शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १२२१ - ज्यान

भाग: २० साल: २०३५ महिना: बैशाख अंक:

निर्णय नं. १२२१     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३५ सालको फौज्दारी पुनरावेदन नम्बर १३०

फैसला भएको मिति :      २०३५।१२।२ मा

प्रतिवादी : मोतीमाया भन्ने दिलमाया महर्जन समेत

विरुद्ध

वादी :       श्री ५ को सरकार

मुद्दा : ज्यान

(१)   ठोस तथा तथ्ययुक्त प्रमाणको अभावमा केवल पोलको आधारमा दोषी ठहराउन नमिल्ने ।

(प्र.नं. २०)

(२)   अदालतको वातावरण स्वेच्छाचारी वातावरणसमेत नहुने हुँदा अदालतमा भएको बयानलाई स्वेच्छाले भएको हैन भन्न नमिल्ने ।

(प्र.नं. २०)

पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारमान उपाध्याय

फैसला

            न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३४।५।८।५ को निर्णयउपर परेको प्रतिवादी दिलमाया महर्जनको पुनरावेदन पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको र प्रतिवादी अर्जुनबहादुरको हकमा साधकको लगतमा दर्ता भई पेश हुन आएको छ ।

            २.    मुद्दाको तथ्य यसप्रकार छ : आज ८ बजेको समयमा कुम्भेश्वर स्थित गुमार्छ बस्ने लक्ष्मीदेवी घर कोठामा मरी रहेको भन्ने खबर आएकोले शङ्का लागि घटनास्थलमा हेर्न जाँदा कर्तव्य गरी मरेको शङ्का लागी पालो राखी जाहेर गर्न आएको छु । कारवाई गरिपाउँ भन्ने हे.कं.अर्जुनबहादुरको जाहेरी ।

            ३.    थालमा खाने रोटीहरु भएको हात गोडाको नङहरु निलो भएको भन्नेसमेत ०३२।३।३।२ को लास प्रकृति मुचुल्का ।

            ४.    आमाको मृत्यु भएको र मेरो आमाले लगाउनु भएको हात कानको सुनको बालासमेत नभई चोरी भएकोले कसले विषालु चिज खुवाई कर्तव्य गरी ज्यान मारी धनमाल चोरी गरी लगेकोले अपराधी पत्ता लगाई पाउँ भन्नेसमेत चन्द्रदेवीको जाहेरी ।

            ५.    जाँच गरी हेर्दा साधन यस प्रयोगशालामा नभएकोले पदार्थहरु फिर्ता पठाएको छ भन्ने स्वास्थ्य विभागको पत्र रहेछ ।

            ६.    दिलमायालाई पक्राउ गरी दाखिल गरेको छु भन्नेसमेत अर्जुनबहादुरको जाहेरी ।

            ७.    लास धेरै सडेगलेको हुनाले यसकारणले मरेको हो भन्नसकिएन भन्ने डाक्टरको प्रतिवेदन रहेछ ।

            ८.    अर्जुनबहादुरको र मेरो परस्पर हित्तचित्त मिली आवत जावत भइरहेको मृतक लक्ष्मीदेवीलाई मनभोगमा मानिस मर्ने चिज मिलाई म ल्याउँछु तिमीले खान दिनु भन्ने कुरा ३१ गते बेलुका सल्लाह गरी गएको ०३२।३।१ गते बेलुका ८ बजे सालको पातमा पोको पारी मनभोग ल्याई मलाई दिए सोही दिन मासको बारामा सिमी बोडी मासुसमेतमा राखी लक्ष्मीदेवीलाई दिए, रातको २ बजेतिर अर्जुनबहादुरलाई लक्ष्मीदेवीको कोठामा झ्यालबाट पनि सुनका बालासमेत गहना लिई बिजुली निभाई झ्यालबाट तल फर्की पछि गहना लिई हल्ला नगर्नु भनी गएको हुँदा अर्जुनबहादुरले ल्याई आफू सावित भई अर्जुनबहादुरलाई सरिक बनाई प्रहरीमा मोतीमाया भन्ने दिलमायाले गरेको कागज ।

            ९.    ०३२।२।१ गते रात म प्रहरी चौकी कुम्भेश्वरमा सुतेको छु, दिलमायालाई मनभोग दिई लक्ष्मीदेवीलाई खान देउ भनेको र झ्यालबाट पसी मृतकको लगाएको गहनासमेत झिकिलिएको छैन, आषाढ २ गते बिहान चौकीमा बसी रहेको अवस्था मोतिमाया भन्ने दिलमाया चौकीमा आई लक्ष्मीदेवी बुढी साथै ४ बजे उठ्ने आज यसबेलासम्म उठेको छैन । बेलाउँदा बोल्दैन हेर्न पर्‍यो भनी भनेकीले कं.इच्छारामलाई हेर्न पठाएर केही बेरमा जितलाल बोलाउन आएकोले मृतकको कोठासमेत खोलेको रहेछ । कर्तव्यको शङ्का देखिएबाट जाहेर गरको छु । लक्ष्मीदेवीलाई कर्तव्य गरी मराएमा इन्कार भई ०३२।३।१२।५ मा अर्जुनबहादुरले गरेको कागज र कं.इच्छारामलाई उठाई दिलमायाको घर गई मटानमा ओछ्यान राखेको सेतोकालो बुट्टा भएको पुरानो राडी र बुद्धको फोटोसमेत हेमबहादुरको डेरामा लगि इच्छारामबाट लिई दिए भन्नेसमेत प्रहरीमा गरेको ततिम्बा कागज ।

            १०.    ०३२।३।२ गते बिहान मोतिमाया भन्ने दिलमाया चौकीमा आई मृतक लक्ष्मीदेवी सधैं जस्तो ४ बजे उठिन हेर्न पर्‍यो भनी बोलाउन आएकोले हे.कं.अर्जुनबहादुरले के भएको हेरी बुझी आउनु भनी खटाई पठाएकोले लक्ष्मीदेवीको घरमा बुढी सुतेको कोठाको ढोका बन्द भएकोले बोलाउँदा नबोलेकोले पाकचा भन्नेलाई झ्यालबाट उकाली निज पाकचाले ढोकामा लगाएको चुकुल खोली जितलाल समेतले ढोकाबाट हेर्दा लक्ष्मीदेवी कोल्टो परी सुतेको र हलचल केही नभएकोले मरिसकेको जस्तो लाग्यो र मृतकको कोठामा रहेको ढलौटे करुवा १ एक लिने मनसायले दिलमायाको कोठामा राखेको थिएँ । लोग्ने जितलालले आफ्नो सम्पत्ति छ भनी बुढीको करुवा चाहिँदैन भनी भनेबाट मृतकको कोठामा राखिदिएँ । बुढीलाई कर्तव्य भई मार्नेमा सरिक छैन बुद्ध जयन्तिको दिन राती चौकीबाट अर्जुनबहादुरले, मलाई घुम्न जाउँ भनी लगी निज दिलमायाको घर गएर राडी १ ल्याएर मलाई बोक भनी बोक्न दिएर मङ्गल बजारको पुरान भन्ने ठाउँबाट बुद्धका फोटो १ निजले झिकी बोलाई हिमबहादुरको डेरामा लगी निज हे.कंं ले राडी फोटो राखी चौकीमा गएको हो भन्नेसमेत कं.इच्छारामले प्रहरीमा गरेको कागज ।

            ११.    अर्जुनबहादुरको डेरा खानतलासी गर्दा बुद्धको फोटो र राडी बरामद भएको भन्नेसमेत रामेश्वरसमेतको ०३२।३।१३ को खानतलासी मुचुल्का ।

            १२.   ०३२।३।२ का दिन बिहान ९ बजेको समयमा म चौकीमा खेली रहेको अवस्था जितलालले बोलाई गुकाछे चोकमा लगी तिमी गई कोठाको ढोका खोलिदेउ भनी निजले मलाई उचाली झ्यालबाट पसाली दिएर मैले कोठाको ढोकामा लगाएको छिस्कनी खोली दिएको हो भन्नेसमेत काजिलालले ०३२।३।१५।१ मा गरेको कागज ।

            १३.   ०३२।३।१ गते सिठिको दिन जाउलाखेलमा भोटो देखाउने जात्रा हेर्न मेरो श्रीमती दिलमाया गई म दिनभर आफ्नै घरमा बसेर मैले दिउँसो खानेकुराहरु मर्ने बुढीलाई खानेकुरा मेरो श्रीमतीले दिए नदिएको थाहा छैन भोलिपल्ट बिहान ४ बजे उठी बागमती गई मुख धोई देवस्थलमा गई आउँदा प्रहरीसमेत आई बसेका रहेछन सोद्धा बुढी नउठेकीले प्रहरी बोलाई ल्याएको भनी श्रीमतीले मलाई भनेकोले पाकचा भन्नेलाई झ्यालबाट पठाई ढोका नखोलेको मरेकी रहिछन्, थाहा भयो कसले कर्तव्य गरी मारी मराएको हो भन्नेसमेत खैचा भने जितलालले ०३२।३।१७।३ मा प्रहरीमा गरेको कागज ।

            १४.   दिलमाया र त.हे.कं.अर्जुनबहादुर समेतको मिलेमतोबाट कुनै विषालु पदार्थ खुवाई कर्तव्य गरी मारी गहनासमेत चोरी गरेको हुन भन्नेसमेत अर्जुनबहादुर महर्जनसमेत १२ जवानको ०३२।३।२।२ को सर्जमिन मुचुल्का ।

            १५.   दिलमाया महर्जननी र अर्जुनबहादुर बुढाथोकी समेतको मिलेमतोबाट लक्ष्मीदेवीलाई विषालु चीज खुवाई कर्तव्य गरी मारेको देखिनाले ज्यानसम्बन्धिको १३ को देहायबमोजम सजाय हुनको लागि पेश गरेको भन्नेसमेत प्रहरी प्रतिवेदन ।

            १६.    हे.क.अर्जुनबहादुर चौकीमा आएदेखि हेलमेल भई पटक पटक करणी दिनु लिनु भइरहेकोमा मछिन्द्रनाथको लगनखेलमा नरिवल खसाल्ने दिन मेरो घरमा पाहुनाहरुलाई भोज खुवाई सकेपछि कुमाले बुढाले रक्सी खाई मेरै घरमा कोठा बाहिर ओछ्यान राडी दिई नसामा बेहोस भई सुतेको देखी हे.कं.अर्जुनबहादुर आई राडी लगेको थाहा पाइन राडी चोरी भएको कुरा गर्दा सानो कुराको जाहेर के गर्ने भनी जाहेर गर्न नदिइएको डेराबाट राडी बरामत हुन आएको निज अर्जुनबहादुरले मर्ने लक्ष्मीदेवीलाई सिठी भोजमा मानिस नमर्ने लठउरो मात्र हुने पदार्थ खाने कुरामा मिसाई खुवाउनु र निजको गहना र नगदसमेत लिई वाडुँला भनी भनेकोले अर्जुनबहादुरले बेलुका ८।। बजे नेपाली कागजमा सानो पोकोभित्र पातमा मनभोग जस्तो मिठाई ल्याई मलाई दियो पूर्व सल्लाहअनुसार विभिन्न खानेकुरा साथै सो मनभोग माथिबाट राखी लक्ष्मीदेवीको कोठामा लिएर गएर खाने कुरा लिनुस भन्दा बुढीले अहिले भोक लागेको छैन भनी खाएन सो कुरा लोग्नेलाई थाहा थिएन खानेकुरा दिएकै राती निजको मृत्यु भएकोले सल्लाहअनुसार लठ्ठिने पदार्थ मिसाएको कुरा खाई मृत्यु भएको जस्तो लाग्छ, मटानको झ्यालमा बसी चुरोट खाई हवलदारलाई कुरी बसेँ १२ बजे राती आई ढोका खोलभन्दा लोग्नेले थाहा पाउँछ भनी ढोका खोलिँन २ बजे आउँछु भनी गए २ बजे राती आई कोठाको झ्यालको दण्डी समाती उक्ली भित्र पसी सुनको बाला र कानको सुनको माडवारी टुकिसमेत झिकी झ्यालबाट बाहिर निस्की पछि बाँडौंला भनी भन्दा चाहिंदैन भने मैले दिएको मनभोग जस्ता मिठाई बुढीले खाएको बेला मैले त्यसै बुढीको ढोका प्वालबाट हेरेको थिएँ मैले दिएको मिठाई मात्र बुढीले खाई ओडनी आडेर विछाउनामा सुत्यो । सबै काम मैले प्वालबाट हेरेको थिएँ । अर्जुनबहादुर आउँदा खाएको कुरा माथिबाट भनेपछि निजले पनि झ्यालबाट हेरी २ बजे फेरी आउँछु भने अर्जुनबहादुरको सल्लाहमा लागी विष खुवाएमा जो ठहर्छ प्रहरी बयानअनुसार कारवाही चलाउन चाहन्छु भन्नेसमेत मोतीमाया भन्ने दिलमायाको अदालतमा गरेको बयान ।

            १६.    प्रहरीमा मेरो भएको बयान कायम गरी मोतीमायाको बयानअनुसार मैले विष मिसाएको मनभोग लक्ष्मीदेवीलाई खुवाउन दिएको होइन । लक्ष्मीदेवीको केही भाग घर दिलमायाले बन्धकी लिएको र एकै भर्‍याङ्गबाट जानुपर्ने भर्‍याङ्ग ताल्चा बन्द गरी बेलुका अबेर आएकोमा दिलमायाको र लक्ष्मीदेवीको झगडा भई रहने भई सो रिसइवीबाट दिलमायाले लक्ष्मीदेवीलाई मारेमा शङ्का लागी पक्राउ गरी ठानामा बुझाएको इवीबाट पोलेको मात्र हो दिलमायाको घरमा भोज खान जाँदा राँगाको मासु पकाएकोले हेमबहादुरको घरमा पकाईराखेको कुखुराको मासु खाई रक्सी खाएका छौं राडी मागी राखेकोमा मानिस खान बाँकी छ पछि लैजानु भनेकोमा इच्छारामलाई लगी हिमबहादुरको डेरामा राखेको हे.कं.इचछारामले घर जान खोजेको मैले घरमात्र जाने होइन भनी लक्ष्मीदेवी मरेपछि लास कुरुवामा निजलाई राखेको र डी.ए.पी.कहाँ आएको फर्की जाँदा दिलमाया नभएको कुरामा पनि गाली गर्दा मैले नचोरेकोमा चोरेको भनी बयान गरेको भन्नेसमेत अर्जुनबहादुरको बयान ।

            १७.   खाद्य पदार्थमा मिस्कट भएको वस्तु खान दिई लक्ष्मीदेवीको मृत्यु भएको देखिनाले दिलमायालाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वश्व सहित जन्मकैद र लागू पदार्थ भन्ने वस्तु मिसाई खुवाउन लगाएको अर्जुनबहादुरले ठहर्नाले ज्यानसम्बन्धीको १३(२) बमोजिम जन्मकैद हुन्छ भन्नेसमेत ०३४।६।१७।२ को ल.पु.जि. अ.को फैसला ।

            १८.   ललितपुर जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन भन्नेसमेत दिलमायाँ र अर्जुनबहादुरको पुनरावेदन ।

            १९.    पुनरावेदक प्रतिवादी अर्जुनबहादुर कसूर गरेमा अधिकार प्राप्त अधिकारी प्रहरी समक्ष र अदालतमासमेत इन्कारी रहेको निज अर्जुनबहादुरले मनभोगमा विष प्रयोग गरी मर्ने लक्ष्मीदेवीलाई खान दिनु भनी पुनरावेदक प्रतिवादी दिलमायालाई दिएको भन्ने कुराको तथ्ययुक्त सबुद वादीबाट पेश दाखिल हुन नआएको हुनाले सुरु ललितपुर जिल्ला अदालतको दोषी ठहर्‍याई गरेको निर्णयसँग सहमत हुन नसकेकोले अ.बं.२०२ नं. र क्षेत्रीय अदालत नियमावलीबमोजिम वादी श्री ५ को सरकारतर्फबाट महान्यायाधीवक्ताको कार्यालयलाई सूचना दिई नियमबमोजिम पेश गर्नु भन्ने ०३४।१२।१५।३ को म.क्षे.अ.को आदेश ।

            २०.   शुरु ललितपुर जिल्ला अदालतले दिलमायालाई सर्वस्व सहित कैद र अर्जुनबहादुरलाई जन्म कैद गर्ने गरेको इन्साफ मिलेको छ, छैन ? निर्णय दिनुपर्ने हुनगएको इन्साफतर्फ विचार गर्दा प्र.दिलमायाले अदालतमा भएको आफ्नो बयानको जवाफ ६ मा मैले मर्ने लक्ष्मीदेवीलाई दिएको खानेकुरा मध्ये मनभोग जस्तो मिठाई बुढी लक्ष्मीदेवीले खाएको बेलामा मैले त्यसै बुढी लक्ष्मीदेवीको ढोकाको झ्यालबाट हेरेको थिएँ । मैले दिएको खानेकुरा मध्य विष मिसाएको मिठाइ मात्र निज बुढीयालाई अरनिको ओढने ओढेर विछ्याउनामा सुतियो, सबै काम मैले प्वालबाट हेरी गरेको थिएँ र जवाफ ७ मा बिष खुवाएमा कानूनबमोजिम जो ठहर्छ,” भनि आफ्नो अदालतमा भएको बयानमा लेखिदिएको पाइन्छ । कुनै पनि प्रतिवादीको बयान पढ्दा सम्पूर्ण बयानलाई पढ्नु पर्छ, दिलमायातर्फ उपस्थित विद्वान अधिवक्ताले प्र.दिलमायाले अदालतमा गर्नु भएको जवाफ ४ मात्र उल्लेख गर्नुभयो । तर यिनै प्र.दिलमायाले जवाफ ६ मा विष मिसाई निजले दिएको मनभोग मर्ने लक्ष्मीदेवीले खाएतर्फ चश्मदितसरह वयान गरी जवाफ ७ मा विष खुवाएकोमा जो ठहर्छ भनी लेखिदिएको देखिँदा दिलमायाकै बयानबाट मर्ने लक्ष्मीदेवीलाई दिलमायाले मनभोगमा विष मिसाई खान दिएको र सो मनभोग लक्ष्मीदेवीले खाएको र सो खाएबाट लक्ष्मीदेवीको मृत्यु भएको कुरामा शङ्का र विवाद रहेन । अब अदालतमा भएको बयानलाई डर र त्रासले मैले बयान गरेको भन्ने प्रतिवादी दिलमायाको पुनरावेदन जिकिर भएकोमा अदालतमा भएको बयानलाई डर र त्रासले भएको प्रतिवादी दिलमायाले कुनै प्रमाण दिन सक्नु भएको छैन सो निजको भनाई सम्म देखिन्छ । अदालतको वातावरण स्वेच्छाचारीको वातावरणसमेत नहुने हुँदा अदालतमा भएको वयानलाई स्वेच्छाले भएको होइन भन्ने निजको भनाई मिल्ने देखिदैंन । अदालतमा भएको निजको वयान शंकास्पद र दुविधाजनकसमेत देखिई वीष मिसाएको मिठाई मैले दिई सो लक्ष्मीदेवीले खाएको र सोबाट लक्ष्मीदेवी मरेको भनी स्पष्ट लेखिदिएको देखिंदा दिलमायाले सफाई पाउनुपर्छ भन्न नमिल्ने हुँदा प्र.दिलमायालाई ज्यानसम्बन्धिको १३ (२) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको सुरु ललितपूर जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ ।

            २१.   अब पुनरावेदक अर्जुनबहादुरको हकमा विचार गर्दा अर्जुनबहादुरउपर प्र.दिलमायाको पोलबाहेक अरु केही देखिन्न । प्र.अर्जुनबहादुरले नै प्र.दिलमायाउपर कर्तव्यको शङ्का देखाई निजलाई पक्राउ गरेको प्र.दिलमायाले प्र.अर्जुनबहादुरलाई पोल गर्ने स्थिति विद्यमान छैन भन्न मिल्दैन । प्र.दिलमायाको पोल स्वतन्त्र प्रमाणबाट समर्थित छैन । प्र.अर्जुनबहादुरले प्र.दिलमायालाई बिष हालेको मनभोग दिएको कुरा वादीपक्षबाट प्रमाणित हुनआएको छैन । प्रतिवादी दिलमायासँग अनुचित सम्बन्ध रहेको कुरामा अर्जुनबहादुरको इन्कारी देखिन्छ । दसीको माल बरामद हुनसकेको छैन । ठोस तथा तथ्ययुक्त प्रमाणको अभावमा केवल पोलको आधारमा प्र.अर्जुनबहादुरलाई दोषी ठहर्‍याउन नमिल्ने हुँदा श्री ५ को सरकार तर्फबाट उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ताले प्र.अर्जुनबहादुरले सफाई पाउनु पर्ने होइन भन्ने निजको वहससँग सहमत हुन सकिएन । सुरुले ज्यान सम्बन्धिको १३(२) बमोजिम प्र.अर्जुनबहादुरलाई जन्मकैद गरको मिलेन निज प्रतिवादी अर्जुनबहादुरले सफाई पाउने ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रिय अदालतको ०३५।५।८।५ को फैसला ।

            २२.   पुनरावेदक दिलमायातर्फबाट उपस्थित हुनुभएका वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले मृत्युको कारणले यथार्थ रुपमा पत्ता नलागेको हुनाले यस अवस्था अभियुक्तको सावितिको आधारमा मात्र निजलाई कसुरदार ठहर्‍याउन मिल्दैन भन्नुभयो र पुनरावेदक तर्फबाट उपस्थित हुनुभएको अर्को अधिवक्ता सजनराम भण्डारीले मृतकलाई विषकै प्रयोगबाट हत्या गरिएको हो भन्ने कुनै पनि तथ्ययुक्त प्रमाण भेटिएको छैन, ८२ वर्षको बुढी सुत्दासुत्दै मर्नु अस्वाभाविक हुँदैन भन्नुभयो ।

            २३.   विपक्षी श्री ५ को सरकारको तर्फबाट उपस्थित हुनुभएका सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्यायले अभियुक्तले स्वेच्छाले र स्वतन्त्रतापूर्वक साविति बयान दिएको र निजको मनस्थितिमा कुनै विकृति देखा परेको पनि नदेखिएको हुँदा सो साविति बयान विश्वसनीय र प्रमाणमा ग्रहण गर्न योग्य छ । मृतकको हातमा रहेको सुनको बाला लिएकोमा समेत अभियुक्ति सावित भएकोले हत्यामा निहित मनसाय पनि स्पष्ट छ, तसर्थ प्रतिवादी दिलमायालाई सजाय गर्ने गरेको इन्साफ मनासिव छ भन्नुभयो ।

            २४.   यसमा पेश हुन आएको पुनरावेदक दिलमायाको पुनरावेदन र प्रतिवादी अर्जुनबहादुरको हकमा साधक सम्बन्धमा विचार गरी हेर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३५।५।८।५ को फैसलामा प्रतिवादी दिलमायाले अदालतमा भएको आफ्नो बयानको जवाफ ६ मा विष मिसाई मैले दिएको मनभोग गर्ने लक्ष्मीदेवीले खाएतर्फ चस्मदित सरह बयान गरी जवाफ ७ मा विष खुवाएमा जो ठहर्ला भनी लेखिदिएको देखिँदा दिलमायाको बयानबाट मर्ने लक्ष्मीदेवीलाई दिलमायाले मनभोग विष मिसाइ खान दिएको र सो मनभोग लक्ष्मीदेवीले खाएको र सो खाएबाट लक्ष्मीदेवीको मृत्यु भएको भन्ने ठहर भएको पाइयो । पुनरावेदक दिलमायाको पुनरावेदन हेर्दा लक्ष्मीदेवी शाक्य कर्तव्यबाट मरेको भन्ने पूर्वाधार नै प्रमाणित नभएकोले अदालतमा अनजानमा बकेको कुरालाई मुख्य आधार लिई कसुरदार बनाएको फौजदारी सिद्धान्त विपरित हो भन्ने जिकिर लिँदै पोष्टमार्टम रिपोर्टबाट पनि मर्ने लक्ष्मी देवीको मृत्यु विषबाट भएको जस्तो देखिँदैन भनी किटिएकोले पनि मैले विष हालेको भन्दैमा मेरो विरुद्ध प्रमाण लगाउन कानूनसंगत भएन भन्ने उल्लेख गरेको देखियो । मृतक लक्ष्मीदेवीको लास जाँचको प्रतिवेदन हेर्दा लास धेरै सडेगलेको हुनाले यसकारण मरेको हो भन्न सकिन्न भन्ने मेडिकल अफिसरको राय व्यक्त भएको देखिन्छ । लासजाँच प्रतिवेदनमा उल्लेख भएको उक्त रायबाट मर्ने लक्ष्मीदेवीको मृत्यु विषबाट भएको जस्तो देखिँदैन भनी किटिएको भन्ने पुनरावेदन जिकिर समर्थित भएको नदेखिएकोले सो लगत र झुठ्ठा कुरा उल्लेख भएको स्पष्ट देखिन आएको छ । प्रस्तुत मुद्दामा लासजाँच प्रतिवेदनबाट लास सडेको गलेको कारणवस मृत्युको कारण खुल्न आएन भन्दैमा फौजदारी न्यायसिद्धान्त र प्रमाणसम्बन्धी कानूनअनुकुलको अन्य वाञ्छनीय प्रमाणहरुको उपेक्षा गर्न मिल्दैन र सो आधारमा निर्णय गर्दा फौजदारी न्याय सिद्धान्त प्रतिकूल हुन्छ भन्न मिल्दैन । अभियुक्त दिलमाया स्वयंले अदालतमा दिएको बयानको जवाफ नं. ६ र ७ मा विष मिसाई खुवाएको कुरामा पूर्ण स्वीकारोक्ति व्यक्त गरेको हुनाले मर्ने लक्ष्मीदेवीको हत्या उक्त विषकै प्रयोगबाट भएको स्पष्ट देखिन आएको छ । प्रहरी र अदालतसमक्ष दिएको दुवै बयानमा विरोधाभास नहुने गरी एकै मिलानको बयान भएको र अभियुक्तमाथि भई र त्रासको अनुचित प्रमाणमा परी साविति गराइएको भन्ने कुनै तथ्ययुक्त र तर्कसंगत आधार देखाउन नसकेबाट स्वेच्छाले बयान गरेको होइन भन्ने अभियुक्त दिलमायाको पुनरावेदन जिकिर युक्तिसंगत देखिएन । यसरी निजले दिएको बयान प्रमाण ऐनअन्तर्गत निजको विरुद्ध प्रमाणमा लिन मिल्ने हुँदा निज दिलमाया महर्जनलाई ज्यानसम्बन्धीको १३ (२) बमोमिज सर्वश्वसहित जमकैद गर्ने गरेको ललितपुर जिल्ला अदालतको निर्णय मनासिव ठहराएको मध्यमाञ्चल क्षेत्रिय अदालतको निर्णय मिलेको हुनाले सफाई पाउनुपर्छ भन्ने अभियुक्त दिलमायाको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

२५.   जहाँसम्म साधकको तहबाट पेश हुन आएको प्रतिवादी अर्जुनबहादुरको सम्बन्ध छ, निजलाई क्षेत्रीय अदालतबाट निर्णय हुँदा प्रतिवादी दिलमायाले प्र.अर्जुनबहादुरलाई गरको पोल स्वतन्त्र प्रमाणबाट समर्थित छैन, अर्जुनबहादुर प्र.दिलमायालाई विष हालेको मनभोग दिएको कुरा वादी पक्षबाट प्रमाणित हुन आएको छैन, ठोस तथा तथ्ययुक्त प्रमाणको अभावमा केवल पोलको आधारमा दोषी ठहर्‍याउन नमिल्ने हुँदा निज अर्जुनबहादुरले सफाई पाउने ठहर्छ भनी उल्लेख भएको देखियो । मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयउपर श्री ५ को सरकारको पुनरावेदन नपरेको र निज प्र.अर्जुनबहादुर विरुद्ध प्र.दिलमायाले गरेको पोल समर्थन हुने तथ्ययुक्त प्रमाणको अभावमा निजलाई कसुरदार ठहर्‍याउन नमिल्ने हुँदा निजलाई सफाई दिने ठहर्‍याएको क्षेत्रीय अदालतको निर्णय मनासिव ठहर्छ ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३५ साल चैत २ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु