निर्णय नं. ६९५४ - लेनदेन

निर्णय नं. ६९५४ ने.का.प. २०५७ अङ्क १०/११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
सम्वत २०५२ सालको दे.पु.नं. ..... ३४५१
फैसला मितिः २०५६।१।२१।५
मुद्दाः लेनदेन ।
पुनरावेदक/प्रतिवादीः जिल्ला पाल्पा, रामपुर गा.वि.स. वडा नं. ३ बस्ने खिमबहादुर खाँड ठकुरी मरी निजको मु.स. गर्ने ढलबहादुर खाँड ठकुरी
विरुद्ध
प्रत्यर्थी/वादीः जिल्ला तनहुँ, गजरकोट गा.वि.स. वडा नं. ९ बस्ने भगवान शर्मा
§ मिति ०५०।९।५ मा मुलुकी ऐन, २०२० मा संशोधन भई पुनरावेदनको तहमा पुनरावेदक र यसै महलको २०२ नं. बमोजिम झिकाइएको प्रत्यर्थी तारिखमा नबसेपनि हुन्छ भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । तर प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी खिम बहादुर खाँड ठकुरीले ०५०।७।१८ मा नै तारेख गुजारी बसेको हुँदा पछि बनेको कानूनले अघिको तारिख गुज्रेकोमा सुविधा नपाउने र गुज्रेको तारिख थमाउने म्याद बाँकी नै रहेको अवस्था भए कानून बमोजिम म्याद थमाई तारिखमा बस्नु पर्नेमा सो बमोजिम तारिखमा बसेको स्थिति समेत देखिदैँन । यसरी पुनरावेदकले तारिखमा नबसेपनि हुने भनी ०५०।९।५ मा मुलुकी ऐनमा संशोधन हुनु भन्दा अगाडी नै तारिख गुजारी थमाउने म्याद समेत बाँकी नरहेको स्थितिमा पुनरावेदन जिकिर लिई म्याद बाँकी छ भनी भन्न समेत नमिल्ने देखिँदा पुनरावेदन डिसमिस हुने ठहर्याएको पुनरावेदन अदालत बुटवलको निर्णय सदर हुने ।
(प्र.नं. १५)
पुनरावेदक विपक्षी तर्फबाटः
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्बित नजिरः
फैसला
न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ बमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः
2. विपक्षीका हक भोग दर्ताको पाल्पा रामपुर गा.पं. वडा नं. ३ मा पर्ने कि.नं. ३५९ को रोपनी १२–११–३.१।४ को पाखो कित्ता १, ऐ. कि.नं. ३५९ को रोपनी ०–७–२.३।४ को पाखो कित्ता १, ऐ.कि.नं. ३६१ रोपनी २–२–१.१।४ को पाखो कित्ता १, ऐ.कि.नं. ३६२ को रोपनी ५–७–२.१।२ को खेत कित्ता १, ऐ.को कि.नं. ३६९ को रोपनी १–१–२.१।२ को खेत कित्ता १, ऐ. कि.नं. ३७० को रोपनी ६–३–२.३।४ को खेत कित्ता १, ऐ.कि.नं. ४३१ को रोपनी १–१३–३.३।४ को पाखो कित्ता समेत जम्मा कित्ता ७ को मूल्य रु.७०,०००।- गरी रु.४९,१००। म सँग बुझी लिई बाँकी रु.२०,९००। २०३८ चैत्र महिना भरमा बुझी उक्त लेखिएका जग्गाहरु राजिनामा पास गरी दिनेछु नदिए कानुन बमोजिम उपर गर्नु भनी २०३८।१०।११ मा शर्तनामा सहितको कागज लेखी दिएकोमा २०३८ चैत्र मसान्तमा उक्त रकम लिई विपक्षी कहाँ गई जग्गा पास गरी दिनु पर्यो भनी भन्दा पास गरी दिन्न भनी रजिष्ट्रेशनको ५ नं. को म्याद गुजारी दिएकोले सो लिखत कपाली सरह हुन गई रजिष्ट्रेशनको ६ नं. बमोजिम कपाली सरह नै उक्त सावा र व्याज दिन पर्यो । सावा व्याज पनि नदिने गर्दा मलाई मर्का पर्यो भन्दा २०४१।१२।२५ गतेका दिन सावा र व्याज पनि दिन्न जानेको गर भनी जवाफ दिनु भएकोले विपक्षीलाई यस अदालतबाट झिकाई मेरा तपसिलका साक्षी प्रमाण बुझी सावा रु.४९,१००। र त्यसको भरिभराउ हुँदा तकको कानुन बमोजिम पाउने व्याज र कोर्ट फि अन्य दस्तुर समेत विपक्षीबाट मलाई दिलाई भराइ पाउँ भन्ने समेत व्यहोराको २०४२।१।२७ को फिराद दावी ।
3. विपक्षी वादीले मेरो टर्वाइन मिल पानी सानो भई नचलेको देखि मलाई दिनुस भनी माग्दा मैले पनि चलाउन नसकेको कारणले निजलाई दिन मन्जुर भई हामी दुवैले २०३८ मार्ग २३ गते मिल लेनदेनको सम्झौता बारेको निवेदन लेखी कृ.वि.बैंक रामपुरमा दिएको र सो लेनदेनको स्वीकृत भएपछि २०३८।१०।११ गते वाटर टर्वाइन तथा मिल मेशिनरी पुरा सेटै राम्रो अवस्थामा नै मैले विपक्षी वादीलाई बुझाई सोको भरपाई गरी दिएको । कृ.वि.बैंक रामपुरमा नै छ र वादीलाई मैले कुनै जग्गा बेच्ने कुरा गरेको छैन बेच्न पर्ने अवस्था पनि छैन । २०३८।१०।११ गते बुझाउन पर्ने मिलको रुपैया ६२४९०। र रु.१३०९७।५७ विपक्षी हस्ते भई कृ.वि.बैंक रामपुरमा बुझाएको र मिल उक्त निवेदनमा स्वीकृत भए अनुसार मलाई भरपाई गरी लिई मेरो मिल विपक्षी वादीले बुझी लिएको हुँदा निजको र मेरो बीच कुनै लेनदेन व्यवहार छैन । वादीलाई रु.७०,०००। मा जग्गा दिने मोल गरी रु.४९,१००। लिई चैत्र महिनामा रु.२०,९००। लिने गरी कुनै जग्गाको राजिनामा लेखत २०३८।१०।११ गते गरी दिएको र रुपैया लिएको समेत छैन फिराद दावी झुठ्ठा हो । लिखत देख्न सुन्न पाए अ.वं. ७८ नं. बमोजिम सुन्न पाएका बखत अ.वं.८० नं. बमोजिम बयान गर्नेछु भनी झुठ्ठा फिराद दावाबाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको २०४२।४।११ को प्रतिउत्तर पत्रमै सक्कल लिखत सुनाई साक्षी समेत बुझिएको रहेछ ।
4. मिति २०४४।१।९ को यसै अदालतको फैसला अनुसार मूल अंक अक्षरहरु सच्याइएको समेत देखिँदा त्यस्तो लिखतको आधारमा नालेस दावी गरेको मिल्ने नदेखिँदा खारेज हुने ठहर भएको पाल्पा जिल्ला अदालतको फैसला ।
5. पाल्पा जिल्ला अदालतको इन्साफमा चित्त बुझेन इन्साफ गरी पाउँ भन्ने समेत भगवान शर्माको पुनरावेदन पत्र ।
6. रित नपुगेको कागजका हकमा जरिवाना गरी नालेस सुनी इन्साफ गरी दिनु पर्छ भनी कानुनी व्यवस्था भएको देखिएको अवस्थामा उक्त ८ नं. बमोजिम जरिवाना समेत लिई कानुन र प्रमाण हेरी ठहरे बमोजिम निर्णय गर्नुपर्नेमा खारेज गरेको शुरु पाल्पा जिल्ला अदालतको इन्साफ मिलेको नहुँदा बदर गरी दिएको छ । मिसिल पाल्पा जिल्ला अदालतमा जे जो प्रमाण बुझी ठहर निर्णय गर्नु भनी २०४६।३।२५ मा लुम्बिनी अञ्चल अदालत बुटवलबाट भएको फैसला ।
7. मिति २०४७।२।९ का आदेश अनुसार वादीलाई रु.२०। जरिवाना भएको असुल भई मिसिल संलग्न भरपाई ।
8. मिति २०३८।१०।११ मा प्रतिवादी खिमबहादुरले वादी भगवान शर्मालाई गरिदिएको शर्तनामाको कागज सत्य देखिन आएको र वादी दावालाई वादीका साक्षीको बकपत्र एवं प्रेमनारायण समेतको बयानले समर्थन गरेको समेत देखिएबाट वादी भगवान शर्माले मुलुकी ऐन रजिष्ट्रेशनको महलको ६ नं. बमोजिम कपाली सरह उल्लेखित शर्तनामा बमोजिमको सावा र सो को कानुन बमोजिमको व्याज समेत प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु पाल्पा जिल्ला अदालतको फैसला ।
9. यसमा मेरो साक्षी प्रमाण समेत बुझी करार ऐन, २०२३ को दफा १८ को उपदफा २ को देहाय (ग) को म्याद नाघी परेको मुद्दा खारेज गरी पाउँ साथै नलिए नखाएको रुपैयाँ लेनदेन व्यवहारको ६ नं. विपरित व्याज समेत भराई पाउने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा अ.वं. ७८ नं., ८० नं. र किर्ते कागजको १ नं. प्रतिकूल खडा गरेको जालसाज लिखत उपर पूर्ण कारवाही गरी इन्साफ गर्नु भन्ने शुरु अदालतलाई आदेश फैसला गरी न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको तत्कालिन लुम्बिनी अंचल अदालतमा मिति २०४७।६।३० मा परेको पुनरावेदन पत्र ।
10. यसमा लिखतको प्रकृति र रकमको अंक तथा अक्षर समेत सच्चिएको परिप्रेक्ष्यमा प्रत्यर्थी वादीलाई अ.वं. २०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत बुटवलको आदेश ।
11. पुनरावेदक प्रतिवादी खिमबहादुर खाण ठकुरीलाई लिखत जाँच गर्न लाग्ने दस्तुर लिने प्रयोजनको लागि झिकाई निजबाट दस्तुर लिई लिखत जाँच भई आएपछि वा पुनरावेदक प्रतिवादी उपस्थित नै नभएमा नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०५१।८।१४ को आदेश ।
12. आदेशानुसार लिखत जाँच भई आएको ।
13. यसमा पुनरावेदक प्रतिवादीको वारिस बालकृष्ण श्रेष्ठले यस अदालतबाट तोकी पाएको मिति २०५०।७।१८ को तारेख गुजारी बसेको र थाम्ने थमाउने अवस्था समेत बाँकी रहेको नदेखिँदा प्रस्तुत पुनरावेदन अ.वं. १७९ नं. अनुसार डिसमिस हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको डिसमिस फैसला ।
14. यसमा पुनरावेदकको वारिस बालकृष्ण श्रेष्ठलाई तोकिदिएको तारिख भन्दा अगावै निजको मृत्यु भएको कारणले गर्दा तारेख गुज्रन गएको र २०५१।८।१४ मा लिखत जाँचको लागि दस्तुर बुझाउने आदेश भई सो पश्चात दस्तुर समेत बुझाएकोमा मिति २०५०।७।१८ लाई नै तारेख जुगारेको मिति मानी मिति २०५२।५।१५ मा फैसला भएको, निजको गुज्रेको तारेख थाम्न पाउने अवस्था पनि बाँकी रहेकै र विद्यमान ऐनमा संशोधन भई तारेख सम्बन्धी व्यवस्थामा अझ फराकिलो भई तारेखमा नबसे पनि मुद्दामा कार्यवाही हुन सक्ने अवस्था सिर्जना भएको तत्काल मुद्दा डिसमिस नभई कार्यवाही चलिसकेको अवस्थामा पछि आएर हचुवा तवरबाट मुद्दा डिसमिस भईदिनाले अन्याय पर्न गएको हुँदा पुनरावेदन अदालत बुटवल रुपन्देहीबाट मिति २०५२।५।१५ मा भएको डिसमिस फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
15. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक ढालबहादुर खाँड ठकुरीले यस अदालतबाट तोकिएको मिति २०५५।२।१५ देखि तारिख गुजारी बसेको देखिएतापनि अ.वं.२०१ नं. बमोजिम निर्णय दिनुपर्ने भई निर्णय तर्फ विचार गर्दा यसमा प्रस्तुत लेनदेन मुद्दामा वादीले प्रतिवादी खिमबहादुर खाँड ठकुरीबाट २०३८।१०।११ को शर्तनामामा उल्लेखित साँवा र ब्याज समेत भराई पाउने ठहर्याएको शुरु पाल्पा जिल्ला अदालतको फैसला उपर प्रतिवादी खिमबहादुर खाँडको तत्कालिन लुम्बिनी अंचल अदालतमा पुनरावेदन परेकोमा निजको वारिस बालकृष्ण श्रेष्ठले पुनरावेदन अदालत बुटवलबाट तोकिएको मिति २०५०।७।१८ देखिको तारिस गुजारी बसेको र थमाउने म्याद समेत बाँकी देखिदैँन । पछि मिति २०५१।८।१४ को पुनरावेदन अदालतको आदेश अनुसार निज पुनरावेदक प्रतिवादीलाई झिकाइएकोमा निजबाट लिखत जाँचको दस्तुर समेत लिइएको देखिन्छ । मिति ०५०।९।५ मा मुलुकी ऐन, २०२० मा संशोधन भई पुनरावेदनको तहमा पुनरावेदक र यसै महलको २०२ नं. बमोजिम झिकाइएको प्रत्यर्थी तारिखमा नबसेपनि हुन्छ भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । तर प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी खिम बहादुर खाँड ठकुरीले ०५०।७।१८ मा नै तारेख गुजारी बसेको हुँदा पछि बनेको कानूनले अघिको तारिख गुज्रेकोमा सुविधा नपाउने र गुज्रेको तारिख थमाउने म्याद बाँकी नै रहेको अवस्था भए कानून बमोजिम म्याद थमाई तारिखमा बस्नु पर्नेमा सो बमोजिम तारिखमा बसेको स्थिति समेत देखिदैँन । यसरी पुनरावेदकले तारिखमा नबसेपनि हुने भनी ०५०।९।५ मा मुलुकी ऐनमा संशोधन हुनु भन्दा अगाडी नै तारिख गुजारी थमाउने म्याद समेत बाँकी नरहेको स्थितिमा पुनरावेदन जिकिर लिई म्याद बाँकी छ भनी भन्न समेत नमिल्ने देखिँदा पुनरावेदन डिसमिस हुने ठहर्याएको पुनरावेदन अदालत बुटवलको निर्णय सदर हुने ठहर्छ । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिश्चन्द्रप्रसाद उपाध्याय
इति सम्वत २०५६ साल वैशाख २१ गते रोज ५ शुभम् .................।