शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०५१ - उत्प्रेषण

भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक:

निर्णय नं. ६०५१   २०५२, ने.का.प.        अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

सम्वत् २०५० सालको रिट नं. ३१५५

आदेश मिति : २०५१/११//

विषय : उत्प्रेषण ।

निवेदक : का.जि.का.न.पा. वडा नं. १ दरबारमार्ग स्थित होटल याक एण्ड यतिको तर्फबाट जेनरल मेनेजर जर्ज मर्की मिसर

विरुद्ध

विपक्षी   : महानिर्देशक, श्रम विभाग, पुतलीसडक, काठमाडौं

शाखा अधिकृत, कारखाना तथा औद्योगिक प्रतिष्ठान शाखा, श्रम विभाग, पुतली सडक

सचिव, श्रम मन्त्रालय, ठमेल, काठमाण्डौ

का.जि. का.न.पा. वडा नं. २१/३१२ ठमेल बस्ने जगत बहादुर खत्री

§  श्रम ऐनको दफा ६०(ग) बमोजिम व्यवस्थापकले गरेको सजाय र आदेश उपर सम्बन्धित श्रम अदालतमा पुनरावेदन लाग्ने र ७२(३) मा श्रम अदालत गठन नभएसम्म यस ऐन बमोजिम अदालतबाट हुने काम कारवाही पुनरावेदन अदालतबाट हुनेछभन्ने लेखिएकोले होटल व्यवस्थापकले गरेको सजाय उपर श्रम विभागले उजुरी पुनरावेदन लिई हेरेको अधिकार क्षेत्रात्मक त्रुटि देखिन्छ । यसको अतिरिक्त त्यस्तो श्रम विभागले निर्णय गर्दा उजुरी भन्दा बाहिर गई अन्तिम निलम्बन फुकुवा गरी पाउँभन्ने उजुरी उपर कारवाही गर्दा उजुर नपरेको अवकाशको निर्णय समेत बदर गरेको श्रम विभागको मिति २०५०।९।७ को निर्णय र सो निर्णयमा उल्लेख भएको २०५०।९।११ को श्रम विभागको पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. १२)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री मिथिलेशकुमार सिंह

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री रामजीप्रसाद त्रिपाठी

अवलम्बित नजीर : x

आदेश

    न्या.त्रिलोकप्रताप राणा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिटको संक्षिप्त विवरण यस प्रकार छ :

    २.  विपक्षी जगतबहादुर १५ अगस्त १९७७ मा यस होटल याक एण्ड यतिको किचेन मेट पदमा नियुक्त हुनु भएको र निजको पदोन्नति एपरेन्टस कुकमा ११ सेप्तेम्बर १९७८ मा भयो । निजले होटल व्यवस्थापनसँग विदा नै नलिई १५ र १६ नोभेम्बर १९७८ मा बस्नु भएकोले १७ नोभेम्बर १९७८ मा नसिहत दिइयो । आफ्नो सहकर्मीलाई कुटपिट गरेकोले पछि ६ जुन १९७९ मा एक महिनाको लागि होटलबाट निलम्बन गरियो र साविकको पदबाट एक तह मुनि डिस बासर पदमा झारियो । २ जुलाई १९७९ मा लिखित माफी मागी भविष्यमा यस्तो भएमा सेवाबाट बर्खास्त गर्ने शर्तमा पुनः निजलाई काममा लगाइयो । १ नोभेम्बर १९८२ मा नसिहत दिइयो, ५ फरवरी १९८८ मा अर्को नसिहत दिइएकोमा निज हिरासतमा रहेकोले बुझाउन सकिएन । विपक्षीले अत्याधिक मात्रामा मदिरापान गरी ड्युटीमा आएको हुँदा र मार्च १९८३ मा अन्तिम नसिहत दिइएको थियो । २ नोभेम्बर १९९३ मा विपक्षीको ड्युटी नभएको समयमा पनि अध्याधिक मदिरा सेवन गरी जबरजस्ती होटलमा प्रवेश गरी हाकिमलाई गाली गलोच गरेकोले बाध्य भै वडा प्रहरी कार्यालयलाई बोलाई बाहिर निकाल्न बाध्य भएको विपक्षी जगतबहादुर यस होटलको सेवामा रहँदा पटक पटक नचाहिँदो व्यवहार गरेकोले व्यवस्थापकले निजलाई निलम्वित गरी स्पष्टीकरण लिँदा स्पष्टीकरण सन्तोष जनक नभई निजले श्रम ऐन, २०४८ को दफा ५०(क) को बर्खिलाप काम गरेको तथा होटेलको सर्भिस कन्डीसनको नियम २३ तथा होटलको सेवा शर्त विनियमको नियम १,,१५,१७,२०,२३ को बर्खिलाप काम गरेकोले श्रम ऐन, २०४८ को दफा ५०(क) ५२(५), ५२(२), ५२(४) तथा होटल विनियम बमोजिम निजलाई व्यवस्थापनले ८ नोभेम्बर १९९३ को पत्रबाट सेवाबाट बर्खास्त गरेको ।

    ३.  होटल व्यवस्थापनले विपक्षीलाई निलम्बन गरेको कारबाही उपर निजले महानिर्देशक श्रम विभागमा आफूलाई होटल व्यवस्थापनले निलम्बन गरेकोले उक्त निलम्बन बदर गरी जरिवाना समेत गरी पाउँ भन्ने निवेदन दिनु भएको कुरा श्रम विभागका शाखा अधिकृतको सही भएको मिति २०५०।८।२१ को पत्रबाट जानकारी प्राप्त भयो । सो सम्बन्धमा विपक्षी निलम्बन भएको आवश्यक व्यहोरा र निजको अवकाश भै सकेको व्यहोरा र निजको अवकाश भै सकेको व्यहारा उल्लेख गरी महा निर्देशकलाई मिति २०५०,८।२८ मा पत्र पठायौं । विपक्षी जगतबहादुर खत्रीलाई निलम्बन गरी बर्खास्त समेत गरी सकेको भन्ने प्रत्युत्तर प्राप्त भएको र निवेदक उपर कारबाही हुँदा श्रम ऐन, २०४८ को दफा ५० मा सजायँको प्रकार उल्लेख भएको र सो अनुसार निलम्बन पनि सजाय नै मानिएको हुनाले एउटै अपराधमा एउटा सजाय गरी सकेपछि पुनः अर्को सजाय गर्नु प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुन गएकोले निज जगतबहादुर खत्रीलाई दिएको अवकाश, श्रम ऐन, २०४८ को दफा ८ अनुसार बदर गर्ने गरी मिति २०५०।९।७ मा निर्णय भएको भनी विपक्षी श्रम विभागको महानिर्देशकको आज्ञा बमोजिम विपक्षी शाखा अधिकृतले सही गर्नु भएको मिति २०५०।९।११ को पत्र होटलमा प्राप्त भयो । यसको जानकारी टे«ड युनियन काँग्रेसलाई दिइएको रहेछ ।

    ४.  विपक्षी महानिर्देशक तथा शाखा अधिकृतलाई कुनै पनि होटलको बर्खास्त कर्मचारीलाई पुनरबहाली गर्ने अधिकार नै छैन । कुनै पनि कर्मचारीले श्रम ऐन, २०४८ को दफा ५१ को (क) को बर्खिलाफ काम गरेमा सोही ऐनको दफा ५२(४) ले व्यवस्थापनले सेवाबाट हटाउन सक्ने व्यवस्था अनुसार नै विपक्षीलाई सेवाबाट हटाइएको हो । श्रम ऐनको दफा ६०(ग) बमोजिम होटलको व्यवस्थापकले गरेको सजाय र आदेश उपर सम्बन्धित श्रम अदालतमा पुनरावेदन लाग्ने र श्रम अदालत गठन नभएसम्म श्रम ऐनको दफा ७२(३) बमोजिम पुनरावेदन अदालतबाट हुनेछ भन्ने व्यवस्था रहेको पाइन्छ । यस्तो कानुनी व्यवस्था हुँदाहुँदै विपक्षी जगत बहादुरले विपक्षी कार्यालयमा निवेदन दिई मिति २०५०।९।७ मा महानिर्देशकबाट निर्णय भै विपक्षी शाखा अधिकृतले सही गर्नु भएको २०५०।९।११ को पत्र उल्लेखित कानुन विपरीत भएकोले मिति २०५०।८।२१ तथा २०५०।९।११ को पत्रबाट उल्लेखित कानुनी हक तथा नेपाल अधिराज्यको संविधानको धारा ११(१)(२), १२(२)(ङ) को हनन् भएकोले उक्त मिति २०५०।९।११ को पत्र र उक्त पत्रमा उल्लेखित मिति २०५०।९।७ को निर्णय समेतको विपक्षीहरुको सम्पूर्ण काम कारवाही उत्प्रेषण लगायतको उपयुक्त रिट आज्ञा वा आदेश जारी गरी बदर गरी पाउँ र श्रम विभागको मिति २०५०।९।११ को आदेश मिश्रित पत्रको कार्यान्वयन रिटको अन्तिम किनारा नभएसम्म नगर्नु नगराउनु भनी विपक्षी नं. १ र २ को नाउँमा अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्ने व्यहोराको होटल याक एण्ड यतिका मेनेजर जर्ज मर्की मिसरको मिति २०५०।१०।१९ को रिटनिवेदन ।

    ५.  यसमा के कसो भएको हो ? रिट निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालतको एक न्यायाधीशको इजलासबाट भएको मिति २०५०।१०।२५ को आदेश ।

    ६.  श्रम ऐन, २०४८ को दफा ५० मा खराब आचरण बापत सजाय तोकिए बमोजिम हुने उल्लेख भए मध्ये जगतबहादुर खत्रीलाई सो ऐनको दफा ५०(ग) अनुसार होटल याक एण्ड यतिले निलम्बन गरेको र निलम्बन गर्ने कार्य पनि सजाय नै मानिएकोले एकै कसूरमा होटल याक एण्ड यतिको व्यवस्थापनले जगत बहादुर खत्रीलाई मिति २०५०।७।१८ मा निलम्बन गरी सजाय गरी सकेपछि पुनः मिति २०५०।८।१ तदनुसार नोभेम्बर १६, १९९३ मा अवकाश पनि दिएको हुँदा काुननी त्रुटि देखिएकोले श्रम ऐन, २०४८ को दफा ५८ अनुसार होटेल व्यवस्थापनले जगतबहादुर खत्रीलाई दिइएको अवकाश बदर गर्ने सम्म निर्णय गरेको हो । कुनै कामदार वा कर्मचारीले श्रम ऐन नियमानुसार खराब आचरण गरेको प्रमाणित भएमा कानुनी प्रकृया पुरा गरी अवकाश दिन पाउने विषयमा हस्तक्षेप नगरेको र कानुनी त्रुटिपूर्ण कार्यालय मात्र बदर गरेको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत एकै व्यहोराको श्रम मन्त्रालयको सचिव श्रम विभागको महानिर्देशक र श्रम विभागको कानुन तथा औद्योगिक सम्बन्ध शाखाका अधिकृतको छुट्टा छुट्टै लिखितजवाफ।

    ७.  एकै अपराधमा दुई सजाय नहुने हुनाले बदर गरी म जगतबहादुर खत्रीलाई जिताउने गरी श्रम विभागले गरेको आदेश कानुन बमोजिम छ । रिट निवेदकको व्यहोरा झुठ्ठा हो । श्रम विभागले रिट निवेदकलाई आदेश दिएपछि आदेशमा चित्त नबुझे श्रम ऐन, २०४८ को दफा ६० को खण्ड (क) अनुसार पुनरावेदन अदालतमा जानु पर्नेमा असाधारण क्षेत्रमा आएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने व्यहोराको जगतबहादुर खत्रीको लिखितजवाफ ।

    ८.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा रिट निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री मिथिलेशकुमार सिंहले विपक्षी जगतबहादुरले विपक्षी कार्यालयमा होटेल व्यवस्थापकको विरुद्ध उजुरी दिँदा निलम्बन उपर मात्र उजुर दिनु भएको छ । विपक्षीले अवकाश उपर उजुरी नगर्नु भए पनि विपक्षी श्रम विभागबाट होटलबाट भएको अवकाश र निलम्बनको निर्णय बदर गर्ने निर्णय भएकोले विपक्षबाट भएको निर्णय त्रुटिपूर्ण छ । व्यवस्थापकले खराब आचरण गर्ने काम दार वा कर्मचारीलाई श्रम ऐनको दफा ५० बमोजिमको कारबाही गर्न सक्दछ । श्रम ऐनको ६० ले यस्ता कारबाही उपर सम्बन्धी श्रम अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गरेको तर श्रम अदालत गठन नभएसम्म ऐनको दफा ७२(३) अनुसार पुनरावेदन अदालतमा उजुरी दिन जानु पर्ने उल्लेख भएको पाइन्छ । कानुनी व्यवस्थाको प्रतिकूल विपक्षी जगतबहादुरले श्रम विभागमा उजुरी दिई होटल व्यवास्थापकले विपक्षीलाई नोकरीबाट बर्खास्त गर्ने गरेको निर्णय बदर गर्दै श्रम विभागबाट भएको निर्णय गैरकानुनी एवं अधिका क्षेत्रको समेत त्रुटि देखिँदा रिटनिवेदन बमोजिम उत्प्रेषणको आदेश जारी हुनु पर्दछ भन्ने बहस प्रस्तुत गर्नु भयो । विपक्षी कार्यालयहरुको तर्फबाट उपस्थित विद्वान वरिष्ठ सरकारी अधिवक्ता रामजीप्रसाद त्रिपाठीले जगतबहादुर खत्रीले श्रम विभागमा दिनु भएको निलम्बन बदर गरी पाउँ भन्ने निवेदन सम्बन्धमा रिट निवेदक याक एण्ड यति होटललाई सोधी पठाएकोमा जगतबहादुरलाई सेवाबाट नै बर्खास्त गरिएको भन्नेहोटलको मिति २०५०।८।२८ को पत्रबाट श्रम विभागलाई जानकारी गराइएको । श्रम ऐन, २०४८ को दफा ५० मा सजायको प्रकार उल्लेख गरिएको छ । निलम्बन र बर्खास्त छुट्टा छुट्टै सजाय भएकोले एउटै अपराधमा दुईवटा सजाय गरी होटल व्यवस्थापकले त्रुटिपूर्ण कार्य गर्नु भएकोले बर्खास्त गर्ने निर्णय समेत बदर गर्ने गरी मिति २०५०।९।७ मा निर्णय भएको हो । तसर्थ रिटनिवेदन खारेज हुनु पर्दछ भन्ने बहस प्रस्तुत गर्नु भयो ।

    ९.  प्रस्तुत मुद्दामा इजलास समक्ष मिसिल अध्ययन गरी पक्ष विपक्षबाट उपस्थित विद्वान अधिवक्ताहरुको बहस जिकिर र विपक्ष जगतबहादुरको भनाई समेत सुनी रिटनिवेदकको माग बमोजिम आदेश जारी हुनु पर्ने हो होइन भनी निर्णय दिनु पर्ने हुन आयो । निर्णय तर्फ विचार गर्दा यस्मा विपक्षी जगतबहादुर खत्रीलाई निलम्बन गरी निजको स्पष्टीकरण लिई श्रम ऐन, २०४८ को दफा ५०(क) को बर्खिलप काम गरेको तथा होटलको सर्भिज कन्डिसनको नियम १,, १५, १७, २०।२३ को बर्खिलाप काम गरेकोले निजलाई श्रम ऐन, २०४८ को दफा ५०(क), ५२(५), ९२(२), ५२(४) तथा होटलको विनियम बमोजिम व्यवस्थापनले ८ नोभेम्बर १९९३ बाट सेवाबाट बर्खास्त गर्‍यो । उक्त निलम्बन बदर गरी पाउन विपक्षी जगतबहादुरले श्रम विभागमा निवेदन दिनु भएकोमा उक्त विभागले निलम्बन बदर गरी जरिवाना गर्न नपर्ने कुनै कारण भए ७ दिनभित्र जवाफ पठाई दिनु भनी लेखेकोमा निजलाई व्यवस्थापनले निलम्बन गरेको सो पछि निजलाई सेवाबाट बर्खास्त समेत गरी सकेको व्यहोरा जानकारी गरायो । जगतबहादुर खत्रीलाई दिएको अवकास श्रम ऐन, २०४८ को दफा ५८ अनुसार बदर गर्ने गरी २०५०।९।७ मा निर्णय भएको व्यहोरा जानकारी गराइन्छ भन्ने पत्र प्राप्त भयो । श्रम ऐन, २०४८ को दफा ६०(ग) बमोजिम श्रम अदालतमा पुनरावेदन गर्न पर्नेमा सो अदालत गठन नभएकोले ऐनको दफा ७२(३) बमोजिम पुनरावेदन अदालतमा जानु पर्नेमा निवेदक श्रम विभागमा गएको र श्रम विभागले ऐनको दफा ५८ प्रयोग गरेको उपयुक्त निर्णय मिलेको छैन । साथै जगतबहादुरको श्रम विभागमा निलम्बन फुकुवा गरी पाउँ भन्ने भनाई भएको अवकास निर्णय समेत बदर गरिएको विपक्षी श्रम विभागको निर्णय बदर गरी पाउँ भन्ने रिट निवेदकको मुख्य रिटनिवेदन भनाई पाइन्छ ।

    १०.  श्रम ऐन, २०४८ को दफा ५० को (ग) अनुसार रिट निवेदक होटल याक एण्ड यतिको व्यवस्थापकले जगतबहादुरलाई मिति २०५०।७।१८ मा निलम्बन गरी सजाय गरी सकेपछि पुनः मिति २०५०।८।१ तदनुसार नोभेम्बर १६, १९९३ मा अवकाश पनि दिएको हुँदा एकै कसूरमा दुई वटा सजाय दिनु प्राकृतिक न्याय सिद्धान्त एवं कानुनी त्रुटिपूर्ण निर्णय होटल व्यवस्थापकले गरेको देखियो । होटल व्यवस्थापनले श्रम ऐन, २०४८ को दफा ५८ अनुसार जग बहादुरलाई अवकाश गरेको गैरकानुनी निर्णय बदर सम्म गरेको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने लिखितजवाफ जिकिर रहेको पाइन्छ ।

    ११.  महान्यायाधिवक्ताको कार्यालय मार्फत श्रम विभागबाट प्राप्त फाइल हेर्दा, निज जगतबहादुर खत्रीलाई गैरकानुनी रुपबाट अवकाश दिएको निर्णय बदरभागी देखि श्रम ऐन, २०४८ को दफा ५८ बमोजिम सो कुराको आदेश गरी दिए भन्ने मिति २०५०।९।७ को श्रम विभागको निर्णय देखिन्छ । श्रम ऐन, २०४८ को दफा ५८ मा यो ऐन वा यस ऐन अन्तर्गतको नियममा अन्यथा व्यवस्था गरिएकोमा बाहेक यस ऐन र यस ऐन अन्तर्गत बनेको नियमको विपरीत कुनै काम कुरा भए गरेको रहेछ भने सो कामरवाही श्रम विभागको आदेशले बदर हुनेछभन्ने लेखिएको पाइन्छ । सोही ऐनको दफा ६० मा यस परिच्छेद अन्तर्गत दिएको कुनै सजाय वा आदेश उपर चित्त नबुभने पक्षले त्यस्तो सजाय वा आदेशको सूचना पाएको मितिले पैंतीस दिनभित्र देहाय बमोजिम पुनरावेदन गर्न सक्नेछ भन्दै देहाय :

(क) मा श्री ५ को सरकार वा श्रम विभागले गरेको आदेश उपर पुनरावेदन अदालतमा ।

(ख) मा श्रम अदालतले शुरु कारबाही र किनारा गरेको मुद्दाको हकमा पुनरावेदन अदालतमा,

(ग) मा व्यवस्थापक वा अन्य अधिकारी वा कार्यालयले गरेको सजाय र आदेश उपर सम्बन्धित श्रम अदालतमा पुनरावेदन लाग्नेछ भनी लेखिएको पाइन्छ ।

    १२.  उक्त श्रम ऐनको दफा ६०(ग) बमोजिम व्यवस्थापकले गरेको सजाय र आदेश उपर सम्बन्धित श्रम अदालतमा पुनरावेदन लाग्ने र ७२(३) मा श्रम अदालत गठन नभएसम्म यस ऐन बमोजिम अदालतबाट हुने काम कारवाही पुनरावेदन अदालतबाट हुनेछभन्ने लेखिएकोले होटल व्यवस्थापकले गरेको सजाय उपर श्रम विभागले जगत बहादुर खत्रीले दिएको उजुरी पुनरावेदन लिई हेरेको अधिकार क्षेत्रात्मक त्रुटि देखिन्छ । यसको अतिरिक्त त्यस्तो श्रम विभागले निर्णय गर्दा उजुरी भन्दा बाहिर गई अन्तिम निलम्बन फुकुवा गरी पाउँ भन्ने उजुरी उपर कारवाही गर्दा उजुर नपरेको अवकाशको निर्णय समेत बदर गरेको श्रम विभागको मिति २०५०।९।७ को निर्णय र सो निर्णयमा उल्लेख भएको २०५०।९।११ को श्रम विभागको पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । सम्बन्धित सरकारी कार्यालयको जानकारीको लागि यस आदेशको एक प्रति प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.कृष्णजंग रायमाझी

 

इति सम्वत् २०५१ साल फाल्गुण ९ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु