शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६९५१ - सन्धिसर्पन

भाग: ४२ साल: २०५७ महिना: माघ अंक: १०

निर्णय नं. ६९५१           ने.का.. २०५७            अङ्क १०/११

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल

सम्वत २०५४ सालको दे.पु.नं. ३६९९

फैसला मितिः २०५७।१।२८।४

मुद्दाः सन्धिसर्पन 

पुनरावेदक/प्रतिवादीः का..जि. नमोबुद्ध गा.वि.. को हाल श्यामपाटी सिमलचौर गा.वि.. वडा नं.७ बस्ने शेरबहादुर तामाङ्ग

विरुद्ध

विपक्षी/वादीः ऐ..बस्ने लाल बहादुर तामाङ्ग समेत

 

§  मुलुकी ऐन जग्गा आवाद गर्नेको १४ नं. मा आवाद गर्न नहुने जग्गा आवाद वा दर्ता गरे गराएकोमा बाहेक अरु कुरामा थाहा पाएको मितिले ६ महिनाभित्र नालेस नदिए लाग्न सक्दैन भन्‍ने व्यवस्थाबाट त्यस्तो सार्वजनिक वन वुटेन भएको सार्वजनिक सन्धिसर्पनको भित्रको जग्गा कसैले आवाद दर्ता गरे गराएमा जहिले सुकै नालेस गर्न सक्ने नै देखिन्छ । वादीले विवादको जग्गा गौचरण सन्धिसर्पनको जग्गा हुँदा विपक्षी प्रतिवादीले आफ्नो नाउमा दर्ता गराएको दर्ता वदर गरी पाउँ भन्‍ने फिराद दावी भएको र त्यस्तो सार्वजनिक सन्धिसर्पनको जग्गा विषयमा जहिलेसुकै नालेस गर्न सक्ने नै हुँदा विवादको जग्गा मिसिल संलग्न रहेका प्रमाण तथा अन्य प्राप्त प्रमाणबाट सार्वजनिक सन्धीसर्पन भित्रको जग्गा हो वा व्यक्तिगत हकभोग दर्ताको जग्गा हो सबूद प्रमाण बुझी इन्साफ गर्न वादीको फिराद खारेज गरेको शुरु काभ्रेपालञ्‍चोक जिल्ला अदालतको इन्साफलाई उल्टी गरी जो जे बुझ्नु पर्छ बुझी ठहर इन्साफ गर्न पुनरावेदन अदालत ललितपुर पाटनले मुद्दाका पक्ष विपक्षलाई तारेख तोकी शुरु काभ्रेपलाञ्‍चोक जिल्ला अदालतमा पठाउने गरेको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । हदम्याद लगाई फिराद खारेज हुनुपर्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न नसक्ने ।    

  (प्र.नं. १०)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः

विपक्षी वादी तर्फबाटः

अवलम्बित नजिरः

फैसला

न्या. दिलीपकुमार पौडेलः पुनरावेदन अदालत पाटनबाट भएको मिति २०५२।१२।१२ को फैसला उपर चित्त नबुझी प्रतिवादीको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नप्रकार छः

2.            नारायण नमोबुद्ध गा.वि.. वडा नं. ५ को कि.नं. ७१० को क्षे.. ४०१०० भएको जग्गा गौचरण सन्धिसर्पनको जग्गा हो र त्यहाँ पानीघाट पोखरी पनि छ । यो पर्ती बाँझो जग्गा विपक्षी शेरबहादुर तामाङले आफ्नो नाममा दर्ता गराएकोले उक्त जग्गालाई पर्ती सन्धिसर्पण गौचरण कायम गरी विपक्षीको दर्ता समेत बदर गरी पाउँ भन्ने समेत व्यहोराको फिराद माग दावी ।

3.            फिरादीले उल्लेख गरेको कि.नं. ७१० को जग्गा साविकमा पिताको नाममा दर्ता भएकोमा संगोलको छोरा हुँदा नापी हुँदा मेरो नाममा दर्ता हुन आएको हो र जग्गाधनी प्रमाणपूर्जा पनि प्राप्त गरेको छु । उक्त जग्गा सार्वजनिक जग्गा होइन, मेरो भोग चलनको जग्गा हो र दर्ता बदर हुनुपर्ने होइन तसर्थ विपक्षीको फिराद दावी खारेज गरी पाउँ भन्ने व्यहोराको प्रतिउत्तर ।

4.           वादी दावी हदम्याद भित्रको नदेखिँदा अ.वं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काभ्रेपलान्चोक जिल्ला अदालतको २०५०।११।२२ को फैसला ।

5.            संकलित मिसिल संलग्न सबुद प्रमाणहरुले विवादित जग्गा सार्वजनिक हो भनी प्रमाणित गरिरहेको अवस्थामा हदम्याद विहीन फिराद भनी खारेज गर्ने गरेको शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको २०५०।११।२२ को फैसला बदर गरी साविक देखिको उक्त जग्गा सार्वजनिक गरी पाउँ भन्ने समेत व्यहोराको लालबहादुर समेत १० जनाको संयुक्त पुनरावेदन ।

6.            मिति २०१८।१।१९ को पर्चाले सन्धिसर्पन कायम भएको भन्ने दावी भएकोमा २०३४।४।२५ मा दर्ता भएको हुँदा जग्गा आवाद गर्नेको १४ नं. को हदम्याद आकर्षित नहुने भनी खारेज गरे तर्फ अ.वं. २०२ नं. बमोजिम छलफलको लागि विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने पुनरावेदन अदालतको २०५१।१२।२८ को आदेश ।

7.            प्रतिवादीले दर्ता गराएको दर गरी पाउँ भन्ने फिराद दावीलाई २०३४।४।२५ मा दर्ता भए गरेको भनी जग्गा आवाद गर्नेको १४ नं. को हदम्याद आकर्षित नहुने भनी फिराद खारेज गर्ने गरेको शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला नमिलेको हुँदा वदर गरी दिएको छ । अब यसै मिसिलबाट जे जो बुझ्नु पर्छ बुझी ठहर फैसलगर्नु भनी तारेखमा रहेका पक्षहरुलाई शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको तारेख तोकी मिसिल शुरु जिल्ला अदालतमा पठाइदिने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको २०५२।१२।१२ को फैसला ।

8.           जिल्ला अदालतबाट गरेको फैसला यो यति कारणबाट उल्लेखित नजिर लाग्न सक्दैन भनी उल्लेख सम्म पनि नगरी न्हुच्छेबहादुर वासुकला विरुद्ध कर्णबहादुर वासुकला भएको दर्ता वदर मुद्दा ने.का.. २०३६, अंक ८, पृष्ठ २५३, ने.का.. २०४८, नि.नं. ४४२७, अंक ११, पृष्ठ २५३, ने.का.. २०४३, अंक ६, पृष्ठ ६६९ र ने.का.. २०४९ अंक ३ पृष्ठ २३३ समेतका प्रतिपादित सिद्धान्त प्रतिकूल हदम्याद सम्बन्धी प्रत्यक्ष त्रुटि गरी गरेको पुनरावेदन अदालत पाटन ललितपुरको फैसला उल्टी गरी सुरु फैसला सदर गरी पाउँ भन्ने प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन ।

9.            नियम बमोजिम दनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनले गरेको इन्साफ मिले नमिलेको के रहेछ, सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

10.         यसमा विवादीत जग्गा सार्वजनिक सन्धिसर्पनको जग्गा भएको कुरा मालपोत कार्यालय काभ्रेपलाञ्‍चोकबाट मिति २०१८।१।१९ मा भएको पर्चाको शुरु मिसिल संलग्न रहेको फा.पा.नं. ४९ को प्रतिलिपिबाट देखिन आएको छ । उक्त पर्चा वदर भएको भन्‍ने देखिदैन । साथै शुरु जिल्ला अदालतबाट भएको २०५०।४।२३ को नक्सा मुचुल्का समेतबाट विवादित जग्गा गाई वस्तु चराउने सार्वजनिक वन बुटेन भएको जग्गा हो भनी प्रष्ट उल्लेख गरेको देखिएको र उक्त नक्सा मुचुल्कामा प्रतिवादी रोहवरमा रही सही गरेको समेत देखिन्छ । रीतपूर्वक नक्सा नभएको भनी प्रतिवादीले खण्डन गरेको समेत देखिदैन । मुलुकी ऐन जग्गा आवाद गर्नेको १४ नं. मा आवाद गर्न नहुने जग्गा आवाद वा दर्ता गरे गराएकोमा बाहेक अरु कुरामा थाहा पाएको मितिले ६ महिनाभित्र नालेस नदिए लाग्न सक्दैन भन्‍ने व्यवस्थाबाट त्यस्तो सार्वजनिक वन वुटेन भएको सार्वजनिक सन्धिसर्पनको भित्रको जग्गा कसैले आवाद दर्ता गरे गराएमा जहिले सुकै नालेस गर्न सक्ने नै देखिन्छ । वादीले विवादको जग्गा गौचरण सन्धिसर्पनको जग्गा हुँदा विपक्षी प्रतिवादीले आफ्नो नाउमा दर्ता गराएको दर्ता वदर गरी पाउँ भन्‍ने फिराद दावी भएको र त्यस्तो सार्वजनिक सन्धिसर्पनको जग्गा विषयमा जहिलेसुकै नालेस गर्न सक्ने नै हुँदा विवादको जग्गा मिसिल संलग्न रहेका प्रमाण तथा अन्य प्राप्त प्रमाणबाट सार्वजनिक सन्धीसर्पन भित्रको जग्गा हो वा व्यक्तिगत हकभोग दर्ताको जग्गा हो सबूद प्रमाण बुझी इन्साफ गर्न वादीको फिराद खारेज गरेको शुरु काभ्रेपालञ्‍चोक जिल्ला अदालतको इन्साफलाई उल्टी गरी जो जे बुझ्नु पर्छ बुझी ठहर इन्साफ गर्न पुनरावेदन अदालत ललितपुर पाटनले मुद्दाका पक्ष विपक्षलाई तारेख तोकी शुरु काभ्रेपलाञ्‍चोक जिल्ला अदालतमा पठाउने गरेको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । हदम्याद लगाई फिराद खारेज हुनुपर्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु    

 

उक्त रायमा सहमत छु ।

 

न्या.केदारनाथ उपाध्याय

 

इति सम्वत २०५७ साल वैशाख २८ गते रोज ४ शुभम ............

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु