शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४०२४ - खुन डाँका

भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२

निर्णय नं. ४०२४    ने.का.प. २०४६                        अङ्क १२

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

फौज्दारी साधक नं. ११७

फैसला भएको मिति :      २०४६।११।१४।१ मा

वादी : नुनुलाल समेतको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : जिल्ला सप्तरी बरमझिया गा.पं. वार्ड नं. ३ बस्ने जलिम शेखमियाँ

मुद्दा : खुन डाँका

§  प्रमाण रहितको इन्कारीले प्रमाणको भूमिका तबसम्म निर्वाह गर्न सक्दैन, जबसम्म अन्य संकलित प्रमाणबाट इन्कार अभियुक्त उपरको अभियोग प्रमाणित हुने अवस्था देखिँदैन ।

(प्रकरण नं. १६)

फैसला

            न्या. सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलाले निज प्रतिवादीको हकमा साधक निकासाको लागि आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ ।

            २.    २०४०।१।८ गते रातीको समयमा ३०, ३५ जवान डाँकाहरु आई हातमा लाठी, बन्दुक, टर्च समेतको सहायताबाट कपिलेश्वरको घरमा जामा भगला शेष गुलसनिया, दुःखी सदामुसहर, महन्या मुसहर, अख्तर शेष, अच्छालाल समेत पसी डाँका वारदात गरी पुनः नुनुलालको घरमा पसी डाँका गर्दाका अवस्था मुठभेड भयो र डाँकाको जमात बढी भएको कारण गुहार माग्दा शनिश्चरा शाहले डाँका मध्येका एकजनालाई कुटपिट गर्न लागेको अवस्थामा डाँका मध्येका जमिल शेषले नजिकैबाट बन्दुक फायर गर्दा, शनिश्चराको मृत्यु भयो । गाउँले कराए र डाँकालाई घेर्न सकेनन् । दुःखी सदालाई चोट लागी तत्काल पक्राउमा परे । डाँका गरी ज्यान समेत मारेकाले कानुन बमोजिम प्रतिवादीहरुलाई पक्राउ गरी सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको नुनुलाल र कपिलेश्वरको जाहेरी दर्खास्त ।

            ३.    अभियुक्त दुःखी सदामुसहर वारदात अवस्थामा पक्राउ परेकाले, जमिल शेषले गोली हानी शनिश्चरालाई मारेको हो, चौधरीया खत्वे, रामकल, जमिल, भगला समेत वारदातमा संलग्न थिए भन्ने समेत व्यहोराको दुःखी सदाले गरेको कागज ।

            ४.    पक्राउ परेका चौधरीया खत्वे, वारदातमा आफ्नो संलग्नता भए रहेकोमा सावित भई गरी दिएको कागज ।

            ५.    पक्राउ परेका अच्छालाल मुसहरले चौधरीया खत्वे, दुःखी मुसहर समेतलाई पोल गरी आफू वारदातमा संलग्न रहेको भनी सावित भई गरी दिएको कागज ।

            ६.    जाहेरीमा किटिएका १७ जना जमिल शेष, अच्छालाल, महन्था समेत भई जाहेरवालाहरुको घरमा डाँका खुन वारदात गरेका हुन् भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

            ७.    संकलित सबूद प्रमाणबाट जमिल शेष मियाँ, भगला शेष मियाँ, गुलसनिया मन्सुरी धुनिया, करिमा मन्सुरी धुनिया, दुःखी सदा मुसहर, महन्था मुसहर, अख्तर शेष मियाँ, मुर्सिद शेष मियाँ, चौधरीया खत्वे, अच्छालाल मुसहर, अतीमुसहर, रामकल मुसहर, लक्ष्मी यादव, बेचु शेष मियाँ समेत भई नुनुलाल र कपिलेश्वरको घरमा बिगो रु. १८,५८०।को धनमाल डाँका खुन गरेकाले चोरीका १४(४) नं. बमोजिम र शनिश्चरा साहुलाई गोली हानी मार्ने जलिम शेष उपर ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम र गोली हान्न बचन दिने लक्ष्मी यादव दुःखी सदा मुसहर र चौधरी समेत उपर ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम कारवाही र सजायँ हुन, जाहेरवालाको बिगो प्रतिवादीबाट भराई पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

            ८.    २०४०।१।७ गतेको रात, जलिम शेष, रामफल, अख्तर समेत भई जाहेरवालाको घरमा डाँका गर्न गएको, जलिम शेषले फायर गरेको बन्दुकको गोली लागी शनिश्चराको मृत्यु भएको, म पनि वारदातमा संलग्न रहेको भन्ने समेत व्यहोराको प्र.दुःखी सदा मुसहरले अदालतमा गरेको बयान ।

            ९.    वारदातमा उपस्थित नभई, अन्यत्र थिएँ भन्ने अच्छालाल, मृतकको छोरा सत्यनारायणसंग झगडा भएको कारण मलाई पोल गरी लेखाएका सम्म हो भन्ने लक्ष्मी यादव, दुःखी सदासंग आन्तरिक कलह भएको कारण मलाई पोल गरेका हुन् भन्ने समेत अख्तर शेष मियाँ, जाहेरवालासंग निर्वाचन विषयमा विवाद रहेको कारण म उपर पोल गरेका हुन् भन्ने जमिल शेष, रिसइवीले म उपर पोल गरेका हुन् भन्ने मुर्सिद शेषले अदालतमा गरेको बयान ।

            १०.    भगला शेष, गुलसनिया मुंसरी, करिया मुंसरी, महन्था मुसहर, मुर्ती मुसहर, रामकल मुसहर, बेचु शेषले म्याद गुजारी बसेकाले अ.बं. १९० नं. बमोजिम मुलतवी राख्ने, प्र. दुःखी सदा मुसहरको मृत्यु भएको देखिँदा अ.बं. १७६ नं. बमोजिम बात नलाग्ने प्र.लक्ष्मी यादव, अच्छालाल, अदालतमा इन्कार रहेकाले सफाई पाउने, चौधरीया खत्वेको हकमा चोरीको २४(४) नं. बमोजिम डाँका गरेको ठहर्ने, प्र.मुर्सिद शेष र अख्तर शेषका हकमा दावी बमोजिम डाँका गरेको ठहर्ने, प्र.जमिल शेषको हकमा ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजायँ हुने ठहर्छ भन्ने समेत व्यहोराको सप्तरी जिल्ला अदालतको फैसला ।

            ११.    लक्ष्मी यादव र अच्छालाललाई दावीबाट सफाई दिने ठहराएको जिल्ला अदालतको फैसला मिलेको नहुँदा बदर गरी सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन ।

            १२.   सबूद प्रमाणको अभावस्थामा नै दावी बमोजिम सजायँ गर्ने गरेको जिल्ला अदालतको त्रुटिपूर्ण फैसला बदर गरी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्र.मुर्सिद शेष र चौधरीया खत्वेको पृथक पुनरावेदन ।

            १३.   जमिल शेषको हकमा, निजको पुनरावेदन परी नआएको तर ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजायँ भएको देखिँदा साधक लगतमा दर्ता भई आएको प्रस्तुत मुद्दामा, प्र.जमिल शेषकै बन्दुकको गोलीबाट शनिश्चराको मृत्यु भएको देखिँदा निजको हकमा जिल्ला अदालतको इन्साफ मनासिब ठहर्ने, अन्य प्रतिवादीको हकमा पुनरावेदन जिकिर नपुग्ने, साथै सफाई पाएका प्रतिवादीलाई दावी बमोजिम सजायँ गरिपाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पनि पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

            १४.   यसरी प्रतिवादी जमिल शेषलाई दावी बमोजिम ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ हुने ठहर गरेको सप्तरी जिल्ला अदालतको फैसलालाई सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला साधकको लगतमा दर्ता भई आएको पाइयो ।

            १५.   नियम बमोजिम पेश भई आएको प्रस्तुत मुद्दामा प्रतिवादी जमिल शेष मियाँलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्ने गरेको शुरु इन्साफलाई सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब बेमनासिब के रहेछ हेरी निर्णय दिन पर्ने हुन आयो ।

            १६.    निर्णयतर्फ हेर्दा यसमा जाहेरवाला नुनुलाल र कपिलेश्वरको घरमा मिति २०४०।१।८ गतेको रात डाँका वारदात हुँदा शनिश्चराको मृत्यु भएकोमा विवाद देखिँदैन । वारदातको रात, जलिम शेष, लक्ष्मी यादव समेत भई जाहेरवालाको घरमा डाँका वारदात भएको, वारदातमा म पनि संलग्न रहेको, जलिम शेषले फायर गरेको बन्दुकको गोली लागी शनिश्चराको मृत्यु भएको हो भनी प्र.मध्येका दुःखी सदाले अदालतमा बयान गर्दा उल्लेख गरी दिएको पाइन्छ । प्र.जलिम शेष अदालत समक्षको बयानमा इन्कार देखिन्छन्, तर सो इन्कारीको पुष्टि हुने प्रमाण मिसिल संलग्न रहेको पाइएन । मृतकको मृत्यु गोली लागी भएकोमा विवाद छैन । सरजमीनका व्यक्तिबाट पनि जलिम शेषले हानेको गोली लागी शनिश्चराको मृत्यु भएको कुरा लेखाई दिएको पाइन्छ भने जाहेरवाला नुनुलाल र कपिलेश्वरको जाहेरी दर्खास्त र बकपत्रबाट समेत सो कुरा अझ शंकारहित रुपले प्रष्ट हुन गएको छ । निज प्रतिवादी वारदात भन्दा अगावै देखि आफू गाउँमा नरहेको भनी इन्कार छन् । प्रमाण रहितको इन्कारीले, प्रमाणको भुमिका तबसम्म निर्वाह गर्न सक्दैन, जबसम्म अन्य संकलित प्रमाणबाट इन्कार अभियुक्त उपरको अभियोग प्रमाणित हुने अवस्था देखिँदैन । अतः मिसिल संलग्न प्रमाणबाट प्रतिवादी जलिम शेष मियाँले फायर गरेको बन्दुकको गोलीबाट नै शनिश्चराको मृत्यु भएको देखिन आउँछ । अतः निज प्रतिवादीलाई अभियोग प्रतिवेदन दावी बमोजिम ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ । प्रतिवादी जलिम शेष कारागारमा रहेको देखिँदा निर्णयको जानकारी गराई साधकको लगत कट्टा गरी दिनु ।

           

उक्त रायमा म सहमत छु ।

 

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४६ साल फाल्गुण १४ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु