शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११७० - लुटपिट

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. ११७०     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र

सम्वत् २०३४ सालको फौ.फु.नं. ११७

फैसला भएको मिति : २०३५।५।१६।६ मा

पुनरावेदक : सर्लाही धर्मपुर गा.पं.वार्ड नं. ९ बस्ने रामअशिस महतो कोइरी समेत

विरुद्ध

वादी :       जि. सर्लाही धर्मपुर भाडसद गा.पं.बार्ड नं. ६ बस्ने रहमान मियाँ मुकेरी

मुद्दा : लुटपिट

(१)   लुटपिटको ६ नं. ले खानेबाट बिगो भराउनु पर्ने हुनाले वादीले सबूद प्रमाण पुर्‍याउन नसकेको कलममा यसले यो बिगो खाएकोछ भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. ६)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना

फैसला

            न्या. हेरम्बराज : मध्यमाञ्चल अदालतको ०३२।९।१३।१ को फैसलाउपर पुनरावेदनको अनुमती पाउँ भनी विश्वेश्वर महतो कोईरीसमेतले दिएको निवेदनपत्रमा यसै वारदातको एकै किसिमको मुद्दामा २ डिभिजन बेञ्चबाट २ किसिमको सजाय गरेको देखिएबाट सो सजायको सिद्धान्तमा प्रत्यक्ष गम्भिर त्रुटि भएको देखिनाले पुनरावदेनको अनुमती दिएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३४।४।२१।६ मा आदेश भई यस बेञ्चसमक्ष पेश हुन आएको छ ।

            २.    तथ्य यसप्रकार छ : फागुको निहु पारी मुसलमानहरुको लुटपिट गर्नुपर्छ भनी भनेको प्रतिवादी १३ जना र नचिनेको अरू अन्दाजी ३।४ सय जना भई २०२८।१।१८ को दिन लुटपिट गरिलगेको बिगो रु.३९७५८। भराई पाउँ भन्ने जैतुल हक मियाँ मुकेरीको ०२९ साल जेष्ठ ११ गतेको फिराद ।

            ३.    सो कुरामा इन्कार भई ऋषिनन्दनको मृत्यु भएको ज्यानमाराको अभियोगमा जोगीतयो कुटपिट गरेको हो भन्ने प्रतिउत्तर परेको ।

            ४.    वादी प्रतिवादीका साक्षीहरुको बकपत्र भएकोमा यस्तो लुटपिटको वारदात गरेको ठहर्छ, जिन्सी, कपडा र भाँडाहरु लगिराखेको ठाउँको व्यवस्था पनि भएको हुनुपर्ने सो नभएकोले कपडा र भाँडाबाहेक गहनाहरु लुटपिट गरेको ठहर्छ भन्ने सर्लाही जि. अदालतको फैसला ।

      ५.    सो इन्साफ सदर गरी बढी बिगो लगेको भन्ने वादीको पुनरावेदन जिकिर पुग्दैन प्रतिवादीहरुले लुटपिट गरेको ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

      ६.    त्यस उपर पुनरावेदनको अनुमती पाउँ भनी प्रतिवादीहरुको निवेदन परेकोमा पुनरावेदनको अनुमती प्राप्त भई दर्ता हुन आएको यो पुनरावेदनको जिकिर पढी मिसिल समेत अध्ययन गरी पुनरावेदनतर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री दमन ढुङ्गानाले गर्नु भएको वहस समेत सुनी निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरुले लुटपिट गरी लगेको ठहरेको गहनाहरु कसले खाए लिएका हुने भन्ने कुरा सबूदबाट मात्र पुष्टि नभएको होइनकी वादीले पनि यो यो प्रतिवादीसँग सम्पत्ति खाएका छन भन्ने दावी गरेको देखिँदैन जब फिरादमा चिनेको १३ जना र नचिनेको ३।४ सय जनाले लुटपिट गरेको भनी लेखिएको छ भने त्यो लुटिएको भनी वादीले दावी गरेकोमा ठहर भई आएको गहनाहरु कुन चाहिंले लुटेको भनी ठहर गर्ने हो निश्चित गर्न सकिंदैन अरू अरूको घर पनि लुटपिट भएको छ भनी वादीका साक्षीहरुले बकपत्र गरेकोमा बिगो यसले खाएको भनी साक्षीहरुबाट बकपत्र नभएको कारणले वादीले सबूद पुर्‍याउन नसकेको कलममा यसले यो बिगो खाएको हो भनी ठहर गर्नु भएन लुटपिटको ६ नं. ले खानेबाट बिगो भराउनुपर्ने हुनाले प्रतिवादीहरुले लुटपिट गरेको ठहर्दैन वारदातसम्म भएको हो भन्ने कुरा मिसिलबाट प्रमाणित भएकै हुनाले वारदात ठहराएको इन्साफ मनासिव छ । अरू तपसीलबमोजिम गर्न नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदक प्रतिवादीहरुले लुटपिट गरेको ठहरेकोले सर्लाही जिल्ला अदालतको ०३१।७।२।६ को फैसलाले देहायका प्रतिवादीहरुलाई बिगो रु.३४४३७। को सयकडा २५ ले गर्ने गरेको जरिवाना हाल नलाग्ने हुँदा असूल भएको भए फिर्ता र नभएको भए व्यहोरा जनाई लगत काटिदिनु भनी सर्लाही जिल्ला अदालतका पुर्जि का.जि. अ.त.मा लगत दिनु................१

प्र.चुलाई के ८६०।९४, प्र.राम किशोर खिडहरी के रु.८६०।९४, प्र.राम असिस महतो के रु.८६०।९४, प्र.अनुरुप रायको रु.८६०।९४, प्र.रामचन्द्र रायको रु.८६०।९४, प्र.उमाकान्त खिउहरी के.रु.८६०।९४, प्र.रामनारायण दास यादव के रु.८६०।९४, प्र.अनुपलाल के रु.८६०।९४, प्र.दशराय के रु.८६०।९४, प्र.सुवदार सहनी के रु.८६०।९४,

देहायको प्रतिवादीहरुलाई माथि ईन्साफ खण्डमा लेखिएबमोजिम लुटपिट गरेको नठहरेकोले थप दसौंद जरिवाना समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३२।९।१३ को फैसलाले लिने गरेको हाल नलाग्ने हुँदा असूल भए फिर्ता र नभए व्यहोरा जनाई लगत काटिदिनु भनी सर्लाही जिल्ला अदालतमा पूर्जि गर्न का.जि. अ.त.मा लगत दिनु ........२

प्रतिवादी दशरथ राय के ११५६।२६, प्र.रामचन्द्र राय के रु.११५६।२६, प्र.चुलहाई राय यादव के रु.११५६।२६, प्र.च.रामनारायण यादव के ११५६।२६, प्र.राम असिस महत्व के रु.११५६।२६, प्र.राम महत्व कोइरी के ११५६।२६, अनुप महतो कोईरी के ११५६।२६, प्र.सुवेदार सहनी के ११५६।२६

सर्लाही जिल्ला अदालतले प्रतिवादीका साक्षीहरुलाई झुठ्ठा बके वापत रु.५। का दरले जरिवाना गर्ने गरेकोमा हाल प्रतिवादीहरुले सफाई पाएकोले असूल भए फिर्ता नभएकोमा हाल प्रतिवादीको सफाई पाएकोले असूल भए फिर्ता नभए व्यहोरा जनाई लगत काटिदिनु भनी स.जि. स.मा पूर्जि गर्न का.जि. अ.त.मा लतग दिनु .......................३

झिरन राय यादव के रु.५।, श्री देपु खिडहरी के रु.५।, चन्द्र ठाकुर हजाम के रु.५।

झुठ्ठा उजूर गरेमा वादी रहमान मुकेरीलाई दण्ड सजायको १८ नं. ले बिगो ३४४३७ को सयकडा २५ जरिवाना हुने हो तापनि एउटा आतङ्क बन्न गई यसले यो खायो भनी फिरादमै खुलाउन नसकेको र वारदातको रुपबाट वादीलाई शङ्का उत्पन्न हुन गई बिगो भरिपाउँ भन्ने दावी नगरेको यस्तो उजूर परेको देखिएको हुँदा दण्ड सजायको १८ नं. ले रु.४२। मात्र वादीलाई जरिवाना हुन्छ वारिस हुँदा ऐनबमोजिम असूल सर्लाही जिल्ला अदालतमा पूर्जि गर्न का.श्रे.अ.त.मा लगत दिनु............. ४

 

उक्त रायमा म सहमत छु ।

 

न्या. ईश्वरीराज मिश्र

 

 

इति सम्वत् २०३५ साल भाद्र १६ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु