निर्णय नं. ११६६ - लिखत बदर

निर्णय नं. ११६६ ने.का.प. २०३५
फुल बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३४ सालको दे.फु.नं. ४३
फैसला भएको मिति : २०३५।६।३।३ मा
निवेदक : का.जि. रामशाहपथ डेरा गरी बस्ने शान्तिदेवी थापा
विरुद्ध
विपक्षी : का.जि. महाराजगञ्ज बस्ने जगतकुमारी शाह समेत
मुद्दा : लिखत बदर
(१) धर्मपुत्रको महल ४ नं. को प्रयोजनको लागि बाटा घाटामा फालेको बालकलाई पालेको रहेछ भने त्यो पक्का धर्मपुत्र ठहर्ने ।
धर्मपुत्रको ४ नं. ले बाटाघाटामा फालेको बाबु आमाको ठेगाना नभएको आश्रयहिन बालकको सम्बन्धमा मानवीय आधारमा धर्मपुत्रको हैसियतको श्रृजना गरेको देखिने ।
(प्र.नं. १०)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कमलनारायण दास
उल्लिखित मुद्दा :
फैसला
न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३२।७।६ को निर्णयउपर निवेदकले दिएको निवेदनमा श्री ५ महाराजाधिराज सरकारबाट यसमा व्यहोरा साँचो भए अघि सर्वोच्च अदालत डिभिजन बेञ्चबाट धर्मपुत्रीबारे निर्णय भएको रहेछ भने धर्मपुत्री सम्बन्धमा सर्वोच्च अदालत फुल बेञ्चबाट हेरी कानूनबमोजिम गरी छिनुदिनु भनी हुकूम बक्स भई आएबमोजिम निर्णयका लागि यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : चौं. सम्शेरजङ्गका २ रानीमा जेठीका छोरा केशरी जङ्ग कान्छीका छोरा दिपेन्द्रजङ्ग, केशरी जङ्गका ५ छोरा फत्यजङ्ग, पूर्णजङ्ग, खड्गजङ्ग, काछा दिपेन्द्रजङ्ग सन्तान नहुँदै स्वर्गे हुनुभएको । उहाँको विवाहित रानी दिपकुमारी हुनुहुन्थ्यो । केशरीजङ्गको र दिपेन्द्रजङ्गको १९४९ सालमा अंशवण्डा भएको दिपकुमारीलाई सोभितजङ्गले हेरविचार गरी आउनुभएको सोभितजङ्गका विवाहित र भित्रिनीपट्टिका धेरै स्वास्नी छोरा थिए । म पनि सोभितजङ्गको भित्रिनी सुवर्णकुमारीबाट १९८५ सालमा जन्मी दिपकुमारीले मलाई जन्मनासाथ सालनाल सहित छोरो बनाई पाली २०११ सालमा एस.एल.सी. परीक्षा दिंदा अभिभावकमा आमा दिपकुमारी भनी लेखेको छ । मलाई छोरो बनाइराखेकोले सबै कारोबार व्यवहार मैले नै गरी आएको छु । २०११ साल श्रावण देखि मुमालाई ज्यादै नै व्यथाले छोएको र अनन्तजङ्गले दुःख दिइरहने हुनाले चित्रराजेश्वरी हेरविचार गर्नबसेकी थिइन । २०११ साल आश्विन १३ गते मुमा दिपकुमारी परलोक हुनुभयो । लास उठाउन खर्च नदिएकोले मिरेजङ्ग, हरिजङ्गसँग रु.१००१।–कर्जा लिई काम चलाएँ । अनन्तजङ्गसमेतले मलाई र चित्रराजेश्वरीलाई थुनेकोमा पनि आदेशबाट छुट्यौं । ०११।६।६ को प्रेमराजको स्वास्नी चन्द्रकुमारीका नाममा रु.५५०००।–को महाराजगञ्जको घर जग्गा फार्छे र ०११।३।१४ को मनमैजू गुठीबाहेक सबै श्रीसम्पत्ति अनन्तजङ्गका नाममा बकसपत्र मजमैजू गुठी आश्विन ३ गते जगतकुमारीको नाममा बकसपत्र खडा गरेछन र पास गरिपाउँ भनी रा.का.दे.दो.मा नालेस गरे भन्ने थाहा पाएँ । लेखिएका मानिसहरू मिली मरेपछि हो वा बेहोस अवस्थामा म नभएको बखतमा बिरामी नै भएको बखतमा हो वा कीर्ते गरेको हो दिपकुमारी मरी परेको मेरो हकको अपुताली हुँदा उक्त लिखत बदर गरिपाउँ भन्ने शान्ति शाहको निवेदनमा रा.का.देवानी दोस्रो फाँटकै निवेदन देवानी पहिलाका हाकिमउपर बेहिसाब गरे भन्ने उजूरी हुनाले यसमा उल्लेख गरिएबाहेक अरू आदेश भएको छैन र व्यहोरा साँचो भए पचपन्न हजारको कागज खडा गरे भन्ने र वारेस राजमानले बेहिसाव गर्यो भन्नेतर्फ फैसला हुँदा कोर्टफी सवालबमोजिम हुने गरी हाल कोटफि पक्राउ नगरी ठाडै बुझी ऐन सवालबमोजिम गर्नु होला भन्ने आदेश र निवेदन मिलानको शान्तिदेवीको वा. डम्वरबहादुर भण्डारीको बयान ।
३. सासु दिपकुमारीको चाकरी गरी बसेकोमा रिज वापत आश्विन ३ गते मैले र छोरा रुद्रजङ्गले मनमैजू गुठी बकसपत्र पाएको र अरूलाई पनि बिक्री गरेको र बकसपत्र दिएको विरामी नहुँदैको कागज हो । वेहोस हुँदा वा कीर्ते केही गरेको होइन भन्नेसमेत जगतकुमारीको वारेसको बयान, वादीलाई जिजुमुमाले छोरी तुुुुुल्याई राखेको होइन । मेरो मुमा स्वर्गे भएपछि जिजुमुमाले पाल्नु भएको हो दिपकुमारी स्वर्गे हुँदा मोहन सम्शेरसँग विन्ति गरी रु.१०००।–दिनु भयो । मैले कर्जा गरी किरिया गराएको छु । मरेपछि सहीछाप गराएको होइन । हकदार नहुँदा र म्याद भित्रको उजूर नहुँदा खारेज गरिपाउँ भन्ने प्र.अनन्तजङ्गको बयान । दिपकुमारीले रु.५५००१।–लिई घर जग्गा दिएकी हुन । लिखतमा शेषपछिको बकसपत्र पाउने अनन्तजङ्ग पनि साक्षी बसेका छन । नजिकको हकदार को हो थाहा छैन । अपुताली कसले पाउनु पर्ने हो थाहा छैन । दिपकुमारीले खुशीराजीसँग कागज गरिदिएकोले वादी दावा झुठ्ठा हो भन्नेसमेत प्र.चन्द्रकुमारीको वारेसको बयान । दिपकुमारीले अनन्तजङ्ग र जगतकुमारलाई राजीखुशीसँग गराएको शेषपछिको बकसपत्रमा साक्षी बसेको हुँ । शान्तीलाई सालनाल सहित पालेको होईन । दिपकुमारीको काजकृया अनन्तजङ्गले गराएका हुन । रु.५५०००।–मा फार्छे गरिदिएको भन्ने कुरा सुनेको हुँ । जालसाजी लिखत भनेको झुठ्ठा हो भन्नेसमेत भवानी नरसिंह राणको बयान । म केदारनाथ पूजा कोठे र वासुदेव किनमेल काम गर्ने हो । शेषपछिको बकसपत्र र राजीनामा खुसीराजीले दिपकुमारीले गरिदिएको हो । जालसाजी होइन भन्नेसमेत वासुदेवको वारेस भई आफ्ना हकमा समेत केदारनाथले गरेको बयान । पढ्नको लागि पैसा नलगिदिएको रिसइवीले शान्तिदेवीले झुठ्ठा उजूर गरेको हो । मैले कुनै कागज लेखी दिएको छैन भन्ने राजमानको प्रतिवादी बयान । दिपकुमारी विधुवा भई अनन्तजङ्ग र मेरो मुमा नभएबाट हामीलाई पालिबक्सेको थियो । माइत जिज्यूमुमाकहाँ जाँदा बकसपत्र तथा राजीनामा पास गरिदिएँ भनी भन्नुहुन्थ्यो । वादी दावा झुठ्ठा हो । जालसाजी होइन भन्नेसमेत गायत्री राणाको बयान । ससुरा सोभितजङ्गको विवाहित तर्फको जेठो मेरो लोग्ने फडेन्द्रजङ्ग र बुहारी म हुँ । भित्रिनीपट्टिकाले रिसइवी गरिरहेका थिए । दिपकुमारीको मृत्यूपछि ४।५ महिना वादी र निजकी आमा हामीकहाँ आई बसेको थिईन । पछि निस्की गएर हक नपुग्ने मानिसले झुठ्ठा उजूर गरेकी हुन । जालसाजी गराएको छैन भन्नेसमेत चित्र राजेश्वरको वा.राजमानको बयान । म दिपकुमारीकहाँ पहिलेदेखि नोकरी गरी बसेको पछि अन्यत्र नोकरी भए पनि पुरानो मालिककहाँ जान्थेँ । शान्तिलाई सालनाल सहित ल्याई पालेको होइन । बकसपत्र राजीनामा म समेत भई जालसाजी गरिदिनु पर्ने कुनै कारण छैन । मसँग कागजपत्र पनि जिम्मा छैन भन्नेसमेत छविदेवप्रसादको वारेसको बयान । दिपकुमारीको ढोकामा कारिन्दा भई काम गरेको पछि ०११ साल आषाढ श्रावणदेखि विरामी भई जानसकेको थिइन । अतः म समेत भई जालसाजी गर्यो भन्ने उजूर झुठ्ठा हो भन्ने भक्तलाल श्रेष्ठको बयान । दिपकुमारी वालविधुवा हुनु भएकोले बुवा सोभितजङ्गले हेरविचार गरी आउनु भएको थियो । पहिला बकसपत्र र राजीनामा गरिदिन्छु भन्नु हुन्थ्यो पछि गरिदिएँ भन्नुहुन्थ्यो । वादीलाई सालनाल सहित पालेको होइन । गहना पचाई खान भनी झुट्टा उजूर गरेकी हुन । जालसाजी गर्नुपर्ने कारण छैन भन्ने सावित्री राणा र सन्तु राणाको र दुध खाएको छोरी सावित्रीको विवाह भएपछि निजैसाथ आई बसेको छु । जालसाजी गरे भन्ने झुठ्ठा हो भन्नेसमेत विष्णुमायाको हकमा समेत वारेस भई वासुदेवले गरेको बयान । निजहरूको लेनदेन व्यवहार के हो पत्तो छैन । म समेत भई जालसाज गरे गराएको छैन । वादी दावी झुठ्ठा हो भन्नेसमेत ठाकुररामको बयान । वादी दावीबमोजिम वादीको बाबु सोभितजङ्गको कान्छी आमा देवकुमारीले वादीलाई सालनाल सहित लगी पाली राखेको भए धर्मपुत्रको १ नं. को रीत पुर्याई राखेको भनी लेख्न र प्रमाण दिन सक्नुपर्ने धर्मपुत्रको ४ नं. बमोजिम पालेको बालक पालेको भन्ने लेख्न नसकेको, लेखाइकै भरले सालनालसहित पालेको भए पत्यार लायकको कुरा नलेखिएको, सोभितजङ्गका विवाहितापट्टिका बुहारी चित्र राजेश्वरी र निजको छोरा अरजनजङ्ग र ल्याइतेपट्टिको छोरा अनन्तजङ्ग र रुद्रजङ्ग ल्याइते स्वास्नी भएको भन्ने कुरामा वादी नै सावित भई हक नपुग्ने अपुतालीमा वादीको हक पुग्ने लिखत प्रमाणहरू वादीले दिन गुजार्न नसकेकोले समेत वादीको हकै नपुग्ने देखिनाले अ.बं.१०६ नं. ले वादीको उजूरै नलाग्ने हुँदा खारेज हुने ठहर्छ भन्ने रा.का.दे.दो.को फैसला रहेछ ।
४. सालनाल सहितको फ्याँकेको ठाउँबाट ल्याई पालेको हो । धर्मपुत्रको ४ नं. बमेजिम मेरो हक दिलाई पाउँ भन्नेसमेत शान्तिदेवीको पुनरावेदन । २०११ साल आश्विन १२ गते १० बजे बेलुका वालुवाटार नोदविक्रमको घरबाट फर्किआउँदा दिपकुमारीको घरमा रुवावासी भएको रहेछ । भित्र जाँदा दक्षिण बैठकमा विरामी दिपकुमारी राखेको ठाउँमा सावित्री सन्तनु लगायतका अनन्तजङ्गसमेत बसेका रहेछन र अनन्तजङ्गले खाली कागजमा सहिछाप गराउनुपर्छ भनी ४।५ वटा कागजमा सहिछाप लगाएको र सो घर माथि शान्तिदेवी र अरूको को हो रोइरहेको थिए भन्नेसमेत यज्ञ सम्शेरको बकपत्र, नरशम्शेरको मोटरमा भिमसेन सम्शेरलाई लिई दिपकुमारीको घरमा जाँदा विरामी भएका ठाउँमा ५।७ जना मानिस रहेछन । अरूलाई चिनिन भिमसेन शम्शेरकी दुलहीले दिपकुमारीको दायाँवायाँ बुढी औंलामा कालो लगाइदिने र अनन्तजङ्गले ५।७ थान कागजमा दिपकुमारीको सहिछाप गराए, कागज लेखेको नलेखेको थाहा छैन । मोटर लिई फर्कि आएँ भन्नेसमेत गणेशप्रसाद ठाकुरको बयान । दिपकुमारी शाहको अपुतलीमा हक पुग्ने कानूनी आधार पनि उजूर लेखाइबाट नदेखिनाले पुनरावेदन जिकिर मनासिव भएन । हक नपुग्नेले उजूर गरेको खारेज हुने ठहराएको सुरुको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत ०२६।४।५।१ मा बागमती अञ्चल अदालतले फैसला गरेको रहेछ ।
५. बागमती अञ्चल अदालतको इन्साफ उल्टाई हक इन्साफ गरिपाउँ भन्नेसमेत वादीको सर्वोच्च अदालतमा पुनरावेदन परी मध्यमाञ्चल क्षेत्रीय अदालतमा सरी गएकोमा धर्मपुत्रको महल लगायत सम्बन्धित ३ र ४ नं. मा समेत छोरा छोरीको लागि वेगल वेगल व्यवस्था भइरहेको समेत देखिँदा बालक शव्दले बालिकालाई समेत जनाउँछ भन्न नमिल्ने हुँदा वादी पुनरावेदक धर्मपुत्रको ४ नं. भित्र परिन भन्ने तर्कसँग सहमत हुन सकिएन । अब अपुतलीको ऐनबमोजिम वादीले सुविधा पाउने नपाउने के हो भनी हेर्दा बाटाघाटामा फालेको बालिका ल्याई सालनालसहित पालेको रहेछ भने त्यस्तो बालिका पाल्नेको पक्का छोरी ठहर्छ । छोरीले पाउने ऐनबमोजिमको हकअधिकार र सुविधा त्यसरी ल्याई पालेको छोरी बालिकाले पाउँछिन भन्ने ऐनमा कतै व्यवस्था नभएको र त्यस्तो सालनाल सहित पालेको छोरीले अपुतालीका ऐनबमोजिम अपुताली पाउने अपुतलीको महलमा समेत व्यवस्था भएको नदेखिँदा अपुतालीको ऐनबमोजिमको वादीले सुविधा हक पाउँछ भन्नसमेत मिलेन । बागमती अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत ०३१।७।१।५ मा मध्यमाञ्चल क्षेत्रीय अदालतले फैसला गरेको रहेछ ।
६. धर्मपुत्रको ३ नं. मा धर्मपुत्र राख्न पाउनेले सन्तान छोरा नहुँदा ऐनबमोजिम राख्न हुनेलाई रीतपूर्वकको लिखत गरी धर्मपुत्र राखिसकेपछि जात मिल्दा वा कम जातका आफ्ना स्वास्नीहरू वा सौताहरूमा जुनपट्टि भए पनि एकातिर सन्तान छोरा जन्म्यो भने पनि अघि धर्मपुत्र राखेको बदर हुनसक्दैन । लिखतै नभएमा र धर्मपुत्रले ऐनले पाउने अंश भन्दा बढी पाउने लिखत भएमा समेत ऐनबमोजिम भाइ सरहको अंश मात्र र यति मात्र दिउँला भनी तोकी अंश भन्दा घटि पाउने गरी लिखत भएमा लिखतै बमोजिम मात्र अंश खान पाउँछ छोरो नजन्मी छोरी जन्मेकोमा भने त्यस्तो पालनपोषण गरी उमेर पुगेपछि आफ्ना जात मिल्दामा विवाह गरिदिनुपर्छ विवाह नगरी बुढी कन्या बस्छु भनेमा अंशबण्डाका ऐनबमोजिम हुन्छ भन्ने लेखिएको र ४ नं. मा त्यस्तो धर्मपुुत्र ठहर्ने वालक ल्याई पाली सकेपछि आफ्नो विर्यबाट छोराछोरी जन्मेमा भने यसै महलको ३ नं. का ऐनबमोजिम हुन्छ भन्ने लेखिएकोबाट छोराछोरीको लागि बेग्लाबेग्लै व्यवस्था गरेको देखिन्छ । उक्त ऐनले आफ्नै छोरीले पनि धर्मपुत्रको स्थान लिन नसक्ने अवस्था देखाएको छ । उक्त ३ नं. मा सन्तान छोरा नहुँदा भन्ने वाक्यांश लेखिएकोबाट त्यस्तो पुत्रीको लागि धर्मपुत्र राख्ने व्यवस्था गरेको पाइन्छ । यसबाट धर्मपुत्र भन्नाले छोरालाई जनाउँदछ छोरीलाई धर्मपुत्र राख्ने व्यवस्था हाम्रो ऐनले गरेको देखिँदैन ।
७. धर्मपुत्र राख्नुको उद्देश्य आफ्नो अन्त्यष्टि तथा पिण्डपानी चलाउनको साथै आफ्नो गोत्रको कायम राख्नु हो । धर्मपुत्रको महलको विषयका प्रसंगमा बालक भन्नाले बालिकालाई समेत जनाउँदछ भन्न मिल्दैन । तसर्थ निवेदक वादीलाई धर्मपुत्रको ४ नं. बमोजिम धर्मपुत्र हो र सो नाताले निजले अपुताली पाउँछ भन्न मिल्ने देखिँदैन भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३२।७।६।५ को फैसला ।
८. निवेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता कृष्णप्रसाद घिमिरेले धर्मपुत्रको ४ नं. को प्र्रयोजनको लागि बालक शव्दले बालिकालाई पनि जनाउँदछ निवेदिका उक्त नं. बमोजिम धर्मपुत्र कायम हुनुपर्छ भन्नु भयो ।
९. विपक्षी तर्फबाट उपस्थित हुनुभएका वैतनिक अधिवक्ता कमलनारायण दासले निवेदिकालाई बाटोमा फालिएको अवस्थामा पाई ल्याई पालेको नभएको हुनाले धर्मपुत्रको ४ नं. बमोजिम धर्मपुत्र कायम हुन सक्तैन भन्नु भयो ।
१०. यसमा सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३२।७।६।५ को निर्णयउपर निवेदिकाले दिएको निवेदनमा व्यहोरा साँचो भए अघि सर्वोच्च अदालत डिभिजन बेञ्चबाट धर्मपुत्री बारे निर्णय भएको रहेछ भनी धर्मपुत्री सम्बन्धमा सर्वोच्च अदालत फुल बेञ्चबाट हेरी कानूनबमोजिम गरी छिनिदिनु भनी श्री ५ महाराजाधिराज सरकारबाट हुकूम बक्स भई यस अदालत समक्ष प्रस्तुत मुद्दा पेश हुन आएको देखिएकोले हुकूम प्रमाङ्गीबमोजिम निवेदिकालाई धर्मपुत्री कायम गर्न मिल्छ मिल्दैन भन्ने विषयमा नै मुलतः विचार गर्नुपर्ने हुन आयो मिति ०३२।७।६।५ मा भएको सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसलामा धर्मपुत्रको महलको ३ नं. र ४ नं. को विवेचनाको आधारमा निवेदिकालाई उक्त महलको ४ नं. अन्तर्गत धर्मपुत्री नहुने भन्ने निर्णय भएको देखियो । तत्काल प्रचलित धर्मपुत्रको महलको ४ नं. हेर्दा ऐनले धर्मपुत्र राख्नु पर्ने हकवाला भए पनि बाटा घाटामा फालिएको बालक ल्याई पालेको रहेछ भने त्यो पनि धर्मपुत्र पक्का ठहर्छ । त्यस्ताले आफूलाई पाल्नेको खतिउपति सबै व्यहोरी खान पाउँछ आफूले जन्माएका छोरा भइकन पनि फालेको पाई ल्याई पालेकोमा भने धर्मपुत्र ठहर्दैन, लिखत भए लिखतै बमोजिम र लिखत नभए पाल्नेका दयामायाले दिएको जति मात्र पाउँछ, बढी पाउँदैन, दयामायाले केही दिएन भने पनि त्यो बालकको उमेर नपुगुन्ज्याल पाल्नेको इज्जतअनुसार खान लाउन दिनुपर्छ, त्यस्तो धर्मपुत्र ठहर्ने बालक ल्याई पालिसकेपछि आफ्ना वीर्यबाट छोराछोरी जन्मेमा भने यसै महलको ३ नं. का ऐनबमोजिम हुन्छ भन्ने लेखिएको पाइयो । यसबाट ४ नं. को प्रयोजनको लागि बाटाघाटामा फालेको बालक ल्याई पालेको रहेछ भने त्यो पक्का धर्मपुत्र ठहर्ने र त्यस्ताले आफूलाई पाल्नेको खतिउपति सबै व्यहोरी खान पाउने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दाको सम्बन्धमा बस्तुस्थिति हेर्दा निवेदिकाको वारेसले मिति २०१२।६।१७।२ मा काठमाडौं देवानी अदालत दोस्रो फाँटमा गरेको बयानमा सोभितजङ्गको भित्रिनी मध्येका सुवर्ण कुमारीबाट ८५ सालमा जन्मी जन्मनासाथ मलाई सालनाल समेतै धाई राखी श्री दिपकुमारीको छोरी बनाइराख्नु भएको र उसै अवस्था देखि नै मैले पनि आमा जानी बसेको हुँ भन्नेसमेत व्यहोरा उल्लेख गरेको देखिन्छ । यसरी निवेदिकातर्फबाटै भएको बयानबमोजिम नै निज बाटोघाटोमा फालेको बालक नभई सुवर्णकुमारीबाट जन्मेको बालकलाई जानी बुझी धाईसमेत राखी पालेको भन्ने देखिन आयो धर्मपुत्रको उक्त ४ नं. ले बाटाघाटामा फालेको बाबुआमाको ठेगाना नभएको आश्रयहिन बालकको सम्बन्धमा मानवीय आधारमा धर्मपुत्रको हैसियतको सिर्जना गरेको देखिन्छ, तर प्रस्तुत मुद्दामा निवेदिका बाटाघाटोमा फालिएकी वेवारिस बच्चा नभई सोभितजङ्गको भित्रिनी मध्येका सूवर्णकुमारीबाट जन्म भई सालनालसहित ल्याएको भन्ने निजले स्पष्ट स्वीकार गरेकोले बाटोघाटोमा फालिएका वेवारिस बच्चाको स्थितिमा निवेदिकालाई राख्न सकिने भएन । निवेदिकालाई दिपकुमारीले कुनै प्रकारको लिखतसमेत गरिदिएको नदेखिएको हुनाले यस स्थितिमा तत्काल प्रचलित धर्मपुत्रको महलको ४ नं. बमोजिम निवेदिकालाई धर्मपुत्री मान्न सक्ने देखिएन । कोर्टफी राखेको देखिएको हुनाले यसमा केही गर्नु परेन । मिसिल नियमबमोजिम बुझाई दिनु ।
हामीहरुको सहमती छ ।
न्या. बब्बरप्रसाद सिंह
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३५ साल आश्विन ३ गते रोज ३ शुभम् ।