसकेपछि कि.नं. २०८ बाट कित्ताकाट भई कि.नं. २०७ कायम हुन आएको भन्ने देखिन आउँदैन । तसर्थ प्रस्तुत मुद्दामा राजीनामाको हक छाडी दिएको अचल सम्पत्तिको विवरण अन्तर्गत क्षेत्रफल महलमा ज.वि. ०–३–० मात्रै हक छाडी दिएको देखिँदा प्रतिवादीले बढी जग्गा देखाई धेरै जग्गाको मोल लिई थोरै जग्गा मात्र पास गरी दिई ठगी गरेको भन्न मिल्ने स्थिति नहुँदा ठगी गरेको नठहर्याएको शुरु सिन्धुली जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ । ठगी गरेको ठहर्याएको जनकपुर अञ्चल अदालत तथा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको यस सर्वोच्च अदालतको संयुक्त इजलासको इन्साफ उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु जिल्ला अदालतको इन्साफ मनासिब ठहरेकोले जनकपुर अञ्चल अदालतको २०४०।९।२४ को फैसलाले शुरु लगत कट्टा गर्ने गरेकोमा सो कट्टा गर्नु परेन । शुरुको फैसला अनुसारकै लगत कायम राख्नु भनी शुरु सिन्धुली जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ. मा लगत दिनु...१,
प्रतिवादी टेकबहादुर खड्काके माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठगी नठहरेकोले निजलाई जनकपुर अञ्चल अदालतका फैसलाले लाग्ने गरेको जरिवाना रु. १००।– र म.क्षे.अ. को फैसलाले गरेको थप जरिवाना र. १०।– तथा यस अदालत संयुक्त इजलासले गर्ने गरेको थप जरिवाना रु. ।५० पैसा समेत जम्मा रु. ११०।५० पैसा असूल गर्नु परेन । असूल गरिसकेको भए सो फिर्ता पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त परे प्रतिवादीलाई फिर्ता दिनु र सो फैसला बमोजिम लाग्ने गरेको लगत कट्टा गरी दिनु भनी शुरु सिन्धुली जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ. मा लगत दिनु....२
प्रतिवादी टेकबहादुर खड्काके ठगी गरेको नठहरेकोले निजबाट बिगो रु. ४३७९।७३ वादीलाई भराउने गरी जनकपुर अञ्चल अदालतले फैसला गरेकोमा सो बमोजिम भरी भराउन गर्नु नपर्ने भएकोले सो लगत कट्टा गर्नु भनी शुरु जि. अ. मा लेखी पठाउन का.जि. अ. मा लगत दिनु...३
मिसिल नियमानुसार गरी बुझाई दिनु....४
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या. हरगोविन्द सिंह प्रधान,
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल फाल्गुण २३ गते रोज ३ शुभम् ।