शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६०५४ - अंश नामसारी

भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक:

निर्णय नं. ६०५४    २०५२, ने.का.प.            अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

सम्वत् २०५० सालको दे.पु.नं. १२३०

फैसला मिति  : २०५१।११।३०

मुद्दा : अंश नामसारी ।

पुनरावेदक/प्रतिवादी : जिल्ला रुपन्देही गा.वि.स. मालमटेरिया वडा नं. ७ बस्ने छोटु लोध

विरुद्ध

प्रत्यर्थी/वादी : ऐ.ऐ. बस्ने राजेन्द्र लोध

§  मुलुकी ऐन अ.बं. ७७ नं. ले आफूसंग रहे भएको प्रमाण वादीले उजुरीको साथ र प्रतिवादीले प्रतिउत्तरका साथ वा बयान गर्दा पेश गर्नु पर्दछ भन्ने व्यवस्था गरेको पाइन्छ। सो बमोजिम प्रतिवादीले आफूसंग भएको लिखतको सम्बन्धमा प्रतिउत्तर दिंदाको अवस्थामा मौकामा उक्त लिखतको सम्बन्धमा कुनै कुरा उल्लेखसम्म गर्न सकेको नपाइएकोले ०२२।४।१ को लिखत प्रमाणको लागि ग्राह्य हुने स्थिति नहुने ।

(प्रकरण नं. १४)

§  वादी प्रतिवादी बीच अंशबण्डा भएको सबूद प्रमाण प्रतिवादीबाट पेश हुन नसकेको स्थितिमा प्रतिवादी छोटु लोधका नाउँमा रहेको सम्पत्ति प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार प्रतिवादीको नाउँमा रहेको सम्पत्ति एकासगोलको बण्डा गर्नु नपर्ने सम्पत्ति होइन भनी भन्न नसकिने ।

(प्रकरण नं. १४)

पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर

प्रत्यर्थी वादी तर्फबाट : x

अवलम्बित नजीर : x

फैसला

     न्या.ओमभक्त श्रेष्ठ : पुनरावेदन अदालत बुटवलको मिति २०४९।९।२२ को फैसला उपर यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यस प्रकार छ ।

      २.    बेका लौघका २ छोरा जेठा मेरा बाबु प्यारे लोघ र कान्छा विपक्षी छोटुलोघ हुन । यी दुई भाइका बीच अंश नभएको र मानी सम्म छुट्टिई अलग बसी आएका थियौं । बाबु प्यारेका ३ छोरा म राजेन्द्र, वीरेन्द्र, हो । बाबु २०२७ सालमा र आमा २०२९ सालमा परलोक भएपछि कान्छा बाबुसँग अंश माग्दा नलिएकोले निजबाट चल अचल सम्पूर्ण सम्पत्तिको २ भागको १ भाग मलाई अंश दिलाई पाउँ भन्ने फिरादपत्र वादीले देखाएको पुस्तावारीमा कुनै विवाद छैन । बाबु बेकारुका पालाको बण्डा गर्नु पर्ने केही थिएन । बाबु आमा मरेपछि चल सम्पत्ति सबै हातहात वाडी लिएका हौं । मैले उखडा जग्गा दर्ता गराई निजी आर्जन गरेकोले बण्डा गर्नु पर्ने होइन, दावी झुठ्ठा हो भन्ने प्रतिउत्तर ।

      ३.    विपक्षी काका छोट लोघका नामका जग्गामा हाम्रो समेत अंश हक लाग्ने हो भन्ने पेट बोलीबाट बुझिएका चिरकुट र वीरेन्द्र लोघको बयान ।

      ४.    २०२१ साल भन्दा पहिले नै बण्डा भै सकेकोले वादी दावी पुग्न सक्दैन भन्ने रुपन्देही जिल्ला अदालतको फैसला ।

      ५.    उक्त फैसलामा चित्त बुझेन भन्ने वादीको तत्कालीन लुम्बिनी अञ्चल अदालतमा पुनरावेदन परेका ।

      ६.    वादीको भाइ चिरकुट लोघ र वीरेन्द्र लोघबाट समेत अंशको फाँटवारी लिई निर्णय गर्नु पर्ने देखिएकोले शुरु फैसला बदर हुन्छ भन्ने तत्कालिन लु.अ.अ. को २०४५।५।१६।५ को फैसला ।

      ७.    चिरकुट लोघ र वीरेन्द्र लोघसमेतको जिम्मामा कुनै चल अचल सम्पत्ति नभएको भनी वादी राजेन्द्र लोघबाट २०४६।१।२० मा तायदाती पेश भएको ।

      ८.    प्रतिवादीले तायदातीमा उल्लेख गरेको सम्पत्ति उखडाबाट प्राप्त गरी एकलौटी कायम गरी पाउँ भने पनि सगोलका अंशियारहरु मध्ये जो जसको नाममा रहेको सम्पत्ति भए पनि सबै अंशियारहरुको हक लाग्ने हुँदा फिराद दावी बमोजिम प्रतिवादीबाट फिरादी राजेन्द्र लोघको पेट बोली बुझि चिरकुट लो र वीरेन्द्र लोघले आफ्नो बाबुको २ भागको १ भाग अंश पाउने र नामसारी समेत हुने ठहर्छ भन्ने रुपन्देही जिल्ला अदालतको फैसला ।

      ९.    मुलुकी ऐन अंश बण्डाको महलमा २०३४ सालमा भएको संशोधनले ऐ. ऐनको ३० नं. ले बण्डापत्र रजिष्टे«शन पारीत नभए पनि घरसारको बण्डालाई मान्य हुने प्रावधान गरेकोबाट पनि हामीहरुको बीचमा २०१७ सालमा नै बण्डा भै सानो मानो अलग गरी बसी आएको छौं । अर्को तर्फ प्रत्यर्थी प्रतिवादी पक्षले पेश गरेको ७ नं. अनुसूचीमा लेखिएको बिगाहा ३१०० जग्गा पनि २ भागमा बण्डा लगाउन पर्ने तर्फ फैसलामा बोलिएको छैन । म पुनरावेदक प्रतिवादीले आफ्नै मिहिनत परिश्रमले उखडामा भोग चलन गरी २०२१ सालमा उखडा ऐन लागू हुँदा जग्गाधनीलाई क्षतिपूर्ति बुझाई आफ्नो स्वामित्वमा रहेको सम्पत्ति वादी पक्षले पाउने गरेको शुरुको फैसला न्यायोचित भएन । सो फैसला उल्टी गरी न्याय पाउँ भन्ने प्रतिवादीको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदनपत्र ।

      १०.    चिरकुट र वीरेन्द्र लोघको फिराद दावी नै नभएकोमा निजहरुलाई समेत अंश दिलाउने गरेको शुरु ठहर नमिलेको विपक्षी झिकाउने भन्ने पुनरावेदन अदालतको २०४९।७।६ गतेको आदेश ।

      ११.    शुरुले पेटवोलीबाट बुझिएको चिरकुट लोघ र वीरेन्द्र लोघलाई पनि अंश दिलाउने गरेको इन्साफका हकमा यिनीहरुले फिरादै नगरेको अवस्थामा अंश दिलाएको इन्साफ कानुन संगत नहुँदा मिलेको पाइएन । वादी राजेन्द्र लोघका हकमा अंशबण्डा भएको र अंश पाएको भै निजको नाममा सम्पत्ति रहे भएको समेत नदेखिँदा अंश पाउने नै ठहर्छ । कति भाग अंश पाउने भन्ने सम्बन्धमा वादीको बाबु प्यारे लोघ र प्रतिवादीको बाबु छोट लोघ दुई भाइ भएको हुँदा २ भागमा १ भाग अंश छुट्याई सो १ भाग मध्ये वादीको पेटवोलीबाट बुझिएका भाइहरुको २ भाग अंश बाँकी राखी १ भाग मात्र अंश पाउने हुन्छ । तसर्थ शुरु रुपन्देही जिल्ला अदालतले पेटवोलीबाट बुझिएका चिरकुट लोघ र वीरेन्द्र लोघको फिराद नै नभएको अवस्थामा निजहरुलाई अंश दिलाउने गरेको हदसम्मको इन्साफ नमिलेकोले केही उल्टी हुन्छ भन्ने पुनरावेदन अदालत बुटवलबाट मिति २०४९।९।२२ मा भएको फैसला ।

      १२.   विपक्ष वादीका बाबु पियारे लोघ र म पुनरावेदक प्रतिवादी अघि नै खानो मानो अलग गरी बसी आएको कुरा फिरादीले स्वीकार गर्नु भएको र हामीहरु बीच मिति २०२२।४।१ मा लिखत पनि भएको छ । सो लिखतलाई विपक्षीका पिता र मैले अलग अलग भरेको ७, ४ र १ नं. फाराम समेतले प्रमाणित गरेको हुँदा पुनरावेदन अदालत बुटवलबाट भएको फैसला मुलुकी ऐन अंशबण्डाको १८ नं., ३० नं. र १८४क नं. समेतको त्रुटि हुँदा उक्त फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको छोटुलोघको यस अदालतमा परेको पुनरावेदन ।

      १३.   नियम बमोजिम पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी छोटुलोघको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले मेरो पक्ष र वादी बीच २०२२ सालमा बण्डा गर्नु पर्ने कुनै पैतृक सम्पत्ति नरहेकोले हाडो भाडी बुझेको भरपाई लिखत पेश भएको सो लिखतलाई पुनरावेदन अदालतले मान्यता नदिई गरेका फैसला त्रुटिपूर्ण छ । अंश बण्डाको १८ नं. को कानुनी व्यवस्थाले मानो छुट्टिए पछि लगाएको ऋण र कमाएको धनमा बण्डा नलाग्ने स्पष्ट एवं किटानी व्यवस्था भएको हुँदा मेरो पक्षको मिति २०३४।९।२७ भन्दा पहिले दर्ता रहेको सम्पत्ति बण्डा गर्ने गरी भएको पुनरावेदन अदालतबाट कानुनी त्रुटिपूर्ण भएको फैसला उल्टी गरी पुनरावेदन माग बमोजिम हुन अ.बं. २०२ नं. को प्रक्रिया अवलम्बन हुनु पर्दछ भन्ने बहस प्रस्तुत गर्नु भयो ।

      १४.   प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी कानुन व्यवसायीको बहस जिकिर समेत सुनी पुनरावेदन अदालत बुटवलले प्रतिवादीबाट २ भागमा एक भाग अंश घटि दिई सो १ भाग मध्ये वादीको पेटवोलीबाट बुझिएका भाइहरुको २ भागमा एक भाग अंश बाँकी राखी वादीले १ भाग अंश पाउने ठहराई गरेको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनु परेको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा वादी राजेन्द्र लोधले निजको काका प्रतिवादी छोटु लोघसँगबाट २ भाग बण्डा लगाई मेरो बाबुको १ भाग अंश दिलाई पाउँ भन्ने फिराद दावी गरेकोमा वादीका बाबु पियारे र मेरो बीच अघि नै अंशबण्डा भै अलग अलग बस्ने गरेको हुँदा अंश दिनु पर्ने होइन भन्ने प्रतिवादी छोटु लोघको प्रतिउत्तर जिकिर रहेको पाइन्छ । यसमा वादी राजेन्द्र लोघका बाबु पियारे लोध र छोटु लोध अंंशियारा दाजु भाइ हुन भन्ने कुरामा वादी प्रतिवादीले स्वीकार गरेको हुँदा कुनै विवाद रहेन । प्रतिवादीले वादीका बाबु पियारे लोध र आफू बीच २०१७ सालमा बण्डा भएको छ भनी २०२२।४।१ को लिखत २०४८।८।२३ मा अदालतमा पेश गरेको पाइन्छ । प्रतिवादीले मिति २०४२।९।१७ मा प्रतिउत्तर दिँदा उक्त मिति २०२२।४।१ को लिखतको सम्बन्धमा कुनै उल्लेख गरेको पाइँदैन । मुलुकी ऐन अ.बं. ७७ नं. ले आफूसंग रहे भएको प्रमाण वादीले उजुरीका साथ र प्रतिवादीले प्रतिउत्तरका साथ वा बयान गर्दा पेश गर्नु पर्दछ भन्ने व्यवस्था गरेको पाइन्छ । सो बमोजिम प्रतिवादीले आफूसंग भएको लिखतको सम्बन्धमा प्रतिउत्तर दिंदाको अवस्थामा मौकामा उक्त लिखतको सम्बन्धमा कुनै कुरा उल्लेखसम्म गर्न सकेको नपाइएकोले ०२२।४।१ को लिखत प्रमाणको लागि ग्राह्य हुने स्थिति भएन । वादी प्रतिवादी बीच अंशबण्डा भएको सबूद प्रमाण प्रतिवादीबाट पेश हुन नसकेको स्थितिमा प्रतिवादी छोटु लोधका नाउँमा रहेको सम्पत्ति प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार प्रतिवादीको नाउँमा रहेको सम्पत्ति एकासगोलको बण्डा गर्नु नपर्ने सम्पत्ति होइन भनी भन्न सकिने अवस्था देखिएन ।

      १५.   तसर्थ पुनरावेदन अदालत बुटवलबाट प्रतिवादीबाट २ भागमा एक भाग अंश छुट्याई १ भाग मध्ये वादीको पेटवोलदीबाट बुझिएका भाइहरु चिरकुट लोध र वीरेन्द्र लोधको २ भाग अंश बाँकी राखी वादीले १ भाग अंश पाउने ठहराई गरेको फैसला मनासिब देखिँदा उक्त फैसला सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.अरविन्दनाथ आचार्य

 

इति सम्वत् २०५१ साल फाल्गुण ३० गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु