शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १२१६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. १२१६     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३५ सालको रिट नम्बर १३३९

आदेश भएको मिति : ०३५।११।२१

निवेदक : काठमाडौं नगरपञ्चायत (वसन्त वाटिका) वत्तिसपुतली स्थित वोरीस वार एण्ड रेष्टुरेन्ट प्रा.लि.को तर्फबाट सञ्चालक ऐ.ऐ.बस्ने पुरुषोत्तम आचार्य

विरुद्ध

विपक्षी : श्री ५ को सरकार पर्यटन विभाग डिल्लीबजारसमेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   होटलले पाउने सुविधा रेष्टुराँलाई दिन नमिल्ने भन्ने निर्णय कानूनसंगत नै देखिने ।

(प्र.नं. ११)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

आदेश

            न्या. विश्वनाथ उपाध्याय : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरी विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०३५।३।२९।५ मा दर्ता भएको रहेछ ।

            २.    संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन : उपर्युक्त विषयमा त्यस बार एण्ड रेष्टुरेण्टले औद्योगिक व्यवसाय ऐन, २०३० बमोजिम होटेल व्यवसायले पाए सरहको सुविधा यस रेष्टुराण्टले पनि पाउँ भनी दिएको निवेदन माथि कारवाही हुँदा आयकर तथा भन्सार महसुल र बिक्रीकर छुट दिन कानूनी दृष्टिकोणले मिल्न आउँछ आउँदैन सो को राय मिति ०३५।१।२२ मा कानून तथा न्याय मन्त्रालयमा माग गरी पठाउँदा उक्त मन्त्रालयबाट रेष्टुरेण्टको लागि माग गरिएको सुविधा पर्यटन उद्योगले ऐनअन्तर्गत मात्र दिन सकिने हुँदा सो ऐनमा भएको होटेल कारोबारको परिभाषाले सो सम्बन्धी परिच्छेद ४ मा भएको व्यवस्थाले होटेल शब्दले रेष्टुराँलाई अंगालेको भन्न मिल्ने नदेखिँदा सोधिएबमोजिम सुविधा पाउँछ भन्न सकिदैन, साथै होटेल व्यवसाय तथा मदिराको बिक्री वितरण नियन्त्रण ऐन, २०३३सबैस्तरको होटेललाई लागू हुने ऐन भए पनि सुविधा दिने ऐन नभई होटेलको व्यवस्था र मदिरा बिक्री वितरण सम्बन्धी सामान्य ऐन हुँदा त्यसमा भएको होटेलको परिभाषालाई पर्यटन उद्योग ऐनको प्रयोजनको लागि स्थानान्तर गर्न उपयुक्त हुने देखिँदैन भनी राय लेखी पठाउनु भएकोले अब त्यस रेष्टुराँले माग गरिएको सुविधाहरु दिन नमिल्ने भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु भनी निवेदक वोरिस वार एण्ड रेष्टुराण्ट बसन्त बाटिकालाई विपक्षी पर्यटन विभाग होटल शाखाले ०३५।२।३१ मा पत्र लेखी पठाएको रहेछ ।

            ३.    औद्योगिक व्यवसाय ऐन, २०३० को दफा २ र दफा ८ र १३ ले विभिन्न उद्योगहरुको वर्गीकरण गरिएको छ, जसमध्ये पर्यटन उद्योग पनि एक हो । पर्यटन विकासको लागि टेवा दिने वा सहायक हुने व्यवसाय अर्थात पर्यटन उद्योग निर्धारित हुन पर्यटन उद्योग ऐन, २०२१ अन्तर्गत समाविष्ट हुनु नपर्ने कुरा निर्विवाद छ । पर्यटन उद्योगभित्र होटेल व्यवसाय पर्दछ जसलाई दफा ९(घ) अनुसार सहुलियत प्रदान गरिन्छ । रेष्टुराँ होटल व्यवसायभित्र पर्दछ कि पर्दैन भनी विचार गर्दा विधायिकाले सीमित परिभाषा नगरी होटेल व्यवसाय वा उद्योगको फराकिलो व्यवस्था गरेको छ । त्यस कानूनले होटेल वा उद्योगको परिभाषा गरेको छैन । तसर्थ यसको न्यायोचित विवेकपूर्ण र सम्यक परिभाषा हुनु पर्दछ । रेष्टुराँ होटेल व्यवसायभित्र पर्ने कुरा सन्देह छैन, चाहे सामान्य दृष्टिले होस चाहे प्रचलित र व्यवहारिक दृष्टिले होस, चाहे प्रचलित प्रचलन र व्यवहार दृष्टिले हेरौं । होटेल व्यवसाय भन्नाले बसोबासको प्रबन्ध गर्नेलाई अथ्र्याएको खण्डमा होटेल व्यवसाय अन्यौलमा पर्न जान्छ । होटल व्यवसायले विविधतालाई औंल्याउँछ, जसमा रेष्टुराँ महत्वपूर्ण अङ्गको रुपमा रहन्छ चाहे कुनै रेष्टुराँले बसोबासको प्रबन्ध गरेको होस वा नहोस । अन्यथा रेष्टुराँको उद्योगमा स्थान रहन जान्छ ।

            ४.    पर्यटन उद्योग ऐन, २०२१ अन्तर्गत परिभाषितलाई मात्र होटेल भन्न मिल्ने प्रत्यर्थीहरुको अभिकथन दोषपूर्ण छ । उक्त ऐनले परिच्छेद ४ अन्तर्गत पर्यटक स्तरमा दर्ता गर्ने सिलसिलामा व्यवस्था गरेको छ । यसले होटेल व्यवसाय वा उद्योगको समुचित व्यवस्थाको सन्दर्भमा अर्थ गरेको होइन जुन कुरा कानूनले नै प्रष्ट छ । होटेल व्यवस्था तथा मदिराको बिक्री नियन्त्रण ऐन, २०२३ ले होटेल व्यवसाय वा उद्योगको समुचित सन्दर्भमा व्यवस्था गरी होटेलको परिभाषा गरेको छ । जसमा रेष्टुराँ पनि समाविष्ट छ । त्यसै गरी उद्योग व्यवसाय ऐन, २०३० ले होटेल व्यवसायको अर्थ समुचित व्यवस्था गरेको नभई समग्रताको व्यवस्था गरेको छ । त्यस सन्दर्भमा कानूनी व्याख्याको सिद्धान्तअनुसार व्यापक अर्थिने ऐनलाई समावेश गर्नुपर्छ ।

            ५.    विपक्षीहरुद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको मिति ०३५।४।४।४ को आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्नप्रकार छन :

            ६.    निवेदकका मागबमोजिमको आदेश जारी हुन नपर्ने हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत कानून तथा न्याय मन्त्रालय ।

            ७.    पर्यटन उद्योग ऐन, ०२१ को दफा ३६ बमोजिम यस विभागबाट दिएको आदेश वा गरेको निर्णय वा काम कारवाही उपर श्री ५ को सरकारमा पुनरावेदन गर्न सक्ने कानूनी उपचार हुँदा हुँदै पनि रिट क्षेत्रमा अनावश्यक प्रवेश गरेको देखिँनाले रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत पर्यटन विभाग ।

            ८.    निवेदकको जिकिर र फायलसमेत अध्ययन गरी विद्वान अधिवक्ताहरुको वहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएकोले निवेदकका मागबमोजिम आदेश जारी हुने नहुने के रहेछ ? निर्णय दिनुपरेको छ ।

            ९.    यसमा औद्योगिक व्यवसाय ऐन, २०३० ले होटेल व्यवसायलाई प्रदान गरेको सुविधा वोरिस बार एण्ड रेष्टुराण्ट प्रा.लि.लाई पनि दिनुपर्नेमा रेष्टुराँ र होटेल भिन्न भएकोले होटेलले पाउने सुविधा रेष्टुराँलाई दिन नमिल्ने भनी निर्णय गरिएकोले प्रत्यर्थीहरुको निर्णय बदर गरी कानून अन्तर्गत सहुलियत प्रदान गर्नु भन्ने आदेश जारी गरिपाउँ भन्ने निवेदकको मुख्य निवेदन जिकिर देखिन्छ । निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले औद्योगिक व्यवसाय ऐन, २०३० अन्तर्गत होटेल व्यवसायको संकुचित अर्थ गर्न मिल्दैन । त्यसैले पर्यटन उद्योगलाई टेवा दिने किसिमका व्यवस्थालाई समावेश गर्ने व्यापक अर्थलाई अंगालिएको सम्झनु पर्छ भन्ने वहस प्रस्तुत गर्नु भएको छ । प्रत्यर्थीहरुतर्फबाट विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले उक्त जिकिरको खण्डन गर्नु हुँदै पर्यटन उद्योग ऐन, ०२१ मा गरिएको होटेलको अर्थबाट पनि होटेलको परिभाषा भित्रै रेष्टुराँ पर्दैन र साथै शब्द कोषको अर्थबाट पनि रेष्टुराँलाई होटेल भन्न मिल्दैन भन्ने वहस प्रस्तुत गर्नुभएको छ । यस सम्बन्धमा औद्योगिक व्यवसाय ऐन, ०३० हेर्दा उक्त ऐनमा होटेल कारोबार शब्दहरुको अर्थ प्रासङ्गिक व्यवसायको परिभाषा भएको देखिँदैन । उक्त ऐनमा पर्यटन उद्योगलाई सुविधा दिने सन्दर्भमा होटेल व्यवसाय भन्ने शब्दहरुको उल्लेख भएकोले पर्यटन उद्योग ऐन, २०२१ मा परिभाषित होटेल कारोबार शब्दहरुको अर्थ प्रासङ्गिक देखिन आउँछ । उक्त ऐनको दफा २ (च) मा होटेल कारोबार भन्नाले बसोबास र खाना पिनाको व्यवस्था गर्ने होटेल कारोबार सम्झनु पर्छ भन्ने उल्लेख भएको पाइन्छ ।

            १०.    यस सम्बन्धमा शब्दकोषहरुमा गरिएको होटेल शब्दको अर्थ हेर्दा श्री बालचन्द्र शर्माद्वारा सम्पादित नेपाली शब्दकोषमा मूल्य लिएर यात्री वा अरूहरुलाई खाने कुरा र बस्ने ठाउँको प्रबन्ध गरिने घर वा पसल भन्ने उल्लेख भएको पाइन्छ । त्यस्तै डा.रघुवीरको कम्प्रेहेन्सीभ इङ्गलिस हिन्दी डिक्सनरीमा होटेल शब्दको अर्थ आवास गृह विश्रान्ति गृह भन्ने र रेष्टुराँ शब्दको अर्थ आहार गृह जलपान गृह भन्ने उल्लेख भएको देखिन्छ । इनसाइक्लोपिडीया ब्रिटानिकामा पनि खाने र बस्ने दुवै व्यवस्था भएको घरलाई होटेल र खाने कुराको व्यवस्था गर्ने ठाउँलाई रेष्टुराँ भन्ने पृथक रुपमा उक्त शब्दहरुको अर्थ गरिएको पाइन्छ । जो यसप्रकार छ :

      The word "Hotel" is of ancient origin but its use in English for a house offering lodging and food for travellers is recent."

       The word "restaurant" from the French was originally used to describe a nourishing soup. It came later to be used for travens. Where this soup, with other food, was served to the public.

            ११.    शब्दकोषहरुमा दिइएको होटेल र रेष्टुराँ शब्दहरुको उपयुक्त अर्थहरुबाट होटेलमा बस्ने र खाने दुवैको कुरा व्यवस्था हुनुपर्ने र रेष्टुराँमा सिर्फ खाने कुराको व्यवस्था हुने कुरा प्रष्ट हुन्छ । यसप्रकार रेष्टुराँमा खानापिनाको प्रबन्ध हुने भए पनि बसोबासको प्रबन्ध नहुने भएको र निवेदकले पनि आफ्नो रेष्टुराँमा बसोबास छ भन्ने जिकिर लिन नसकेकोले होटेलले पाउने सुविधा रेष्टुराँलाई दिन नमिल्ने भन्ने निर्णय कानून सङ्गत नै देखिन्छ । तसर्थ प्रत्यर्थीहरुको निर्णय बदर गरिपाउँ भन्ने निवेदन जिकिर मनासिव देखिएन निवेदनपत्र खारेज हुने ठहर्छ । नियमानुसार गरी फाईल बुझाई दिनु ।

 

म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३५ फागुण २१ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु