निर्णय नं. १२०३ - हकसफा

निर्णय नं. १२०३ ने.का.प. २०३५
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् २०३५ सालको देवानी पुनरावेदन नम्बर १६९
फैसला भएको मिति : २०३५।९।१०।२ मा
पुनरावेदक : जि. पर्वत, कुस्माशिवालय गा.पं. वडा नं. ४ बस्ने धनसरी सन्यासी
विरुद्ध
विपक्षी : ऐ.ऐ. गाउँ बस्ने जि. मु.वलभद्र गिरी
मुद्दा : हकसफा
(१) साहु रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा धरौट राख्न पर्ने, थैलीमा मुख नमिलेमा ऐनबमोजिम अदालतमा नालिस गर्ने कार्यविधि सुरु गर्नुपर्ने सो नगरी अदालतमा प्रवेश गर्छ भने लेनदेन व्यवहारको १६ नं. को सुविधा प्राप्त हुन नसक्ने ।
(प्रकरण नं. १५)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
फैसला
न्या. त्रैलोक्यराज अर्याल : प्रस्तुत मुद्दा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको निर्णयमा पुनरावेदन गर्ने अनुमति पाई पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : खारपानी भन्ने पाखो खरवारी कित्ता १ ऐ.जग्गामा बनेको खरको छाना भएको ४ तले कच्ची घर १ र धनसार घर २ सदेवारी भन्ने जग्गा कित्ता १ समेत विपक्षी धनसरी निजको छोरा खडानन्दले उक्त घरमा बसी जग्गा कमाउन लागेछन भन्ने ०३०।५।३० गते खवर पाएको खडानन्द समेतलाई तिमीहरुले के व्यहोराबाट कमाएको हौ । यो घरमा तिमीहरु बस्ने गरेका छौ के कसो भन्दा हरिकृष्णबाट राजीनामामा लिई हक हुन आएबाट घरमा बसी जग्गासमेत कमाइ गर्न लागेका छौ भनी जवाफ दिएको हुँदा के कति मोलमा लिएको हो साहुको थैली कति हो भन्दा साहू मिति यो हो थैली यति हो भन्ने भनी रहन खाँचो छैन भन्ने जवाफ गरेको हुँदा थैली यकिन ठहर भएपछि धरौट राख्नेछु । ०३०।१।२० गते राजीनामा पारित गरेको भन्ने कुरा ०३०।६।१ मा सुनी थाहापाएको हुँदा थैली यकिन ठहर गरी गराई साहू ठहरिएका विपक्षीलाई बुझाउन लगाई लेनदेन व्यवहारको ११ नं. बमोजिम गरी पाउन अनुरोध गर्दछु । हक इन्साफ भई लेखिएका घर जग्गाको थैली एकिन ठहर गरी लेनदेन व्यवहारको ३७ नं. बमोजिम सजायसमेत गरिपाउँ भन्नेसमेत वादी वलभद्रको फिरादपत्र ।
३. वादीको छोरासमेत बसी मोल गरी खारपानी भन्ने र सदेवारी भन्ने जग्गा र घर धनसारको थैली रु.१९०००। मोल गरी हरिकृष्णलाई दिई ०३०।१।१० मा रजिष्ट्रेशन पारित गराई म धनसरीले लिई सोही दिन बेलुका सो घरजग्गामा प्रवेश गरी छोरा खडानन्दसमेतका परिवार त्यहाँ छोडी भारत आसाम गरमपानीमा गएका हुन वादीको र हाम्रो एकै गाउँपञ्चायत एकै ठाउँको भएको पारित गर्ने अड्डासमेत एकै पञ्चायत हुँदा थैली मिति साहू थाहा नहुने सम्भवै नहुने राजीनामा लिएको जमिन एकै गाउँपञ्चायत वडाको हुँदा वादीलाई मौकै ०३०।१।१० गतेमा थाहा भएको वादीले थाहा पाइन भनी झुठ्ठा उजूर दिएको वादीको लागि दावीबाट फुर्सत गरिपाउँ भन्ने धनसरी १ खडानन्द १ समेतको संयुक्त प्रतिवादी ।
४. प्रतिवादी खग सन्यासीले सुरु म्यादै गुजारी बसेको ।
५. एकै गाउँपञ्चायत वार्डभित्रको जग्गा भएको र उक्त घर जग्गाबाट वादीको घर १२० गजभन्दा फरक छैन भनी बकेबाट देखिन सकिने अवस्थाको कुरो वादीलाई मौकैमा उसैबखत थाहा थिएन भन्न नसकिने भई थाहापाएको ३५ दिनभित्र उजूर दिनुपर्नेमा सो नदेखिएकोले लेनदेन व्यवहारको ११ नं. अनुसार किनेबेचेको पक्का हुन्छ । हकसफा गर्न पाउने ठहर्दैन भन्नेसमेत ०३१।५।७ को पर्वत जिल्ला अदालतको फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी बलभद्र गिरीको पुनरावेदन ।
७. शुरु जि. अ.ले १२० गज जति फरक हुँदा थाहा पाएको भन्ने उल्लेख गरेकोमा थाहा पाएका किटानी सबूद नभएको हुँदा थाहा हुन पनि नसक्ने मौकामा थाहा पाएको तथ्य सबूद बेगर थाहा पाएको अनुमानित भन्न नसकिने सुरुले हक सफा गर्न नपाउने ठहराएकोले इन्साफ मिलेको नदेखिएकोले तथ्यहीन सबूदको बेगर आधार लिई मौकैमा थाहा पाएको भन्न नमिल्ने भई यिनै वादी प्रतिवादीको जालसाजी मुद्दा आजै जालसाजी गरेको नठहरी फैसला भएकोले विगो रु.१९०००। कायम भएकोले नपुग थैली रु.४०००। ऐनको म्यादभित्र दाखिल गरे निखनाई पाउने ठहर्छ भन्ने ०३३।१।३० को पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
८. प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमति भएको डिभिजन बेञ्चको ०३५।१।१२।३ को आदेशमा वादी बलभद्रलाई लिखत पास भएको कुराको जानकारी छ । त्यस्तोमा सो लिखत पास हुने कार्यालयमा गई थैली पत्ता लगाई धरौट राख्न सक्ने स्थिति हुन सक्नेमा सोअनुसार नगरी अदालतमा नालिस गरेको देखिन्छ । यस्तै प्रश्न समावेश भएका पुनरावेदक तिलकबहादुरको हकसफा मुद्दामा कसैले आफूले पाएको अधिकार उपभोग गर्ने कोसिस नगरी अदालतमा प्रवेश गर्छ भने त्यस्तोमा लेनदेन व्यवहारको १६ नं. को सुविधा निखन्न पाउँ भन्नेलाई प्राप्त नहुने भन्ने डिभिजन बेञ्चबाट निर्णय भएको पाइन्छ । प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतले रजिष्ट्रेशन ३५ तथा लेनदेन व्यवहारको १६ नं. समेतको त्रुटि गरी निखन्न पाउने ठहराई फैसला गरेको उपरोक्त कारणसमेतबाट सार्वजनिक महत्वको विषयमा गम्भिर कानूनी त्रुटिपूर्ण निर्णय गरेको देखिँदा पुनरावेदन गर्ने अनुमति दिएको छ भन्ने उल्लेख भएको रहेछ ।
९. पुनरावेदक प्रतिवादी धनसरी सन्यासीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादीका फिराद दावीमा निखनाइपाउँ भन्ने दावी छैन । हक निखन्नेले थैली कति हो भन्ने थाहा पाउन रजिष्ट्रेशनको ३९ नं. बमोजिम नक्कल लिने प्रयास गरी थैली थाहा पाई रजिष्ट्रेशनको ३५ नं. बमोजिम रजिष्ट्रेशन पारित भएको कलमा गई निखन्न जानुपर्छ । थैली थाहा पाउन प्रयाससमेत नगर्ने व्यक्तिलाई लेनदेन व्यवहारको १६ नं. को सुविधा नपाउने हुनाले सिधै अदालतमा फिराद गरेकोबाट निखन्न नपाउने हुनाले निखन्न नपाउने ठहराएको सुरु जिल्ला अदालतको इन्साफ सदर हुनुपर्छ भन्नेसमेत र विपक्षी वादी बलभद्रको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले लेनदेन व्यवहारको ११ नं. बमोजिम हक निखन्न पाउने व्यक्तिले थैली थाहा नभएकोमा लेनदेन व्यवहारको १६ नं. बमोजिम पछि थैली कायम भएबमोजिम धरौट दाखिल गरी निखनी लिन पाउने व्यवस्थाअनुसार फिराद परेको छ । फिरादपत्रको सम्पूर्ण व्यहोराबाट निखनी लिन पाउँ भन्ने दावी गरेको छ । वादीले निखन्न पाउने ठहराएको क्षेत्रीय अदालतको सदर हुनुपर्छ भन्नेसमेत वहस प्रस्तुत गर्नुभएको छ ।
१०. यसमा निर्णयतर्फ विचार गर्दा लेनदेन व्यवहारको १६ नं. अन्तर्गतको हुँदा लेनदेन व्यवहारको ११ नं. बमोजिम भरी पाउन अनुरोध गर्दछु थैली यकिन गरी लेनदेन व्यवहारको ३७ नं. बमोजिम सजायसमेत गरिपाउँ भन्ने फिराद दावी भएको प्रस्तुत मुद्दामा हक निखन्न नपाउने ठहराएको सुरु जिल्ला अदालतको इन्साफ मिलेन हक निखनी लिन पाउने ठहर्छ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय भएकोमा लिखत पारित हुने कार्यालयमा गई थैली पत्ता लगाई धरौट राख्न सक्नेमा सोअनुसार नगरी अदालतमा नालेस गरेको देखिन्छ । रजिष्ट्रेशनको ३५ नं. तथा लेनदेन व्यवहारको १६ नं. को समेत त्रुटि गरी निखन्न पाउने गरेको क्षेत्रीय अदालतको निर्णय सार्वजनिक महत्वको विषयमा गम्भिर कानूनी त्रुटि भएको भनी पुनरावेदनको अनुमती भई पेश हुन आएको प्रस्तुत मुद्दा सर्वप्रथम लेनदेन व्यवहारको ११ नं. बमोजिम हक निखनी लिन पाउने व्यक्तिले हक निखनी लिन लिखत रजिष्ट्रेशन पारित भएको कार्यालयमा गई धरौट राखी निखन्न जानुपर्ने वा नपर्ने के हो भन्ने प्रश्नमा नै प्रस्तुत मुद्दामा निर्णय गर्नुपर्ने हुन आएको छ ।
११. प्रस्तुत मुद्दा दायर भएका बखत प्रचलित तत्कालिन मुलुकी ऐन लेनदेन व्यवहारको ११ नं. बमोजिम हक निखन्न पाउने कुरामा हक निखनी लिने सम्बन्धमा कानूनी व्यवस्था के रहेछ भनी हेर्दा तत्कालिन रजिष्ट्रेशनको ३५ नं. को देहाय (२) मा निखन्न पाउने व्यक्तिले निखन्न खोज्दा निखन्न दिनुपर्ने व्यक्तिले बाधा अड्काउ उपस्थित गरेमा निजलाई बुझाउनु पर्ने थैली निखन्न पाउने व्यक्तिले लिखत रजिष्ट्रेशन भएका वा साहू रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा धरौट राखी निखनाई पाउन दर्खास्त दिन हुन्छ र सोबमोजिम दर्खास्त परेमा निजलाई तारेखमा राखी निखन्न दिनुपर्ने व्यक्तिलाई अर्जि नलाग्ने गरी बाटाका म्यादबाहेक ७ दिनभित्र सक्कलै लिखत लिई आउनु भनी म्याद पठाउनु पर्छ । सो म्यादमा हाजिर भई निखन्न दिन मञ्जुर गरे माथि १ दफाबमोजिम थैली साहुलाई बुझाई साहुको भरपाई गराई भरपाई र रजिष्ट्रेशन भएको लिखतसमेत आसामीलाई बुझाइदिनुपर्छ भन्नेसमेत उल्लेख भएकोबाट हक निखनी लिने व्यक्तिले लिखत रजिष्ट्रेशन भएको वा साहू रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा गई धरौट राख्नुपर्ने व्यवस्था भएको देखियो ।
१२. विपक्षी वादीले थैली थाहा हुन नसकेको लेनदेन व्यवहारको १६ नं. अन्तर्गत फिराद गर्न आएको भनी थैली यकिन गरिपाउँ भन्नेसमेत दावी लिई फिराद गरेको देखिएकोले वादीलाई हक निखनी लिन पाउने लिखतको थैली थाहा हुन सक्ने अवस्था छ, छैन भन्नेतर्फ विचार गर्दा रजिष्ट्रेशनको ३९ नं. मा कसैले अड्डामा रहेको रजिष्ट्रेशन भएको लिखतको नक्कल लिन वा हेर्न आएमा दिनुपर्छ भन्ने व्यवस्था भएकोले लिखतको नक्कल सार्ने वा हेर्ने विपक्षी वादीलाई हक भएको र सोअनुसार लिखतको नक्कल सार्ने वा हकको उपभोग गरी लिखतबमोजिमको थैली दर्खास्त साथ धरौट राखी रजिष्ट्रेशन भएको वा साहू रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा गई निखन्न जानुपर्ने हुन्छ । यस स्थितिमा लेनदेन व्यवहारको १६ नं. को अवस्था पर्ने भएन । उक्त रजिष्ट्रेशनको ३९ नं. बमोजिम रजिष्ट्रेशन भएको लिखतको नक्कल सार्ने वा हेर्ने हक उपभोग गरेको छ भन्ने कुरा फिरादमा उल्लेख गरेको र भन्न सकेको पनि देखिँदैन । यसरी अड्डामा गई रजिष्ट्रेशन पारित भएको लिखतको नक्कल सार्ने वा हेर्ने हकको उपभोग गर्ने प्रयास नगरी थैली थाहा नभएको भनी अदालतमा प्रवेश गर्छ भने त्यस्तोमा लेनदेन व्यवहारको १६ नं. को सुविधा निखन्न पाउँ भन्नेलाई प्राप्त हुन्छ भन्न मिल्ने देखिएन ।
१३. विपक्षी वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ताले वहसमा प्रस्तुत मुद्दामा केही थैली जालसाजीमा पनि फिराद परेको छ । पुनरावेदक कृष्णराज उपाध्याय विपक्षी पिताम्बर भुसालको दे.फु.नं. ५६ को हक सफा मुद्दामा फुल बेञ्चबाट ०३३।७।२०।६ मा भएको निर्णयले प्रतिपादित सिद्धान्तअनुसार थैली थाहा नभएको भनी हक निखन्नेतर्फ र थैली जालसाजी मुद्दासमेत दुवै मुद्दा अदालतमा दायर भएकोले हक निखनी पाउँ भन्ने लेनदेन व्यवहारको १६ नं. बमोजिमको फिराद दावी छ भन्ने वहस जिकिर लिएको हकमा विचार गर्दा उक्त कृष्णराज उपाध्याय र विपक्षी पिताम्बर भुसालको हकसफा मुद्दामा लेनदेन व्यवहारको १६ नं. अध्ययन गर्दा निखनाई पाउँ भन्नेले थैली धरौट राखी नालेस गर्नुपर्ने र थैलीमा मुख नमिलेमा निश्चित भएपछि ३५ दिनभित्र थैली धरौट राख्न पाउने कुराको ऐनको वनावटबाट देखिन्छ । प्रतिवादी परेपछि थैलीमा मुख नमिलोस वा वादीले फिराद गर्दैमा प्रतिवादीको लिखत थैलीमा मुख नमिली थैली बढाएको भन्ने जालसाजी मुद्दा परी थैलीमा मुख नमिलोस वास्तवमा थैली निश्चित नभएकोमा फैसला भई निश्चित भएको ३५ दिनभित्र धरौट राख्न पाउने वादी उजुरवालालाई कानूनले अधिकार प्रदान गरेको देखिन्छ । त्यस्तो कानूनी अधिकारबाट वादी वञ्चित हुन्छ भन्न नमिल्ने हुँदा सम्बन्धित जालसाजी मुद्दा अन्तिम भएको ३५ दिनभित्र थैली धरौट राखेमा निखन्न पाउँछ भन्ने सिद्धान्त प्रतिपादित भएको देखिन्छ ।
१४. उक्त फुल बेञ्चबाट निर्णय भएको मुद्दा हक निखनी पाउँ भन्ने र थैली जालसाजी गर्यो भन्ने दुवै मुद्दामा एकैसाथ फिराद परेको मुद्दामा निर्णय भएको र प्रस्तुत मुद्दा त्यसरी निखनी पाउँ भन्ने र जालसाजी गरे भन्ने एकैसाथ दायर भएको नभई थैली थाहा नभएकोले निखनी पाउँ भन्ने फिराद दायर गरेको र सो फिराद लेखाइबाट थाहा नभएको भन्ने सिवाय थैली जालसाजी गरे भन्ने कुराको कल्पनासम्म पनि गरेको प्रस्तुत निखनी पाउँ भनी दिएको फिराद लेखाइबाट देखिएको छैन । त्यस्तो निखनी पाउँ भन्ने फिरादमा प्रतिवादी परिसकेपछि मात्र थैली जालसाजी गरे भन्ने मुद्दा दायर गरेको देखिएकोले प्रस्तुत मुद्दामा उक्त फुल बेञ्चबाट ०३३।७।२० मा निर्णय भएको नजिर लाग्न सक्ने देखिएन ।
१५. तसर्थ उपरोक्त कारणबाट थैली थाहा पाउने स्रोत रजिष्ट्रेशनको ३९ नं. को लिखतको नक्कल सार्ने वा हेर्ने हकको उपभोग गरी थैली पत्ता लगाई थैली पत्ता लागेपछि मुख मिलेमा ऐनबमोजिम लिखत रजिष्ट्रेशन भएको वा साहू रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा धरौट राख्ने र सो थैलीमा मुख नमिलेमा ऐनबमोजिम अदालतमा नालेस गर्ने कार्यविधि सुरु गर्नुपर्नेमा सो नगरी अदालतमा प्रवेश गर्छ भने लेनदेन व्यवहारको १६ नं. को सुविधा प्राप्त हुन नसक्ने भएको नहुने हुनाले हक निखनी पाउँ भन्ने प्रस्तुत मुद्दाको वादी दावी पुग्न नसक्ने ठहर्छ । हक निखन्न पाउने ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । तपसीलको कलममा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम क्षेत्रीय अदालतको इन्साफ उल्टी भएकोले देहायको कलममा देहाय बमोजिम गर्नु भनी पर्वत जिल्ला अदालतमा लेखी पठाउन कानूनबमोजिम का.जि. अ.त.मा लगत दिने..............१
वादी बलभद्र गिरीकै प.क्षे.अ.को ०३३।१।३० को फैसलाले गर्ने गरेको देहायको कलममा देहायबमोजिम गर्नु.......२
धनी धनसरी ऋणी हरिकृष्ण भएको ०३०।१।१० को रु.१९०००। को राजीनामा लिखत निखन्न पाउने ठहरी फैसला भएकोले रु.१५०००। पर्वत जिल्ला अदालतमा धरौट राखेको र नपुग रु.४०००। लेनदेन व्यवहारका १६ नं. म्यादभित्र धरौट राखे निखनी दिनु भनी पर्वत जिल्ला अदालतमा लेखी पठाई दिने गरेकोमा परेन भनी पर्वत जिल्ला अदालतमा लेखी पठाउने कलम ................. ३
वादी बलभद्र गिरी के निजले पवर्त जिल्ला अदालतमा राखेको कोर्टफी रु.६१०। क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.९३। र अघि फिराद दर्ता गर्दा राखेको रु.१०। समेत जम्मा रु.७१३। प्रतिवादीको जेथा देखाई दर्खास्त दिए भराइदिने गरेकोमा हाल सोबमोजिम गर्र्नु परेन । व्यहोरा जनाइ सो लगत कट्टा गरी दिने पुनरावेदक प्रतिवादी धनसरी सन्यासिनीके देहायको कलममा देहायबमोजिम गर्नु....................४
क्षेत्रीय अदालतको फैसलाले बादीलाई भराउने गरेको कोर्टफी रु.७१३। प्र.धनसरीले पुनरावेदन गर्दा ०३५।२।२२।१ मा धरौट दाखिल गरेको ०३५।२।२४ मा धरौटीमा आम्दानी बाँधिन गएको देखिएकोले सो धरौटी रहेको रु.७१३ प्र.धनसरी सन्यासीले फिर्ता पाउने हुँदा कानूनको म्यादभित्र फिर्ता लिन आए कानूनबमोजिम गरी फिर्ता दिने......५
स.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.९१।५० वादी हारेकोले निज वादीबाट जित्ने प्रतिवादी धनसरीले कोर्टफी ऐन, २०१७ को दफा १५ (१) बमोजिम भरी पाउने हुँदा भरी पाउँ भनी वादी बलभद्र गिरीको जायजात देखाई कोर्टफी ऐन, २०१७ को दफा १५ (११) को म्याद ३ वर्षभित्र प्रतिवादी धनसरीको दर्खास्त परे दस्तुर केही नलिई कानूनबमोजिम रीत पुर्याई वादी बलभद्र गिरीबाट भराइदिने.................६
सहमत छु ।
प्र.न्या. नयनबहादुर खत्री
इति सम्वत् २०३५ साल पौष १० गते रोज २ शुभम् ।