निर्णय नं. ११५४ - जालसाजी
निर्णय नं. ११५४ ने.का.प. २०३५
फुल बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०३४ सालको फौ.फा.नं. १२
फैसला भएको मिति : २०३५।४।१७।३ मा
निवेदक : विराटनगर न.पं. वडा नं. ८ बस्ने ख.धनप्रसाद श्रेष्ठ
विरुद्ध
विपक्षी : सुनसरी वकिया गा.पं. वडा नं. १ बस्ने सु.पद्मप्रसाद श्रेष्ठ समेत
मुद्दा : जालसाजी
(१) जालसाजी भन्नु परेको लिखतको व्यहारलाई नै निखन्न नआएकोले अ.बं.८२ नं. ले प्रस्तुत फिराद दावी लाग्न सक्ने नदेखिएको ।
(प्रकरण नं. १५)
विपक्षीतर्फ : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
फैसला
न्या. हेरम्बराज : प्रस्तुत मुद्दा फुल बेञ्चबाट दोहर्याई हेरी दिनु भन्ने प्रमांगी पाउँ भनी निवेदक वादी ख. धनप्रसाद श्रेष्ठले श्री ५ महाराजाधिराजका हजूरमा चढाएको निवेदनपत्रमा यसमा व्यहोरा साँचो भए सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३१।१२।२८ गते छिनिएको जालसाज मुद्दाको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु निवेदकलाई जनाउ दिनू भन्ने बक्स भई आएको हुकूम प्रमांगीबमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : विराटनगर न.पं. वडा नं. ८ को १।२।३ जग्गाभित्रमा बनेको ३ तले घरसमेत मध्ये दक्षिणतर्फबाट आधी जग्गा मेरो उत्तरतर्फबाट आधा घर जग्गा विपक्ष पद्मबहादुरको भाग हो । दाजु पद्मबहादुरको भाग काजीमानलाई भोगबन्धक दिई गोविन्दबहादुर बहालमा बसी आएको दाजुले बिक्री गर्ने भनी सुनेबाट सोधेँ र मलाई नै सन्धीसर्पन पर्ने हुँदा पद्मबहादुरसँग भन्दा ४०,०००।–मा दिने लिने मञ्जुरी भयो । सो कुरा थाहा पाई विपक्षी मध्यकै मोहनप्रसादले अड्डा अदालत धाई दुःख दिनेलाई किन दिनु भनी वहालमा बसिरहेको गोविन्दबहादुरसँग रु.४०,०००।–लिई बढी थैली रु.३५०००।–थपी रु.७५०००।–को जालसाजी लिखत खडा गरी पारित गराए । जालसाजी गर्नेलाई सजाय गरी थैली रु.४००००।–कायम राखी घर जग्गा निखनाई पाउँ भन्नेसमेत वादीको फिराद ।
३. गोविन्दबहादुरबाट रु.७५०००।–लिई छोरा तुल्सीप्रसाद साक्षी राखी पारित भएको हो । जालसाजी होइन भन्ने पद्मप्रसाद, तुल्सीप्रसादको प्रतिवादी ।
४. हामीहरूको रोहवरमा रु.७५,०००।–लिन दिनु भएको हो । बढी रु.३५०००।–थपी जालसाज लिखत खडा गरेको होइन भन्नेसमेत गोविन्दबहादुर समेतको प्रतिवादी ।
५. प्र.मध्ये मानबहादुर, भरत केवट, डम्बरबहादुर समेतले म्याद गुजारी बसेको ।
६. प्र.सु.पद्मप्रसादको चिठ्ठीबाट ४०,०००।–मै बिक्री गर्नु भन्ने व्यहोरा र वादी दावीको घर जग्गाको बारे लेखिएको चिठ्ठीमा नखुलेको र वादीको साक्षी एक जम्मा कतिमा लिनु दिनु गरे थाहा छैन भन्ने बाँकी साक्षीले पनि रु.४०,०००।–मै लिनु दिनु गरेको देखेको हो भनी किटानी बक्न नसकेको, प्र.को साक्षीहरूले ७५,०००।–कै राजीनामाको भनी बकी दिएको भई वादी दावीबमोजिम जालसाजी गरेको ठहर्दैन भन्ने सुनसरी जिल्ला अदालतको फैसला ।
७. रु.३५,०००।–बढाई जालसाज गरी रु.४०,०००।–कायम गरी निखनाई पाउँ भन्ने दावी भएको अ.बं.७२ नं. बमोजिम हक निखन्ने तर्फ कोर्टफी राखी दायर गर्नुपर्ने गरेको नदेखिएको, सोही कुराबाट उठाएको जालसाजीतर्फ पनि देवानीमा गभाई छिनेको मुद्दा लेनदेन व्यवहारको १३ नं. ले तहकिकात गर्न नमिल्ने देखिएकोले जालसाजमा तहकिकात परेको सुरुको मिलेन । वादी दावी खारेज हुने ठहर्छ भन्ने कोशी अञ्चल अदालतको फैसला ।
८. उक्त ईन्साफमा चित्त बुझेन भन्ने वादी ख. धनप्रसादको पुनरावेदन ।
९. वादीको निखनाई पाउँ भन्ने मुख्य दावा भए पनि थैली रु.४०,०००।–धरौट राखी दावा गरेको देखिन नआएको र जालसाजीतर्फ अ.बं.७२ नं. अनुसार छुट्टै फिराद हुनुपर्ने सो नदेखिनाले निखनी पाउँ भन्ने र जालसाजी कायम गराई पाउँ भन्ने एउटै फिरादबाट ईन्साफ गर्न नमिल्नेमा पनि निखनाई पाउँ भन्नेतर्फ लेनदेन गरेको भनी वादीले कायम गरेको थैली धरौट नरहेको हुनाले आधारहिन भई अ.बं.८२ नं. मा भएको व्यवस्थाअनुसार मिल्ने देखिन नआएको हुँदा कोशी अञ्चल अदालतबाट खारेज गर्ने गरेको ईन्साफ मुनासीव ठहर्छ भन्ने ०३१।५।१४ को पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटाको फैसला ।
१०. उक्त फैसलाउपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी निवेदक ख.धनप्रसादले निवेदन दिएकोमा पुनरावेदन दिने अनुमति दिन मिलेन भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३१।१२।२८।५ मा आदेश भएको रहेछ ।
११. सुनसरी जिल्ला अदालतबाट वादी दावीबमोजिम जालसाजी गरेको ठहर्दैन भन्ने निर्णय भएकोमा सो जालसाजीतर्फ निर्णय गरेको पनि खारेज गर्ने गरी कोशी अञ्चल अदालतको मनासिव ठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतबाट निर्णय भएको नदेखिएकोले अ.बं.२०२ नं. बमोजिम अनुपस्थित प्रतिवादीलाई झिकाउने भन्ने ०३४।८।२१ को फुल बेञ्चको आदेश ।
१२. निवेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले जालसाजी गरी थैली बढाई बिक्री गरेको निखनाई पाउँ भनी मालमा धरौट राख्न जाँदा जालसाजीमा अदालतमा गई निर्णय गरी आए पछि मात्र हुने भनी दरपिठ गरी दिएकोबाट जालसाजी गरेकोमा सजाय गरी थैली कायम गरी निखनाई पाउँ भनी अदालतमा फिराद दिएकोमा फौज्दारीको लगतमा दर्ता गरेको छ मुख्य दावीकोमा नै कति अङ्क कायम हुने हुँदा जालसाजीतर्फ नै निर्णय हुनुपर्नेमा खारेज गरेको मिलेको छैन भन्ने र विपक्षी प्रतिवादी गोविन्दबहादुर श्रेष्ठकोतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्त श्री मुकुन्द रेग्मीले फिरादमा कीर्ते कागजको ऐनको हदम्याद भित्र नालेस गर्न आएको छु भन्ने लेखिएकोले मुद्दा फौज्दारी भन्ने प्रष्टै छ । अदालतले पनि फौज्दारीमै दर्ता गरेको छ । निखन्ने हक मेटिन थैली बढाई जालसाजी गरे भन्ने दावी हुँदा निखन्न पाउँ भन्ने म्याद भित्र मुद्दा गरेको नभए पछि जालसाजी गरे भन्ने दावी लाग्न नसक्ने हुनाले खारेज हुनुपर्छ भन्नेसमेत वहस प्रस्तुत गर्नुभएको छ ।
१३. यसमा निर्णयतर्फ विचार गर्दा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट कोशी अञ्चअ अदालतले खारेज गर्ने गरेको मनासिव निर्णय भएको उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी निवेदक वादीले सर्वोच्च अदालतमा निवेदन दिएकोमा अनुमति दिन नमिल्ने भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चबाट आदेश भएउपर फुल बेञ्चबाट मुद्दा दोहर्याई हेरी दिनु भन्ने प्रमांगी पाउँ भनी निवेदक वादीले श्री ५ महाराजाधिराज सरकारका हजूरमा चढाएको निवेदनमा यसमा व्यवहोरा साँचो भए सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३१।१२।२८ गते छिनिएको जालसाजी मुद्दाको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट ईन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु भन्ने हुकूम प्रमांगी बक्स भई आएको रहेछ । सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३१।१२।२८।८ मा पुनरावेदनको अनुमति दिन मिलेन भन्ने आदेश भएको हुँदा उक्त बक्स भई आएको हुकूम प्रमांगीबाट पूर्वाञ्चल क्षेत्रीय अदालतले खारेज गर्ने गरेको ईन्साफ नै ठीक बेठीक के रहेछ जाँची निर्णय दिनुपर्ने देखियो ।
१४. प्रस्तुत मुद्दाको फिराद दावी हेर्दा रु.४०,०००।–लिनुदिनु गरी रु.३५,०००।–बदर गरी सच्चा थैली रु.४०,०००।–कायम गरी सो थैली लेनदेन व्यवहारको १६ नं. बमोजिम प्र.लाई बुझाई जग्गा घर निखनाई दिलाई पाउँ भन्ने लेखी कीर्ते कागजको ३ नं. अन्तर्गतको मुद्दाको कीर्ते कागजका १८ नं. को ऐनको म्याद भित्र उजूर गरेको छु । जालसाजी मुद्दा फौज्दारी हुँदा कोर्टफी नलाग्ने भन्ने फिरादपत्रमा उल्लेख गरेको र सो फिरादपत्र सुरु जि. अ.बाट फौज्दारीको लगतमा दर्ता भई निर्णय हुँदै आएको देखिएबाट समेत प्रस्तुत मुद्दा थैली बढाई जालसाजी गरे भन्ने दावीमा नै निर्णय दिनुपर्ने जालसाजी मुद्दा भन्ने देखिन आएको छ ।
१५. अब वादी दावी अनुसार रु.४०,०००।–लिनु दिनु गरी रु.३५,०००।–थैली बढाई जालसाजी गरेको हो होइन के रहेछ भन्नेतर्फ विचार गर्दा निखनी लिने हक मेटिने गरी थैली रु.३५,०००।–लिई जालसाजी गरे भन्ने दावी लिएको देखिने, थैली बुझाई हक निखनी पाउँ भन्ने मुद्दा भने निवेदक वादीले चलाएको नदेखिएको, हक निखनी लिने सम्बन्धमा नै निवेदक वादीको थैली बुझाई निखनी हक मेटिने गरी थैली जालसाजी गर्यो भन्ने प्रस्तुत फिराद भएकोमा थैली बुझाई हक निखनी पाउँ भन्ने मुद्दा नचलाई जुन हक निखनाई पाउने लिखतलाई जालसाजी भन्नु परेको थियो, सो लिखतको व्यवहारलाई नै निखन्न नआएकोले अ.बं.८२ नं. ले प्रस्तुत फिराद दावी लाग्न सक्ने नदेखिएको हुँदा खारेज गर्ने ठहराएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । हुकूम प्रमांगीबाट ईन्साफ जाँच भएको हुँदा अरू केही गर्नु परेन मिसिल नियमबमोजिम बुझाई दिनु ।
हामीहरूको सहमती छ ।
न्या. ईश्वरीराज मिश्र,
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३५ साल श्रावण १७ गते रोज ३ शुभम् ।