शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६९७४ - लिखत दर्ता बदर

भाग: ४३ साल: २०५८ महिना: बैशाख अंक:

निर्णय नं. ६९७४   ने.का.प. २०५८ अङ्क १.२

 

संयुक्त इजालास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा

सम्वत २०५२ सालको दे.पु.नं. ३३८८

फैसला मितिः २०५७।२।३०।२

 

मुद्दाः लिखत दर्ता वदर

 

पुनरावेदक/प्रतिवादीः जि. रामेछाप, रस्नालु गा.वि.स. वडा नं. ६ बस्ने भिमबहादुर कार्की

विरुद्ध

विपक्षी/वादीः जि. रामेछाप, वेताली गा.वि.स. वडा नं. ७ बस्ने कमलबहादुर कार्की

 

हदम्याद सम्बन्धी जिकिरको सम्बन्धमा थाहा पाउने कारण र अवस्था यद्यपी मुद्दाको प्रकृति अनुसार भिन्न भिन्न हुन सक्छ तर नक्कल सारेर नालिस उजूर गर्नलाई चाहिने जति सम्पूर्ण तथ्य थाहा पाउनु पर्ने नै अवस्थामा तदअनुकूल लिखतको मिति, लिखतका साहू आसामी, थैली वापत बिक्री भएको जग्गाको कित्ता, क्षेत्रफल, लिखत साक्षी, लेखक, लिखत पारित मिति इत्यादी भएपछि मात्र नालिस उजूर गर्नुपर्ने कारण छ छैन ? र कस्तो प्रकृतिको मुद्दा चलाउनु पर्दछ भन्ने थाहा हुने हुँदा अरु किसिमले थाहा पाउनु र लिखतको नक्कल सारी थाहा पाउनु समान प्रकृतिको मान्न मिल्ने देखिदैन । प्रस्तुत मुद्दाका वादी रामेछाप जिल्लाका भएका एवं निजका बाबु छत्र बहादुर र प्रतिवादी भिमबहादुरले बेइलाका काठमाडौंमा आई लिखत पारित गरेकोले मिति २०४९।१२।२० मा वादीले सुनेको भएता पनि त्यतिकै आधारमा कुन कुन कित्ताको के कति जग्गा र घर कुन मितिमा राजिनामा वा वकसपत्र के बाट प्रतिवादीले लिएको हो भन्ने लगायतका नालिस उजूर गर्न आवश्यक तथ्यगत सबै कुरा नखुल्ने हुँदा सो मितिमा सम्पूर्ण यथार्थ कुरा वादीले थाहा पाइसहेको भन्न मिल्दैन । नालिस गर्नै पर्ने हो होइन ? र गर्नै पर्नेमा नालिस गर्नका लागि थाहा पाउनु पर्ने सम्मको कारण तथ्यगत आधारहरु सम्बन्धित मालपोत कार्यालयबाट नक्कल सारी लिएपछि मात्र थाहा हुने हुँदा मनासिव माफिकको अवधि भित्र मिति २०५०।१।३ मा नक्कल सारी थाहा पाउको भनी तदउपरान्त म्यादै भित्र नालिस गरेको देखिन आउने ।

मिति २०४९।१।३ को वादीका पिता छत्रबहादुरले प्रतिवादीसँग कर्जा लिई जग्गा राजिनामा गरिदिएको लिखतमा आफ्नो घर खर्च वापत भनी लेखिएको देखिएकोले लिखतमा लेखिए बमोजिम नै तथ्यगत कुराको अनुमान हुने हुँदा घर खर्चका लागि कर्जा लिएको नभई अरु नै प्रयोजनको लागि कर्जा लिएको हो भन्ने जिकिर लिने पक्षले नै त्यस्तो कुरा प्रमाणित गर्नुपर्ने हुन आउँछ । त्यस किसिमको कुनै प्रमाण वादी पक्षले पेश नगरेको र लिखतमा नै घर खर्च वापत लिएको भनी उल्लेख भइरहेकोमा अन्यथा प्रमाणित नभएसम्म वादीका बाबु छत्रबहादुरले घर खर्च गर्नका लागि नै कर्जा लिई पुनरावेदक प्रतिवादीलाई लिखत गरि दिएको तथ्यका सम्बन्धमा शंका गर्नुपर्ने देखिएन । तसर्थ वादीका बाबु छत्रबहादुरले गरि दिएको लिखत घरको मुख्यले घर व्यवहार चलाउन कर्जा लिई गरिदिएको हुँदा अंशवण्डाको १९ नं. ले आधा सम्म सदर हुने र बाँकी आधा मध्ये वादीको हक सम्म ३ खण्डको १ खण्ड लिखत वदर हुने ठहराएको शुरु रामेछाप जिल्ला अदालतको इन्साफ मनासिव ठहर्ने ।

(प्र.नं. १३ र १४)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा

विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री खिमराज पौडेले

अवलम्वित नजिरः

फैसला

न्या. केदारनाथ उपाध्यायः पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छः

२.  हामी फिरादी देवकुमारीका पति तथा म कमलबहादुरका बाबु छत्रबहादुरका २ वटी श्रीमतीमा जेठी फिरादी कमलबहादुरको आमा २०२५ सालमा कालगतीले परलोक हुनु भएको । कान्छी म फिरादी देवकुमारी समेत सगोलमा बसी आएकोमा मिति २०४९।३।२० गते पति तथा पिताको स्वर्गवास भयो । उहाँको काजक्रिया समेत सकी आसौच वारी रहो वखत विपक्षी भिमबहादुरले मिति २०४९।१२।२० मा हाम्रो घरमा आई तिमीहरु बसेको घरवारी लगायत सम्पूर्ण जग्गा तिमीहरुको पति तथा पिताले मलाई पास गरि दिइसकेको छन भन्नु भएकोले २०५०।१।३ गते मालपोत कार्यालयमा गई नक्कल सारी हेर्दा विपक्षी भिमबहादुर धनी, छलबहादुर ऋणी भई रामेछाप जिल्ला वेताली गा.वि.स. वडा नं. ७ क कि.नं.. ७० को क्षे.फ.११११, कि.नं.. ७२ को क्षे.फ. ११०, वडा नं. ७ ग, कि.नं. ५९ को क्षे.फ. १०, कि.नं. ६७ को ०१२, वडा नं. ७ म कि.नं. ७२ को क्षे.फ. १, वडा नं. ७ ग कि.नं. ७८ को क्षे.फ.०१ कि.नं. ९४ को २३ समेत जम्मा क्षे.फ. २७१५३ जग्गा रु. ४१,३४०|मोलमा मालपोत कार्यालय काठमाडौं मार्फत मिति २०४९।१।४ मा पारित गरेको थाहा भयो । यसरी हाम्रो समेत अंश हक लाग्ने एकासगोलको जग्गा हुँदा ३ भागको २ भाग वदर गरी पाउँ भन्ने समेत फिराद दावी ।

३.  विपक्षीहरुका पति तथा पिताले घर व्यवहार चलाउन मुस्कील भई ऋण समेत तिर्न पर्ने भएकोले जग्गा बिक्री गर्नुपर्ने भनेकोले फिरादी समेतलाई रोहवरमा राखी सोधपुछ गर्दा सो जग्गा बिक्री गर्नुपर्ने आवश्यकता सबैले देखाई फिरादीहरुका पिता तथा पतिले राखेको मूल्यमा नै खरिद गर्ने विचार भै केही रुपैयाँ फिरादीहरुकै रोहवरमा दिए, बाँकी रुपैया फिरादीहरुका पति, पितालाई काठमाडौंमा दिई रजिष्ट्रेशन पास गरी लिएको हुँ । मेरो दाताले उक्त जग्गाहरु मध्ये धेरै जग्ग आफूले आर्जन गरेको र आफूखुश गर्न पाउने पैतृक सम्पत्ति हुँदा विपक्षीहरुले त्यसमा दावी गर्न मिल्दैन । साथै हदम्याद नाघी फिराद दायर भएको समेत हुँदा त्यस्तो फिराद खारेज गरी पाउँ भन्ने समेत प्रतिउत्तर जिकिर ।

४.  वादी मध्येका कमलबहादुर कार्कीको दावीका ७ कित्ता जग्गाको आधा जग्गा बाबु छत्रबहादुरले अंशवण्डाको १९ नं.. ले ब्यवहार चलाउन बिक्री गर्न पाउने देखिएकोले उक्त ७ कित्ता जग्गालाई आधा भाग लगाई त्यस मध्ये एक भागबाट ३ भागको १ भागमा वादीको हक लाग्ने देखिएकोले उक्त जग्गाको वादी दावीको लिखत र दर्ता वदर हुने र वादीको नाम दा.खा. दर्ता समेत हुने ठहर्छ भन्ने रामेछाप जिल्ला अदालतको मिति २०५१।३।२९ का फैसला ।

५.  रामेछाप जिल्ला अदालतको त्रुटिपूर्ण फैसला वदर गरी मेरो फिराद माग दावी अनुसार सम्पूर्ण सम्पत्तिको ३ भागको १ भाग लिखत र दर्ता वदर गरी मेरो नाममा दा.खा दर्ता हुने ठहर गरी पाउँ भन्ने व्यहोराको वादी कमलबहादुर कार्कीको पुनरावेदन ।

६.  यसमा सगोलको सम्पत्तिको एकलौटी भनी बिक्री गरेको अवस्था देखिएको र आधा सम्पत्तिबाट मात्र लिखत वदर गर्ने गरेको परिप्रेक्ष्यमा शुरु जिल्ला अदालतको फैसला विचारणीय देखिंदा छलफलको निमित्त अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

७.  यसमा पुनरावेदक वादी कमलबहादुर र विपक्षीका दाता छत्रबहादुर एकसगोल मै भएको अवस्थामा छत्र बहादुरको मृत्यु भएको देखिन्छ  भने व्यवहार चलाउनको निमित्त छत्रबहादुरले जग्गा बिक्री गरेका अर्थात जग्गा बिक्री गर्दा प्राप्त भएको रकमबाट कुनै व्यवहार गर भएको सवुद विपक्षी प्रतिवादीबाट आउन सकेको पाइएन । यस स्थितिमा अंशवण्डाको १९(१) नं. बमोजिम २०४९।१।४ को लिखतलाई आधा सदर गरेको हदसम्मको शुरुको फैसला मिलेको देखिएन । लिखत हुँदाको अवस्थामा पुनरावेदक वादी समेत अंशियार रहे भएकोले वादीको हक जति ३ खण्डको १ खण्ड लिखत वदर हुने हुँदा सो हदसम्म शुरुको फैसला उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०५२।९।१२ को फैसला ।

८.  पुनरावेदन अदालतको फैसला त्रुटिपुर्ण छ । सर्वप्रथम विपक्षी वादीहरुले २०४९।१२।२० मा नै जग्गा बिक्री भएको कुरा थाहा पाएकोमा ३५ दिन नघाई दायर गरेका फिराल हदम्याद भित्रको नभएकोले स्वतः खारेजभागी छ । साथै मेरो दाता विपक्षीका पिता स्व. छत्रबहादुर कार्कीबाट विपक्षी समेतको मन्जुरीले विवादित जग्गा बेची लागेको ऋण तिर्ने भन्ने सल्लाह मुताविक सो जग्गा मैले खरिद गरेको हो । विपक्षीले म उपर जालसाजीको दावी लिई दायर गरेको मुद्दामा वादी दावी नपुग्ने ठहर भई पुनरावेदन अदालत समेतबाट २०५२।९।१२ मा अन्तिम फैसला भएको छ । मेरो दाता छत्र बहादुर घरका मुख्य व्यक्ति भएकोमा विवाद नभएकोमा अचल सम्पत्तिमा आधासम्म घर व्यवहार चलाउनको लागि आफूखुश गर्न पाउने अधिकार अंशवण्डाका १९ नं. ले प्रदान गरेका स्पष्ट छ । साथै शुरुमा म उपर फिराद दिने वादी मध्यकी एक दाताकी श्रीमती देव कुमारी कार्कीले विना शर्त वादी दावी छाडी म सँग मिलापत्र गरी सक्नु भएको छ । यस तथ्यबाट पनि फिराद दावी युक्तिसंगत नभएको प्रष्ट हुन्छ । अतः अंशवण्डाको १९ नं. बमोजिम मेरो दाता छत्रबहादुरले बिक्री गरेका सम्पत्तिको आधा भागमा वादीको दावा नै लाग्न नसक्नेमा पु्रै सम्पत्तिको ३ भागको एक भाग लिखत वदर हुने ठहराएको पुनरावेदन अदालत जनकपुरको इन्साफ वदर गरी पाउँ भन्ने प्रतिवादीले यस अदालतमा दायर गरेको पुनरावेदन ।

९.  यसमा यसै मुद्दाको लगाउको जालसाजी मुधा मिति २०५२।९।१२ मा पुनरावेदन अदालत जनकपुरबाट फैसला भएको भन्ने देखिंदा सो मुद्दाको शुरु रेकर्ड र प्रमाण मिसिल समेत झिकाई पेश गर्नु भन्ने यस अदालतको मिति २०५४।८।२४ को आदेश ।

१०.  यसमा फिरादको प्रकरण नं. २ मा उल्लेखित बाबुको मृत्यु पश्चात मिति २०४९।१२।२० मा भिमबहादुर कार्की घरमा आई आफूले जग्गा किनेका भन्दा मालपोत कार्यालयबाट २०५०।२।१३ मा नक्क्ल सारी हेदो थाहा पाए भनी सो म्यादलाई समाती २०५०।२।०५ मा नालेश गरेकोप पाइन्छ । घर जग्गा बिक्री भएको कुरा वादीहरुालाई भीबहादुरबाट मिति २०४९।१२।२० मा थाहा भै सकेको अवस्थामा समेत सो मितिबाट ३५ दिन भित्र नालिस दिएको देखिदैन । ने.का.प. २०५०, अंक ६, पृष्ठ ३४०, नि.नं. ४७६१ मा अन्य जरिया कारणबाट थाहा पाएकोमा सो थाहा पाएकोलाई सिमि तगर्न नमिल्ने भनी प्रतिपादित सिद्धान्त समेत कायम भएको हुँदा पुनरावेदन अदालत, जनकपुरले गरेका फैसला नमिली फरक पर्ने देखिंदा  अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने यस अदालतबाट मिति २०५६।३।२१ मा भएको आदेश ।

११.  नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटाले वादीले जग्गा बिक्री भएको कुरा प्रतिवादीबाट मिति २०४९।१२।२० मा नै थाहा पाएको भनी फिराद लेखमा नै स्विकार गरेकोमा सो मितिबाट ३५ दिन नघाई दायर भएको फिराद हदम्याद नाघेको कारण खारेज हुनु पर्दछ, साथै मेरो पक्षको दाता स्व. छत्रबहादुरले घर खर्च गर्न भनी लिखतमा उल्लेख गरी जग्गा बिक्री गरेको हुँदा अंशवण्डाको १९ नं. बमोजिम आधा सम्म सम्पत्ति बिक्री गर्न पाउने नै भएकोले सम्पूर्ण सम्पत्तिमा वादीको दावी लाग्न सक्ने नै होइन । अतः सम्पूण सम्पत्तिबाट ३ खण्डको १ खण्ड लिखत वदर हुने ठहराई भएको पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी गरी बिक्री भएको सम्पत्तिको आधासम्मको लिखत सदर ठहर्याएको जिल्ला अदालतको इन्साफ सदर हुनुपर्दछ भनी आफ्नो वहस जिकिर प्रस्तुत गर्नुभयो । विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री खिमराज पौडेलको लिखत वदर जस्तो मुद्दामा कसैले भनेको भरमा हदम्याद शुरु हुने हुँदा फिराद हदम्याद नाघी दायर भएको भन्न मिल्दैन । त्यस्तै घर व्यवहार चलाउन जग्गा बिक्री गरेका भन्ने कुनै प्रमाण पेश नभएको र त्यस्तो स्थिति र अवस्था समेत नरहेको हुँदा सम्पूर्ण सम्पत्तिको ३ खण्डको १ खण्ड लिखत वदर हुने ठहराएको पुनरावेदन अदालत जिनकपरको फैसला सदर हुनु पर्दछ भनी वहस प्रस्तुत गर्नु भयो ।

१२.  अब पुनरावेदन अदालत जनकपुरबाट सम्पूर्ण सम्पत्तिको ३ खण्डको १ खण्ड लिखत वदर हुने ठहराएको फैसला मिलको छ छैन र पुनरावेदन जिकिर बमोजिम हुने हो होइन भनी विचार गर्दा प्रस्तुत मुद्दामा मिति २०४९।१२।२० मा प्रतिवादी भिमबहादुर कार्कीले यो घर जग्गा आफूले किनी सकेको कुरा भनेकोले मिति २०५०।१।३ मा नक्कल सारी हेर्दा थाहा पाएको भनी प्रस्तुत मुद्दाको फिराद परेकोमा पुनरावेदक पक्षका विद्वान अधिवक्ताको जिकिर बमोजिम २०४९।१२।२० लाई नै थाहा पाएको मिति कायम गरी वादीको फिराद हदम्याद भित्रको हो होइन भन्ने प्रश्नमा र पुनरावेदन जिकिर बमोजिम विवादको लिखतको कर्जा वादीका बाबुले घर व्यवहारको लागि लिएको हो होइन भन्ने समेत दुई प्रश्नमा निर्णय दिनुपर्ने देखिएको छ ।

१३.  हदम्याद सम्बन्धी जिकिरको सम्बन्धमा थाहा पाउने कारण र अवस्था यद्यपी मुद्दाको प्रकृति अनुसार भिन्न भिन्न हुन सक्छ तर नक्कल सारेर नालिस उजूर गर्नलाई चाहिने जति सम्पूर्ण तथ्य थाहा पाउनु पर्ने नै अवस्थामा तदअनुकूल लिखतको मिति, लिखतका साहू आसामी, थैली वापत बिक्री भएको जग्गाको कित्ता, क्षेत्रफल, लिखत साक्षी, लेखक, लिखत पारित मिति इत्यादी आवश्यक तथ्यगत कुराको जानकारी भएपछि मात्र नालिस उजूर गर्नुपर्ने कारण छ छैन ? र कस्तो प्रकृतिको मुद्दा चलाउनु पर्दछ भन्ने थाहा हुने हुँदा अरु किसिमले थाहा पाउनु र लिखतको नक्कल सारी थाहा पाउनु समान प्रकृतिको मान्न मिल्ने देखिदैन । प्रस्तुत मुद्दाका वादी रामेछाप जिल्लाका भएका एवं निजका बाबु छत्र बहादुर र प्रतिवादी भिमबहादुरले बेइलाका काठमाडौंमा आई लिखत पारित गरेकोले मिति २०४९।१२।२० मा वादीले सुनेको भएता पनि त्यतिकै आधारमा कुन कुन कित्ताको के कति जग्गा र घर कुन मितिमा राजिनामा वा वकसपत्र के बाट प्रतिवादीले लिएको हो भन्ने लगायतका नालिस उजूर गर्न आवश्यक तथ्यगत सबै कुरा नखुल्ने हुँदा सो मितिमा सम्पूर्ण यथार्थ कुरा वादीले थाहा पाइसहेको भन्न मिल्दैन । नालिस गर्नै पर्ने हो होइन ? र गर्नै पर्नेमा नालिस गर्नका लागि थाहा पाउनु पर्ने सम्मको कारण तथ्यगत आधारहरु सम्बन्धित मालपोत कार्यालयबाट नक्कल सारी लिएपछि मात्र थाहा हुने हुँदा मनासिव माफिकको अवधि भित्र मिति २०५०।१।३ मा नक्कल सारी थाहा पाउको भनी तदउपरान्त म्यादै भित्र नालिस गरेको देखिन आउँछ । तसर्थ हदम्याद नाघी फिराद दायर भएको भन्ने पुनरावेदन जिकिर एवं पुनरावेदक पक्षका विद्वान अधिवक्ताको वहस जिकिर मनासिव देखिएन ।

१४. अब दोस्रो प्रश्नको सन्दर्भमा विचार गर्दा मिति २०४९।१।३ को वादीका पिता छत्रबहादुरले प्रतिवादीसँग कर्जा लिई जग्गा राजिनामा गरिदिएको लिखतमा आफ्नो घर खर्च वापत भनी लेखिएको देखिएकोले लिखतमा लेखिए बमोजिम नै तथ्यगत कुराको अनुमान हुने हुँदा घर खर्चका लागि कर्जा लिएको नभई अरु नै प्रयोजनको लागि कर्जा लिएको हो भन्ने जिकिर लिने पक्षले नै त्यस्तो कुरा प्रमाणित गर्नुपर्ने हुन आउँछ । त्यस किसिमको कुनै प्रमाण वादी पक्षले पेश नगरेको र लिखतमा नै घर खर्च वापत लिएको भनी उल्लेख भइरहेकोमा अन्यथा प्रमाणित नभएसम्म वादीका बाबु छत्रबहादुरले घर खर्च गर्नका लागि नै कर्जा लिई पुनरावेदक प्रतिवादीलाई लिखत गरि दिएको तथ्यका सम्बन्धमा शंका गर्नुपर्ने देखिएन । तसर्थ वादीका बाबु छत्रबहादुरले गरि दिएको लिखत घरको मुख्यले घर व्यवहार चलाउन कर्जा लिई गरिदिएको हुँदा अंशवण्डाको १९ नं. ले आधा सम्म सदर हुने र बाँकी आधा मध्ये वादीको हक सम्म ३ खण्डको १ खण्ड लिखत वदर हुने ठहराएको शुरु रामेछाप जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । शुरुको केही उल्टी गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको फैसला सो हदसम्म उल्टी हुने ठहर्छ । तपसिल बमोजिम गर्नु ।

तपसिल

माथि ठहर खण्डमा उल्लेख भए बमोजिम पुनरावेदन अदालत जनकपुरको फैसला केही उल्टी भई शुरु रामेछाप जिल्ला अदालतको इन्साफ मुनासिव ठहरेकोले पुनरावेदन अदालत जनकपुरको फैसलाले राखेको लगत कट्टा गरी दिनु भनी लेखी पठाउनु ....................१

मिति २०४९।१।३ को लिखतमा उल्लेखित जग्गा मध्ये आधा सम्म सदर भई बाँकी आधीबाट ३ भागको १ भागको लिखत वदर हुने ठहरेकोले शुरु रामेछाप जिल्ला अदालतको मिति २०५१।३।२९ को फैसलाको तपसिल खण्डको देहाय (१) मा उल्लेख भए बमोजिम आधा जग्गाको तीन खण्डको एक खण्ड जग्गा दा.खा. गर्न पूर्जि पाउँ भनी वादीको दरखास्त परे सम्बन्धि मालपोत कार्यालयमा दा.खा. दर्ता गरी दिनु भनी लेखी पठाउन शुरुमा लगत दिनु......२

पुनरावेदक प्रतिवादीले यस अदालतमा पुनरावदेन गर्दा राखेको कोर्ट फि. रु ३÷– वादीबाट भराई पाउँ भनी प्रतिवादीको दरखास्त परे कानून बमोजिम वादीबाट भराई दिनु भनी शुरुमा लेखी पठाउनु........३

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु...............४

 

उक्त रायमा सहमत छु ।

 

न्या. राजेन्द्रराज नाख्वा

 

इति सम्वत २०५७ साल जेष्ठ ३० गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु