शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६९८० - बिक्री तथा दर्ता वदर

भाग: ४३ साल: २०५८ महिना: बैशाख अंक:

निर्णय नं. ६९८०     ने.का.प. २०५८      अङ्क १.२

 

संयुक्त इजलास

माननीय न्यायाधिश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल

संम्वत  २०५२ सालको दे.पु.नं. २८१०

फैसला मितिः २०५६।८।१३।२

 

मुद्दाः बिक्री तथा दर्ता वदर

 

पुनरावदेक/वादीः जिल्ला सिन्धुली भिमान गा.वि.स. वडा नं. ३ डेरा गरी बस्ने सीतादेवी काफ्ले समेत

विरुद्ध

विपक्षी/प्रतिवादीः सिन्धुली जिल्ला पोखरी गा.वि.स. वडा नं. ६ बस्ने गणेशप्रसाद फुयाल समेत

 

अंशवण्डाको १८ नं. ले निजी ठहर्ने र ऐ. का १९ नं. ले आफ्नो पालामा आर्जेको निजी ठहर्ने अवस्थामा वाहेक सँग बसेको अंशियारको सगोलको आर्जनमा सबै अंशियारको भाग लाग्ने हुन्छ भन्ने सिद्धान्त प्रतिपादन भएको देखिन्छ । उल्लेखित बुँदा प्रमाण एव. नजिर समेतबाट प्रतिवादी कृष्णलास काफ्लेले प्रतिवादी हेमप्रसाद पहाडीलाई मिति २०४६।१२।१५ मा गरिदिएको र. नं. १९८६ र प्रतिवादी गणेशप्रसाद फुयाललाई सोही मितिमा गरिदिएको र. नं. १९८७ को राजिनामाले जग्गा निज कृष्णलाल काफ्लेको निजी आर्जनको बिक्री गरेको देखिन नआई वादीहरुको समेत अंश हक लागने  सम्पत्ति बिक्री गरेका देखिन आएकोले शुरु जिल्ला अदालतबाट वादी दावी बमोजिम वदर हुने ठहर गरेको फैसला उल्टी हुने ठहराएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मिलेको नदेखिदा उल्टी भै वादी दावी बमोजिम विवादित जग्गा ६ भागको ३ भाग वदर गर्ने गरेको शुरु सिन्धुली जिल्ला अदालतको इन्साफ मनासिव ठहर्ने ।

(प्र.नं. १२)

 

पुनरावेदक वादी तर्फबाटः अधिवक्ता श्री श्यामप्रसाद ढु्रगेल

विपक्षी प्रतिवादी तर्फबाटः

अवलम्वित नजिरः ने.का.प. २०५४ अंक १, पृष्ठ १ नि.नं. ६३०३, पुनरावेदक वादी लक्ष्मीदेवी वास्तोला समेत विरुद्ध विपक्षी प्रतिवादी इन्द्रमोहन अधिकारी भएको लिखत वदर मुद्दा ।

 

फैसला

न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ग)  अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः

२.    हाम्रो समेत हक लाग्ने कृष्णलाल काफ्लेका नाउँमा दर्ता रहेको जि.सिन्धुली जिल्ला पोखरी गा.वि.स. वडा नं. ६ च कि.नं. ३९ को ९, कि.नं. ५६ को १०१०१ को कि.नं. ८७ को ३० जग्गा २०४६।१२।१५ मा र.नं. १९८६ बाट विपक्षी मध्ये हेमप्रसाद पाहाडीलाई र ऐ. वा.नं. झ कि.नं. ९ को ११, कि.नं. १० को ११२, कि.नं. १८ को २, कि.नं. १९ को ८, कि.नं. २१ को ९, वा.नं. ६ कि.नं. ८८ को ३१०१ र कि.नं. ९ मा भएको घर समेत २०४६।१२।१५ र नं. १९८७ बाट गणेशप्रसाद फुयाललाई हामीलाइ थाहा पत्तै नदिई हाम्रो मन्जुरी बेगर बिक्री गरेकाले २०४७।१२।१२ मा राजिनामा नक्क्ल लिई थाहा पाएको हुँदा फिराद गरेका छौं । ६ भागको ३ भाग बिक्री वदर गरिपाउँ भन्ने समेत फिरादपत्र ।

३.    उल्लेखित जग्गा हामीले रजिष्ट्रेशन पास गसिसकेपछि हामीबाटै लिएको रुपैंयाले फिरादी मध्येकी सितादेवी काफ्लेले भिमान गा.वि.स. वडा नं. ३ मा जग्गा खरीद गरी लिएको कुरा विपक्षीहरुलाई थाहा हुँदा हुँदै पनि यो हदम्याद सृजना गरी, २०४७।१२।१२ मा नक्कल लिई थाहा पाएको उल्लेख गर्दै हदम्याद नाघी दायर हुन आएको दावी खारेजभागी छ । प्रतिवादी मध्ये कृष्णलालका नाममा अझै आधा भन्दा बढी जग्गा बाँकी छ, मन्जुरी लिनु नपर्ने हुँदा लिखत वरद हुनु पर्ने होइन भन्ने समेतको प्रतिउत्तर पत्र 

४.    प्र. कृष्णलालका नाउँमा जारी भएको इतलायनामा २०४८।१०।१५ मा तामेल भएको। प्रतिउत्तर नफिराई गुजारी बसको ।

५.    प्रतिवादीहरुले लिखत वदर हुने होइन भनी जिकिर लिएपछि प्र. कृष्णलाल काफ्ले र फिरादीहरु बीच अंश वण्डा भएको छ, छैन सो सम्बन्धमा केही उल्लेख गर्न सकेको छैन । सगोलको अंशियारले सगोलको सम्पत्ति बेचबिखन वा कुनै किसिमले हक छाडी दिंदा एका घर सगोलका अंशियारले मन्जुरी दिएको भएमात्र पक्का ठहर्छ भन्ने लेनदेन व्यवहारको १० नं. मा उल्लेख भएको देखिन्छ । लिखत रजिष्ट्रेशन गर्दा सो अनुसार भएको नदेखिदा ६ भागको ३ भाग लिखत वदर भै वादीका नाममा दर्ता हुने ठहर्छ भन्ने समेत सिन्धुली जिल्ला अदालत २०५०।१०।१० को फैसला ।

६.    कृष्णलाल काफ्लेले आफ्नो पालाम आर्जेको ३३१ जग्गा र निजको पिता पुर्खाको पालाको ४८३ मध्ये १०१०१ पैतृक जग्गा हामीलाई बिक्री गरेका हुँदा त्यस्तो सम्पत्ति बिक्री गर्दा वादीहरुको मन्जुरी लिनु पर्दैन । हामीलाई जग्गा बेचेको रुपैयाबाट कृष्णलाल काफ्लेले निजको श्रीमती विपक्षी सितादेवीको नाउँमा भिमान गा.वि.स. मा ०० जग्गा खरीद गर्नु भएको छ, सो कुरा मालपोत कार्यालय सिन्धुली बुझेमा प्रष्ट हुन्छ । जग्गा बिक्री गर्दा जग्गाको मोल कम थियो हाल बढेको कारणबाट लोभमा परि हदम्याद ढाँटी फिराद गरेकोले फैसला गर्दा कानून सम्म्त नगरी त्रुटिपूर्ण फैसला गरेकोले सो फैसला वदर गरी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेतको पुनरावेदन पत्र ।

७.    यसमा अंशवण्डाको १९ नं. को देहाय १ र २ लाई ध्यानमा नराखी शुर जिल्ला अदातले गरेको इन्साफ फरक पर्ने देखिएकाले अ.वं. २०२ नं. बमोजिम झगडिया झिकाई आएपछि

ववा अवधि नाघेपछि पेश गर्नु भन्ने २०५१।४।३२ को पुनरावेदन अदालत जनकपुरको आदेश ।

 

८.    वादीहरुले यी विवादका जग्गाहरु पैतृक हो भनी प्रमाणीत गर्न नसकेको एकातर्फ छ भने अर्कोतर्फ कि.नं. ९, १०, १८, १९ र २१ को जग्गाहरु प्रतिवादी मध्येका कृष्णलालले तिलचन पाहाडीबाट २०३३ सालमा खरिद गरी लिएको राजिनामाको फोटोकपिबाट देखिन आएको छ । अंशवण्डाको १९ नं.. मा भएको कानूनी व्यवस्था हेर्दा आफ्नो पालामा आर्जेको आफूखुश गर्न पाउने व्यवस्था देखिन्छ र घरको मुख्य व्यक्तिले घर व्यवहार चलाउन आधासम्म कसैको सवीकृति नलिई बिक्री गर्न सक्ने प्रष्ट कानूनी व्यवस्था विद्यमान रहेको पाइन्छ । बिक्री भएको

जग्गाहरु मध्ये कि.नं. ९, १०, १८, १९ र २१ को जग्गाहरु दाताले आफ्नै पालामा खरिद गरी लिएको पेश भएको राजिनामाको फोटोकपिबाट देखिएको हुँदा यस्तो जग्गा र कि.नं. ५६ बाट बिक्री भएको जग्गा पनि वादी दावी बमोजिम वदर हुने अवस्थाको नदेखिंदा शुरु जिल्ला अदालतबाट वादी दावी बमोजिम वदर हुने ठहर हुने ठहर गरेको फैसला मिलेको देखिंदैन । उल्टी हुने ठहर्छ भन्ने पुनरावेद अदालत जनकपुरको मिति २०५२।३।४।१ को फैसला ।

९.    गणेशप्रसाद फुयाललाई ३६३ र हेमप्रसादलाई १२० समेत जग्गा ४८१२० एकै दिनमा र पछि केदारप्रसादलाई २०१ बिक्री भैसकेपछि विपक्षी पनि पिताका नाममा बाँकी रहेको २१३ मध्ये १७ रोपनी चानचुन वादीले लगेको र कि.नं. ३७ को जग्गा बैंकमा धितो रहेको हुँदा बाँकी अरु जग्गा नै छैन । एकै दिनमा गणेशप्रसाद र हेमप्रसादलाई ४८१२१ बिक्री गरेपछि बाधी पैह्रो समेत लागी काम नलाग्ने बेकामी जग्गा समेत जम्मा ४११२० बाँकी भएकोले हाल बाँकी भएको जग्गा भन्दा पनि पिता कृष्णलालले बिक्री गरेको जग्गा बढी छ । गणेशप्रसादलाई बिक्री गरेका कि.नं. ९ मा बसोबास भएको घर समेत छ । उक्त जग्गाहरु खरिद गर्दा पनि सगोलकै सम्पत्तिबाट खरिद गरेका हो । प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम अनयथा प्रमाणित नभएसम्म जसका नाममा दर्ता भए पनि सगोलको सम्पत्ति हो भनी अनुमान गर्नुपर्ने व्यवस्था समेतबाट हामी पुनरावेदकहरुको समेत हक लाग्ने पति पिता कृष्णलालले आफूखुस गर्न नपाउने अचल सम्पत्ति बिक्री गरेको हुँदा हामीलाई हराइ गरेको पुनरावेदन अदालत जनकपुरको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी शुरु अदातलको फैसला कायम गरी पाउँ भन्ने पुनरावेदन पत्र ।

१०.    यसमा लगाउको दे.पु.नं. २८०९ मा आजै अ.वं. २०२ नं. बमोजिम आदेश भएकोले प्रस्तुत मुद्दा पनि सोही आधारमा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०५६।२।१३ को आदेश ।

 

११.    नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक डिल्लीप्रसाद काफ्ले समेतका तर्फबाट विद्वान अधिवक्ता श्री श्यामप्रसाद ढुंगेलले पुनरावेदक वादीहरु र प्रतिवादी मध्येका कृष्णलाल एकासगोलका अंशियार भएकोमा विवाद छैन । पुनरावेदक वादीहरुको अंश हक लाग्ने जग्गा निजहरुले मन्जुरी नलिई कृष्णलाल काफ्लेले बिक्री वितरण गरेकाले वादीहरुको हक लाग्ने जनि जग्गा वादी दावी बमोजिम लिखत वदर गरेको शुरु जिल्ला अदालत जनकपुरको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी पाउँ भनी गर्नु भएको वहस सुनी पुनरावेदन सहित मिसिल संलग्न प्रमाण कागजात अध्ययन गरी निर्णयतर्फ विचार गर्दा यसमा पुनरावेदन अदालत जनकपूरको फैसला मिलेका छ, छैन भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

१२.   यसमा प्रतिवादी मध्येका कृष्णलाल काफ्लेले यी प्रतिवादीहरुलाई बिक्री गरेका जग्गाहरु खरिद गर्दा पनि सगोलकै सम्पत्तिबाट खरिद गरिएहो हो । प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम समेत हामी पुनरावेदक वादीहरु समेतको हक लाग्ने पनि पिता प्र. मध्येका कृष्णलालले एकलौटी आफूखुसी गर्न नपाउने अचल सम्पत्ति बिक्री गरेको हुँदा लिखत वदर नहुने ठहराएको पुनरावेदन अदातल जनकपुरको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी वादी दावी बमोजिम लिखत वदर हुने ठहराएको शुरु जिल्ला अदालतको फैसला कायम गरी पाउँ भन्ने मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ । यसमा प्र. मध्येका कृष्णलाल र यी पुनरावेदन वादीहरु एकासगोलका अंशियार भएकोमा विवाद देखिदैन । वादी दावीको जग्गा कृष्णलाल काफ्लेले निजी आर्जन आफूखुस गर्न पाउने जग्गा हो, होइन भन्ने विषयमा विचार गर्दा अंशवण्डाको १८ नं. मा कुनै अंशियारले आफ्नो ज्ञान वा सिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको ५ नं. बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारले निजी ठहरी आफूखुस गर्न पाउँछ भन्ने प्रावधान छ । विवादको लिखतको अचल सम्पत्ति कृष्णलाल काफ्लेले कुनै ज्ञान वा सिप वा प्रयासबाट निजी तवरले दानबक्स वा अपुताली पाएको वा आर्जन गरेका मिसिल संलग्न सवुद प्रमाणबाट पुष्टी गर्न सकेको देखिदैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) मा एकाघर सँगका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भन्ने अदालतले अनुमान गर्नेछ भन्ने सोही ऐनको दफा २९ मा यस एृन बमोजिम अनुमान गर्ने कुनै कुरा कुनै पक्षले खण्डन गर्न चाहेमा त्यस्को प्रमाण पुर्‍याउने भार सोही पक्षको हुने छ भन्ने समेतको कानूनी व्यवस्था देखिन्छ । उपयुक्त व्यवस्था अनुसार विवादिन कि.नं. ९, १०, १८, १९ र २१ को जग्गाहरु कृष्णलाल काफ्लेले निजी आर्जनको हो भन्ने प्रमाण पुर्‍याउन प्रतिवादीहरुले सकेको देखिदैन । ने.का.प. २०५४, अंक १, पृष्ठ १ नि.नं. ६३०३, पुनरावेदक वादी लक्ष्मीदेवी वास्तोला समेत विरुद्ध विपक्षी प्रतिवादी इन्द्रमोहन अधिकारी भएको लिखत  वदर मुद्दामा पूर्ण इजलासबाट एकासगोलका अंशियारमा जसको नाममा रहेको सम्पत्ति भएपनि अन्यथा प्रमाणित नभएसम्म सगोलको मान्नु पर्ने प्रमाण ऐन, २०३१ को दफा ६(क) ले प्रष्ट गरेकोमा अन्यथा प्रमाणित गर्नुपर्ने कर्तव्य प्रतिवादी हुन्छ । अंशवण्डाको १८ नं. ले निजी ठहर्ने र ऐ. का १९ नं. ले आफ्नो पालामा आर्जेको निजी ठहर्ने अवस्थामा वाहेक सँग बसेको अंशियारको सगोलको आर्जनमा सबै अंशियारको भाग लाग्ने हुन्छ भन्ने सिद्धान्त प्रतिपादन भएको देखिन्छ । उल्लेखित बुँदा प्रमाण एव. नजिर समेतबाट प्रतिवादी कृष्णलास काफ्लेले प्रतिवादी हेमप्रसाद पहाडीलाई मिति २०४६।१२।१५ मा गरिदिएको र. नं. १९८६ र प्रतिवादी गणेशप्रसाद फुयाललाई सोही मितिमा गरिदिएको र. नं. १९८७ को राजिनामाले जग्गा निज कृष्णलाल काफ्लेको निजी आर्जनको बिक्री गरेको देखिन नआई वादीहरुको समेत अंश हक लागने  सम्पत्ति बिक्री गरेका देखिन आएकोले शुरु जिल्ला अदालतबाट वादी दावी बमोजिम वदर हुने ठहर गरेको फैसला उल्टी हुने ठहराएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मिलेको नदेखिदा उल्टी भै वादी दावी बमोजिम विवादित जग्गा ६ भागको ३ भाग वदर गर्ने गरेको शुरु सिन्धुली जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी भै शुरु सिन्धुली जिल्ला अदालतको वादी दावी बमोजिम ६ भागको ३ भागको लिखत वदर हुने ठहराएको फैसला मनासिव ठहरेकोले कानूनका म्याद भित्र वादीहरुको दरखास्त परे वादी दावीको कि.नं.३९ को ९, कि.नं. ८७ को ३, कि.नं. ९ को ११, कि.नं. १० को ११२, कि.नं. १८ को २, कि.नं. १९ को ८२ कि.नं. २१ को ९, कि.नं. ८८ को ३१०१ र कि.नं. ९ को जग्गामा रहेको दुई तल्ले ढुंगाको छाना भएको घर, फुसको छाना भएको मटान १, फुसको छाना भएको कटेरो १ समेत ६ भागको ३ भाग वादीहरुको नाममा दर्ता गरीदिनु भनी सम्बन्धित कार्यालयलाई लेखी पठाई दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पर्ठा दिनु....१     माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी हुने ठहरेकोले शुरु फिराद गर्दा राखेको कोर्ट फि.६०|प्रतिवादीहरुबाट भराई पाउँ भनी वादीहरुको कानूनका म्यादभित्र दरखास्त परे कानूनको रीत पुर्‍याई प्रतिवादीहरुबाट भराई दिनु भनी शुरुलाई पठाई दिनु...२

मिसिल नियमानुसार गरी बुझाइ  दिनु............३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.दिलीपकुमार पौडेल

 

इति सम्वत २०५६ साल मंसिर १३ गते रोज २ शुभम्....।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु