शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १२१७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. १२१७     ने.का.प. २०३५

डिभिजन बेञ्च

सम्मानीय का.मु.प्रधान न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३४ सालको नम्बर ११२५

आदेश भएको मिति : २०३५।११।१७।५ मा

निवेदक : का.जि. का.न.प.वार्ड नं. ४ बस्ने तिलकुमारी पाण्डे क्षेत्री समेत

विरुद्ध

विपक्ष : श्री भूमि प्रशासक जिल्ला कार्यालय भूमिप्रशासन शाखा काठमण्डौंसमेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)   भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७ (१) मा जग्गावालाले बसोबास गर्न घरबारीको लागि मोहीले कमाएको जग्गा झिक्न पाउँ भनी निवेदन दिएमा मोहीलाई तोकिएको दरले हुन आउने जग्गाको मोलको सयकडा २५ क्षतिपूर्तिको रुपमा जग्गावालाबाट दिलाई काठमाडौं उपत्यकामा पाँच रोपनीसम्म जग्गा झिक्न स्थानीय पञ्चायतले आदेश जारी गर्न हुने ।

(प्रकरण नं. ९)

आदेश

            न्या. वासुदेव शर्मा : प्रस्तुत निवेदन विपक्षी का.न.पं.बैठक र भूमिप्रशासनबाट गरिएको निर्णयहरु बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७० अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।

            २.    तथ्य यसप्रकार छ : भैलोटार जग्गा रोपनी २११० जग्गा का.जि. विसालनगर चण्डोल बस्ने मोही शंकरबहादुर पाण्डेले कमाई आएको सो जग्गा डम्बरकुमारीसँग फार्छे राजीनामा गरी लिएको जग्गामा मलाई घर बसोबासका लागि चाहिएको हुँदा क्षतिपूर्ति दिई जग्गा झिकी पाउँ भन्ने दुर्गाकुमारीको निवेदन क्षतिपूर्ति लिई जग्गा छोड्नु पर्ने हो होइन भन्ने शंकरबहादुरको बयान भएकोमा मोहीलाई दिने क्षतिपूर्तिसमेत दाखिल गरिसकेको र घरवासको निमित्त दुर्गाकुमारी जोशीलाई जग्गा प्राप्त गरिदिने ठहर्छ भन्नेसमेत ०३४।९।६ मा का.न.प.बैठकबाट निर्णय भएको र का.न.प.बाट भूमिसम्बन्धी ऐन, ०२१ को दफा २७ (१) बमोजिम भई निर्णय गरेको देखिँदा फैसलाबमोजिम शंकरबहादुरको नाउँ मोही लगतबाट कट्टा गरी जग्गाधनीकै नाउँमा मोहियानी समेत गरिदिने ठहर्छ भन्ने ०३४।११।१० मा भूमि प्रशासनबाट निर्णय भएकोसमेत रहेछ।

            ३.    उक्त निर्णयहरु बदर गरिपाउँ भनी निवेदकले दिएको रिट निवेदनपत्रमा वेदकुमारीसँग डम्बरकुमारीको बिर्ता निजलाई सालको धान ४ बुझाउनु पर्ने भैलोटार खेत रोपनी ३० जग्गा र सो जग्गामा बनेको १ तल्ले कच्ची परालेछाना भएको घर घडेरीको जग्गा ०१५।१।१४ मा राजीनामा लिई हामी निवेदकहरुले भोगचलन गरी बसोबास गरी आएको सर्भे नापजाँच हुँदा म शंकरबहादुर पाण्डेको नाउँमा का.न.प.साविक वार्ड नं. (छ) कि.नं. १७२ रोपनी २११० नापजाँच भई दर्ता भएको पहिलेको घर भत्केकोले जस्ताको छाना भएको गोठघर बनाई भोग चलन गरी आएको जग्गा घर बनाई बस्न निमित्त मुआब्जा दिई झिकी पाउँ भन्ने निवेदन परेकोमा घर समेत भएको जग्गा छोड्नु पर्ने होइन भन्ने प्रतिवाद गरे न.प.बाट घरवासको लागि जग्गा प्राप्त गरिदिने भन्ने र भूमिप्रशासनले जोत लगत कट्टा गरिदिने भन्ने निर्णय भएछ । हामीले खेती गरी कमाएको जग्गा नभई घरबासको लागि घर घडेरी घरबारी गराई बसोबास गरी भोगी आएको जग्गा हुनाले हामीलाई झिकी जग्गावालालाई दिएको प्रत्यक्ष कानूनी त्रुटि छ यस्तो हाम्रो घर घडेरी घरबारी जग्गाबाट झिकीदिन पाउने अधिकार नगरपञ्चायतलाई र म शंकरबहादुरका नाउँमा रहेको लगत कट्टा गर्ने अधिकार भूमिप्रशासकलाई समेत कुनै कानूनले प्रदान गरेको छैन म शंकरबहादुरको नाउँमा रहेको लगत कट्टा गर्ने निर्णय गर्नुभन्दा अगावै बुझी बयान गराई मात्र निष्कर्षमा पुग्नु पर्नेमा बुझ्दै नबुझिएको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरित छ विपक्षी का.न.प.बैठक र भूमिप्रशासनबाट गरिएको अबैध निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्नेसमेत मुख्य निवेदन जिकिर लिएको रहेछ ।

            ४.    मेरो मोही शंकरबहादुर थियो हकदैया नभएको अन्य व्यक्तिहरुले रिट निवेदन दिने अधिकार छैन जग्गावाला म दुर्गा कुमारीले का.न.पं.मा निवेदन दिई पञ्चकृति मूल्य कायम गरी क्षतिपूर्ति दिने गरी जग्गा झिकेको कानूनी नै छ अधिकार प्राप्त अधिकारी का.न.प.ले गरेको फैसला र सो फैसलालाई कार्यान्वयन गरी भू.प्र.ले लगतकट्टा गर्ने गरेको निर्णय कानूनबमोजिम भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत विपक्षी दुर्गाकुमारीको लिखितजवाफ ।

            ५.    जग्गाधनी दुर्गाकुमारी र मोही निवेदक मध्येको शंकरबहादुर लेखिएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७ द्वारा प्रदत्त अधिकारक्षेत्रको प्रयोग गरी घरबासको निमित्त जग्गा उपलब्ध गराई दिएको निर्णय कानूनसङ्गत हुनाले रिट निवेदन खारेज हुनुपर्छ भन्नेसमेत विपक्षी काठमाडौं नगरपञ्चायतको लिखितजवाफ ।

            ६.    विपक्षी भू.प्र.को ०३४।१२।१५ मा बुझेको सूचनाको म्यादभित्र लिखितजवाफ प्राप्त नभएको ।

            ७.    निवेदकतर्फको विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले घर घडेरीको जग्गा राजीनामा लिएको त्यस्तो जग्गामा जग्गाधनीले घरबास निमित्त लिन नसक्ने हुँदा क्षतिपूर्ति दिई झिक्ने गरेको निर्णय गैरकानूनी छ भन्नेसमेत र विपक्षी दुर्गाकुमारीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री नारयणबल्लभ पन्तले नापीमा घर नभएको जग्गा हुँदा कानूनबमोजिम अधिकार प्राप्त अधिकारीबाट क्षतिपूर्ति दिई घरबास निमित्त जग्गाधनीलाई मोहीबाट झिकी दिने गरेको कानूनबमोजिमकै छ भन्नेसमेत र का.न.पं.तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुलीले घरबास निमित्त जग्गाधनीबाट क्षतिपूर्ति दिलाई मोहीबाट जग्गा झिकी दिने अधिकार भएको हुँदा जग्गा झिकी दिने गरेको निर्णय कानूनबमोजिमकै छ भन्नेसमेत वहस प्रस्तुत गर्नुभएको छ ।

            ८.    यसमा निर्णयतर्फ विचार गर्दा मोही निवेदक शंकरबहादुरबाट कि.नं. १७२ का रोपनी २११० को जग्गा क्षतिपूर्ति दिई घरबासको निमित्त झिकिपाउँ भन्ने विपक्षी जग्गाधनी दुर्गा कुमारीको निवेदन परेकोमा क्षतिपूर्ति दाखिल गरी सकेकोले घरवासको निमित्त दुर्गाकुमारीलाई जग्गा प्राप्त गरिदिने ठहर्छ भन्ने का.न.पं.बैठकबाट ०३४।९।६ मा निर्णय गरेको र सो निर्णय अनुसार निवेदक शङ्करबहादुर पाण्डेको नाउँ मोही लगतबाट कट्टा गरी जग्गाधनीकै नाउँमा मोहियानी समेत गरिदिने भन्नेसमेत विपक्षी भूमिप्रशासकबाट समेत निर्णय भएको देखियो।

            ९.    भूमिसम्बन्धी ऐन, ०२१ को दफा २७ (१) मा जग्गावालाले बसोबास गर्न घरवारीको लागि मोहीले कमाएको जग्गा झिक्न पाउँ भनी निवेदन दिएमा मोहीलाई तोकिएको दरले हुन आउने जग्गाको मोलको सैकडा २५ क्षतिपूर्तिको रुपमा जग्गावालाबाट दिलाई काठमाडौं उपत्यकामा ५ रोपनी सम्म जग्गा झिक्न पाउने गरी स्थानीय पञ्चायतले आदेश जारी गर्न हुन्छ भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । सोअनुसार कानूनद्वारा अधिकारप्राप्त अधिकारी का.न.पं.बैठकले आफ्नो अधिकारक्षेत्र भित्र रही निवेदकमध्ये शङ्कबहादुर पाण्डे मोही भएको कि.नं. १७२ को २११० को जग्गा क्षतिपूर्ति मोहीलाई दिलाई जग्गाधनी विपक्षी दुर्गा कुमारीलाई जग्गा प्राप्त गराई दिएको र सोअनुसार अधिकारप्राप्त अधिकारी भूमिप्रशासकले शङ्करबहादुरको नाउँ मोही लगतबाट कट्टा गरी जग्गाधनीकै नाउँमा मोहियानी गरिदिनेसमेत गरेको उक्त निर्णयमा कानूनी त्रुटि नदेखिएकोले विपक्षीका नाउँमा निवेदकको मागबमोजिमको आदेश जारी गर्न मिलेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

म सहमत छु ।

 

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३५ साल फागुन १७ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु