शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६९५७ - कर्तव्य ज्यान ।

भाग: ४२ साल: २०५७ महिना: माघ अंक: १०

निर्णय नं. ६९५७          ने.का.. २०५७            अङ्क १०/११

संयुक्त इजलास

माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा

माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री

सम्वत २०५५ साल फौ.सा.नं. ... ३१३

फैसला मितिः २०५६।४।१३।५

मुद्दाः कर्तव्य ज्यान 

 

वादीः पाल्पा जिल्ला, पिपलडाँडा गा.वि.. वडा नं. बस्ने गोविन्दबहादुर सूर्यवशी समेतको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादीः पाल्ला जिल्ला, चिर्तुङधारा गा.वि.. वडा नं. ८ घर भै कारागार शाखा पाल्पामा थुनामा रहेका मिनबहादुर रानामगर

 

§  प्रतिवादीको प्रहरी र अदालतमा समेत गरेको बयान कागजमा मृतकहरुलाई लाठी र ढुंगाले टाउकोमा हानेकोमा सावित भएको कुरालाई प्रतिवादीका बाबुले छोरा मीन बहादुरले साधुराम र देवबहादुरलाई लाठी ढुंगाले हानेछ । साधुरामको तत्काल मृत्यु भएको हो र देवबहादुरको उपचार हुँदा हुदैँ मृत्यु भएछ भनी लेखाई दिएको कागजबाट समर्थित भईरहेको देखिन्छ । यसको अतरिक्त लाठी ढुंगाले टाउकोम हानेको भनिए अनुसार र टाउकोमा चोट देखिएको कुरालाई लास जाँच प्रकृति मुचुल्कामा र टाउकोमा लागेको चोटबाट मृत्यु भएको भन्‍ने पोर्टमार्टम रिपोर्टबाट समेत देखिँदा प्रतिवादीले छाडेको लाठी ढुंगाको चोट पीरबाट नै मृतकहरुको मृत्यु भएकोमा विवाद देखिएन । तसर्थ प्रतिवादी मीनबहादुर राना मगरलाई ज्यान सम्बन्धी महलको १३() नं. अनुसार २० वर्ष कैद सजाय गर्ने गरी गरेको पुनरावेदन अदालत बुटवलको फैसला साधकको रोहबाट हेर्दा सदर हुने ।                 

(प्र.नं. २८)

 

वादी तर्फबाटः

प्रतिवादी तर्फबाटः

अवलम्बित नजिरः

फैसला

न्या.राजेन्द्रराज नाख्वाः न्याय प्रशासन ऐन, २०४८ को दफा १०() अन्तर्गत यस अदालतमा साधक सदरका लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

2.            जिल्ला पाल्पा चिर्तुङधारा गा.वि.. वडा नं. ८ चिलाङदी भन्ने स्थानमा मिनबहादुर रानामगरले जिल्ला पाल्पा हुमिन गा.वि.. वडा नं. ८ बस्ने वर्ष ५८ को साधुराम सूर्यवंसी र पिपलडाँडा गा.वि.. वडा नं. ४ बस्ने देवबहादुर सूर्यवंशी समेत भई पेन्सन बुझ्नको लागि आएका हुँदा निज मिनबहादुर रानामगरको बाबु गुनबहादुर राना मगरको श्रीमती फुपु नाता पर्नेलाई देवबहादुरले भेट गर्न जाउँ भनी आएको अवस्थामा निज मिनबहादुर राना मगरले लाठी ढुंगाले प्रहार गरी साधुराम सूर्यवंशीलाई मारी देवबहादुर सूर्यवंशीलाई सख्त घाइते बनाई लाशलाई सुरक्षित राखी जाहेर गर्न आएको छु । कानुन बमोजिम गरी पाउँ भन्ने समेत प्र.. कृष्णबहादुर लामाको प्रतिवेदन ।

3.            मृतकको टाउकोको भागबाट अं. २ फिटमा सुकेको रगत भएको देखिएको, सो रगतबाट ३ फिटमा ढुंगा भएको, सो ढुंगामा रगतको टाटो लागेको र कपालको रौं पनि देखिएको, सो ढुंगाबाट पूर्वतर्फ ३ फिटमा खरको गोठमा थुपारेको ढुंगामा रगतको टाटो लागेको, वासको टेक्ने लठ्ठी भएको, सो रगतबाट ३ फिट हात पूर्वतिर रातो हवाइ चप्पल २ वटा भएको भन्ने समेत घटनास्थल र लाश प्रकृति मुचुल्का ।

4.           २०४९।६।५ गते पेन्सन बुझ्न आएका देवबहादुर सूर्यवंशीसँग मेरो सानीमा नाता पर्ने छन् भेट गर्न जाउँ भनी देवबहादुरले मेरो दाजु साधुरामलाई साथमा लिई अ. :३० बजेको समयमा चिलाङदी बस्ने गुनबहादुर रानाको घरको पछाडि कर्सामा पुग्दा गुनबहादुर रानाको छोरा मिनबहादुर राना मगरले मेरो दाजु साधुराम सूर्यवंशीलाई एक्कासी ढुंगा लाठी प्रहार गरी घटनास्थलमा नै मारेको र देवबहादुर सूर्यवंशीलाई सख्त घाइते बनाएको हुँदा निजलाई पक्राउ गरी कारवाही गरी पाउँ भन्ने समेत गोविन्दबहादुर सूर्यवंशीको दरखास्त ।

5.            २०४९।६।५ मा गुनबहादुरको घरमा पुगी बसेको बेलामा मिनबहादुर राना मगरले ढुंगा लाठी प्रहार गरी घटनास्थलमै साधुराम सूर्यवंशीलाई मारेको र देवबहादुर सूर्यवंशीलाई सख्त घाइते गराई उपचार हुँदाहुँदै २०४९।६।६ गते राति मृत्यु भएकोले मिनबहादुरलाई पक्राउ गरी कारवाही गरी पाउँ भन्ने गुमानसिंह सूर्यवंशीको जाहेरी ।

6.            देवबहादुर सूर्यवंशीको लाश प्रकृति मुचुल्का हेर्दा मृतकको मुख अर्ध खुल्ला भएको, मृतकको कान समेतम रातो पट्टिले टाउकोमा बाँधेको देखिएको, बाँधेको पट्टि समेतबाट रगत निस्केको देखिएको, शरीरमा पट्टि बाँधेको पट्टि रगतले भिजेको, मृतकको गुद्वार र मुत्रद्वारबाट केही पनि ननिस्केको भन्ने समेत लाश प्रकृति मुचुल्का ।

7.            मिनबहादुरले मलाई ढुंगाले हानी टाउकोमा घाउ भएकोले तलामा गई सुतेको थिएँ । त्यसपछि निज छोरा मिनबहादुरले साधुराम र देवबहादुरलाई लाठी ढुंगाले हानेछ । साधुरामको तत्काल मृत्यु भएको हो, देवबहादुरको उपचार हुँदाहुँदै मृत्यु भएछ भन्ने समेत गुनबहादुरको काग

8.           मेरी सौतेनीको जेठो छोरा मिनबहादुर रानामगर चिच्याएको आवाज सुनी जाँदा निज मिनबहादुरले साधुराम सूर्यवंशीलाई दुईवटा हातले ढुंगा समाती निज साधुराम सूर्यवंशीलाई टाउकोमा हिर्काएको थियो र पछि निज देवबहादुर सूर्यवंशीलाई पनि निजको लाठी खोसी फाली ढुंगाले हिर्काएको हो । पछि देवबहादुर म मरे मरे भन्दै आएको अवस्थामा मेरो छोरा मिनबहादुर आई देवबहादुर र गुनबहादुरलाई घरभित्र हुली गयौं । म भित्र थिएँ भन्ने समेत इन्द्रकुमार रानाले प्रहरीमा गरेको बयान कागज ।

9.            ढुंगा चप्पल लाठी समेत बरामद भएको बरामदी मुचुल्का । गुन्द्री चप्पल झाडन समेत बरामद भएको अर्कबरामदी मुचुल्का ।

10.         ढुंगाले हानेको भन्ने गुनबहादुरको घाजाँच केश फाराम Head injury intrace rabral hemmerrage and candio respiratory arrest भन्ने लाश जाँच (साधुरामको) प्रतिवेदन ।

11.         वारदातको मिति र समयमा मृतक देवबहादुर सूर्यवंशी सख्त घाइते भई घर अगाडि आँगन तथा पछि घरभित्र आएपछि मरें मरें भनी निज घाइतेको आवाज सुनी तलाबाट मैले मिनबहादुरको मुखबाट अझै पनि आए आए भन्दछस् भनी सुनेको हुँ । देवबहादुर सूर्यवंशी हाम्रो घर भित्र ज्यान जोगाउन गएका रहेछन् भन्ने समेत रोस्नी सरा मगरको कागज ।

12.         मिनबहादुरको सौतेनी आमाको घरमा आई घटनास्थल विवरण हेर्दा घर पछाडि कर्सामा एकजना मानिस मरेको देखेको हुँ । घरभित्र एकजना घाइते थियो । निज घाइतेको उपचार हुँदाहुँदै मिसन अस्पतालमा मृत्यु भएको कुरा थाहा पाएको हुँ भन्ने भोज शाक्य गाहको कागज । यसै मिलानको दमनकुमार थापाको कागज ।

13.           मेरो बाबु गुनबहादुरसँग अंश मिलाई दिनु पर्‍यो भनी भनेकोमा मलाई बाबुले अपशब्द प्रयोग गर्नु भएको थियो । सोही रिसको कारणले दाउराले टाउकोमा हानेको हुँ । घर पछाडि कर्सामा बाबु गुनबहादुर लडेको अवस्था भारतीय पेन्सन क्याम्प तर्फबाट मेरो सौताने आमाका भतिजा देवबहादुर सूर्यवंशी र साधुराम सूर्यवंशीले मलाई समात्न खोजेबाट निजहरु दुवै जनालाई लाठी ढुंगाहरु प्रहार गरी म आफ्नो घरतर्फ गएँ । मैले हानेको चोटबाट मृतकहरुको मृत्यु भएछ । मृतकहरुले मेरो बाबु गुनबहादुरको पक्ष लागेको हुँदा र गाली समेत गरेकाले निजहरुलाई सोही ठाउँमा भेटाइएका ढुंगा लाठी दाउरा समेतले प्रहार गरेको हुँ भन्ने समेत मिनबहादुर रानाले प्रहरीमा गरेको बयान ।

14.         मृतकहरुलाई मिनबहादुरले मात्रै मारेको हो भन्ने समेत सर्जमिन मुचुल्का ।

15.         मेरा पति प्रतिवादी मिनबहादुर राना मगरले दुवै जना मानिसलाई हिर्काइ घरमा आइ सुतेको अवस्थामा प्रहरीले आई पक्राउ गरेका हुन् । मृतकहरुलाई मिनबहादुरले नै मारेका हुन भन्ने समेत दिलकुमारी रानाको कागज ।

16.         प्रतिवादीको साविती बयान, किटानी जाहेरी, गुनबहादुर, इन्द्रकुमारी, दीलकुमारीको कागज र सर्जमिन मुचुलका समेतका आधार प्रमाणबाट र अंश सम्बन्धी कुरामा बाबु छोराबीच झगडा भएको कारणले गुनबहादुरलाई कुटी घाइते पारेका छन् । घटनास्थलमा प्रयोग भएका लठ्ठी ढुंगा बरामद भएका छन् । अतः मिनबहादुर राना मगरलाई मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १ नं. र ९ नं. विपरित कर्तव्य गरी साधुराम सूर्यवंशी र देवबहादुर सूर्यवंशी मगरलाई मारेमा सोही महलको १३ नं. को देहाय ३ नं. अनुसार सर्वस्व सहित जन्मकैद सजाय हुन माग दावी लिई दायर भएको प्रहरी प्रतिवेदन ।

17.         देवबहादुर सूर्यवंशीको प्रतिवेदन Physical assualt bleading to head injury उल्लेख छ ।

18.         मिति र समयको सम्झना भएन । साँझको समयमा मेरो बाबु गुनबहादुरलाई हिर्काएँ त्यसपछि अरु मैले नचिनेका २ जनालाई पनि हिर्काएँ । लाठी र ढुंगाले हिर्काएको र मारेको भन्ने मैले हिर्काएको भए घरमा गई सुत्ने थिइन । मलाई टाउको रिगाउने र पागल जस्तो गराउने भएको हुँदा हिर्काएको हुँ । मेरो मानसिक अवस्था अहिले पनि ठीक छैन । देखाइएको लठी र चप्पल झाडन देखे । चप्पल मेरो हो ती सामानमा हान्दा वा लोट्दा रगत लाग्यो होला भन्ने समेत मिनबहादुरले अदालतमा गरेको बयान ।

19.          साधुरामको लाश देखियो । मेरो छोरा देवबहादुर घाइते भई अस्पतालमा भर्ना भएको थियो उपचार गर्दागर्दै मृत्यु भएको हो । मिनबहादुरका बाबुका घरको कर्सामा कुटपिट गरेको भन्ने सुनेको हुँ भन्ने समेत गुमानसिंह सूर्यवंशीको बकपत्र ।

20.         मिनबहादुरले कुटपिट गरी मलाई खबर गरी म थानामा आउँदा साधुरामको मृत्यु भइसकेको थियो । देवबहादुर घाइते नै थिए । के कारणले हानी मृत्यु भएको हो मलाई थाहा छैन भन्ने समेत जाहेरवाला गोविन्दबहादुरको कागज ।

21.         आदेशानुसार साधुराम र देवबहादुरलाई मिनबहादुरले कुटपिट गरी मारेको हो भन्ने इन्द्रकुमारी राना समेतको बकपत्र भई मिसिल सामेल रहेछ ।

22.         मौकामा उठेको रिस थाम्न नसकी लाठी ढुंगाले हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ भन्ने समेत कानुनी तथ्य परिस्थितिको प्रस्तुत घटना वारदात कायम हुन आएबाट प्रतिवादीलाई उक्त दफा १४ बमोजिम कैद वर्ष १० हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु पाल्पा जिल्ला अदालतको फैसला ।

23.          प्रतिवादीले मृतकलाई मार्ने नै मनसायले दुई हातले ढुंगा उचाली टाउको जस्तो संवेनदशील अंगमा प्रहार गरी मानिस मरेको मिसिल संलग्न कागजातबाट देखिँदा ज्यान सम्बन्धीको १४ नं. बमोजिम १० वर्ष मात्र कैद गर्ने गरेको शुरुको फैसला बदर गरी प्रतिवादी मिनबहादुर राना मगरलाई शुरु अभियोग पत्र दावी बमोजिम ज्यान सम्बन्धी महलको १३() नं. बमोजिम सर्वस्व सहित जन्मकैद सजाय गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको पुनरावेदन   पत्र

24.        यसमा प्रतिवादीले बाबु गुनबहादुरलाई मार्ने उद्देश्यले कुटपिट गरी रहेको वारदातस्थलमा तत्काल आइपुगेका मृतकहरुले छुट्याउन खोजेको अवस्थामा प्रतिवादी मिनबहादुर रानाले निर्मम तरिकाले कुटपिट गरेको कारणले दुईजना निर्दष व्यक्तिहरुको ज्यान गएको देखिएको अवस्थामा मुलुकी ऐन ज्यान सम्बन्धीको १४ नं. आकर्षित हुने अवस्था नरहेकोमा ज्यान सम्बन्धी १४ नं. बमोजिम प्रतिवादीलाई सजाय गर्ने गरी भएको शुरु पाल्पा जिल्ला अदालतको फैसला फरक पर्ने देखिँदा अ.वं. २०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम छलफलको लागि पाल्पा कारागार थुनामा रहेका प्रत्यर्थीलाई सो कुराको जनाऊ दिई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत बुटवलको आदेश ।

25.         प्रतिवादी मिनबहादुरले आफ्नो बाबु गुनबहादुरसँग अंश विषयमा झगडा गरी निज बाबु गुनबहादुरलाई छुट्याउन जाँदा छुट्याई दिने दुवै जनालाई ढुंगा लाठीले प्रहार गरी साधुरामको घटनास्थलमै मृत्यु भएको देखिन्छ भने अर्क मृतक देवबहादुरको पनि अस्पतालमा भोलिपल्ट उपचार गर्दागर्दै मृत्यु भएको देखिन्छ । यसरी प्रतिवादीले आफुले बाबुलाई कुटपिट गरिरहेकै अवस्थामा छुट्याउन आउने निर्दष मानिसलाई निर्मम तरिकाबाट कुटपिट गरेको देखिन आयो र सोही कुटाइबाट मृतकहरुको मृत्यु भएको देखिन्छ । एकजना मात्र नभई दुइजना छुट्याउन आउने व्यक्तिहरुलाई बेस्सरी लाठी ढुंगाले कुटी सोही कुटाइको चोटबाट निजहरुको मृत्यु भएको देखियो । यस अवस्थाको कुटाइलाई साधारण कुटाइ भएको भन्न मान्न मिल्ने अवस्था देखिन आएन । त्यसो भएको हुँदा प्रतिवादीले ज्यान सम्बन्धी महलको १३() नं. अनुसारकै कसुर गरेको देखिन आयो । तसर्थ शुरु पाल्पा जिल्ला अदालतले प्रतिवादीलाई ज्यान सम्बन्धिको १४ नं. अनुसार कसुर गरेको ठहर्‍याई सोही अनुसार सजाय गर्ने गरेको फैसला नमिली उल्टी भई प्रतिवादीले ज्यान सम्बन्धी महलको १३() नं. अनुसार कसुर गरेको ठहर्छ र निजलाई सोही नं. बमोजिम सजाय हुने ठहर्छ भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०५४।९।१७ को फैसला ।

26.         पुनरावेदन अदालत बुटवलले साधक सदरका लागि पठाएको फैसला यस अदालतमा मिति २०५५।८।३ मा दर्ता भएको देखिन्छ ।

27.         नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा शुरु पाल्पा जिल्ला अदालतले प्रतिवादीलाई ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहरी भएको फैसलालाई पुनरावेदन अदालत बुटवलले उल्टी गरी १३() अनुसारको कसुर गरेको ठहरी २० वर्ष कैद सजाय गर्ने गरेको फैसला साधक सदरका लागि यस अदालतमा पेश हुन आएको प्रस्तुत मुद्दामा साधक सर हुने हो ? वा होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

28.         यसमा निर्णयतर्फ विचार गर्दा प्रतिवादीको प्रहरी र अदालतमा समेत गरेको बयान कागजमा मृतकहरुलाई लाठी र ढुंगाले टाउकोमा हानेकोमा सावित भएको कुरालाई प्रतिवादीका बाबुले छोरा मीन बहादुरले साधुराम र देवबहादुरलाई लाठी ढुंगाले हानेछ । साधुरामको तत्काल मृत्यु भएको हो र देवबहादुरको उपचार हुँदा हुदैँ मृत्यु भएछ भनी लेखाई दिएको कागजबाट समर्थित भईरहेको देखिन्छ । यसको अतरिक्त लाठी ढुंगाले टाउकोम हानेको भनिए अनुसार र टाउकोमा चोट देखिएको कुरालाई लास जाँच प्रकृति मुचुल्कामा र टाउकोमा लागेको चोटबाट मृत्यु भएको भन्‍ने पोर्टमार्टम रिपोर्टबाट समेत देखिँदा प्रतिवादीले छाडेको लाठी ढुंगाको चोट पीरबाट नै मृतकहरुको मृत्यु भएकोमा विवाद देखिएन । तसर्थ प्रतिवादी मीनबहादुर राना मगरलाई ज्यान सम्बन्धी महलको १३() नं. अनुसार २० वर्ष कैद सजाय गर्ने गरी गरेको पुनरावेदन अदालत बुटवलको फैसला साधकको रोहबाट हेर्दा सदर हुने ठहर्छ । फैसलाको जनाउ महान्यायाधिवक्ताको कार्यालयलाई दिई मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गोपालप्रसाद खत्री

 

इति सम्वत २०५६ साल श्रावण १३ गते रोज ५ शुभम................

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु