निर्णय नं. ११६१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. ११६१ ने.का.प. २०३५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०३४ सालको रिट नम्बर १०९७
आदेश भएको मिति : २०३५।२।१९।१ मा
निवेदक : भक्तपुर जिल्ला न.पं. वडा नं. ५ भोचोछेटोल बस्ने मसिनु श्रेष्ठ
विरुद्ध
विपक्षी : श्री हरिमान वैद्य भूमिप्रशासक, भूमिप्रशासन शाखा जि. का.भक्तपुर
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) (ग) ले व्यवस्था गरेअनुसार मरिसकेको मोहीलाई भागेको वा वेपत्ता भएको मोहीसरह मान्नु पर्ने ।
(प्र.नं. ७)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली
विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी
उल्लिखित मुद्दा :
आदेश
न्या. वासुदेव शर्मा : विपक्षी भूमिप्रशासन शाखा भक्तपुरको मिति २०३४।९।१७ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गराई पाउँ भन्ने कुराको माग गर्दै नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन मिति २०३४।११।१९।५ मा दर्ता हुन आएको रहेछ ।
२. रीट निवेदन सम्बन्धी संक्षिप्त तथ्य यसप्रकार रहेछ : झोखिल गा.पं. वडा नं. ८ (घ) को कि.नं. ५०३ र कि.नं. ५१३ को दर्तावाला मोही किसान रान पहिजु ०३३।३।१८ मा परलोक भई निजको कुनै छोरासमेत नभएको हुँदा भू.प्र. ऐन, २०२१ को दफा ३६ अनुसार हामीहरूका नाममा जोत नामसारी गरिपाउँ भन्नेसमेत व्यहोराको निवेदकहरूको विपक्षी प्रशासन शाखामा निवेदन दर्ता भएकोमा भू.सं.ऐन, २०२१ को दफा २६ को उपदफा (१) अनुसार मोहीको हक निजपछि निजको पती पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ भन्ने व्यवस्था भएको हुँदा जग्गाधनीका नाममा नामसारी हुन सक्ने कुनै व्यवस्था भूमिसम्बन्धी ऐन अदालती बन्दोबस्तको ८२ नं. अनुसार जसको जुन कुरामा हक पुग्छ उसको सो कुरा दावी गरी नालिस दिए मात्र लाग्छ भन्ने व्यवस्था हुँदा नामसारी गर्न हक निवेदकहरूको पुग्ने नदेखिँदा यो मुद्दा खारेज हुने ठहर्छ भनी विपक्षी भूमिप्रशासन शाखा भक्तपुरबाट ०३४।९।१७ मा निर्णय भएको रहेछ । सो निर्णय बदर गराई माग्न प्रस्तुत रिट निवेदन पर्न आएको रहेछ ।
३. रीट निवेदन सम्बन्धी जिकिर यसप्रकारको छ : हामीहरूको जोताहा मोही किसनारायण परलोक भएपछि सम्बन्धी ऐन, २०२१ को दफा (१) अनुसार निज पछि निजको हक खाने कोही नहुँदा मृत्यु हुने जोताहाको हक समाप्त भएको अवस्थामा हामी जग्गावालाले नै आफै कमाउन वा कसैलाई कमाउनसमेत दिन सकिने कानूनी व्यवस्था छ । त्यसरी आफै कमाई वा कसैलाई कमाउन दिएमा मोहियानी दर्ता किताब सच्याई दिन लिन पाउने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ र २६ र मुलुकी ऐन अ.बं.८२ नं. ले हकदैया प्राप्त जग्गावालाहरूको हकदैया नपुग्ने भनी गरिएको निर्णय कानूनी व्यवस्था विपरित भए गरिएको निर्णय त्रुटिपूर्ण छ ।
४. सम्बन्धित मिसिल साथ विपक्षीद्वारा लिखितजवाफ मगाउने भन्नेसमेत डिभिजन बेञ्चको ०३४।११।२०।६ का आदेशानुसार प्राप्त हुनआएको विपक्षी भूमिप्रशासन शाखा भक्तपुरको लिखितजवाफमा लिइएको जिकिर यसप्रकारको रहेछ :
५. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा व्यवस्था भएअनुसार नै कार्यवाही गरी मोही सम्बन्धी हक निज पछि निजको पति पत्नीका वा छोराहरू मध्ये जग्गाधनीले पत्याएको व्यक्तिले पाउने व्यवस्था भएको हुँदा निवेदकहरू जग्गाधनी भएकोले निजहरूले मोही सम्बन्धी निजको हक निवेदकहरूले नपाउने हुँदा नै ऐन खारेज गर्ने निर्णय भएको प्रष्ट छ । उपरोक्त भूमिसम्बन्धी ऐनअन्तर्गत नै कार्यवाही गरेको हुँदा मिति ०३४।९।१७ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्नु नपर्ने व्यहोरा विनम्र अनुरोध गर्दछु ।
६. तारेखमा रहेका मसिनु श्रेष्ठसमेतको वारेस जनकबहादुर श्रेष्ठलाई रोहवरमा राखी निवेदकतर्फका विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपालीको र विपक्षी भूमिप्रशासन शाखा भत्तपुरतर्फबाट वहस गर्न खटिनु भई उपस्थित हुनु भएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयीको वहससमेत सुनी बुझ्दा प्रस्तुत मुद्दामा निवेदकका मागबमोजिमको आदेश जारी हुने नहुने के हो निर्णय दिनु परेको छ ।
७. यसमा अ.बं.८२ नं. को उल्लेख गर्दै विपक्षी भूमिप्रशासकले निवेदक मसिनु श्रेष्ठ तथा कृष्णमाया श्रेष्ठको निवेदनलाई खारेज गरेको देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१) (ग) ले व्यवस्था गरेअनुसार मरिसकेको मोहीलाई भागेको वा वेपत्ता भएको मोही सरह मान्नु पर्ने र सोही कानूनी व्यवस्थाबमोजिम निवेदकहरूको मागअनुसार विपक्षी प्रशासकले दर्ता किताबमा मोहीको लगत सच्याउने कार्यवाही गरी दिनुपर्ने सो बमोजिम नगरी खारेज गर्ने गरेको विपक्षी भूमिप्रशासकको ०३४।९।१७ को निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिदिने ठहर्छ । कानूनबमोजिम गर्नु भनी विपक्षी भूमिप्रशासन शाखा भक्तपुरका नाममा परमादेशको आदेश दिईएको छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि एक महान्यायाधीवक्ताको कार्यालय मार्फत विपक्षी भूमिप्रशासन शाखा भक्तपुरमा पठाई नियमबमोजिम गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३५ साल जेष्ठ २९ गते रोज १ शुभम् ।