शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६९८१ - लिखत दर्ता वदर

भाग: ४३ साल: २०५८ महिना: बैशाख अंक:

निर्णय नं. ६९८१     ने.का.प. २०५८      अङ्क १.२

 

संयुक्त इजलास

माननीय न्यायाधिश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री

संम्वत  २०५२ सालको दे.पु.नं......३०१२

फैसला मितिः २०५६।११।३०।२

 

मुद्दाः लिखत दर्ता वदर

 

पुनरावदेक/वादीः का.जि. भद्रवास गा.वि.स. वडा नं. ८ बस्ने नानीराम थापा

विरुद्ध

विपक्षी/प्रतिवादीः ऐ. गागलफेदी गा.वि.स. वार्ड नं. ४ बस्ने उत्तम खड्का समेत

 

यसमा विवादित कि.नं. २४३ को सम्पत्ति सगोलको सम्पत्ति भएको कुरामा विवाद देखिदैन। सगोल सम्पत्ति बिक्री गर्दाको अवस्थामा लेनदेन व्यवहारको १० नं.. बमोजिम अंशियारहरुको मन्जुरी लिनु पर्नेमा पुनरावेदक वादीको मन्जुरी लिनु पर्नेमा पुनरावेदक वादीको मन्जुरी लिएको देखिन आउँदैन । जहाँसम्म अंशवण्डाको १९(१) ले व्यवहार चलाउन अचल सम्पत्ति आधा भन्दा बढी बिक्री गर्न अंशियारको मन्जुरी लिनु नपर्ने भन्ने प्रतिवादीहरुको जिकिरतर्फ विचार गर्दा प्रस्तुत विवादित राजिनामा बाबुले गरिदिएको नभई आमाले गरिदिएको देखिंदा सो अवस्थामा लिखत राजिनामामा बाबु साक्षी बस्दैमा अरु अंशियारको मन्जुरी लिनु नपर्ने उक्त अंशवण्डाको १९(१) नं. नै आकर्षित हुने भन्न मिल्ने देखिदैन । अतः लेनदेन व्यवहारको महलको १० नं.बमोजिम फिराद परेको एवं आमाले राजिनामा गरी दिएको अवस्थामा अंशवण्डाको १९(१) नं. आकर्षित हुने देखाई शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ उल्टी गरी वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०५०।२।१२ को फैसला मिलेको नदेखिंदा वदर भै उल्टी हुन्छ । वादी दावी बमोजिम ३ भागको एक भाग लिखत दर्ता वदर हुने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला मनासिव ठहर्ने ।

(प्र.नं. १२)

 

पुनरावेदन वादी तर्फबाटः विद्वान अधिवक्ता श्री कमलबहादुर वोगटी

विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री राजेश खड्का

अवलम्वित नजिरः

 

फैसला

न्या.हरिश्चन्द्र प्रसाद उपाध्यायः पुनरावेदन अदालत पाटन ललितपुरको मिति २०५०।२।१२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

२.    विपक्षी मध्येका युद्धबहादुर रुकमिनी थापा मेरो एकासगोलका पिता र माता हुन । हामी घरवास गरी आएको जग्गा पहिरोको छेउमा भएकोले जुनसुकै बेला भत्किन सक्ने संभावना भई सगोलकै आर्जनबाट का.जि. डाँछी बस्ने केन्द्रप्रसाद उपाध्यायसँग रु. १०,०००। मा मिति २०४५।१०।१९ मा का.जि. भद्रवास गा.वि.स. वडा नं. को कि.नं. २४३ को ०१३० जग्गा आमा रुकमिनीका नामा खरिद गरी लिएको थियौं । यसै बीच मेरी पत्नीसँग पिता माताको झै झगडा भै रहने र यसलाई निकाली सम्पत्ति बिक्री गरी खान्छौ भनिरहनु हुन्थ्यो । यस्तैमा उक्त कि.नं. २४३ को ०१३० जग्गा मध्ये दक्षिण तर्फबाट ०० जग्गा मेरो स्वीकृति बेगर पिता साक्षी बसी उत्तम खड्का क्षेत्रीलाई रु. ४०,०००। मा मिति २०४५।१२।९ मा बिक्री गरेको कुरा २०४६।६।८ मा नक्कल सारी थाहा पाएको हुँदा लेनदेन व्यवहारको १० नं. अनुसारको म्याद भित्र फिराद गर्न आएको छु । सगोल आर्जनको समान हकको जग्गा मेरो जानकारी बेगर बिक्री गरेको उक्त ०० जग्गाको ३ खण्डको १ खण्ड म वादीको हक जति लिखत र दर्ता समेत वदर गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०४६।७।९ को निज नानीराम थापाले का.जि.अ.मा चढाएको फिराद दावी।

३.    यो सम्पत्ति पैत्रिक नभै बाबु आमाले आर्जेको हुँदा अंशवण्डाको १९ नं. बमोजिम स्वास्नी छोराको मन्जुरी नलिई बेचेको सदर हुन्छ । लेनदेन व्यवहारको १० नं. ले पनि आफूखुस गर्न पाउने कसैको मन्जुरी लिइरहनु नपर्ने सम्पत्ति खरिद गरेकोमा केवल मलाई दुख दिन निज फिरादीको बाबुले झुठ्ठा मुद्दा हाल्न लगाएको हो । यो कित्ता जग्गामा पनि आधा भन्दा बढी बाँकी नै हुँदा आफ्नै आर्जनको उक्त जग्गा बिक्री गरेको वदर नहुने हुनाले वादीलाई सजाय गरी वादी दावाबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्र. उत्तम खड्काले मिति २०४६।४।३ मा दिएको प्रतिउत्तर जिकिर ।

४.    यसमा का.जि.अ. बाट प्र. युद्धबहादुर थापा र रुक्मिणी थापालाई जारी भएको ३० दिने इतलायनामा मिति २०४६।८।१६।६ मा तामेल भएकोमा निज प्रतिवादीहरुले सोको म्याद भित्र प्रतिउत्तर पत्र नफिराई शुरु म्यादै गुजारी बसेको रहेछ ।

५.    विवादको जग्गा सगोलमा किनेको भन्ने कुराको प्रतिवादीले पनि अन्यथा भन्न सकेको छैन । आमाले बिक्री गरेकोमा अंशवण्डाको १९ नं. आकृष्ट नभै लेनदेन व्यवहारको १० नं. आकृष्ट हुन्छ । अन्यथा प्रमाणित नभएसम्म सगोलमा हुँदा किनेको सम्पत्ति आफ्नै खुस गर्न पाउने भन्न मिल्दैन । वादीको मन्जुरी पनि लिएको नदेखिंदा वादी दावी बमोजिम ३ भागको १ भागको लिखत दर्ता वदर हुने ठहर्छ भन्ने समेत मिति २०४७।३।१४।५ मा का.जि.अ.बाट भएको फैसला ।

६.    उक्त फैसलामा चित्त बुझेन जम्मा ३ खण्ड गर्दा २ भाग भन्दा कम बेचेको छ वा बढी बेचेको छ सो हेुर्नपर्नेमा त्यस तर्फ ध्यान नै नदिई फैसला गरेको लेनदेन व्यवहारको ८ नं. अनुसार मुख्यले गरेको व्यवहारमा अरुको मन्जुरी लिई रहनु नपर्ने आमा बाबु दुुवैको मन्जुरीले बिक्री गरेको कुरा लिखतबाट प्रष्ट देखिएको । बाबुले बेचेको होइन, आमा अलगै भएकोले अंशवण्डाको १९ नं. लाग्दैन भन्न नमिल्ने र लिखत वदर भएपछि त्यो लिएको द्दन के हुने ? त्यो पनि फेसलामा उल्लेख नहुँदा उक्त फैसला गलत हुँदा वदर गरी मेरो लिखत कायम सदर गरी दर्ता समेत गरी पाउँ भन्ने समेत पुनरावेदक प्रतिवादी उत्तम खडकाको तत्कालीन श्री वा.अं.अ. मा मिति २०४७।४।९।३ मा परेको पुनरावेदन ।

७.    मुलुकी ऐन अंशवण्डाको महलको १९ नं. मा घरको मुख्यले व्यवहार चलाउनलाई अचल पैत्रिक सम्पत्तिको हकमा आधिसम्म आफूखुशी गर्न पाउँछ । व्यवहार चलाउनै परे पनि आधा भन्दा बढीले हकमा २१ वर्ष नाघेका स्वास्नी छोराको मन्जुरी लिनुपर्ने वाध्यात्मक कानूनी प्रावधान भए गरेकोमा प्रत्यर्थी वादीको उमेर २१ वर्ष पुगी नसकेको आधी भन्दा कम अचल सम्पत्ति वैना लिखत गरेको देखिंदा वादी दावी पुग्न नसक्नेमा पुग्न सक्ने ठहर्‍याएको शुरु फैसला वदर भई उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटन ललितपुरको

मिति २०५०।२।१२ को फैसला ।

८.    उक्त पुनरावेदन अदालत पाटन ललितपुरको मिति २०५०।२।१२ को फैसलामा चित्र बुझेन । म पुनरावेदक २१ वर्षको हुँ छु भनी मैले फिराद गरेको अवस्थामा विवादै नउठेको कुरामा विवाद उठाई तथा अंशवण्डाको १९ नं.. ले पिता वा पतिलाई घरको मुलीको रुपमा स्पष्ट व्यवस्था गरेको अवस्थामा उक्त कारोवार लेनदेन व्यवहारको १० नं. अन्तर्गतको ठहरिनु पर्नेमा सो नभई आमा वा श्रीमतीलाई घरको मुली मानी गरेको उक्त फैसला प्रमाण ऐन, २०३१ को दफा ३, अ.वं. १८४(क), १८५ नं. को गलत व्याख्या तथा सर्वोच्च अदालतबाट प्रतिपादित नजिर समेतको उल्लघंन गरी गरिएको हुँदा वदर गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०५५।२।२६।६ को पुनरावेदक नानीराम थापाको पुनरावेदन जिकिर ।

९.    फिरादीको उमरे १६ वर्ष नाघि सावालक देखिएको अवस्थामा सगोलको सम्पत्ति बिक्री गर्दा एक अंशियारको मन्जुरी नलिएकोमा अन्यथा अर्थ गरी गरी गरेको पुनरावेदन अदालत पाटनको फैसला फरक पर्न सक्ने देखिंदा विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५६।३।३२।६ को आदेश।

१०.    नियम बमोजिम आजको दैनिक पेशी सूची चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी पुनरावेदक तर्फका विद्वान अधिवक्ता कमलबहादुर वोगटीले घरको मुख्य बाबुले राजिनामा गरेको नभई आमाले जग्गा बेचेको अवस्थामा अंशवण्डाको १९ नं. आकर्षित नहुनेमा उक्त नं. बमोजिम वादी दावी नपुग्ने गरेको पुनरावेदन अदालतको फैसला वदर गरी पाउँ भनी र प्रत्यर्थी तर्फका विद्वान अधिवक्ता राजेश खड्काले लिखतमा बाबु साक्षी बसी घरको मुख्यको मन्जुरी भएको अवस्थामा लिखत वदर हुने हैन तसर्थ पनुरावेदनको फैसला सदर हुनुपर्छ भनी गर्नु भएको वहस समेत सुनी शुरु जिल्ला अदालतले लिखत वदर हुने ठहराएको फैसला उल्टी गरी गरेको पुनरावेदनको इन्साफ मिले नमिलेको के रहेछ सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

११.    निर्णयतर्फ विचार गर्दा मेरो समेत हक लाग्ने सगोलको कि.नं. २४३ को ०१३० मध्ये दक्षिण तर्फबाट ०० जग्गा मेरो मन्जुरी नलिई पिता साक्षी बसी बिक्री गरेको ३ खण्डको एक खण्ड लेनदेन व्यवहारको १० नं. बमोजिम वदर गरी पाउँ भन्ने वादी र व्यवहार चलाउन  घरको मुख्य पिता समेत साक्षी बसी आफूले आर्जित सम्पत्ति बेचेकोमा अंशवण्डाको १९ नं. बमोजिम वदर हुने भन्ने प्रतिवादी भएको शुरु जिला अदालतले वादी दावी बमोजिम लिखत वदर ठहराएको फैसला उल्टी गरी गरेको फैसला उपर प्रतिवादीको प्रस्तुत पुनरावेदन परेको देखियो ।

१२.   यसमा विवादित कि.नं. २४३ को सम्पत्ति सगोलको सम्पत्ति भएको कुरामा विवाद देखिदैन । सगोल सम्पत्ति बिक्री गर्दाको अवस्थामा लेनदेन व्यवहारको १० नं.. बमोजिम अंशियारहरुको मन्जुरी लिनु पर्नेमा पुनरावेदक वादीको मन्जुरी लिनु पर्नेमा पुनरावेदक वादीको मन्जुरी लिएको देखिन आउँदैन । जहाँसम्म अंशवण्डाको १९(१) ले व्यवहार चलाउन अचल सम्पत्ति आधा भन्दा बढी बिक्री गर्न अंशियारको मन्जुरी लिनु नपर्ने भन्ने प्रतिवादीहरुको जिकिरतर्फ विचार गर्दा प्रस्तुत विवादित राजिनामा बाबुले गरिदिएको नभई आमाले गरिदिएको देखिंदा सो अवस्थामा लिखत राजिनामामा बाबु साक्षी बस्दैमा अरु अंशियारको मन्जुरी लिनु नपर्ने उक्त अंशवण्डाको १९(१) नं. नै आकर्षित हुने भन्न मिल्ने देखिदैन । अतः लेनदेन व्यवहारको महलको १० नं.बमोजिम फिराद परेको एवं आमाले राजिनामा गरी दिएको अवस्थामा अंशवण्डाको १९(१) नं. आकर्षित हुने देखाई शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ उल्टी गरी वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०५०।२।१२ को फैसला मिलेको नदेखिंदा वदर भै उल्टी हुन्छ । वादी दावी बमोजिम ३ भागको एक भाग लिखत दर्ता वदर हुने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला मनासिव ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

पुनरावेदक वादी नानीराम थापा के, पुनरावेदन अदालत पाटनको फैसला उल्टी भै वादी दावी बमोजिम लिखत वदर हुने ठहरेकाले शुरु काठमाडौं जिल्ला अदालतको मिति २०४७।३।१४ को फैसला बमोजिम कसेको लगत कायम राख्न शुरु जिल्ला अदालत लेखी पठाउनु ।

मिसिल नियमानुसार गरी बुझाई दिनु..........२

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गोपालप्रसाद खत्री

 

इति सम्वत २०५६ साल फागुण ३० गते रोज २ शुभम्....।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु