निर्णय नं. १२२० - उत्प्रेषण परमादेशको आदेश जारी गरिपाउँ

निर्णय नं. १२२० ने.का.प. २०३५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३५ सालको रिट नम्बर ७५४
आदेश भएको मिति : ०३५।१२।३०।५ मा
निवेदक : का.जि. बत्तिसपुतली गा.पं. वडा नं. ६ बस्ने कृष्णबहादुर गुरुङ
विरुद्ध
विपक्षी : भूमिप्रशासन कार्यालय काठमाडौं समेत
विषय : उत्प्रेषण परमादेशको आदेश जारी गरिपाउँ
(१) जग्गाधनीले रैकरमा परिणत नगरेको हुँदा मोहीका नाउँमा जग्गा रैकरमा परिणत गरिपाउँ भन्ने उजूरी लिई तत्सम्बन्धी कार्यवाही गरी निर्णय गर्न पाउने अधिकार भूमिप्रशासकलाई रहेको।
(प्र.नं. ७)
निवेदक तर्फबबाट : विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउत
आदेश
न्या. वासुदेव शर्मा : विपक्षी अधिकृतले गरेको मिति ०३३—१०—२२ को निर्णयको दोस्रो खण्ड बत्तिसपुतली गा.पं.वार्ड नं. ६ कित्ता नं. ७५ को जग्गा सम्बन्धमा रैकरमा परिणत गर्न मिल्दैन भन्ने हदसम्म उत्प्रेषणको आदेशद्वारा बदर गरी कानूनबमोजिम रैकरमा दर्ता परिणत गर्नलाई भू.प्र.का.काठमाडौं नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्नेसमेतका कुराको माग गर्दै नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३५।४।३२ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार रहेछन ।
२. निवेदक बत्तिसपुतली गा.पं.वार्ड नं. ६ (क) कि.नं. ७५ को रोपनी १–६–० जग्गा विर्तावार ज.ब.मोतिमान नकर्मीले र कि.नं. ७८ को रो १–२–० जग्गा कृष्णबहादुर नेमफुलले विर्ता उन्मुलन ऐन, ०१६ र संशोधन ऐन नियमबमोजिम समयमा रै.प.गरिपाउँ भन्ने उजूरी निवेदन परेकोमा कि.नं. ७८ को जग्गा मेरे बाजे कृष्णबहादुरको नाउँमा दर्ता भएको बाजे परलोक भई मेरा हक भएको जग्गा हो । म विर्तावारले रै.पं.गर्नभन्दा अगावै मोही कृष्णबहादुरको दावी भएको हुँदा मोहीले रै.प.गरी लिएमा मेरो मञ्जुर छ भन्नेसमेत गणेश बहादुर नेमकुको र बाउ मोतिमान नकर्मीका नाउमा बत्तिसपूतली गा.पं.वार्ड नं. ६ (क) कि.नं. ७५ को रो.१–६–० जग्गा हा नं. ७७४ नं. को लगतमासमेत रै.प.भइसकेको हुँदा निवेदक कृष्णबहादुर गरुङ्गको दावी उजूरी झुठ्ठा हो भन्नेसमेत मोतिमानको छोरा ज्वाहरमानको प्रतिउत्तर भएकोमा बत्तिसपूतली गा.पं.वार्ड नं. ६ (क) कि.नं. ७८ को जग्गा मृतक कृष्णबहादुर नेमफुलको नाउँको पा.६४।१५७ नं. को पोता लगतबाट खारेज गरी निवेदकका नाममा रै.पं.हुने ठहर्छ कि.नं. ७५ को रोपनी १–६–० को जग्गा सम्बन्धमा मौजे बानेश्वर हा.नं. ७७४ नं. मा रै.पं.भएको भन्ने मोतिमान नकर्मीको छोरा ज्वाहारमान नकर्मीको प्रतिउत्तर भई दुवैका वाद विवाद भई विचार गर्दा लगत उतारबाट समेत रै.पं.भएको देखिँदा पुनः रै.पं.गर्न मिल्दैन दावी खारेज हुने ठहर्छ भन्नेसमेत विपक्षी कार्यालयको निर्णय रहेछ ।
३. ऐनको म्यादभित्र विर्तावालले विवरण पेश नगरेपछि विर्ता उन्मुलन ऐन, २०१६ (संशोधन सहित) को दफा ७ (४) अनुसार मेरो नाउँमा परिणत हुने भएकोले मेरो हक हितमा असर पर्ने गरी तेश्रो व्यक्तिबाट प्रेरित गैरकानूनी विवरणको स्थिति शुन्य हुने हुनाले त्यस्तो विवरणका आधारमा परिणत हुन्थ्यो पनि भने पोता नं. १६३६ प्रेषित छ । उक्त पोताई १६३२ चाहिं विपक्षी ज्वाहरमानले प्रमाणमा पेशगर्नुभएको छ प्रेषित विवरण र परिणत भएको निस्सा एक अर्कोसँग मेल खाँदैन । रैकरमा परिणत गर्नु भन्ने तोक खरिदारबाट लागेको छ । अनधिकृत व्यक्तिबाट भएको परिणत पनि क्षेत्राधिकार बाहिर भई अ.बं.३५ नं. ले बदर भागी छ ।
४. विपक्षीहरुद्वारा लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्नेसमेत डिभिजन बेञ्चका आदेशानुसार विपक्षी भूमिप्रशासन कार्यालय तथा भू.प्र.का को शाखा अधिकृतबाट तामेल भएको सूचनाको म्यादमा लिखितजवाफ, नआएको र म्यादमा प्राप्त विपक्षी ज्वाहारमान नकर्मीको लिखितजवाफमा लिएको जिकिर यसप्रकारको रहेछन :
५. बत्तिसपुतली गा.पं.वार्ड नं. ६ (क) कि.नं. ७५ को जग्गा रोपनी १–६–० मोतिमान नकर्मीको भएको सो जग्गा विर्ता भएकोले म्यादभित्र रैकरमा परिणत भइसकेको हुँदा विपक्षीको दावी खारेज हुने प्रष्ट छ । पोता नं. १६३२ नं. कै प्रमाण आधारका दर्ता भएको छ । विपक्षीको निर्विवाद हक नदेखिने खारेज गरिपाउँ ।
६. तारेखमा रहेका निवेदक कृष्णबहादुर गुरुङको वारेस किरणप्रसाद र विपक्षी ज्वाहरमान नकर्मी प्रस्तुत फायल बेञ्चसमक्ष पेश भई निजहरुको बेञ्चबाट पुकार गर्न लगाउँदा समेतबेञ्चमा हाजिर भई सुनी पाएको कागज गर्न नआएको र निवेदकतर्फका विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउतको वहससमेत सुनी बुझ्दा प्रस्तुत मुद्दामा निवेदकका मागबमोजिमको आदेश जारी हुने नहुने के हो ? निर्णय दिनु परेको छ ।
७. यसमा जग्गाधनीले रैकरमा परिणत नगरेको हुँदा म मोहीका नाउँमा जग्गा रैकरमा परिणत गरिपाउँ भन्ने उजूरी लिई तत्सम्बन्धित कार्यवाही गरी निर्णय गर्न पाउने अधिकार विपक्षी भूमिप्रशासन कार्यालयलाई भई रहेको हुँदा अधिकार प्राप्त अधिकारीले विपक्षी ज्वाहरमानका बाबु जग्गाधनी मोतिमानका नाउँमा रैकरमा परिणत भैसकेकोले पुनः परिणत गर्न नमिल्ने भनी कानूनको परीधिमा रही कानूनबमोजिम नै निर्णय गरेको देखिँदा निवेदकको मागबमोजिम आदेश जारी गर्नु परेन । तसर्थ प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । नियमबमोजिम फायल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३५ साल चैत्र ३० गते रोज ५ शुभम् ।