निर्णय नं. ६९७१ - कर्तव्य ज्यान

निर्णय नं. ६९७१ ने.का.प. २०५८ अङ्क १.२
संयुक्त इजालास
सम्माननीय प्रधानन्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री टोपबहादुर सिंह
संवत २०५१ सालको फौ.पु.नं....११६४
फैसला मितिः २०५७।२।२०।६
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक/वादीः धनबहादुर तामाङको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादीः लमजुङ्ग जिल्ला भुलभुले गा.वि.स. वडा नं. ८ बस्ने लालबहादुर तामाङ
हत्या गर्ने मनसाय सहित लाठा ढुंगा र साधारण सानातिना हातहतियारले कुटी हानी रोपी घोची वा अरु ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मरेमा सोही एकजना र धेरै जनाको हुल भै मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ भन्ने व्यवस्था मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. ले गरेबाट यस ऐन बमोजिम दावी बमोजिम सजाय हुनको लागि अप्राकृतिक रुपले मारौं भन्ने मनसाय राखी उल्लेखित क्रिया मध्ये कुन एक क्रिया गर्दा सो कारणबाट व्यक्तिको मृत्यु भएको हुनुपर्ने अवस्थालाई इङ्गित गरेका पाइन्छ । प्रस्तुत मुद्दाको प्रकृति यस अनुरुप रहे भएको देखिन आउँदैन । तसर्थ माग दावी बमोजिम मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) बमोजिम प्रतिवादीलाई सजाय गर्न मिल्ने अवस्था देखिन नआउने ।
सोही महलको १४ नं. बमोजिम सजाय हुनुपर्ने हो कि भन्ने तर्फ विचार गर्दा ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनु पर्ने सम्मको इवी पनि रहेनछ लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा वाहेक साधारण लाठा ढुंगा लात, मुक्का इत्यादी हान्दा सोही चोट पीरले ऐनका म्याद भित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ भन्न व्यवस्था गरेको देखिन आउँछ । यसबाट प्रस्तुत ऐन बमोजिम सजया हुनको लागि मृतक र हिर्काउने व्यक्तिका बीचको अवस्था पुष्टि गर्दै मृतक र अभियुक्त बीच उसै मौकामा उठेको कुनै रिस थाम्न नसकी उल्लेखित तवरले हान्दा मृतकको मृत्यु भएको हुनुपर्ने विषयलाई स्वीकार गरेको पाइन्छ । यस नं. ले मृतक र हिर्काउने व्यक्ति बीच प्रत्यक्ष सरोकार रहनुपर्ने र तत्कालको परिस्थितिबाट मानिसको मृत्यु हुन गएमा मनसाय प्रेरित हत्याको भन्दा कम साजय हुन सक्ने अवस्था प्रस्तुत गरेको देखिन आउँछ । यस मुद्दाको प्रकृति हेर्दा मृतक र यी प्रतिवादीहरु बीच कुनै वादविवाद झै झगडा भएको वा मृतकको खास कृयाबाट मृतक र प्रतिवादीका बीच विवाद उत्पन्न भै सो विवादको कारणबाट सिर्जित रिसको आवेगमा मृतकलाई चोट छोडेको भन्ने अवस्था देखिन आउँदैन । मृतकको मृत्यु यिनै प्रतिवादीले हानेको दाउराको चोटले हुन गएको देखिन्छ । तापनि सो १४ नं. ले परिकल्पना गरेको मृतक र अभियुक्त बीच रहनुपर्ने आपसी कडीको अवस्था विद्यमान रहेको पाइदैन । मृतक र प्रतिवादीका बीच भनाभन भएको वा अरु कुनै कारणले वादविवादको कार्य कारणबाट दुईका बीच चोट छोड्नु पर्ने अवस्था श्रृजना रहे भएको पाइदैन । तसर्थ सो १४ नं. प्रतिकूलको कार्य भएको नदेखिंदा सो बमोजिम सजाय गर्न मिल्ने पनि देखिन नआउने ।
प्रस्तुत मुद्दामा घटित वारदातको स्थिति हेर्दा उनाउ व्यक्ति दर्जलालसँग यी प्रतिवादीको बीच झगडा भएको भनाभन भै मृतक सेते तामाङको चिया पसलमा रहेको डलेठो दाउरा उठाई दर्जलाल तामाङलाई दुई चोटी हिर्काएको तेस्रो पटक हान्दा छुट्याउन भनी गएका मृतक सेते तामाङलाई लाग्दा सोही चोटबाट निजको मृत्यु भएको देखिन आउँछ । वारदातको कडी मृतक र प्रतिवादीका बीचमा नरही दर्जलाल र प्रतिवादीको बीचमा रहेका देखिन्छ । मृतकलाई हिर्काउनु पर्ने कारण र अवस्था विद्यमान देखिंदैन । दुई व्यक्ति बीच भएको विवाद निपटाराको प्रयोजनको लागि उपस्थित व्यक्तिलाई अचानक लाग्न गई त्यसैद्वारा मृतकको मृत्यु भएको देखिन्छ । मृतक र यी प्रतिवादीका बीच मृतकलाई मार्नुपर्ने मनसाय प्रेरित हत्याको आभाष त विलकूलै देखिदैन । साथै आवेश प्रेरित हत्याका तत्वहरु समेत विद्यमान रहेको देखिदैन । जहाँसम्म प्रतिवादीले मृतकलाई हिर्काएको चोटले अर्को व्यक्तिलाई लाग्न गएको भए पनि सरेको मनसायको सिद्धान्त (Transfer of the Malafied Intention) अनुसार सजाय हुनुपर्ने भन्ने पुनरावेदन कथन रहेको छ त्यसतर्फ विचार गर्दा कुनै पनि घटित अपराधको दोषी करार गर्नको लागि त्यस्तो क्रिया कानूनले निषेधित र निर्वन्धित भएको हुनुपर्छ । सजाय कानून बमोजिम गर्नु पर्ने कुरा नगरेमा र नगर्नु पर्ने कुरा गरेमा हुने विषय हो । तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरे वापत कुनै व्यक्ति सजायको भागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसूर गर्दाको अवस्थामा प्रचलित कानूनमा तोकिए भन्दा बढी सजाय दिइने छैन भन्ने संवैधानिक सुरक्षा समेत नेपाल अधिराज्यको संविधान, २०४७ ले व्यक्तिकोनेपाल अधिराज्यको संविधान, २०४७ ले व्यक्तिको लागि सुरक्षित गरेको पाइन्छ । प्रस्तुत वारदातको प्रकृतिबाट वादी कथन अनुरुप सजाय हुन सक्ने प्रचलित कानूनी व्यवस्था रहे भएको नपाइने ।
प्रस्तुत वारदातको पृष्ठभूमि र संकलित सवूद प्रमाण अभियुक्तको भनाइ समेतको आधारमा मृतक सेते तामाङलाई मार्नुपर्ने पूर्व रिसइवि मनसाय यी प्रतिवादीमा रहेको नदेखिएको, मृतकका बीच वादविवाद भै मौकामा उसै वखत उठेको रिसको कारणले आवेश प्रेरित प्रकृतिको हत्या भएको अवस्था पनि नदेखिएको, दर्जलाललाई हिर्काउँदा मृतक सेते तामाङलाई लागि निजको मृत्यु हुन गएको देखिंदा यो क्रिया मुलुकी ऐन ज्यान सम्बन्धी महलको ५ नं. कै प्रकृतिको देखिन आउने ।
(प्र.नं. १८–२१)
पुनरावेदक वादी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री पुष्पराज कोइराला
प्रत्यर्थी प्रतिवादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
प्र.न्या.केशवप्रसाद उपाध्यायः पुनरावेदन अदालत पोखराको मिति २०५१।८।५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहित मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छः–
२. दर्जलाल तामाङ र लालबहादुर तामाङ बीच झगडा भै रहेको अवस्थामा लालबहादुर तामाङले दाउराले हानी सोही चोटबाट उपचार गराउँदा गराउँदै सेते तामाङको मृत्यु भएकोले कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको धनबहादुर तामाङको जाहेरी दर्खास्त ।
३. टाउकोमा चोट लाग्न गै दिमागमा रक्तश्राव र रगत जम्मा भै मृत्यु भएको भन्ने व्यहोराको पोष्टमार्टम रिपोर्ट ।
४. २०४९।९।२९ मा वाहुनडाँडा ठुलीवेशीमा जात्रा हेर्न गएको थिएं । श्री माया तामाङलाई च्यामचे बस्ने मैले नाम नचिनेको मानिसले विवाह गरी लैजान सोही बजारमा नै ल्याएका रहेछन । मैले थाहा पाई बहिनीको विवाहको बारेमा दर्जलाल तामाङसँग भनाभन समेत भै सेते तामाङको चिया पसलमा झगडा भएको अवस्था सोही चिया पसल नजिक रहेको डोलेठो दाउरा उठाई दर्जलाल तामाङलाई दुई चोटी दाउराले हानी तेस्रो पटक हान्दा छुट्याउन भनी आएका सेते तामाङलाई लाग्न गयो । सो चोटले सेते तामाङ त्यहाँ नै ढल्न गयो । गाउँलेले बोकी लमजुङ्ग अस्पतालमा ल्याई उपचार गराउँदा मेरै चोटको कारणबाट सेते तामाङको २०४९।१०।०१ मा मृत्यु भएको कुरा थाहा पाएं भन्ने समेत व्यहोराको प्रतिवादी लालबहादुर तामाङले प्रहरी समक्ष गरेको बयान कागज ।
५. लालबहादुर तामाङ र दर्जलाल तामाङको बीच सेते तामाङको चिया पसलमा हानाहान हुँदा सेते तामाङले छुट्याउन लाग्दा लालबहादुर तामाङले हानेको दाउराको चोटले सेते तामाङको उपचार गराउँदा गराउँदै मृत्यु भएको हो भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।
६. २०४९।९।२९ मा ठुली वेसीमा लागेको मेला हेर्न गएको थियो । बजारमा दर्जलालसँग लालबहादुरको झगडा भएको रहेछ । मैले झगडा गर्नु हुँदैन भन्दै लालबहादुर तामाङले डोलेठो दाउराले दर्जलाल तामाङलाई हानी रहेकै अवस्था सेते तामाङ झगडा गर्न हुँदैन भनी छुट्याउन गएको अवस्था निज लालबहादुर तामाङले दाउराले हानी सेते तामाङलाई समेत ढाली निज लालबहादुर त्यहाँबाट भागे भन्ने समेत रामप्रसाद गुरुङ्गले जिल्ला प्रहरी कार्यालयमा गरेको कागज ।
७. किटानी जाहेरी, किटानी बयान तथा संकलित अन्य सवुद प्रमाण्बाट प्रतिवादी लालबहादुरले सेते तामाङको ज्यान मार्ने उद्योगबाट डोलेठो दाउराले टाउकोमा हानी सोही चोटको कारणबाट सेते तामाङको मृत्यु भएकोले निजलाई ज्यान सम्बन्धी महलको १३(३) नं. अनुसार हदैसम्म सजाय गरी पाउँ भन्ने समेत व्यहोराको अधियोग पत्र ।
८. २०४९।९।२९ मा वेलुका अन्दानी ११, १२ बजेतिर ठूलीवेसी भन्ने बजार मेलामा गएको थिएं । त्यहाँ दाजुभाई भिनाजुलाई भेटें । भिनाजुले वहिनी ल्याएको छ वहिनीलाई च्याम्चेमा विवाह गर्ने भनेर मसँग कुराकानी भएको थियो । मैले भिनाजुसँग वहिनीलाई किन मेलामा ल्याएको हो भन्दा भिनाजुले नराम्रो कुरा गर्न भएन भने । त्यसपछि वहिनीलाई घरतर्फ लगें । जाँदा च्यानडाँडा भन्ने चौतारामा दर्जलाल समेतका मानिस बसेका रहेछन । निजहरुसँग कुराकानी भयो । दर्जलालले मलाई धकेले मैल लगाएको जकेट समेत च्याति दिए । वहिनीलाई महादेवको थान सम्म पुर्याई दिए । त्यसपछि दर्जलाल तामाङलाई सेते तामाङको चिया पसलमा भेटी मेरो जकेट किन च्याति दिएको भनी भनाभन झगडा भयो । लाहुरे दर्जलाल तामाङ उठेर मलाई आक्रमण गर्न खोज्यो । त्यसपछि मैले डोलेठो दाउरा थुतेर एकपटक लाहुरे दर्जलाललाई हाने । लाहुरेले मलाई मुडकीले हान्यो । मैले सोही दाउराले लाहुरेलाई हानी दिए । त्यसपछि लाहुरेले तेश्रो पटक हान्दा लाहुरेले छली जुवाई सेते तामाङलाई लाग्यो । सोही दाउराको चोटले जुवाई भुइमा ढले । म आफ्नो घरतर्फ लागे म सुतेको घरमा जुवाईलाई बोकेर गाउँलहरुले ल्याई दिए । त्यसपछि म आफैले बोकेर लमजुङ्ग अस्पतालमा ल्याएको हुँ । जुवाई सेते तामाङको लमजुङ्ग अस्पतालमा मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी लालबहादुर तामाङले अदालतमा गरेको बयान ।
९. प्रतिवादीका साक्षी, सर्जमिनका मानिस, जाहेरवाला समेतले बकेको वकपत्र मिसिल सामेल रहेको ।
१०. प्रतिवादीले मार्ने मनसाय राखी मृतकलाई कुटे भनी भन्न सकिने अवस्था नहुँदा अभियोगपत्रमा उल्लेख गरिएको दावी अनुसार प्रतिवादीहरुलाई कसूरदार ठहर्याउन मिल्ने अवस्था देखिएन । प्रतिवादीले मुलुकी ऐन ज्या सम्बन्धी महलको १४ नं. मा उल्लेख गरिए अनुसारको कसूर गरेका ठहर्छ भन्ने समेत लमजुङ्ग जिल्ला अदालतको मिति २०५०।११।२९।१ को फैसला ।
११. लमजुङ्ग जिल्ला अदालतको फैसलामा चित्त बुझेन । कानूनी सिद्धान्तको अवलम्वन समेत नगरी मु.ऐन ज्यान सम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद गरी र त्रुटिपूर्ण फैसला गरिएको छ । मुलुकी ऐन ज्यान सम्बन्धी महलको ६(२) को प्रतिकूल गरिएको फैसला उल्टी गरी मेरो पुनरावेदन जिकिर बमोजिम इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदन पत्र ।
१२. शुरु लमजुङ्ग जिल्ला अदालतको फैसला चित्त बुझेन । प्रतिवादीलाई ज्यान सम्बन्धी १३(३) नं. बमोजिम नै सजाय गर्नुपर्नेमा सो नगरी ऐ. को १४ नं. बमोजिम आवेश प्रेरित हत्या तर्फको सजाय ठहर गरिएको हुँदा उक्त फैसला स्पष्ट रुपम कानूनी त्रुटिपूर्ण हुँदा वदर गरी प्रतिवादीलाई अभियोगपत्र मागदावी बमोजिम नै सजाय गरी पाउन सादर अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदन पत्र ।
१३. संकलित सवुद प्रमाणको आधारमा प्रतिवादीले मार्नको लागि कुनै पूर्व योजना वा अपराधिक षडयन्त्र गरेको प्रमाण समेत मिसिलबाट देखिन नआएको र एकालाई हान्दा छुट्याउन आउने अर्कालाई लाग्न गएको भन्ने प्रष्ट भैरहेको, यस अवस्था ज्यान सम्बन्धी ५ नं. अनुसार कसूर ठहर गर्नुपर्नेमा सो नगरी प्रतिवादीलाई ज्यान सम्बन्धी महलको १४ नं. अनुसार कसूर ठहर गरी सजाय गर्ने गरेको शुरु लमजुङ्ग जिल्ला अदालतको इन्साफ मिलेको नदेखिंदा उल्टी हुने ठहर्छ । प्रतिवादी लालबहादुर तामाङलाई ज्यान सम्बन्धीको ५ नं. अनुसार भवितव्य गरी कसूर गरेको ठहरेकोले निजलाई ज्यान सम्बन्धीको ६ नं. को देहाय २ अनुसार रु. ३००|– जरिवाना र १ वर्ष ९ महिना कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराको मिति २०५१।८।५ को फैसला ।
१४. पुनरावेदन अदालत पोखराको इन्साफ चित्त नबुझेकोले पुनरावेदन गरेका छौं । प्रतिवादीले प्रहार गरेको डोलेठोको दाउराको चोट लागेको कारण मृत्यु हुन गएको, झगडा छुट्याउन गएको अवस्थामा आवेशको वेगमा प्रहार गर्न नसकिने होइन । प्रतिवादीलाई मनसाय सहित हिर्काएको चोट अर्को व्यक्तिलाई लाग्न गएको हुँदा माग बमोजिम सजाय नगरेको पुनरावेदन अदालतको फैसला न्यायसंगत भएन । उक्त फैसला वदर गरी मागदावी बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
१५. श्रीमाया तामाङको विषयमा भनाभन भै चौतारामा गएको अवस्थामा दर्जलालसँग झगडा भैसकेपछि प्र.लालबहादुर, सेते तामाङको चिया पसलमा दर्जलालसँग झगडा गरी मारपिट गर्दा छुट्याई दिने सेते तामाङलाई प्र. लालबहादुरले हानेको चोटबाट वेहोस भै लडेको अवस्थामा प्र. लालबहादुर भागेको देखिएको र मारपिट गर्दा छुट्याई दिइसेकपछि प्र. लालबहादुरले सेते तामाङ उपर प्रहार गरी मृत्यु भएकोमा शुरु लमजुङ्ग जिल्ला अदालतको निर्णय केही उल्टी गरी पुनरावेदन अदालत पोखराले ज्यान सम्बन्धीको नं. ६(२) को कसूर ठहराएको उक्त प्रावधानको परिधिभित्र पर्ने नभै फरक पर्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५६।२।२७ को आदेश ।
१६. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट विद्वान सहन्यायाधिवक्ता श्री पुष्पराज कोइरालाले प्रतिवादीले हिर्काएको चोटबाट मृतकको मृत्यु भएको भन्नेमा विवाद नभएको हुँदा माग बमोजिम मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुनुपर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नुभयो ।
१७. सो वहस जिकिर समेत सुनी निर्णयतर्फ विचार गर्दा यी प्रत्यर्थी प्रतिवादीले सेते तामाङलाई कर्तव्य गरी मारेको भन्ने कसूरमा निज उपर ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिमको सजायको माग, दावी गरेको रहेको देखिन्छ । घटना वारदातको वस्तुस्थिति अनुसार १३(३) नं. को अवस्था नभै ऐ. महलको १४ नं. को अवस्था विद्यमान रहेको भनी शुरु अदालतले यी प्रतिवादीलाई सो १४ नं. बमोजिम १० वर्ष कैद गर्ने फैसला गरेको र सो उपर निजको समेत पुनरावदेन परी पुनरावेन अदालत पोखराले ज्यान सम्बन्धी महलको ५ नं. अनुसारको अवस्था रहेको भनी ऐ. महलको ६(२) अनुसार प्रतिवादी लालबहादुरलाई रु. ३००|– जरीवाना र १ वर्ष ९ महिना कैद गर्ने गरी फैसला भएको देखिन्छ । सो पुनरावेदन अदालतको फैसलामा चित्त नबुझी वादी तर्फबाट माग बमोजिम ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम नै सजाय हुनुपर्ने भनी प्रस्तुत पुनरावेदन गरेका देखिन्छ ।
१८. यस परिप्रेक्ष्यमा विचार गर्दा मुलकी ऐन, ज्यान सम्बन्धी महलको १३, १४ र ५ न.. मध्ये प्रस्तुत मुद्दामा कुन आकर्षित हुने भन्ने कुख्य निरोपणको विषय विन्दु रहेको पाइन्छ । मृतकको मृत्यु प्राकृतिक नभै यी प्रतिवादी लालबहादुर तामाङले छोडेको चोटको कारणबाट भएको भन्नेमा विवाद नभएकोले त्यसतर्फ विवेचना भइरहनु पर्ने अवस्था देखिदैन । सजायको हकमा विचार हुनुपर्ने देखिन्छ । सो तर्फ विचार गर्दा उल्लेखित ऐनका नं. हरुको समुचित विश्लेषण गर्नुपर्ने भै तत्सम्बन्धी व्यवस्था तर्फ हेर्दा नं. १३ ले मनसाय प्रेरित हत्या नं. १४ ले आवेश प्रेरित हत्या र नं. ५ ले भवितव्यबाट हुन गएको हत्याको सम्बन्धमा व्यवस्था गरेको देखिन्छ । मूलतः कडा सजाय हुनको लागि सो अपराध गर्दाको पृष्ठभूभि, त्यसको तयारी, अपराधीको मनसाय आदि कुराहरुलाई आधार लिई तत् आधारमा सजाय तोकिनु पर्ने भन्ने कुरा उल्लेखित ऐनका साथै सो महलको अन्य दफा दफामा गरिएको व्यवस्थाबाट देखिन आउँछ । मनसाय प्रेरित हत्यामा बढी सजायको भागी हुने परिकल्पना अनुरुप त्यस्तोमा सर्वश्वसहित जन्मकैद समेत हुन सक्ने, आवेश प्रेरितमा सो भन्दा कम १० वर्ष कैद मात्र गरे हुने र भवितव्यबाट ज्यान मारेकोमा सो महलको ६ नं. ले जरीवाना मात्र वा जरीवाना कैद दुवै गर्न सकिने व्यवस्था गरी बढीमा २ वर्षसम्म कैद गर्न सकिने व्यवस्था गरेको देखिन्छ । अव यी सजायहरु मध्ये प्रस्तुत मुद्दामा प्रतिवादी लालबहादुरलाई कुन प्रयोग हुने हो त्यसतर्फ विचार गर्दा वादीले मनसाय प्रेरित हत्याको सजायको दावी लिएको देखिंदा पहिले सो सम्बन्धी प्रश्न निराकरण हुनुपर्ने देखिन आएको छ । हत्या गर्ने मनसाय सहित लाठा ढुंगा र साधारण सानातिना हातहतियारले कुटी हानी रोपी घोची वा अरु ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मरेमा सोही एकजना र धेरै जनाको हुल भै मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ भन्ने व्यवस्था मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. ले गरेबाट यस ऐन बमोजिम दावी बमोजिम सजाय हुनको लागि अप्राकृतिक रुपले मारौं भन्ने मनसाय राखी उल्लेखित क्रिया मध्ये कुन एक क्रिया गर्दा सो कारणबाट व्यक्तिको मृत्यु भएको हुनुपर्ने अवस्थालाई इङ्गित गरेका पाइन्छ । प्रस्तुत मुद्दाको प्रकृति यस अनुरुप रहे भएको देखिन आउँदैन । तसर्थ माग दावी बमोजिम मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) बमोजिम प्रतिवादीलाई सजाय गर्न मिल्ने अवस्था देखिन आएन ।
१९. अव सोही महलको १४ नं. बमोजिम सजाय हुनुपर्ने हो कि भन्ने तर्फ विचार गर्दा ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनु पर्ने सम्मको इवी पनि रहेनछ लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा वाहेक साधारण लाठा ढुंगा लात, मुक्का इत्यादी हान्दा सोही चोट पीरले ऐनका म्याद भित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ भन्न व्यवस्था गरेको देखिन आउँछ । यसबाट प्रस्तुत ऐन बमोजिम सजया हुनको लागि मृतक र हिर्काउने व्यक्तिका बीचको अवस्था पुष्टि गर्दै मृतक र अभियुक्त बीच उसै मौकामा उठेको कुनै रिस थाम्न नसकी उल्लेखित तवरले हान्दा मृतकको मृत्यु भएको हुनुपर्ने विषयलाई स्वीकार गरेको पाइन्छ । यस नं. ले मृतक र हिर्काउने व्यक्ति बीच प्रत्यक्ष सरोकार रहनुपर्ने र तत्कालको परिस्थितिबाट मानिसको मृत्यु हुन गएमा मनसाय प्रेरित हत्याको भन्दा कम साजय हुन सक्ने अवस्था प्रस्तुत गरेको देखिन आउँछ । यस मुद्दाको प्रकृति हेर्दा मृतक र यी प्रतिवादीहरु बीच कुनै वादविवाद झै झगडा भएको वा मृतकको खास कृयाबाट मृतक र प्रतिवादीका बीच विवाद उत्पन्न भै सो विवादको कारणबाट सिर्जित रिसको आवेगमा मृतकलाई चोट छोडेको भन्ने अवस्था देखिन आउँदैन । मृतकको मृत्यु यिनै प्रतिवादीले हानेको दाउराको चोटले हुन गएको देखिन्छ । तापनि सो १४ नं. ले परिकल्पना गरेको मृतक र अभियुक्त बीच रहनुपर्ने आपसी कडीको अवस्था विद्यमान रहेको पाइदैन । मृतक र प्रतिवादीका बीच भनाभन भएको वा अरु कुनै कारणले वादविवादको कार्य कारणबाट दुईका बीच चोट छोड्नु पर्ने अवस्था श्रृजना रहे भएको पाइदैन । तसर्थ सो १४ नं. प्रतिकूलको कार्य भएको नदेखिंदा सो बमोजिम सजाय गर्न मिल्ने पनि देखिन आएन ।
२०. अव सोही महलको ५ नं. को व्यवस्था हेर्दा ज्यान मार्ने इवि लाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्य मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गए भवितव्य ठहर्छ भन्ने उल्लेखित ५ नं. मा व्यवस्था भै यसरी भवितव्यबाट मानिस मर्न गएमा पनि सजायबाट भने उन्मुक्ति नपाउने व्यवस्था सोही ऐनको नं. ६ ले गरेको पाइन्छ । प्रस्तुत मुद्दामा घटित वारदातको स्थिति हेर्दा उनाउ व्यक्ति दर्जलालसँग यी प्रतिवादीको बीच झगडा भएको भनाभन भै मृतक सेते तामाङको चिया पसलमा रहेको डलेठो दाउरा उठाई दर्जलाल तामाङलाई दुई चोटी हिर्काएको तेस्रो पटक हान्दा छुट्याउन भनी गएका मृतक सेते तामाङलाई लाग्दा सोही चोटबाट निजको मृत्यु भएको देखिन आउँछ । वारदातको कडी मृतक र प्रतिवादीका बीचमा नरही दर्जलाल र प्रतिवादीको बीचमा रहेका देखिन्छ । मृतकलाई हिर्काउनु पर्ने कारण र अवस्था विद्यमान देखिंदैन । दुई व्यक्ति बीच भएको विवाद निपटाराको प्रयोजनको लागि उपस्थित व्यक्तिलाई अचानक लाग्न गई त्यसैद्वारा मृतकको मृत्यु भएको देखिन्छ । मृतक र यी प्रतिवादीका बीच मृतकलाई मार्नुपर्ने मनसाय प्रेरित हत्याको आभाष त विलकूलै देखिदैन । साथै आवेश प्रेरित हत्याका तत्वहरु समेत विद्यमान रहेको देखिदैन । जहाँसम्म प्रतिवादीले मृतकलाई हिर्काएको चोटले अर्को व्यक्तिलाई लाग्न गएको भए पनि सरेको मनसायको सिद्धान्त (Transfer of the Malafied Intention) अनुसार सजाय हुनुपर्ने भन्ने पुनरावेदन कथन रहेको छ त्यसतर्फ विचार गर्दा कुनै पनि घटित अपराधको दोषी करार गर्नको लागि त्यस्तो क्रिया कानूनले निषेधित र निर्वन्धित भएको हुनुपर्छ । सजाय कानून बमोजिम गर्नु पर्ने कुरा नगरेमा र नगर्नु पर्ने कुरा गरेमा हुने विषय हो । तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरे वापत कुनै व्यक्ति सजायको भागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसूर गर्दाको अवस्थामा प्रचलित कानूनमा तोकिए भन्दा बढी सजाय दिइने छैन भन्ने संवैधानिक सुरक्षा समेत नेपाल अधिराज्यको संविधान, २०४७ ले व्यक्तिकोनेपाल अधिराज्यको संविधान, २०४७ ले व्यक्तिको लागि सुरक्षित गरेको पाइन्छ । प्रस्तुत वारदातको प्रकृतिबाट वादी कथन अनुरुप सजाय हुन सक्ने प्रचलित कानूनी व्यवस्था रहे भएको पाइंदैन ।
२१. अतः प्रस्तुत वारदातको पृष्ठभूमि र संकलित सवूद प्रमाण अभियुक्तको भनाइ समेतको आधारमा मृतक सेते तामाङलाई मार्नुपर्ने पूर्व रिसइवि मनसाय यी प्रतिवादीमा रहेको नदेखिएको, मृतकका बीच वादविवाद भै मौकामा उसै वखत उठेको रिसको कारणले आवेश प्रेरित प्रकृतिको हत्या भएको अवस्था पनि नदेखिएको, दर्जलाललाई हिर्काउँदा मृतक सेते तामाङलाई लागि निजको मृत्यु हुन गएको देखिंदा यो क्रिया मुलुकी ऐन ज्यान सम्बन्धी महलको ५ नं. कै प्रकृतिको देखिन आयो ।
२२. तसर्थ यी प्रत्यर्थी प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १४ नं. अनुसारको सजाय गरेको शुरु फैसला उल्टी गरी सोही महलको ५ नं. को कसूरमा सोही ६(२) नं. अनुसार रु. ३००|– जरीवाना र १ वर्ष ९ महिना कैद ठहर्याएको पुनरावेदन अदालत पोखराको फैसला मिलकै देखिंदा सदर हुने ठहरी वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन। नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उपयुक्त रायमा सहमत छु ।
न्या. टोपबहादुर सिंह
इति सम्वत २०५७ साल जेष्ठ २० गते रोज ६ शुभम्............।