शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११५१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. ११५१     ने.का.प.२०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३४ सालको रिट नम्बर १६२०

आदेश भएको मिति : २०३५।४।९।१ मा

निवेदक : का.जि. मनमैजु गा.पं. वडा नं. ९ बस्ने रामकृष्ण रेग्मी

विरुद्ध

विपक्षी : भूमिप्रशासन का.काठमाडौं उजूरी फर्छ्यौट टोली मुकाम काठमाडौं समेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   मोहियानी हक बेच बिखन नहुने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (क) मा कानूनी व्यवस्था भएको र बकसपत्रको नाताले मोहियानी हक प्राप्त भन्न नमिल्ने ।

(प्र.नं. ९)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री इच्छाहर्ष

उल्लिखित मुद्दा :   

आदेश

            न्या. हेरम्बराज : विपक्षी कार्यालयको ०३३।१२।२५ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ ।

            २.    मुद्दाको तथ्य यसप्रकार छ : यसमा मोही मरी अन्य परिवार भएन, भएको र संशोधन गर्नुपर्ने किल्लामा कसैको हकदावी छ कि गोरखापत्रमा सूचना प्रकाश गरिआएपछि पेश गर्नु भन्ने र मिति ०३२।३।१०।३ का गो.प.मा सूचना प्रकाशित हुँदा पनि म्याद भित्र कसैको उजूर परेको नदेखिएकोले निवेदनमा माग गरिएको किल्ला जग्गाको जोताहा हर्षबहादुर बुढाथोकीको नाममा जोतसमेत कायम गरी दिने ठहर्छ सो ठहर्नाले २ नं. अनुसूचीमा सो व्यहोरा जनाई मोठ संशोधन गर्ने भनी भूमिप्रशासन कार्यालय उजूरी फर्छ्यौट टोली काठमाडौंबाट ०३२।१२।२५ मा निर्णय भएको रहेछ ।

            ३.    उपयुक्त निर्णय बदर गरिपाउँ भनी प्रस्तुत रिटनिवेदनमा दिएको मुख्य जिकिर यसप्रकार छ : विपक्षी मध्येका खड्गबहादुरले मेरा काका हर्षबहादुरका नाममा यही जग्गाको ०२७ सालको बाली भराई जग्गा निष्कासन गरिपाउँ भनी उजूर दियो । काका हर्षबहादुर सो जग्गामा टायलको छाना भएको घरसमेत छ भन्ने कुराको प्रतिवादी दिई तारेखमा रहेकाबखत कालगतीले ०३१।५।२० गते परलोक भएपछि निज काकाको शेषपछिको बकसपत्र खाने हकवाला म निवेदक हुँदा मैले मुद्दा सकार गरी विपक्षी खड्गबहादुर र मैले साथै तारेख लिई बसेको कुरा निज खड्गबहादुरले थाहा पाएको हो र यसरी हामी दुवैथर ताररेखमा रहेबसेको भन्ने र यही जग्गाको काका मरेपछि ०३१।३२।३३ सालको बाली नबुझेकोले धरौट राखेको भन्ने कुरासमेत थाहा पाउँदा पाउँदै विपक्षीले ०३१ साल भाद्र २० गते हर्षबहादुर परलोक भयो भन्ने कुरा प्रधान पञ्चले यही वैशाख २८ गते भनी मात्र थाहा पाएकोले २५ दिन भित्रै भूमिसम्बन्धी ऐनको दफा २६ को (१) बमोजिम मोहीको पत्नी छोरासमेत कोही नहुँदा मोही जनाई पाउँ भनी व्यहोरा गुम पारी कार्यालयलाई छकाई निवेदन गरेको रहेछ, यस्तो उजूरी विपक्षी कार्यालयलाई हेर्न र भूमिसम्बन्धी नियमले समेत अधिकार नदिएको हुँदा सो निर्णय अ.बं.३५ नं. ले बदर हुने प्रष्ट छ । सो निर्णय गर्दा त्यसरी शेषपछिबाट अर्थात शेषपछिको बकसपत्रबाट हक पाउने व्यक्ति भन्ने कुरा हर्षबहादुर मरी मुद्दा सकार गरिराखेको व्यक्ति निवेदक देखिएपछि अ.बं.११० विशेष अदालत ऐनको दफा ४ बमोजिम मेरा नाममा म्याद पठाई निवेदकलाई बुझी मात्र निर्णय गर्नुपर्ने म निवेदकलाई बझ्दै नबुझी प्रकृतिक न्याय सिद्धान्त विपरित कुनै कानूनले अधिकार नदिएको गोरखापत्रमा मात्र प्रकाशित गरी निर्णय गरेको गैरकानूनी हुँदा अ.बं.८९ अ.बं.१८९, १८४ र १८४ (क) बमोजिमको प्रमाण हेरी निर्णय गर्नुपर्ने सो केही नबुझी त्यसको विपरित निर्णय भएको हुनाले प्रशासकको ०३३।१२।२५ को निर्णय बदर हुनुपर्छ भन्नेसमेत उल्लेख छ ।

            ४.    विपक्षीहरूबाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०३४।१।२०।२ को आदेश ।

            ५.    विपक्षीलाई यो उजूरी गर्न अ.बं.८२ नं. ऐन समेतले अधिकार छैन । किनभने ०३२।३।१० को गोरखापत्रमा सूचना जारी हुँदा विपक्षीको हक भए सूचना जारी भएको म्याद भित्र सबूद प्रमाण लिई जोत कट्टा हुन नपाउने भनी उजूरी साथ हाजिर हुन पाउने अधिकार निवेदकलाई थियो । सो म्याद भित्र उजूर गरेको छैन । कि.नं. ७०,७३ मा समेत कुनै घर गोठ छैन । नक्सा पेश गरेको हुँदा लेखाई झुठ्ठा हो । शेषपछिको बकसपत्रको नाताले विपक्षीको हक हुने मोहियानी जग्गा हैन । विपक्षीलाई मोही बनाई जग्गा कमाउन दिन मञ्जूर छैन । मोही मरेपछि मेरो हक हुने हुँदा प्रशासकले सबूद प्रमाणको मूल्याङ्कन गरी गरेको रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत खड्गबहादुर बुढाथोकीको लिखितजवाफ ।

            ६.    भूमिप्रशासन कार्यालय काठमाडौं उजूरी फर्छ्यौट टोलीका नाममा रीतपूर्वक सूचना तामेल भएको सो म्यादमा लिखितजवाफ पेश भएको देखिँदैन ।

            ७.    निवेदक तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री इच्छाहर्षले विपक्षी कार्यालयले निर्णय गर्दा विशेष अदालत ऐनको दफा ४ बमोजिम निवेदकलाई म्याद पठाई बुझी मात्र निर्णय गर्नुपर्नेमा सो बमोजिम नगरी नबुझी प्राकृतिक न्याय सिद्धान्तको विपरित गोरखापत्रमा सूचना टाँस भएको म्याद भित्र कसैको उजूर नपरेको भनी खड्गबहादुर बुढाथोकीको नाममा जोतसमेत कायम गरिदिने ठहर्छ भनी ०३३।१२।२५ मा गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ भन्नेसमेत आफ्नो वहस प्रस्तुत गर्नु भयो ।

            ८.    यसमा निवेदकको मागबमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

            ९.    प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी विद्वान अधिवक्ताको वहससमेत सुनी पक्ष विपक्ष दुवै थरीलाई रोहवरमा राखी निर्णयतर्फ विचार गर्दा मोहियानी हक बेचबिखन नहुने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (क) मा कानूनी व्यवस्था भएको र बकसपत्रको नाताले मोहियानी हक प्राप्त भन्न नमिल्नेसमेत कारणबाट प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । नियमबमोजिम गरी फाइल बुझाइदिनू ।

           

म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिह

 

 

इति सम्वत् २०३५ साल श्रावण ९ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु