शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १२१३ - राजकाज

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. १२१३     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३५ सालको फौ.फु.नं. १०९

फैसला भएको मिति :      २०३५।१०।१४।१ मा

पुनरावेदक : भोजपुर जि. पिङडाँडा गा.पं.वार्ड नं. ८ घर भई का.जि. डिल्लीबजार बस्ने भिम न्यौपानेसमेत

विरुद्ध

विपक्षी : श्री ५ को सरकार

मुद्दा : राजकाज

(१)   सरकारी निति वा प्रशासकीय काम कारवाही कानूनी तवरले परिवर्तन गराउने उद्देश्य लिई स्वास्थ्य एवं संयम पूर्ण परिभाषामा आलोचना गरेमा राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ६(२) को अपराध गरेको भन्न नमिल्ने ।

(प्र.नं. २८)

पुनरवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय

फैसला

            न्या. बब्बरप्रसाद सिंह : मध्यामाञ्चल क्षेत्रीय अदालतको फैसला प्रत्यक्ष कानूनी त्रुटि विद्यमान भएको हुनाले पुनरावेदनको अनुमति पाउँ भन्नेसमेत प्रतिवादीहरुको निवेदन परेकोमा कानूनी त्रुटि देखिनाले पुनरावेदनको अनुमति दिएको छ भनी सर्वोच्च अदालत डिभिजन बेञ्चका ०३५।६।३ को आदेशानुसार पुनरावेदन लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्नअनुसार छ :

            २.    एरिया घुम्दै जाँदा त्रिचन्द्र क्याम्पस बाहिर नेपाल सरकारको घुँडा टेकुवा नीतिको भत्र्सना गरौं, देशको भविष्य प्रति चिन्तीत भएका साथीहरु भन्ने शिर्षक भएको पर्चा फेला परेकोले दाखिल गरेको छु भन्नेसमेत ०३३।१।४ को प्रहरी प्रतिवेदन ।

            ३.    नेपालको प्रधानमन्त्री श्री तुल्सी गिरी नेपाल भारतसम्बन्धको सिलसिलामा भारत जानु भएकोमा भारतीय पत्र पत्रिकाले गरेको अनुचित टिका टिप्पणको सम्बन्धमा नेपालको नागरिकको हैसियतले स्वस्थ आलोचना गरी नेपाल सरकारको घुंडा टेकुवा नीतिको भत्र्सना गरौं भन्नेसमेत शिर्षक राखी मिति ०३३।१।२ का दिन बेलुका सुनिलकुमार राई, सुवाष नेम्वाङ, भिमबहादुर रावल र माधवप्रसाद पौडेलसमेत मेरो डेरामा नेपाल तथा भारतीय पत्रपत्रिकासमेत लिई आफ्नो उक्त पर्चा म समेतले ड्राफ गरी छापी ४ गतेका दिन अन्दाजी ३।४ बेजेको समयमा त्रिचन्द्र क्याम्पसको २७।२८ नं. कोठामा छरिदिएको हुँ भन्नेसमेत भिम न्यौपानेको प्रहरीमा भएको तम्तिवा सहितको बयान कागज ।

            ४.    देखाएको पर्चा देखें सो पर्चा कसले लेखी छाप्न लगाई कुन व्यक्तिले छरे छर्न लगाएका हुन मलाई थाहा छैन, सुनिलकुमार, भिम न्यौपानेसँग भेटघाट भएको छैन भन्नेसमेत रोमलाल पाण्डेको प्रहरीमा भएको बयान कागज ।

            ५.    पर्चा छरेकोसम्बन्धमा थाहा छैन भनी मैले ०३३।१।१४ का दिन बच्ने विचारबाट झुठ्ठा बयान दिएको थिएँ पछि पक्राउ भई आएका साथीहरुले पोलेको सम्बन्धमा साँचो व्यहोरा यो छ कि प्रधानमन्त्री तुल्सी गिरीज्यू भारत भ्रमणबाट फर्कने कुरा सुनेकोले सल्लाह भई ०३३।१।२ गते भित्र न्यौपानेको डेरामा गयौं । त्यहाँ भिम न्यौपाने, भिम रावल, माधवप्रसाद पौडेल रहेछन । म र सुभाषले पर्चा ड्राफ गर्‍यौं र सवै साथीलाई देखाउँदा ठिक भनेकाले ड्राफ कपी लिथो गरी ल्याउँछु भनी माधवप्रसादले लगे भोलिपल्ट ३ गते सुनिल चित्रकारको डेरामा निजलाई मैले चुरोटमा चरेस हाली खान दिई बेहोस भएपछि सो पर्चा लिथो गरी छरेको हो सो पर्चाको हस्ताक्षर मेरो होइन भन्नेसमेत सुनिलकुमार राईले प्रहरीमा गरेको ततिम्बा बयान कागज ।

            ६.    नेपालको प्रधानमन्त्री श्री तुल्सी गिरी भारत भ्रमणमा गई भारतीय नेतासँग नेपालको हितका लागि कुनै कुरा नगरेकोले भन्ने आम चर्चा सुनिएकोलाई लिएर सुनिलकुमार राई शुभाष नेम्वाङ, भिम न्यौपाने, भिम रावल र मसमेत भिम न्यौपानेको डेरामा यस कुराको भत्र्सना गर्नुपर्छ भन्ने मिटिङ्गबाट निर्णय भएको अनुरुप सुभाष नेम्वाङले पर्चा ड्राफ गरी सुनिल चित्रकारको घरमा राजेन्द्र पाण्डेलाई साफी गर्न लगाई पर्चा तयार गरी त्रिभुवन विश्व विद्यालय र अन्य कलेजमा छर्न बाँडी लिई गयौं बैशाख ४ गते मैले युनिभरसिटी र कलेज अफ एजुकेशनमा छरेँ अरूले कुन ठाउँमा छरे मलाई याद भएन भन्नेसमेत माधवप्रसाद पौडेलले प्रहरीमा बयान गरेको कागज ।

            ७.    नेपाल सरकारको घुँडा टेकुवा नीतिको भत्र्सना गरौं भन्ने शिर्षक भएको पर्चा देखेँ सो पर्चा स्टेनसिलमा मैले लेखिदिएको हुँ भन्नेसमेत राजेन्द्रप्रसाद पाण्डेको प्रहरीमा भएको बयान कागज ।

            ८.    ०३३।१।१ गते म सुनिललाई र भिम न्यौपाने रत्नपार्कमा भेटी प्रधानमन्त्री श्री तुल्सी गिरीको भारत यात्राको आलोचना गरी पर्चा निकाल्ने सल्लाह गर्‍यौं भोली बैशाख २ गते भिम न्यौपानेको डेरामा पुग्दा सुनिल राई, भिम न्यौपाने भिमबहादुर रावल, माधवप्रसाद पौडेल बसी रहेको रहेछन । एउटा ड्राफ माधवप्रसादले लिथो गरी ल्याउँछु भनी लिए सुनिल चित्रकारको घरमा लिथो ड्राफ माधवप्रसाद र भिम रावलले पर्चा बोकी ल्याए म र सुनिल राईले पर्चा बोकेको सरकारको घुँडा टेकुवा नीतिको भत्र्सना गरौं भन्ने शिर्षक भएको पर्चा मसमेतले ड्राफ गरी निकाली राष्ट्रियताको भावनालाई अगाडि राखेर आफ्नो भाव अभिव्यक्त गर्नको लागि उक्त पर्चा छर्न लगाएको हो अरू कुनै उद्देश्य थिएन भन्नेसमेत सुभाष नेम्वाङको प्रहरीमा भएको बयान कागज ।

            ९.    बैशाख २ वा ३ गते चिरपरिचित साथी सुनिलकुमार राई आई आज तपाईंको घरमा बेलुकातिर १।२ जना साथीलाई चरेस खाई गान भजन गर्न पर्‍यो कोठा खाली गरिदिनु पर्‍यो भनेकोले हुन्छ भनें । बेलुका रातको ९ बजेतिर बाहिरबाट घर आउँदा मेरो घरको छिंडी पल्ला कुर्सिमा बसी चरेस मोल्दै थिए म भात खाई आउँदा चरेस मोली चुरोटमा राखी ठिक पारेका रहेछन मैले १ खिल्ली सल्काई पुरै खाएपछि मादक पदार्थ लाग्दै आयो र बेहोस भएँ भोलिपल्ट व्यूँझी मेरो सुत्ने कोठा हेर्न जाँदा कोठामा कार्पेटमा कालो मसी लागेको र पलङ मुनी मसीको ट््यूव र सिसा पनि राखिछाडेको र कोठा पनि फोहर देखी सुनिलकुमारसँग बुझ्दा नेपालका प्रधानमन्त्रीको विषयमा त्यस्तै पर्चाहरु बनाएको मालहरु राम्रो लुकाई राखी दिनु भन्नेसमेत सुनिल चित्रकारले प्रहरीमा गरेको बयान कागज ।

            १०.    सुनिलकुमार राई, सुभाष नेम्वाङ, भिमबहादुर रावल, भिम न्यौपानेसमेतको सल्लाहबाट नेपाल सरकारको घुँडा टेकुवा नीतिको भत्र्सना गरौं भन्ने शिर्षक भएको पर्चा छापी छरेको हो भन्ने माधवप्रसादको बयान भएको निजले पोलेको सुनिललाई सुभाष नेम्वाङ भिमबहादुर रावल समेतका व्यक्तिहरुले पनि पर्चा छापी छरेको हुँ भनी साविती बयान गरेको सो पर्चा साफी गरी दिएको हुँ भनी राजेन्द्र पाण्डेले बयान गरेकोबाट निजहरुलाई राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ६ को उपदफा (२) अनुसार सजाय हुन अनुरोध गरिन्छ । सुनिल चित्रकार उक्त कार्यमा सरिक भएको नदेखिएकोले फेलजमानीमा छोडेको खेमलाल पाण्डे जगतबहादुर बोगटी पनि पर्चा बनाउने र छर्ने कुरामा सरिक भएको देखिन नआएकोले जमानीमा छाडिएको भन्नेसमेत श्री ५ को सरकार प्रहरी नायव उपरिक्षक कार्यालय काठमाडौंको प्रतिवेदन ।

            ११.    प्रधानमन्त्री श्री तुल्सी गिरीज्यूको भारत भ्रमणको सिलसिलामा भारतीय पत्र पत्रिकाले गरको अनुचित टिका टिप्पणीको स्वस्थ आलोचना गरेको हुँ सो पर्चाबाट श्री ५ को सरकारप्रतिसमेत कुनै किसिमको अपहेलना भएको छैन सो पर्चा दिव्यध्वज कार्की समेतका हामीहरुको आपसी सल्लाहबाट मेरो डेरामा खेश्रा तयार गरी सुनिल चित्रकारको कोठामा बसी छापेको हो भन्नेसमेत भिम न्यौपानेले अञ्चलाधीशको कार्यालय बागमती अञ्चलमा गरेको बयान।

            १२.   मैले सुनिल चित्रकारलाई चुरोटमा चरेस हाली खान दिएँ र बेहोस पारी सो पर्चा निजको घरमा लिथो गरेको हो पर्चा ड्राफ गर्दा र लिथो गर्दा समेत दिव्यध्वज कार्की पनि थिए राष्ट्रियतालाई अगाडि राखेर स्वच्छ आलोचना गरेको हुँ सो पर्चाबाट व्यवस्था प्रति र श्री ५ को सरकारप्रतिसमेत आँच आउने कुरा गरेको र गर्न खोजेको पनि हैन भनेसमेत सुनिलकुमार राईले अञ्चलाधीश कार्यालय बागमती अञ्चलमा गरेको बयान ।

            १३.   ०३२ साल चैत्रको आखिरी तिर नेपालका प्रधानमन्त्री श्री डा.तुल्सी गिरी भारत भ्रमण हुँदाका अवस्था भारतीय पत्र पत्रिकाले नेपाल भारतको बीच विशेष सम्बन्ध छ भनी प्रधानमन्त्री गिरीज्यूले भन्नुभयो भनी लेखेको कुराहरुलाई आधार मानेर त्यस भनाईमा हामी सहमत छैनौं भनी देखाउन नेपाल नागरिकको हैसियतले पर्चा निकालेको हो सो पर्चामा श्री ५ को सरकारप्रति कुनै अपहेलना भएको छैन सो पर्चा राजेन्द्र पाण्डेको हस्ताले स्टेन्सीलमा लेखाएको हुँ दिव्यध्वजसमेत म चर्चा छरेको हुँ भन्नेसमेत भई अञ्चलाधीश कार्यालय बागमती अञ्चलमा माधवप्रसाद पौडेलले गरेको बयान ।

            १४.   प्रधानमन्त्री डा.तुल्सी गिरीज्यू भारत भ्रमण जानु हुँदा नेपाल र भारतको विशेष सम्बन्ध छ भन्नेसमेत वक्तव्य दिएको कुरालाई लिएर पम्प्लेटिङ गर्नुपर्छ भन्ने सल्लाह भई पर्चा तयार गरी लिथो निकाली छरेको हो सो पर्चाद्वारा हामीले श्री ५ को सरकार तथा व्यवस्थाप्रति समेत आँच आउने कुनै कुरा गरेका छैनौं गर्न खोजेको पनि हैन, व्यवस्थाको आलोचनासम्म हो भन्नेसमेत अञ्चलाधीश कार्यालय बागमती अञ्चलमा भिमबहादुर रावलले गरेको बयान ।

            १५.   ०३३।१।१ गतेका दिन सुनिललाई भिम न्यौपानेसँग भेटी प्रधानमन्त्री तुल्सी गिरीको भारत यात्राको आलोचना गरी पर्चा निकाल्ने सल्लाह भई पर्चा तयार गरी लिथो गरी पर्चा छरेको हो प्रधानमन्त्रीज्यूले भारत भ्रमणको क्रममा दिनुभएको बक्तव्य भारतप्रति प्रत्यक्ष झुकाव देखिन आएकोले एक नागरिकको हैसियतले राष्ट्रियताको भावनाले पे्ररित भई त्यस सम्बन्धमा चर्चा उठाएर पर्चा निकालेको हुँ स्वच्छ आलोचना मात्र हो भन्नेसमेत अञ्चलाधीश कार्यालय बागमती अञ्चलमा गरेको शुभाष नेम्वाङको बयान ।

            १६.    ०३३ साल बैशाख २,४ गते तिर माधवप्रसाद पौडेल मेरो डेरामा आउनु भई नेपाल सरकारको घुँडा टेकुवा नीतिको भत्र्सना गरौं भन्ने शिर्षक भएको पर्चा निकाल्न स्टेन्सील पेपरमा लेखिदिनु पर्‍यो भनेकोले लेखिदिएकोसम्म हुँ भन्नेसमेत राजेन्द्रप्रसाद पाण्डेले अञ्चलाधीशको कार्यालय बागमती अञ्चलमा गरेको बयान ।

            १७.   सो पर्चा तयार गर्ने छर्नेसमेत काममा सहयोगी भई भाग लिएको छैन, किन पोल गरे निजहरु नै जानुन् भन्नेसमेत दिव्यध्वज कार्कीले अञ्चलाधीशको कार्यालय बागमती अञ्चलमा गरेको बयान ।

            १८.   सुनिलकुमार चित्रकार, टोमलाल पाण्डे जगतबहादुर बोगटीलाई प्रहरीबाटै छाडी दिएकोले निजहरुका हकमा केही गरी रहन परेन दिव्यध्वज कार्कीको हकमा राजकाज अपराध गरेको ठहर्दैन । प्रतिवादी भिम न्यौपाने १ सुनिलकुमार राई १ माधवप्रसाद पौडेल १ भिमबहादुर रावल सुभाष नेम्वाङ १ राजेन्द्रप्रसाद पाण्डे १ समेतले श्री ५ को सरकारप्रति घृणाद्वेष अपहेलना हुने पर्चा तयार गरी राजकाज अपराध गरेको ठहर्छ जनही राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ६(२) बमोजिम ६ महिनाका दरले कैद हुन्छ भन्नेसमेत अञ्चलाधीशको कार्यालय बागमती अञ्चलको फैसला ।

            १९.    सो फैसलामा चित्त बुझेन भन्नेसमेत माधवप्रसाद पौडेलसमेत जना ६ को पुनरावेदन ।

            २०.   राजकाज अपराध गरेको ठहराई राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ६(२) अन्तर्गत सजाय गर्ने गरेको सुरुको फैसला मनासिव ठहर्छ भन्नेसमेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको फैसला ।

            २१.   सो फैसलामा प्रत्यक्ष कानूनीत्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्नेसमेत भिम न्यौपाने, सुनिलकुमार राई, शुभाष नेम्वाङ र भिमबहादुर रावलको निवेदन परेकोमा श्री ५ को सरकारको मित्रराष्ट्र भारतसँगको सुसम्बन्धमा खलल पार्न खोजिएको छर्लङ्ग हुन्छ भनी राजकारज अपराध र सजाय ऐन, २०१९ को दफा ६(२) अन्तर्गत सजाय गर्ने गरेकोमा क्षेत्रीय अदालतको ०३४।८।२९।४ को फैसला सार्वजनिक महत्वको विषयमा गम्भिर कानूनी त्रुटि देखिनाले पुनरावेदनको अनुमति दिइएको छ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।

            २२.   पुनरावेदकहरुतर्फका विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले अपराधजन्य भनी आरोप लगाइएको पर्चाले श्री ५ को सरकारप्रति धृणाद्वेष वा अवहेलना गरेको अप्रमाणिक कुरा उल्लेख गरेको शान्ति र व्यवस्था खलबल्याएको वा अराजकता फैलाएको वा हिंसात्मक कारवाई चम्काएको आदि कुनै कुरा भयो भनी वादी पक्षले भन्न सकेको छैन, स्वच्छ आलोचनासम्म गरेको हुँदा प्रतिवादी पुनरावेदकहरुले सफाई पाउनुपर्ने भन्नेसमेत र श्री ५ को सरकारतर्फबाट विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्यायले नेपाल सरकारको घुँडा टेकुवा नीतिको भत्र्सना गरौं भन्ने शिर्षक राखी पर्चा तयार गरी छरेमा प्रतिवादीहरु सावित छन सो पर्चा छरी राजकाज (अपराध र सजाय) ऐन अनुसारको अपराध गरेको हो भन्नेसमेत वहस गर्नुभयो ।

            २३.   प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो को निर्णय दिनु परेको छ ।

            २४.   यसमा पुनरावेदक मध्येका सुभाष नेम्वाङले तोकिएको २०३५ साल कार्तिक २२ गतेको तारेख गुजारी बसेको देखिन आएको हुनाले निजको हकमा पुनरावदेन डिसमिस हुने ठहर्छ अरू पुनरावेदकहरुको हकमा निर्णयतर्फ हेर्दा नेपाल सरकारको घुँडा टेकुवा नीतिको भत्र्सना गरौं भन्ने शिर्षक भएको पर्चा छापी छरेकोमासमेत सुनिलकुमार राई, सुभाष नेम्वाङ, भिमबहादुर रावल, भिम न्यौपाने, माधवप्रसाद पौडेल र राजेन्द्र पाण्डेलाई राजकाज (अपराध र सजाय) ऐन, २०१९ का दफा ६ को उपदफा (२) अनुसार सजाय हुन अनुरोध गरिन्छ भन्नेसमेत श्री ५ को सरकार प्रहरी नायव उपरिक्षक कार्यालय काठमाडौंको प्रतिवेदन देखिन्छ ।

            २५.   राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ६ को उपदफा (२) हेर्दा निम्नानुसार उल्लेख भएको पाइन्छ :

            २६.   (२) कसैले लेखे र वा वचन वा आकार र चिन्हद्वारा वा अरू कुनै किसिमबाट श्री ५ को सरकारको काम कारवाईको उल्लेख गरी निराधार अप्रमाणित कुरा देखाई श्री ५ को सरकार प्रति घृणा द्वेष वा अवहेलना गरे गराएमा वा सो गर्ने उद्योग गरेमा दुईवर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

            २७.   तर श्री ५ को सरकार प्रति घृणा द्वेष अवहेलना नगरी नगराई वा सो गर्ने उद्योग नगरी कुनै सरकारी नीति वा प्रशासकीय काम कारवाई कानूनी तवरले परिवर्तन गराउने उद्देश्य लिई स्वस्थ एवं संयमपूर्ण भाषामा आलोचना गरेमा यो उपदफा अन्तर्गत अपराध गरेको मानिने छैन ।

            २८.   कसैले लेखे र वा वचन वा आकार र चिन्हद्वारा वा अरू कुनै किसिमबाट श्री ५ को सरकारको काम कारवाहीको उल्लेख गरी निराधार अप्रमाणित कुरा देखाई श्री ५ को सरकारप्रति घृणा द्वेष वा अवहेलना गरे गराएमा वा सो गर्ने उद्योग गरेमा सो ऐनअन्तर्गतको अपराध गरेको हुन आउँछ । त्यसप्रकार श्री ५ को सरकारप्रति घृणा द्वेष अवहेलना नगरी नगराई वा गर्ने उद्योग नगरिए कुनै सरकारी नीति वा प्रशासकीय काम कारवाई कानूनी तवरले परिवर्तन गराउने उद्देश्य लिई स्वास्थ्य एवं संयमपूर्ण भाषामा आलोचना गरेमा उक्त ऐन अनुसारको अपराध गरेको भन्न नमिल्ने हुन आउँछ ।

            २९.   अभियुक्त पुनरावेदकहरुले नेपाल सरकारको घुँडा टेकुवा नीतिको भत्र्सना गरौं भन्ने शीर्षक भएको पर्चा तयार गरी राजकाज(अपराध र सजाय) ऐन, २०१९ को दफा ६ (२) को अपराध गरेको हो होइन भन्ने तर्फ हेर्दा नेपाल सरकारको घुँडा टेकुवा नीतिको भत्र्सना गरौं देशको भविष्य प्रति चिन्तित सचेत साथीहरु भन्ने शिर्षक भएको पर्चाको अन्तमा सारांशमा डा.तुल्सी गिरीको भारत भ्रमणले देशले केही पाएन । बरु भारतलाई अप्ठ्यारो पार्ने कुरा गर्ने बिन्ति चढाउनु र भारत प्रतिको स्पष्ट झुकावलाई देखाएर उहाँले भारतीय सरकारको आफूप्रति भने सद्भावना बुटुल्नु भयो होला । जो देशको हितमा छैन भन्नेसमेत उल्लेख भएको पाइन्छ । अभियुक्तहरुले अञ्चलाधीशको कार्यालय बागमती अञ्चलमा नेपालको प्रतिनिधित्व गरेर गएका कुटनीतिज्ञले भारतप्रति आफ्नो झुकाव देखाएको र एउटा नागरिकको हैसियतले राष्ट्रियतालाई अगाडि राखेर त्यसकुराको स्वच्छ आलोचना गरेको व्यवस्था प्रति र श्री ५ को सरकारप्रति आँच आउने कुरा गरेको छैन भन्नेसमेत बयान गरेको मिसिलबाट देखिन आयो ।

            ३०.   उक्त बयानहरुबाट श्री ५ को सरकारप्रति घृणा द्वेष वा अवहेलना गर्ने मन्साय पुनरावेदकहरुको भएको भन्ने कुरामा इन्कार रहेको देखिन्छ ।

            ३१.   उपरोक्त उल्लिखित कुराहरुबाट अभियुक्तहरुले तयार गरी छरेको उक्त पर्चाबाट शान्ति र व्यवस्था खलबल्याउने वा अराजकता फैलाउने वा हिंसात्मक कारवाई चम्काउने प्रवृत्ति वा मन्साय लिई श्री ५ को सरकार प्रति घृणा द्वेष वा अवहेलना गर्ने गराउने वा गर्ने उद्योग गरेको देखिन नआएकोले सुरु अञ्चलाधीशको कार्यालय बागमती अञ्चलले पुनरावेदक भिम न्यौपाने, सुनिलकुमार राई र भिमबहादुर रावलको हकमा श्री ५ को सरकारप्रति घृणा अवहेलना हुने पर्चा तयार गरी राजकाज अपराध गरेको ठहराएको इन्साफ मनासिव गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गरेको फैसला मिलेको देखिएन ।

            ३२.   अतः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला केही गल्ती भई प्रतिवादी पुनरावेदक भीम न्यौपाने, सुनिलकुमार राई र भिमबहादुर र रावलले सफाई पाउने ठहर्छ । तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

तपसील

पुनरावेदक सुभाष नेम्वाङको पुनरावेदन डिसमिस गराए वापत सुरु कैद महिना ।६ को इन्साफ सदर भएमा सयकडा ५ ले कैद दिन ।.।९ लाग्नेमा अ.बं.१७९ नं. ले त्यसको पनि सयकडा पाँचले थप कैद १० दश घण्टा ४८ अठ्चालीस लाग्छ रुजु हुँदा ऐनबमोजिम गर्न का.जि. अ.मा लगत दिनु....................१

देहायका प्रतिवादीहरुलाई सुरु अञ्चलाधीशको कार्यालय बागमती अञ्चलको ०३३।६।११ को फैसलाले कैद महिना ।६ गर्ने गरेको सो नलाग्ने हुँदा सो अञ्चलाधीश कार्यालयको मिति ०३३।७।२ को पत्रद्वारा कसिएको लगत व्यहोरा जनाई कट्टा गरी दिनु भनी केन्दीय तहसिल कार्यालयमा लेखी पठाउन काठमाडौं जि. अ.मा लगत दिनु.............२

प्र.भिम न्यौपाने १, प्र.भिमबहादुर रावल १, प्र.सुनिलकुमार राई १

पुनरावेदक प्रतिवादी देहायका मानिस के मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३४।८।२९ का फैसला र ०३४।१०।२१ का लगतले जनही कैद दिन ।.।१८ अठारका दरले गर्ने गरेको सो नलाग्ने हुँदा व्यहोरा जनाई लगत काटिदिनु भनी का.जि. अ.मा लगत दिनु ......................३

भिमबहादुर रावल १, भिम न्यौपाने १, सुनिलकुमार राई १

पुनरावेदक प्रतिवादी देहायका मानिस के मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाले गर्ने गरेको कैद वापतको रुपैयाँ पनुरावेदन गर्दा जनही रु.२७। सत्ताइसका दरले सर्वोच्च अदालत ल.न.शाखामार्फत का.जि. अ.त.मा धरौट रहेको पत्र नक्कलबाट देखिँदा सो धरौटी रुपैयाँ ऐनको म्यादभित्र फिर्ता पाउँ भनी दर्खास्त गरेमा दस्तुर केही नलिई निजहरुलाई फिर्ता दिनु भनी का.जि. अ.मा लगत दिनु...............४

भिम न्यौपाने के रु.२७।, सुनिलकुमार राई के रु.२७।, भिमबहादुर रावल के रु.२७।, सुवाष नेम्वाङ के रु.२७।

फैसलाको प्रतिवादी महान्यायाधीवक्ताको कार्यालयमा पठाई दिनु .................५

 

उक्त रायमा म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०३५ साल माघ १४ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु