शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १२०६ - उत्प्रेषण मिश्रित परमादेश अन्य उपयुक्त आदेश वा पूर्जी जारी गरिपाउँ

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. १२०६     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३४ सालको रिट नम्वर १०२६

आदेश भएको मिति : ०३५।१०।४।५ मा

निवेदक : ल.पु. झम्सिखेल बस्ने का.मु.अर्थविज्ञ गणेशमान सिंह अधिकारी

विरुद्ध

विपक्षी : लोकसेवा आयोग वसन्त भवन, विशालनगर, काठमाडौं समेत

विषय : उत्प्रेषण मिश्रित परमादेश अन्य उपयुक्त आदेश वा पूर्जी जारी गरिपाउँ

(१)   राजीनामा पेश गर्ने व्यक्तिको पदाधिकार समाप्त भएको सम्झनुपर्ने र पदाधिकार समाप्त भइसकेकोमा माथिल्लो पदमा बढुवा हुने अधिकार पनि स्वतः समाप्त हुने ।

(प्रकरण नं. ९)

निवेदन तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

आदेश

            न्या. विश्वनाथ उपाध्याय : प्रत्यर्थी श्री देवेन्द्रप्रसाद चापागाइँ समेतको सिफारिशलाई उत्प्रेषणको आदेशद्वारा बदर गरी मैले प्राप्त गरेको विकासको नोकरीसमेतको अङ्क जोडी बढुवाको लागि सिफारिश गरिदिनु भन्ने प्रत्यर्थी आयोगका नाउँमा परमादेश जारी गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ ।

            २.    मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार छ : प्रत्यर्थी लोक सेवा आयोग (उ.नि.) शाखाले ०३४।९।१८ मा गणेशमान सिंह अधिकारी का.मु.कृषि अर्थविज्ञ खाद्य तथा बजार सेवा विभागलाई पत्र लेखी श्री ५ को सरकार खाद्य कृषि तथा सिंचाइ मन्त्रालय र लोक सेवा आयोग पदोन्नति शाखालाई दिएको बोधार्थ पत्रमा राजपत्राड्ढित तृतीय श्रेणीबाट द्वितीय श्रेणीमा बढुवा हुने कृषि सेवा बजार सेवा तथ्याङ्क समूहको पदको निमित्त मिति ०३४।६।१९ को गोरखापत्रमा प्रकाशित बढुवा सिफारिशको नामावलीमा चित्त नबुझी नि.से.नि.३।५ (९) र १० अनुसारको तपाईंले दिनुभएको उजूरी आयोगमा पेश भई छानवीन हुँदा तपाईंले लोक सेवा आयोगको खुल्ला प्रतियोगिताबाट सर्वप्रथम स्थायी नियुक्ति भएको मितिभन्दा पहिलेको विकासको नोकरीको अङ्क श्रेणी नखुलेको माष्टर डिग्रीको प्रथम श्रेणीको अङ्क अवधि नाघेको स्वास्थ्य प्रतिवेदनको अङ्क तथा माष्टर कोर्स प्रवेश हुँदाको क्वालिफाइङ्ग कोर्सको पनि तालिम भनी अङ्क दावी गरेको र सो कटाउँदा बढुवा सिफारिशको अन्तिम क्रममा परेकाको भन्दा तपाईंको कुल प्राप्ताङ्क घटी भएकोले तपाईंको उजूर आधारहीन ठहराइ अब हुने बढुवामा तपाईंको कुल प्राप्ताङ्कबाट नि.से.नि.अनुसारको अङ्क कट्टा हुने व्यहोराको सूचना दिने निर्णय भएको व्यहोरा अवगतार्थ आदेशानुसार अनुरोध गर्दछु भन्ने उल्लेख भएको रहेछ ।

            ३.    नि.से.नि.दफा ३ (७) मा सम्बन्धित कुनै योग्य उम्मेद्वारको दरखास्त पेश नभएको कारणबाट निजको नाम उम्मेद्वारहरुको सूचीबाट हटाइने छैन भनी कर्मचारीको सुरक्षा गरेको छ । मैले मिति ०२४।३।१४ देखि मिति २०२८।३।२४ सम्म जम्मा ४ वर्ष १० दिन विकासतर्फको स्थायी राजपत्राड्ढित प्राविधिक तृतीय श्रेणीको पदमा अटुट नोकरी गरी लोक सेवा आयोगको खुला प्रतियोगिताको सिफारिशमा श्री ५ को सरकारको मिति २०२७।३।२४ को निर्णयअनुसार साधारणतर्फको राजपत्राड्ढित प्राविधिक तृतीय श्रेणीको पदमा नियुक्ति प्राप्त गरी हालसम्म अटुट नोकरी गरी आएको छु । विकासतर्फको नोकरी प्रशासन व्यवस्था विभागको किताबखानामा दर्ता भई जोडी आएको प्रमाणपत्र निजामती किताबखानाको पत्र संख्या ३ नं. उपशाखा २ ख.च.नं. ५४३१ मिति ०३१।७।२६ बमोजिम खाद्य तथा कृषि बजार सेवा विभागको च.नं. ५६९३५६९५ मिति ०३१।८।९ को पत्रद्वारा अवगत भएको छ । नि.से.नि.को दफा ३।३ (९) मा अघि विकासमा अटुट नोकरी गरी लोकसेवा आयोगको खुल्ला प्रतियोगितको सिफारिसमा स्थायी सेवामा आएका कर्मचारीको हकमा विकासको सेवा अवधिलाई राजपत्रांकित तृतीय श्रेणीमा काम गरेको अवधि ६६ प्रतिशत भनी प्रष्ट लेखेको छ । विकासतर्फको नोकरी निजामती किताबखानामा दर्ता भएको मिति ०२८।३।२४ को नोकरीमा जोडिएको प्रमाण समेत पेश गरेकोमा उक्त प्रमाणलाई शुन्यकृत गरी नि.से.नि.दफा ३.२ (९) को प्रयोजनलाई निश्क्रिय गराई मेरो उजूर आधारहीन ठहर्‍याउन न्याय तथा कानूनविपरित छ । विपक्षी आयोगले परम्परासमेत तोडी मलाई स्वास्थ्य नै नभएको कर्मचारी बनाई स्वास्थ्य वापत शुन्य दिनु न्यायसंगत भएन । मैले पाउनुपर्ने अङ्क २७५.८६ हुन आउँछ । विपक्षीले लिएका आधारहरु स्वीकार गरेको खण्डमा पनि मेरो कुल प्राप्तांक २४७.८६ हुन आउँछ । जुन बढुवाको लागि सिफारिस हुने अन्तिम व्यक्ति श्री देवेन्द्रप्रसाद चापागाइँको कुल अंक २३४ भन्दा बढी छ । विपक्षी लोकसेवा आयोगको विकासतर्फको मेरो नोकरी जुन अनिवार्य रुपमा जोडिदिनुपर्नेमा नजोडिएकोले बढुवाको निमित्त सिफारिश हुने हकबाट वञ्चित हुन गएको छु ।

            ४.    नि.से.नि.३.५ (९) र (१०) अनुसार निजले दिनुभएको उजूरीउपर छानवीन भई आयोगबाट भएको निर्णयको जानकारी निजलाई यस शाखाबाट दिइएको र निजको संवैधानिक तथा कानूनीसमेत कुनै पनि हकमा यस शाखाबाट आघात पुगेको नहुँदा रिट निवेदन खारेज हुने आदेशानुसार सविनय अनुरोध गर्दछु भन्ने लोक सेवा अयोग उजूरी निरीक्षण एवं प्रशासन महाशाखा उजूरी एवं निरीक्षण शाखाको लिखितजवाफ रहेछ ।

            ५.    नियमानुसार नपाइने अङ्कहरु समेत दावी गरी निजले नि.से.नि.३.५ (९) र (१०) अनुसारको उजूर दिएको हुँदा निजको उजूर आधारहीन ठहर्‍याई नि.से.नि.३.५ (११) अनुसारको अङ्क कट्टा गर्ने निर्णय लिइएको हुँदा आयोगको निर्णयबाट निवेदकको संवैधानिक एवं कानूनीसमेत कुनै पनि हक अपहरण भएको नहुँदा रिट निवेदन खारेज हुन सविनय अनुरोध गर्दछु भन्ने लोकसेवा आयोगको लिखितजवाफ रहेछ ।

            ६.    उम्मेद्वारले नियमानुसार नपाउने अङ्कहरु दावी गर्‍यो भन्दैमा दिन नमिल्ने र नियमानुसार पाउने अङ्क मात्र जम्मा गर्दा निवेदकको कुल प्राप्ताङ्क बढुवाको लागि सिफारिश हुने अन्तिम क्रमको उम्मेद्वारभन्दा घटी नै भएकोले निजको नाम बढुवाको लागि सिफारिश नभएको हो । अत बढुवा समितिको निर्णयबाट निवेदकको संवैधानिक एवं कानूनीसमेत कुनै पनि हक अपहरण भएको नहुँदा रिट निवेदन खारेज हुन सविनय अनुरोध गरिन्छ भन्ने मिति ०३४।११।९ मा बसेको बढुवा समितिको लिखितजवाफ रहेछ ।

            ७.    मेरो सरोकारको विषय पनि नभएको हुँदा बढुवाको लागि मैले पाएको सिफारिश बदर हुनुपर्ने भन्ने कुनै आधार नभएको र निज विपक्षी श्री अधिकारीको कानूनी तथा संवैधानिक अधिकार मैले हनन गर्ने प्रश्न उठ्दैन । तसर्थ निजको रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत का.मु.अर्थविज्ञ टेकबहादुर श्रेष्ठ, का.मु.कार्यविज्ञ देवेन्द्रप्रसाद चापागाईं, का.मु.कृषि तथ्याङ्क विज्ञ डा.शैयद मुहम्मद निजामुद्दीन, अर्थविज्ञ वेखालाल महर्जन, का.मु.कृषि तथ्यांक विज्ञ रामेश्वरलाल श्रेष्ठ, कृ.वि.सं.यो.अ.गोविन्दवीर पाण्डे र सहायक योजना अधिकृत यादवदेव पन्तसमेतको लिखितजवाफ रहेछ ।

            ८.    निवेदकतर्फका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीको प्रत्यर्थी लोकसेवा आयोगसमेततर्फका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको वहस जिकिर सुनियो । निवेदकको मागबमोजिमको आदेश जारी गर्नुपर्ने, नपर्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने कुरा हुन आएको छ ।

            ९.    यसमा प्रत्यर्थी लोकसेवा आयोगतर्फबाट उपस्थित हुनुभएको विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले निवेदकले आफ्नो पदबाट राजीनामा गरी सो राजीनामा ०३५।३।३० मा श्री ५ को सरकार बाट स्वीकृत भईसकेको छ भनी श्री ५ को सरकार खाद्य कृषि तथा सिंचाइ मन्त्रालय खाद्य तथा कृषि बजार सेवा विभाग कर्मचारी प्रशासन शाखाले निवेदकलाई लेखेको २०३५।४।२ को पत्रको प्रतिलिपि प्रस्तुत गर्नुभएकोमा निवेदक तर्फका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले सो कुरा स्वीकार गर्नु भई निवेदकले प्रमोशन नपाएबाट मात्र राजीनामा गरेकोले निवेदकको मागमा बेञ्चबाट निर्णय हुनुपर्छ भन्ने वहस प्रस्तुत गर्नुभएको छ । तर राजीनामा पेश गर्ने व्यक्तिको पदाधिकार समाप्त भएको सम्झनुपर्ने र पदाधिकार समाप्त भइसकेकोमा माथिल्लो पदमा बढुवा हुने अधिकार पनि स्वतः समाप्त हुने भएकोले रिट निवेदन खारेज हुने ठहर्छ । नियमानुसार गरी फाइल बुझाइदिनु ।

 

म सहमत छु ।

 

न्या. ईश्वरीराज मिश्र

 

 

इति सम्वत् २०३५ साल माघ ४ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु