निर्णय नं. ११५० - उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. ११५० ने.का.प. २०३५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र
सम्वत् २०३४ सालको रिट नम्बर ९८८
आदेश भएको मिति : २०३५।४।५।५ मा
निवेदक : भू.पु.जि. महेन्द्र सिरुटार गा.पं. वडा नं. ७ बस्ने चेतबहादुर घर्ती क्षेत्री
विरुद्ध
विपक्षी : ऐ.ऐ.वडा नं. ९ बस्ने कुमारी गिरीसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) ले मोहियानी हकमा अपुतालीको व्यवस्था गरेको नपाईने ।
(प्र.नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ, र विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय
उल्लिखित मुद्दा :
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी भूमिप्रशासन शाखाको ०३४।४।१३ को निर्णय बदर गरिपाउँ भन्नेसमेत रिट निवेदन परी पेश हुन आएको रहेछ ।
संक्षिप्त तथ्य यसप्रकार छ : सिरुटार गा.पं. वडा नं. ९ को कि.नं. २४।२५।३३,११७ र ११८ समेत कित्ता ५ को जोताहा भुन्ट गिरी परलोक भई हक खाने कोही नभएको म भतिजाले काजक्रियासमेत गरी सो जग्गा जोत कमोत गरी जग्गाधनीलाई बाली बुझाई आएकोले मेरा नाममा जोत कायम गरिपाउँ भन्ने कुमार गिरीको निवेदन परेकोमा जग्गाधनीले म्याद गुजारी बसेको हुनाले सो जग्गामा पर्ने भुन्ट गिरीको नाम खारेज गरी निवेदक कुमार गिरीका नाममा जोत कायम गरी दिने ठहर्छ भन्नेसमेत विपक्षी भूमिप्रशासन शाखाको ०३४।४।१३ को निर्णय रहेछ।
२. रिट निवेदन जिकिर यसप्रकार छ : मेरो माइजु भुन्ट गिरी इन्द्रकुमारी गिरीले रिज वापत मलाई ०१६।१२।१६ मा रजिष्ट्रेशन पारित गरी शेषपछिको बकसपत्र दिएकोले उहाँको उत्तराधिकारी म हुँ र मलाई बुझ्दै नबुझी कुमार गिरीलाई मोहियानी कायम गरेको बदर गरिपाउँ भन्नेसमेत निवेदकको निवेदन जिकिर रहेछ ।
३. विपक्षीहरूबाट लिखितजवाफ लिई पेश गर्नु भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३४।९।१० को आदेशानुसार प्राप्त लिखितजवाफ निम्न प्रकार छ :
४. भुन्टे गिरीका नाममा मोहियानी कायम छ भने निवेदकलाई बकसपत्र गरेर अ.बं.८२ नं. ले मान्यता हुने भएन र भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६क.ले मोहियानी हक खरिद गर्न वा दान दातव्यकोरुपमा वा अरू किसिमको छोडाई लिन पाउने छैन भन्नेसमेत व्यवस्था भएको हुँदा निवेदकले मोहियानी हक बकसपत्रबाट पाउने स्थिति छैन, यस शाखाबाट भएको निर्णय कानूनी हुँदा बदर हुनु नपर्ने भन्नेसमेत जिल्ला कार्यालय भूमिप्रशासन शाखा भक्तपुर ।
५. भुन्टे गिरी परलोक भएपछि घरबाट निकाली कब्जा गर्न लागेकोले इन्द्रकुमारीको निषेधाज्ञा जारी गरिपाउँ भन्ने निवेदन परी बा.अं.अ.बाट ०३१।८।२ मा फैसला भएकोले विपक्षीले दुःख दिएको प्रष्ट छ । निजको काजक्रिया मैले नै गरी सो विवाद जग्गाको बाली जग्गाधनीहरूलाई बुझाई भरपाई दिएको छु । म मोही कायम छु । शेषपछिको बकसपत्रको नाताले भू.सं.ऐन, २०२१ को दफा २६ (क) ले निजको हक भन्न सक्ने स्थिति छैन, कानूनबमोजिम भएको निर्णय बदर हुनुपर्ने होइन । रिट निवेदन खारेज होस भन्नेसमेत कुमाले भन्ने कुमार गिरी ।
६. प्रस्तुत विषयमा निवेदकका माग अनुसारको आदेश जारी गर्नुपर्ने हो होइन ? सो को निर्णय दिनुपर्ने हुन आएको छ ।
७. निवेदकतर्फका विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रेतीले निवेदकलाई निजका मामा माईजुले रिज वापत शेषपछिको बकसपत्र र रजिष्ट्रेशन पास गरी दिएकोले विवादको जग्गाको मोहियानी हक निवेदकको कायम हुनेमा कुमार गिरीको नाममा मोही कायम गरेको निर्णय बदर हुनुपर्ने भन्नेसमेत र विपक्षीतर्फका विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले भू.सं.ऐनको दफा २६ (क) ले मोहियानी हकमा दावी गर्न पाउने अवस्थै नभएकोले भूमिप्रशासनको निर्णय बदर हुने अवस्था छैन भन्नेसमेत र भूमिप्रशसनतर्फबाट वहस गर्न खटिनु भएका विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्यायले सो विवादको जग्गामा निवेदकको हकदैया नहुँदा रिट खारेज हुनुपर्ने भन्नेसमेत वहस प्रस्तुत गर्नु भयो ।
८. यसमा निर्णयतर्फ हेर्दा भुन्टे गिरी मोही भई कमाई आएको जग्गा निजले शेषपछिको बकसपत्र गरी दिएकोले सो मोहियानीमा निवेदकको हक भएको भन्नेसमेत प्रस्तुत रिट निवेदनबाट देखियो ।
९. प्रस्तुत रिट निवेदनमा सर्वप्रथम निवेदन दिन पाउने हक निवेदकलाई भए नभएको के हो ? भन्ने प्रश्न नै विचारणीय हुन आएको छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (क) मा प्रचलित नेपाल कानूनमा जेसुकै लेखिएको भए तापनि मोहियानी हक खरिद गर्न वा दान दातव्यको रुपमा वा अरू किसिमले हक छोडाई लिन पाउने छैन भन्नेसमेत उल्लेख भएको पाइन्छ । साथै उक्त ऐनको दफा २६ को उपदफा (१) ले मोहियानी हकमा अपुतालीको व्यवस्था गरेको पनि पाइँदैन । सो कानूनी व्यवस्थाहरू अनुसार शेषपछिको बकसपत्रले मोहियानी हक अन्य व्यक्तिमा जान नसक्ने स्पष्ट छ ।
१०. अतः शेषपछिको बकसपत्रको नाताबाट भुन्टे गिरी मरेपछि निजको सो मोहियानी हकमा खरिद गर्ने वा दानदातव्य गर्ने अधिकार निवेदक चेतबहादुर घर्तीलाई दिएको देखिएन । हक नै नभएको कुरामा हकमा आधात पर्यो भनी रिट निवेदन दिन पाउने हक निवेदकलाई भएको देखिन नआएको हुनाले यस सम्बन्धमा अरू कुराको विचार गरिरहन परेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् २०३५ साल श्रावण ५ गते रोज ५ शुभम् ।