शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १२०७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. १२०७     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३५ सालको रिट नम्वर १३११

आदेश भएको मिति : २०३५।९।२४।२ मा

निवेदक : सुनसरी जिल्ला धरान न.पं. वडा नं. ४ बस्ने पुष्पलाल घिमिरेसमेत

विरुद्ध

विपक्षी : जि. मोरङ वखरी गा.पं. वडा नं. ४ बस्ने द्रोणकुमार भट्टराई

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   कुन जग्गामा कस्तो घर बनेको भन्ने तथ्यबारेमा असाधारण अधिकारक्षेत्रबाट बोलिरहनु नपर्ने ।

(प्रकरण नं. ६)

आदेश

            न्या. हेरम्बराज: प्रत्यर्थी भूमिप्रशासकको ०३४।१२।२४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन दर्ता हुन आएको रहेछ ।

            २.    मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार छ : लक्ष्मीप्रसाद, पुष्पलाल, राजकुमार आचार्य, रङ्गनाथ ढकालसमेत ४ जनाको नाममा गोग्रेंदा मौजाको साविक कि.नं. १५१ मा दर्ता भएको ज.वि.२१७:१/२ बीचबाटै विराटनगर धरान सडक बनिन गई उक्त जग्गा २ तर्फ पूर्व विराटनगर नगरपञ्चायत र पश्चिमतर्फ वखरी गा.पं.मा परी वखरी गा.पं.तर्फ परेको जग्गा विपक्षमा मोही भई कमाई आएको २०२४ सालमा समेत नापी हुँदा वखरी गा.पं.तर्फको जग्गा नापी भई वार्ड नं. ८ ख.कि.नं. २४ मा ०१४ घ.दो.र कि.नं. २५ मा ज.वि.०१२ मिट अवलसमेत जम्मा विगाहा ज.वि.०१०६ हामी दुई जनाको भागमा परी २०३२।९।१६ मा पारित जग्गाधनी पूर्जा पाएको उक्त जग्गाको मोही विपक्षी भई ०३२ को कूत बाली नबुझाएको र धरौटी राखेको सूचना पनि हामीलाई प्राप्त नभएको हुँदा भू.सु.ऐन नियमअनुसार मोही हकबाट निष्कासन गरी धान मन १ को रु.५०।र मकै मन १ को ८० ले हुने बालीको विगो रु.२९८।७५ विपक्षबाट दिलाइपाउँ भन्ने पुष्पलाल घिमिरेसमेतको फिरादपत्र परेकोमा फिराद लेखबमोजिम फिरादवालासमेत ४ जना दर्ताको ज.वि.२० जग्गा २०१९ सालको बालीदेखि साल १ को रु.७५।का दरमा ठेक्का बुझाउने शर्तमा मैले जग्गा कमाउने गरी ०१८ साल जेष्ठ ३ गते कबुल गरी लिएको विपक्षी मध्यका लक्ष्मीप्रसादले ठेक्काको कागज लेखिदिनुभएको हुँदा ०१८ सालको बाली देखी उक्त ज.वि.२० मैले कमाइआएको ०१८ सालको ठेक्काको रु.७५। मिति ०१९।४।२० मा विपक्षी लक्ष्मीप्रसादले बुझी सो को भरपाइसमेत गरेको छ । पछि सालहरुको भरपाइ दिनुभएको छैन । जग्गा छुट्टाएपछि बाली नबुझिदिनु भई ०३२।११।२८ मा ठेक्का लिखतबमोजिम बखती गा.पं.मा धरौट भा.रु.७५ को हुने रु.१०५। राखेको छु । विपक्षीहरुले मोहियानी छोडाउने उद्देश्यले कूत बुझाउन जाँदा नबुझी बुझाएन भनी बढी दावी गर्नुभएको हो भन्नेसमेत प्रतिउत्तर भएकामा भू.सु.अ.बाट प्रतिवादीले मोहीको हैसियतले बुझाउनुपर्ने कूत वादीले नै ०१८।२।२ मा गरिदिएको दोहरा कबुलियतको हुने कूत रकम २०३२।११।२८ मा बखरी गा.पं.मा धरौटी राखको मिसिल संलग्न भरपाइको नक्कलबाट देखिएकोले कूत नबुझाएको भन्न मिलेन । अतः वादी दावा पुग्न सक्ने नदेखिएकोले वादी दावी खारेज हुने ठहर्छ भन्ने निर्णय भएको रहेछ ।

            ३.    जग्गाधनीको जग्गा मोहीले कमाएपछि जग्गाधनीलाई कूत तिर्नु मोहीको प्रथम कर्तव्य हो । कूत बुझाउँदा तोकिएको म्यादभित्र जग्गाधनी वा जग्गाधनीको प्रतिनिधिलाई बुझाउनुपर्ने र कुनै कारणवश नबुझे र दर्खास्तसाथ बुझाउनु पर्ने कूत बजारभाउले नगदमा परिणत गरी स्थानीय पञ्चायत मालअड्डा वा भूमिप्रशासन कार्यालयमा धरौटी राख्न सक्ने व्यवस्था भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ को उपदफा १ र २ मा भएको छ । यसरी धरौटी राखिएकोमा बुझाउनुपर्ने कूत ९० प्रतिशतभन्दा घटी भएमा धरौटी राखिएको नमानिने प्रष्ट व्यवस्था ऐ.ऐनको दफा ३६ को (२) प्रतिबन्धात्मक शब्दमा रहेको छ । भू.सु.ऐनको दफा ३३ (ग) मा श्री ५ को सरकारले मोहीले जग्गावालालाई बुझाउनुपर्ने कुरा निर्धारण गर्न सक्ने र यसरी कूत निर्धारण भएकोमा तोकिएबमोजिम नै लिने दिने गर्नुपर्दछ भन्ने व्यवस्था रहेको छ । मोरङ जिल्लामा श्री ५ को सरकारले मिति २०३०।९।२९ को राजस्व सूचना प्रकाशित गरेर प्रतिविगाहा धनहर दोयमको ११ मन २० शेर मिट अवलको ८ मन २९ सेर कूत तोकिसकेको समेत छ । ९० प्रतिशत धरौटी राखिएको नदेखिए कानूनी मान्यता नपाउने निश्चित छ । विपक्षले धनहर खेत विगाहा ०१४ को धान मन १ भा.रु.५०। ले हुने २८० र मिट विगाहा ०१२ को रु.२० समेत गरी रु.३००। धरौट राख्नुपर्ने निश्चित छ । विपक्षीले भू.प्र.का.मा दिनुभएको आफ्नो लिखितजवाफबाट रु.१०५। मात्र धरौट राख्नुभएको देखिएको छ । जुन ऐनको आधारबाट अमान्य छ । यस्तै २०३४ सालको रि.फु.नं. ३७ को उत्प्रेषण मुद्दामा मिति ०३४।१२।१ मा फुल बेञ्चबाट कूत ठेकिएको स्थानमा तोकिएबमोजिम कूत मोहीले तिर्नुपर्ने गरी व्यवस्थासमेत भएको छ, भन्नेसमेत व्यहोराको निवेदन जिकिर रहेछ ।

            ४.    द्रोणकुमार भट्टराईको लिखितजवाफमा साविक ४ जना जग्गा धनिका बीच जग्गा बाँडफाँट भएको सूचना मलाई प्राप्त नभएको हुँदा अलग अलग ठेक कूत जम्मा गर्नुपर्ने प्रश्न उपस्थित छैन । ०३३।०३४ सालको ठेक धरौट जम्मा गरिसकेको हुँदा मोहीले साल सालै दायित्व बहन गरिराखेकै अवस्थामा दफा २९ (१) आकर्षित हुने होइन । रिट निवेदनमा उल्लेख भूमिसम्बन्धी ऐनको दफा ३३ (ग) र ३६ (२) प्रसंगहीन छ । यी दुवै ठेक कूत बाहेकका विषयसित सम्बन्धित हुन । दफा ३३ (ख) ले स्पष्ट गरेको छ । दफा ३३ (ग) ले ३२ (ख) को व्यवस्थालाई समाप्त गरेको छैन । विपक्षीले उल्लेख गर्नुभएको नजिर पनि प्रासंगिक छैन । अधिकारप्राप्त अधिकारीले कानूनको अधिनमा रही गरेको निर्णयबाट विपक्षीको कुनै हक हनन भएको एवं विपक्षीले कबुलियत र मो.जि. अ.मा मुद्दा परेको इत्यादि सम्पूर्ण तथ्य लुकाई निवेदन गर्न आउनुभएको आधारमा समेत रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत उल्लेख भएको रहेछ ।

            ५.    निवेदक तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री ध्रुवनाथ पन्त र प्रत्यर्थी द्रोणकुमार भट्टराई तर्फका विद्वान अ.श्री दमन ढुङ्गानाले गर्नुभएको वहससमे सुनियो । निवेदकको मागबमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

            ६.    यसमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ को (ख) मा मोही भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनुपर्दछ भनी मोहीको परिभाषा भएकोले उक्त ऐनको परिच्छेद ८ कूतको व्यवस्थामा मोही हुनेलाई त्यस्तै लक्षण मिल्नुपर्ने हो । प्रस्तुत मुद्दामा निवेदक लक्ष्मीप्रसाद समेतसँग ठेक कबुलियतमा जग्गा कमाउन लिएको भनी विपक्षी द्रोणकुमारले जिकिर गरेको छ र उक्त जग्गामा घर बनेको भन्ने पनि लेखाइछ । जब मोहीले घर बनाई बसेको जग्गामा भूमिसम्बन्धी ऐनको व्यवस्थाअनुसार कूत तिर्नुपर्ने मोही नभई त्यस्तो घरवारीमा जग्गाधनी र घर बनाउनेको बीचमा जस्तो कबुलियत भएको छ, त्यहीअनुसार लिनेदिने गर्नुपर्छ । कुन जग्गामा कस्तो घर बनेको भन्ने तथ्य बारेमा सो असाधारण अधिकारको क्षेत्रबाट बोलिरहनु परेन । ठेक कबुलियतबमोजिम निवेदकले पाउने गरी अधिकारयुक्त अधिकारीले गरेको फैसला अन्यथा गर्नुपर्ने कारण र परिबन्द नदेखिएकोले प्रस्तुत रिटको निवेदनपत्र खारेज हुने ठहर्छ । नियमानुसार गरी फाइल बुझाइदिनु ।

 

म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३५ साल पौष २४ गते रोज २ शुभम् ।

 

.

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु