शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४०१७ - लिखत दर्ता बदर

भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२

निर्णय नं. ४०१७     ने.का.प. २०४६                        अङ्क १२

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४६ सालको दे.पु.नं. ४७८

फैसला भएको मिति :      २०४६।११।८।२ मा

पुनरावेदक/प्रतिवादी : वीरगञ्ज न.पं. वा.नं. १२ बस्ने पासपतप्रसाद शाह तेली

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.बस्ने दिलीपप्रसाद भन्ने दलिपनारायण वर्णवाल

मुद्दा : लिखत दर्ता बदर

§  मुद्दा पर्दापर्दै घर जग्गा खरीद गरी लिएकोमा उक्त मुद्दाबाट घरजग्गाको तेरो मेरोमा जे जस्तो निर्णय हुन्छ सोही अनुकूल राजीनामाको कानुनी स्थिति हुने ।

(प्रकरण नं. १४)

§  घर जग्गामा बिक्री गर्नेको हक समाप्त भएको अवस्थामा सो व्यक्तिबाट हक प्राप्त गर्नेको हक कायम रहन नसक्ने ।

(प्रकरण नं. १४)

§  आफूमा निहित हक भन्दा बढी हक हस्तान्तरण गर्न नमिल्ने ।

(प्रकरण नं. १४)

पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

प्रत्यर्थी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

फैसला

     प्र.न्या. धनेन्द्रबहादुर सिंह : नारायणी अञ्चल अदालतको फैसला उपर पुनरावेदनको अनुमति दिन मिलेन भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश उपर निवेदन परेकोमा पुनरावेदनको अनुमति दिने सर्वोच्च अदालत संयुक्त इजलासबाट आदेश भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

      २.    विपक्षी शम्भुनारायण वर्णवालले वसगीत रामबाट खरिद गरिलिएको ०११८ जग्गा र सो मा भएको खपडाको घर र टिनको बसरी भएको घर १ भत्किए पछि घर बनाएकोमा पूर्व सडक पश्चिम २ फुटको नाली उत्तर दुर्गाराम दक्षिण सडक भनी ४ किल्ला लेखी म उपर पर्सा जिल्ला अदालतमा मुद्दा दायर गर्नु भएकोमा दावीको घर मेरो हो हाल फिरादमा किल्ला फरक पारी मेरो घरलाई दावी गर्न आएका हुन् भनी प्रतिउत्तर फिराएकै छु । सो मुद्दामा नाप नक्शा नै नगरी मलाई हराई फैसला भएको र सो फैसलामा मेरो मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परी नाप नक्शा गर्ने आदेश भई नाप नक्शा समेत भएको छ । मध्यमाञ्चल क्षेत्रीय अदालतमा मुद्दा चल्दा चल्दैका अवस्थामा विपक्षीहरु मिली मलाई हानी आफूलाई फाइदा हुने गरी रै.नं. ५३७ को ०११६ जग्गा मध्ये ०३ जग्गा र सो जग्गामा भएको घर समेत किल्ला फरक पारी पासपतलाई ०३९।६।१८ मा रजिष्ट्रेशन गरी दिएको कुरा निज पासपतले मेरो नाममा पठाएको घर खाली गरी दिनु भन्ने हु.बाट पठाएको सूचनाबाट थाहा पाई नालेश गर्न आएको छु । साक्षी प्रमाण बुझी शम्भुनारायणबाट पासपतले जानाजान गराई लिएको मिति २०३९।६।१८ गतेको रु. २,००,०००।मा माथि उल्लेखित ०३ जग्गा र घरको लिखत बदरको साथै दर्ता समेत बदर गरी पाउँ भन्ने वादी ।

      ३.    वादी दावी अनुसार लिखत बदर हुनुपर्ने होइन । किल्ला फरक पारी जग्गा लिएको होइन । शम्भुनारायणबाट कानुन बमोजिम रजिष्ट्रेशन पास गराई लिएको हो । वादीसंग शम्भुनारायणको मुद्दा परेको कुरालाई थाहा थिएन दावी अनुसार लिखत बदर हुनुपर्ने होइन झुठ्ठा दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने प्रतिवादी ।

      ४.    प्रतिवादी शम्भुनारायणले मिति २०४०।९।६ मा तामेल भएको इतलायनामाको म्याद गुजारी बसेको ।

      ५.    वादीको साक्षी मोहनप्रसाद प्रतिवादीको साक्षी शिवनन्दनप्रसादले गरेको बकपत्र । वादीले दावी लिएको घर जग्गा समेत शम्भुनारायण र दलिपनारायण बीचको बहाल दिलाई घर खाली मुद्दामा श्री सर्वोच्च अदालतबाट मिति २०४२।३।११ गते दलिपनारायणको हक हुने गरी मिलापत्र भएको देखिँदा वादी दावी अनुसार लिखत बदर दर्ता बदर हुने समेत ठहर्छ भन्ने शुरु जिल्ला अदालतको फैसला रहेछ ।

      ६.    शुरु जिल्ला अदालतले मलाई हराई गरेको फैसलामा मेरो चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी पासपतप्रसाद तेलीको पुनरावेदनपत्र रहेछ ।

      ७.    अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाउने भन्ने समेत नारायणी अञ्चल अदालतको आदेश ।

      ८.    विवादित जग्गामा बनेको घर खाली गराई किराय दिलाई पाउँ भन्ने मुद्दामा शम्भुनारायणको दलिपनारायण उपर नालेश परेको मुद्दामा पुनरावेदक प्रतिवादीका बाबु हरिप्रसाद वारिस बसेको प्रमाणको मिसिलबाट देखिन्छ । सो मुद्दाका वादी प्रतिवादी शम्भुनारायण दलिपनारायणले विवादको घर जग्गा आफ्नो आफ्नो भनी दावी जिकिर लिएकोले कोर्टफी दाखिल गराई इन्साफ हुँदा शम्भुनारायणले शुरु तह पुनरावेदन तहमा जिते पनि आखिर सर्वोच्च अदालतमा सो मुद्दामा वादीले दावी छाडेको र सो मुद्दाका प्रतिवादी दलिपनारायणको विवादित घर जग्गा कायम हुने गरी २०४२।३।११ मा मिलापत्र भएको देखिन्छ । त्यसरी मुद्दा चल्दा चल्दै रहेको अवस्थामा पुनरावेदक पासपतप्रसादले केही जग्गा आफ्नो नाममा केही जग्गा बाबु हरीप्रसाद र भाइ गम्भीरप्रसादको नाममा शम्भुनारायणबाट राजीनामा गरी लिई स्वामित्व परिवर्तन गरेको राजीनामा समेतबाट देखिन आयो । पुनरावेदकको दाता शम्भुनारायणले विवादित घरजग्गा आफ्नो भन्ने सबूद प्रमाण पुर्‍याउन नसकी यो मुद्दामा म्यादै गुजारी बसेको पुनरावेदकले पनि सो कुराको प्रमाण पुर्‍याउन नसकेकोले वादी दावी अनुसार लिखत र दर्ता बदर हुने ठहराएको शुरुको इन्साफ मनासिब छ भन्ने समेत नारायणी अञ्चल अदालतको मिति २०४५।१०।१८ गतेको फैसला।

      ९.    सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको प्रतिवादीको निवेदनपत्र ।

      १०.    लिखत र दर्ता बदर हुने ठहराएको शुरु पर्सा जिल्ला अदालतको फैसला सदर गरेको नारायणी अञ्चल अदालतको फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ को (संशोधन सहित) को दफा १३(४) अन्तर्गत कुनै कानुनी त्रुटि नभएबाट पुनरावेदन गर्ने अनुमति प्रदान गर्न मिलेन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।२।१७ गतेको आदेश ।

      ११.    सो आदेश उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको सर्वोच्च अदालतमा परेको निवेदनपत्र ।

      १२.   मिति २०१२।३।७ मा शम्भुनारायणले वसगीत राम कलवारबाट राजीनामा गराई लिएको घर जग्गा नै शम्भुनारायणबाट यी निवेदक हरुले मिति २०३९।६।१८ मा राजीनामा लिखत पारित गराई लिएको देखिँदा मुद्दा चल्दा चल्दैको अवस्थामा गराई लिएको भनी लिखत र दर्ता बदर हुने ठहराएको शुरु फैसलाहरु उपर पुनरावेदनको अनुमति दिन इन्कार गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेशमा अ.बं. १८४, १८५ र प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४६।४।१९ गतेको आदेश ।

      १३.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले शम्भुनारायणले आफ्नो हकको सम्पत्ति पुनरावेदकलाई रजिष्ट्रेशन पारित गरी राजीनामा गरी दिएको छ । सो लिखत बदर हुनुपर्ने होइन । लिखत बदर मुद्दा परी विचाराधिन रहेको, प्रतिवादीलाई राजीनामा दिएको सम्पत्ति वादीको हक कायम हुने गरी जालसाजीबाट सर्वोच्च अदालतमा मिलापत्र गरेको हुँदा सो मिलापत्र समेतलाई आधार लिई लिखत बदर गरेको इन्साफ मिलेको छैन । तसर्थ शुरु र अञ्चल अदालतको फैसला बदर हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो । प्रत्यर्थीहरुबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले प्रतिवादीले राजीनामा गरी लिएको घर जग्गाको सम्बन्धमा मेरो पक्षको शम्भुनारायणसंग चलेको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा प्रतिवादीले राजीनामा गराई लिएकोले सो राजीनामा कायम रहन नसक्ने र शम्भुनारायणले मिलापत्र गरी घर जग्गा वादीलाई हक छाडी सकेको हुँदा प्रतिवादीको लिखत दर्ता बदर गरेको शुरु र अञ्चल अदालतको इन्साफ मिलेको छ भन्ने समेत बहस गर्नुभयो।

      १४.   यसमा निर्णयतर्फ हेर्दा प्रस्तुत मुद्दाका वादी दलिपनारायण र प्रतिवादी शम्भुनारायणका किराय दिलाई घरखाली गरी चलन चलाई पाउँ भन्ने मुद्दामा चलिरहेको अवस्थामा प्रतिवादी मध्येका शम्भुनारायणले हरिप्रसाद साहुतेली, गम्भीरा साह तेली र यिनै पुनरावेदक पासपतप्रसाद साहु तेलीलाई घरजग्गा बिक्री गरेको भन्ने देखिन्छ । सो बिक्री गरेको लिखतलाई बदर गरी पाउँ भनी दावी लिई प्रस्तुत मुद्दाको फिराद परेको पाइन्छ । उक्त शम्भुनारायण र दलिपनारायण बीच चलेको मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन दायर रहेको अवस्थामा राजीनामा लिनु दिनु गरेको भन्ने देखिन आएको छ । त्यसरी मुद्दामा हक बेहक परी अदालतको विचाराधीनमा रहेको अवस्थाको घर जग्गा राजीनामा लिनु दिनु भएकोमा विवाद देखिँदैन । मुद्दा पर्दापर्दै घर जग्गा खरिद गरी लिएकोमा उक्त मुद्दाबाट घर जग्गाको तेरो मेरोमा जे जस्तो निर्णय हुन्छ सोही अनुकूल राजीनामाको कानुनी स्थिति हुन्छ । घर जग्गामा बिक्री गर्नेको हक समाप्त भएको अवस्थामा सो व्यक्तिबाट हक प्राप्त गर्नेको हक कायम रहन सक्ने हुँदैन । आफूमा निहित हक भन्दा बढी हक हस्तान्तरण गर्न मिल्दैन । यी वादी प्रतिवादी मध्येका शम्भुनारायण अंशियार भन्ने कुरा प्रमाणको मिसिलबाट देखिएको छ । प्रतिवादी शम्भुनारायणबाट यी पुनरावेदक समेतले राजीनामा गरी लिएको घर जग्गा अदालतको विचाराधीन रहेको मुद्दामा यी शम्भुनारायणको हक कायम हुन नसकेको अवस्थामा पुनरावेदकले गराई लिएको राजीनामाबाट पुनरावेदकको हक पक्का हुनसक्ने हुँदैन । प्रतिवादी शम्भुनारायणको हक कायम रही रहेको अवस्थामा मात्र राजीनामाबाट पुनरावेदकको हक प्राप्त हुनसक्ने हो । तर पुनरावेदकले राजीनामा लिनु पूर्व सो राजीनामाको घर जग्गामा मुद्दा चलिरही राजीनामा लिए पश्चात सो मुद्दा तह तह हुँदै सर्वोच्च अदालतमा परी मिति २०४२।३।११ मा मिलापत्र हुँदा पुनरावेदकले राजीनामा गरी लिएको घर जग्गा प्रस्तुत मुद्दामा वादी दलिपनारायणको हक कायम हुने गरी मिलापत्र भएको देखिन्छ । सो मिलापत्र भएको मुद्दा अन्तिम टुङ्गो नलाग्दै मुद्दा पर्दापर्दैका अवस्थामा पुनरावेदकले गराई लिएको राजीनामाको घर जग्गामा पुनरावेदकको हक पक्का भएको भन्न मिलेन । तसर्थ वादी दावीको लिखत र दर्ता बदर गर्ने गरेको पर्सा जिल्ला अदालतको इन्साफ सदर गरेको नारायणी अञ्चल अदालतको फैसलामा कानुनी त्रुटि नदेखिएको भनी पुनरावेदनको अनुमति नदिने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय आदेश मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी लागेको मुद्दा हुँदा केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल फाल्गुण ८ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु