शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ११७८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. ११७८     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३४ सालको रिट नम्वर १०३४

आदेश भएको मिति : २०३५।७।२७।२ मा

निवेदक : कास्की जिल्ला छिनेडाँडा गा.पं. वडा नं. ७ को हाल पो.नं. पं. वडा नं. १५ रामबजार बस्ने यशोधाकुमारी कार्कीनी क्षेत्रीनी समेत

विरुद्ध

विपक्षी : पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखरा नगर विकास योजना नापीसम्बन्धी विशेष अदालत र समिति पोखराको हाल गण्डकी अञ्चल अदालत समेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   पुनरावेदन गर्ने म्याद नभएको बाटै पुनरावेदन गर्न पाउने कानून प्रदत्त अधिकार लुप्त हुन नसक्ने ।

(प्रकरण नं. १४)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

आदेश

            न्या. वासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पूर्जी जारी गरी अवैधानिक निर्णय कार्यवाइहरु समेत बदर गरी हामी निवेदकहरुका नाउँमा कित्ता काट गराई दर्ता गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा दिनु भन्नेसमेत जो चाहिने व्यहोराको आदेश गरी हक प्रचलन गरी न्याय पाउँ भनी रिट निवेदन मिति ०३४।१०।३।२ मा दर्ता भएको रहेछ ।

            २.    संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन : जि. भूपाल सिंह कार्की क्षेत्री जिम्मा ९१ सालको मोठ नम्बरी पूर्व नयाँगाउँ साँध पश्चिम सेतीगंगा साँध उत्तर जिल्ला र ह्षीकेशवको बाँध, दक्षिण भूपाल सिंहको साँध विज पाथी ।६ को तिरो रु.५।२८ लागेको कित्ता ३ को १ चकलाको पाखा कित्ता १ पूर्व बाटो साँध पश्चिम छापा देवी गुरुङ साँध, दक्षिण भूपाल सिंह साँध, उत्तर दिलबहादुर साँध, विजपाथी ।२ को तिरो १।७६ लागेको कित्ता १ समेत कित्ता २ समेतको मोल रु.२००। को पाखो जग्गा म यशोदाकुमारी कार्कीनी निम्नप्रमाणको बाटो साँध पश्चिम यसै जग्गा विज तिरोमध्येबाट छायादेवी गुरुङ साँध, दक्षिण यशोदाकुमारी साँध, उत्तर नारायणप्रसाद साँध विज ।३।७।८ को तिरो रु.३।५० का कित्ता २ को १ चकलालाई पाखा जग्गा मोल रु.१००। को म दिलबहादुर कार्कीको निम्न प्रमाणको र पूर्व भूपाल सिंह साँध, पश्चिम सेतीगंगा साँध, दक्षिण कुलदिप साँध, उत्तर विश्वशंकर साँध विज पाथी ।४ को तिरो रु.३।५२ लागेको कित्ता २ को १ चकला पाखा जग्गा मोल रु.१००। म फिलिप गुरुङ निम्न प्रमाणको र पूर्व नयाँ गाउँ साँध पश्चिम सेतीगंगा साँध, दक्षिण दिलबहादुरसमेत साँध, उत्तर गोविन्द साँध विजमाना ।७।६ का तिरो रु.८४ लागेको कित्ता मोल रु.२०। म कृष्णमणि बराल निम्न प्रमाणको र पूर्व नयाँगाउँ साँध, पश्चिम सेतीगंगा साँध, दक्षिण इन्द्रप्रसाद साँध, उत्तर चित्रकुमारी साँध विज पाथी ।२ तिरो रु.१।७६ लागेको मोल रु.५०। को पाखा जग्गा म ज्ञानकुमारी बराल निम्न प्रमाणको र पूर्व नयाँगाउँ साँध, पश्चिम सेतीगंगा साँध, दक्षिण ज्ञानकुमारी साँध, उत्तर मोहनप्रसाद सँध, विज पाथी ।२ को तिरो रु.१।७६ लागेको पाखो मोल रु.०। को खसम परलोक हुँदा म चित्रकुमारी बराल निम्न प्रमाणको र पूर्व भूपाल सिंह साँध पश्चिम म सेतीगंगा साँध, दक्षिण फिलिप गुरुङ साँध, उत्तर सूर्यबहादुर साँध विज पाथी ।२ को तिरो रु.१।७६ लागेको पाखो कित्ता १ मोल रु.१२००। म विश्व शंकर पालिखे निम्न प्रमाणको र पूर्व भूपालसिंहको साँध, पश्चिम सेती गंगा साँध, दक्षिण विश्वशंकर साँध, उत्तर पूर्णबहादुर साँध, विज पाथी ।२ को तिरो रु.१।७६ लागेको मोल रु.१०००। को म विद्यादेवी पालिखे निम्न प्रमाणको र पूर्व नयाँ खरे साँध, पश्चिम सेतीगंगा साँध, दक्षिण केशव साँध, उत्तर हिरे दमाईं साँध, विज पाथी ।२ को तिरो रु.१।७६ लागेको कित्ता १ मोल रु.५०। म हस्ते दमाईं निम्न प्रमाणको र पूर्व नयाँखोर साँध, पश्चिम सेतीगंगा साँध, दक्षिण हस्ते भई साँध, उत्तर दिनानाथ साँध विज पाथी ।२ को तिरो रु.१।७६ लागेको मोल रु.५०। हिरे दमाईं विदेशमा हुँदा म हस्ते निम्न प्रमाणको र पूर्व नयाँगाउँ साँध, पश्चिम सेतीगंगा साँध, दक्षिण टीकाप्रसाद साँध, उत्तर तीले धर्ती साँध वीज पाथी ।२ को तिरो रु.१।७६ लागेको खशम बुद्धिबहादुर परलोक हुँदा पत्नी सेती दमिनीको हक मोल रु.५०। को निम्न प्रमाणको पूर्व नयाँ गाउँ साँध पश्चिम सेती गंगा साँध, दक्षिण मोहनप्रसाद साँध, उत्तर यशोदाकुमारी साँध वीज मुरी ।१।४ को तिरो रु.२१।१२ लागेको कित्ता १२ को १ चकला कित्ता १ र पूर्व बाटो साँध पश्चिम मेरो जग्गामध्ये पश्चिम छायादेवी गुरुङ हाल नापी कि.नं. ३।४ रोपनी ५१५ मध्ये जग्गा साँध दक्षिण डहर बाटो साँध उत्तर यशोदाकुमारी साँध विजपाथी ।५।७।६ को तिरो रु.५।२४ लागेको कित्ता ३ को १ चकलाको कित्ता १ निम्नप्रमाणको र १० सालको नम्बरी पूर्वबाटो साँध, पश्चिम कृष्णकुमारी साँध, दक्षिण कप मानबहादुर ठहर साँध, उत्तर मगर साँध विज मुन्नी ऐसालमा नम्वरी रन्खोमा साँध, पश्चिम समितरा साँध, दक्षिण हरिया खर्क जग्गा बण्डा साँध, उत्तर सेतेगुरुङ साँध विज मुरी ।।।५ को तिरो रु.।०६ को पाखो कित्ता निम्न प्रमाणको र पूर्व दिनानाथको चौतरा साँध पश्चिम पिचरोड बाटोसाँध, दक्षिण ग्राउण्ड जाने बाटो साँध, उत्तर गोरेटो बाटो साँध १४ सालको नम्बरी घर दर तिरो रु.।०५ को पाखो निम्न प्रमाणको कित्ता १ समेत कित्ता ५ समेतको मोल रु.१०००। को पाखो कित्ता जग्गा म भूपाल सिं कार्कीको कुनै राजीनामा र कुनै दर्ता कुनै बहाली पूर्जी अधिकारबाट हक भई म भूपाल सिंहका नाउँको समेत २००७, २००८, २००९ साल समेतको बाली १ कर्पोतासमेत तिरी तथा प्रमाण खण्डमा लेखिएका मिति बहाली पूर्जी रसिद दर्ता राजीनामा अधिकार हक भोग तिरो तालुकी श्रेस्ता नामसारी दाखिल खारेज गरी भू.सम्बन्धी नियमहरु ०२१ को नियम १८ को उपनियम १ बमोजिम अनुसार जग्गावालाको हैसियतले ७ नं. १ नं. १४ नं. फाँट तयार गरी भराई सो नियमअनुसार बचतसमेत तिरी रसिद इत्यादि प्रकरणबाट हकभोग भइरहेको सो जग्गामा वाण्डो पर्खाल गरी केही जग्गा र केही जग्गा हाम्रो फुसको घर कटेराहरु हुँदा घर कटेरा छाड्नको लागि खरबाली गुल्जार गरी आइरहेको सो अनुसार सबैमा पनि केही खेती र केही खटवारी जिरह दिई दर्ता पूर्जी ४ नं. जोतसमेत पाएको र हामीहरुको इत्यादि प्रमाणबाट हक भोग भएमै प्रमाणखण्ड खुलिरहेको छ र पेश दाखिल गरेका छौं । उक्त सालदेखि आजतक भोगचलन दर्ता, तिरो गरी आएको आवादी पाखो जग्गा विपक्षी नापी टोलीले हाम्रा साँध सीमानामा तथा अलग अलग मही तिरा विजबाट खाने छाया देवी गुरुङ पो.न.पं. वडा नं. ११ फुलवारी कि.नं. ३।४ मा दर्ता रोपनी ५१५ गराएको समेतको दर्ता गरी सो विपक्षी नापी टोलबाट दि.गा.पं. वडा नं. ७ कि.नं. १ मा रोपनी ५१ कि.नं. ३ मा रोपनी ४८४ समेत २ कपाक सबैको एकैमुष्ट गराइदिएछ । पृथकपृथक कित्तालाई नछुट्याई एकैपल्ट गरेको र पोखरा नगरपञ्चायत वडा नं. १० को कि.नं. १ मा रोपनी ८४१२३ भएको र कि.नं. २ मा रोपनी ४३१४ १/४ छुटा हुने गर्नमा एकैमुष्ट प्लट गराई प्रत्येक हामी मोहीको २ पञ्चायतको २ फाँटमात्र गरी अरू अन्य मोही हामीसमेतको सगोल गरी पर्ती जनाइदिनुभएछ ।

            ३.    हाम्रो हकभोगअनुसार छुट्टाछुट्टै कित्ता काटी हाम्रा नाउँमा छुट्टाछुट्टै दर्ता हुनु गर्नुपर्ने जग्गालाई नगरी एकै समुच्चै प्लट ४ फ्याक गरी पर्ती जनाइदिएमा चित्त बुझ्ने नाउँमा छुट्टाछुट्टै दर्ता गरिपाउँ भन्नेसमेत व्यहोरा लेखी लिया । निजका सिकाइ टाँचा उल्लेख प्रत्येक हामीहरुको पृथक निवेदन तथा दरखास्त परेको र उक्त उल्लेखअनुसार जग्गाको सबूद प्रमाण हक यसमध्ये माथि लेखिएअनुसार बाली र तिरो मालपोत तिरेबुझाएको रसिद र भू.सु.नियममा बचत तिरेको रसिद समेत प्रमाणअनुसार म जसौदाकुमारी १, म दिलबहादुर १, म फिलिप गुरुङ १, म कृष्णमणि १, म ज्ञानकुमारी १, म चित्रकुमारी १, म विश्वशंकर १, म विद्यादेवी हस्ते दमाई १, म सेती कमिनी १, म भूपाल सिंहसमेत आफ्ना हकतर्फबाट उजूर गरी सो उजूर विपक्षी नापी टोलीहरुले विपक्षी विशेष अदालत र समितिसमक्ष पठाउनुभएको आधार लिई पो.न.प.वार्ड नं. १० को ४३१४२ १/४ पश्चिमपट्टि मिलानतर्फबाट यसै बीज तिरोको कि यो तर्फ पूर्वपश्चिम, उत्तरदक्षिण खुलाई किटान गर्न नसकेकोमा अनुमानबाट निवेदकहरु भन्न नमिल्ने भूपाल सिंहले आफ्ना र परिवारसमेतको नाममा बहालीबाट लिएको राजीनामा दिएको निवेदक ऐनले भिन्नता नहुने र रसिद प्रमाण धेरैजसो समुष्ट नमिलेको नक्कल झिकाई उक्त पेश भएको प्रमाण भिडाउँदा भिड्न मिल्न नआएको प्रमाण नमिल्ने आजसम्म भोग आवाद गर्न नसकेको आफ्ना जग्गा छुट्याई चलन गर्न नसकी एकैपल्ट पर्ती नै रहेको देखिँदा नापजाँच ऐनको समेत दर्ता गर्न नदिएको नियमबमोजिम गर्नु भनी मिसिलै टोलीमा पठाइदिने गरी अडर सिट भएको ०३२।४।१६।६ मा पो.न.पं.वाड नं. १० बाट ०३२।४।१६।३ मै छिनेडाँडा गा.पं. वडा नं. ७ बाट भएको उक्त निर्णयको मिसिलबाट ०३४।८।२८।३ मा र ०३४।८।२९।४ मा सर्वोच्च अदालतमा नक्कल सारी लिई हेर्दा थाहापाई पुनरावेदन दर्ता विपक्षी पश्चिमाञ्चल क्षेत्रीय अदालतमा लिई जाँदा पुनरावेदन दर्ता नगरी ०३४।९।२५।२ मा दरपीठ गरिदिनु भएकोले निर्णयको नक्कल सारिलिएको मितिले पनि ३५ दिनभित्रैमा निवेदन गर्न आएका छौं ।

            ४.    जग्गा हाम्रा हकको हो । जग्गा नापजाँच ऐन, ०१९ को दफा २ को खण्ड (ख) मा परिभाषा गरिएअनुसारका हामी जग्गावाला छौं । जग्गा ऐ.को खण्ड (ङ) र (च) मा परिभाषा गरिएअनुसार सरकारी र सार्वजनिक जग्गा होइन । खास हाम्रा हकभोग चलन तिरो दर्ताका हुनाले हाम्रा नाउँमा कित्ता काट गराई जग्गा दर्ता हुने होइन भनी इन्कार गर्न कुनै प्रचलित कानूनले मिल्ने होइन ।

            ५.    हाम्रा हकको जग्गा हाम्रा निवेदनअनुसार कित्ता काट गरी नापजाँच गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा दिन पर्नेमा नदिई अनावश्यक कुराको तर्क उठाई इन्कार गर्न हुने होइन । हामीले प्रमाणको पेश दाखिल गरेका लिखत प्रमाणहरु मिले भिडेका छन । टाँसिएको सूचनामा हामी सबै उपस्थित छौं । हाम्रो जे जस्तो जग्गा छ, त्यसैबमोजिम जग्गा देखाएका छौं । म भूपाल सिंहले प्रचलित कानूनको आधारमा बहाली पूर्जी दिएको छ । बहाली वेरीतको भयो भन्ने कसैको उजूरी छैन । हाम्रो दावी प्रष्ट छ । जग्गा हामीले भोगचलन गरेका छौं । कहीं पनि भए पनि पर्ती भएकै आधारबाट हाम्रो हक जान सक्ने होइन ।

            ६.    श्री ५ को सरकार कानून तथा न्यायमन्त्रालयको ०३१।९।२।३ अतिरिक्ताङ्क ३९ (क) को प्रकाशित सूचनाअनुसार पोखरा नगरविकास योजना क्षेत्रभित्रको नापनक्साका सन्दर्भमा ठेक्का जग्गा नापजाँच ऐन, ०१९ को दफा ६ को उपदफा (७) र भूमिसम्बन्धी ऐन, ०२१ अन्तर्गत जग्गा नापजाँच ऐन, ०१९ को दफा ६ को उपदफा (७) र भूमिसम्बन्धी ऐन, ०२१ अन्तर्गत तेरो मेरो परेका मुद्दाहरुमा मात्र यो जग्गा दर्ता हुने वा नहुने भन्न मिल्ने हो । यसमा अन्य कुनै कसैको उजूर छैन । समितिले पनि हेर्न मिल्ने होइन । विपक्षी समितिबाट भएको निर्णय मुलुकी ऐन अ.बं.७२ नं. को विपरित छ ।

            ७.    विपक्षीहरुद्वारा लिखितजवाफ मगाई पेशगर्नुभन्ने डिभिजन बेञ्चको मिति ०३४।१०।४।३ को आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्नप्रकार छन :

            ८.    सम्बन्धित कारवाहीको मिसिल कागजात यस अदालतसँग सम्बन्धित नभएकोले यस अदालतमा नभएको र ९ नं. नापी गोश्वारासँग मात्र भएकोमा प्राप्त भएको पनि छैन । ९ नं. नापी गोश्वाराअन्तर्गत २।३ नं. नापी टोली पोखराउपर यो उजूरी परेको देखिन्छ । सम्बन्धित कागजात र लिखितजवाफसमेत सम्बन्धित टोली तथा गोश्वाराबाटै पनि पेश हुने हुनाले तत्सम्बन्धमा यस अदालतबाट अरू उल्लेख गर्न आवश्यक पनि नदेखिँदा भएको व्यहोरा प्रस्तुत गरेका छौं । जो आदेशभन्नेसमेत गण्डकी अञ्चल अदालत पोखरा ।

            ९.    सोउपर पुनरावेदन क्षेत्रीय अदालतमा लाग्ने व्यवस्था विशेष अदालत ऐन, ०३१ को दफा १० मा भएको तर समितिउपरको पुनरावेदन लाग्ने व्यवस्था उक्त ऐनमा उल्लेख नहुँदा र समितिबाट पुनरावेदनको म्यादसमेत दिएको नहुँदा पुनरावेदन दरपीठ गरी फिर्ता गरिएकोले उत्प्रेषणको आदेशसमेत जारी हुनुनपर्ने विपक्षीको दावी उजूर लाग्न पुग्न नसक्ने हुँदा खारेज गरी पाउन सादर अनुरोध गर्दछु भन्नेसमेत पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखरा ।

            १०.    निवेदकका माग दावीबमोजिम निजको हक हनन हुने कुनै कारण नापी टोलीबाट भएगरेको नहुँदा टोलीउपरको यो उजूरी दावी सारा झुठ्ठा हुँदा रिट निवेदनपत्र खारेज गरी पाउन सादर अनुरोध गर्दछु भन्नेसमेत ९ नं. पानी गोश्वारा २ नं. नापी टोली ।

            ११.    टोलीउपरको यो उजूरी दावी सारा झुठ्ठा हुँदा उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्नेसमेत सो उजूरी निवेदन लाग्न नसक्ने भई खारेज गरिपाउन सादर अनुरोध गर्दछु भन्नेसमेत ९ नं. गोशवारा ३ नं. नापी टोली ।

            १२.   तारखेमा रहेका निवेदक वा.स.भूपाल सिंह कार्कीलाई रोहवरमा राखी निवेदकतर्फको विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विपक्षी पश्चिमाञ्चल क्षेत्रीय अदालतसमेत तर्फबाट खटिई उपस्थित हुनुभएको विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्यायको वहससमेत सुनी निर्णयतर्फ विचार गर्दा निवेदकका मागबमोजिमको आदेश जारी हुने नहुने के रहेछ, निर्णय दिनुपरेको छ ।

            १३.   यसमा विपक्षी नगरविकास योजना नापीसम्बन्धी विशेष अदालत र समिति पोखराले निवेदकहरुको उजूरीमा निर्णय दिएपछि विशेष अदालत ऐन, २०३१ को दफा १ बमोजिम पुनरावेदन दिन पाउने कानूनी अधिकार निवेदकहरुलाई कानूनले दिइराखेको देखिन्छ ।

            १४.   निवेदकहरुले पुनरावेदन गर्ने म्याद नपाएकोबाटै पुनरावेदन गर्न पाउने कानून प्रदत्त अधिकार लुप्त हुन सक्दैन । विशेष अदालतको निर्णयको नक्कल प्राप्त गरी निवेदकले अदालती बन्दोबस्त १९३ नं. को म्यादभित्रै प्रस्तुत रिट निवेदन दिएको देखिन्छ । तसर्थ विपक्षी पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखरासमेतका नाउँमा निवेदकहरुलाई पुनरावेदनको म्याद दिनु भनी परमादेशको आदेशसमेत दिने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयकहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई नियमबमोजिम गरी फायल बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३५ साल कार्तिक २७ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु